१. बालकृष्ण समको प्रायश्चित !

कुरो ‘नाट्य सम्राट्’ उपाधिधारी बालकृष्ण समको हो । समलाई विश्वप्रसिद्ध नाटककार शेक्सपियरसँग तुलना गरी ‘नेपाली शेक्सपियर’समेत भन्ने गरेको जगजहेरै भयो । तर यहाँ समको कुरा हुने छ, नाटकको हुने छैन ।

बालकृष्ण सम

हाल काठमाडौंको जुन ठाउँलाई सहिदगेट भनिन्छ, त्यो ठाउँको निर्माण ‘नेपाल स्मारक’का रुपमा थालनी गरिएको थियो । पछि शुक्रराज, धर्मभक्त, दशरथ र गंगालालको सालिक स्थापना गरिएकाले यो ठाउँको नाम ‘सहिदगेट’ रहन गयो । नेपाली जनजिब्रोले यही नामलाई रुचायो । अँ, यहाँ चार सहिदको सालिक राख्ने परिकल्पनाकार/निर्देशक हाम्रै बालकृष्ण सम थिए ।

यो त राम्रो कुरो भइगयो । ‘बालकृष्ण समको प्रायश्चित !’ शीर्षकले न्याय पाएन । पख्नुहोस्, अब गुदी कुरो गर्छु ।

कुरो के भने, वि.स. १९९७ कात्तिक २ गतेदेखि ९ गतेसम्ममा नेपाल प्रजापरिषद्का सभापति टंकप्रसाद आचार्य र सदस्य मुकुन्दप्रसाद रिमालबाहेक सबै पक्राउ परिसकेका थिए । राणाविरोधी आरोप लागेका शुक्रराज शास्त्री दुई वर्षअघिबाटै थुनामा थिए । गंगालाल, दशरथ, धर्मभक्तलगायत पनि पक्राउ परिसकेका थिए । पछि टंकप्रसादलाई पनि पक्राउ गरियो ।

जुद्ध शमशेरको निर्देशनमा गिरफ्तार भएकाहरुको बयान लिन र केरकार गरी सत्य–तथ्य पत्ता लगाउन भनी शंकर शमशेरको अध्यक्षतामा एक केरकार समिति गठन भयो । उक्त समितिमा त्यसबेलाको मेजर दर्जामा रहेका बालकृष्ण शमशेर (बालकृष्ण सम) पनि एक सदस्य रहे । यही केरकार तथा जाँजबुझ समितिले गिरफ्तार गरिएका व्यक्तिहरुलाई सिंहदरबारमा रहेको यातना गृहमा लगी यातना दिँदै बयान लिन थाल्यो ।

बालकृष्ण सदस्य रहेको केरकार तथा जाँचबुझ समितिले दोषी ठहर्याएकाहरुलाई मुद्दा चलाई आवश्यक सजायको निर्णय गर्न पद्म शमशेर, मोहन शमशेर, केशर शमशेरलगायत सम्मिलित विशेष अदालत गठन गरियो । उक्त अदालतले वि.स. १९९७ माघ ६ मा फैसला सुनायो । यही अदालतले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिने फैसला गर्यो । त्यसमध्ये शुक्रराजलाई माघ १० गते टेकु पचलीमा, धर्मभक्तलाई माघ १३ गते सिफलमा झुण्ड्याएर एवं दशरथ र गंगालाललाई माघ १५ गते शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइयो ।

यसरी शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथलाई केरकार गरी जाँजबुझ गर्ने समितिमा रहेका सम नै नेपाल स्मारकमा चार सहिदको सालिक राख्ने परिकल्पनाकार बने । उनी यस कार्यमार्फत् प्रायश्चित पो गर्न चाहन्थे कि !

जेहोस्, स्तम्भको मर्मअनुसार स्तम्भकारले छोटोमा यो प्रसङ्ग उप्काएको हो । यसलाई विस्तृतमा पढ्ने र बुझ्ने इच्छा तपाईंको मनमा पक्कै पनि जागृत भएको छ, यो मेरो विश्वास हो । नयाँ पत्रिकामा ‘यस्ता थिए बालकृष्ण सम’ शीर्षकमा छापिएको यो लेखमा विस्तृतमा पढ्न सक्नुहुने छ ।

===

२. पारिजातको अधुरो प्रेम !

प्रेमबिनाको साहित्य हुँदैन । प्रेमले भरिएको हृदय नबोकी कोही साहित्यकार बन्दैन । सायद । सायद किनभने, प्रेमको कुनै इकाइ हुँदैन । प्रेमको कुनै वर्ग र सीमा हुँदैन । सायद ।

पारिजात

नेपाली साहित्य इतिहासको गर्भमा पुग्दा विभिन्न स्रष्टाहरुका प्रेमका अवशेषहरु भेटिन्छन् । त्यस्तै एक अवशेष भूपी शेरचन र पारिजातको पनि रहेको छ ।

पारिजातको डेरामा विभिन्न पुस्ताका कवि तथा लेखकहरुको सदावहार उपस्थिति रहने गरेको कुरा सबैलाई थाहा भएकै हो । त्यसबेला, पुतलीसडकस्थित पारिजातको डेरा साहित्यिक तीर्थझैं थियो । पारिजातकहाँ गइरहनेमध्येका एक थिए गजलकार ललिजन रावल ।

एकदिन, कुरैकुरामा ललिजनले पारिजातसामु भूपीसँगको सम्बन्धका बारेमा प्रश्न राखे । पारिजातको स्पष्टीकरण थियो, ‘भूपीलाई म एउटा साथीको रुपमा मात्र हेर्थें, जहाँसम्म प्रेमको कुरा छ, मैले भूपीलाई कहिल्यै प्रेम गरिनँ’ । यो कुरालाई ललिजन रावलले ‘पारिजात स्मृतिग्रन्थ, २०५१’मा उल्लेख गरेका छन् ।

तर, साहित्यिक वृत्तमा पारिजातको स्पष्टीकरणले भूपीप्रति उनको अधुरो प्रेमलाई निर्मुल भने पारेन । ०४५ सालको एक बिहान पारिजातले ललिजनलाई फोन गरेर डेरामा बोलाइछन् । ललिजन पुग्दा उनी ठुलो तनावमा देखिइन् । बुझ्दा, भूपी पारिजातको डेरामा आएका रहेछन् । उनले एउटा एल्बम पनि बोकेका रहेछन् । एल्बमको पहिलो पातामै पारिजातको ठुलो फोटो राखिएको रहेछ । त्यो देखाउँदै भूपीले पारिजातलाई भनेछन्, ‘तिमीले साथ नदिएर म बिग्रिएँ ।’

हैट ! पारिजातको प्रेममा त भूपी पो रहेछन् क्यारे ! ठिक छ कि, अब यहाँ पारिजातको प्रतिक्रिया ठुलो कुरो हो ।

पारिजात एकाएक आवेशमा आइछिन् । क्रोधित भइछिन् । र भनिछिन्, ‘तुरुन्तै यहाँबाट गइहाल । मलाई तिम्रो कुरा सुन्ने फुर्सद छैन ।’

पत्याउनु भयो ! तपाईंलाई थाहै छ – पत्याउने या नपत्याउने अधिकार तपाईंसँगै सुरक्षित छ ।

===

३. शास्त्रीय गायक देवकोटा

नेपाली साहित्यमा कसैमाथि सबैभन्दा धेरै मिथकीय किस्साहरु निर्माण तथा प्रचलनमा छन् भने ती लक्ष्मीप्रसाद देवकोटा नै हुन् । महाकवि नै परिचय बनेका देवकोटाको काव्यकारिताका बारेमा धेरै भन्नै पर्दैन । बरु उनी शास्त्रीय गायक पनि थिए भन्ने जानकारी साहित्यप्रति झुकाव राख्ने नवपुस्ताका लागि नयाँ हुनसक्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकाेटा

अँ, देवकोटा शास्त्रीय गायक पनि थिए । प्रायः अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेका घरमा महफिल जम्थ्यो । देवकोटा हारमोनियम बजाउँदै विभिन्न किसिमका रागहरु गाउँथे ।

देशमा ०७ सालमा प्रजातन्त्रको स्थापना भयो । १०४ वर्ष लामो जहानियाँ राणा शासन ढलेर स्थापना भएको प्रजातन्त्रमा पनि ठुलो बेथिति देखेपछि देवकोटा विरक्तिएका थिए । त्यही विरक्तिभावमा उनले एक आलाप प्रायः गाउने गर्थे । जुन यस्तो थियो –

तन्त्र तँ पर जा
पर जा तन्त्र
मन्त्र जपि जपि
पाको भइ आ
तन्त्र तँ पर जा ।।

देवकोटा यस्ता अनेकै अनौठा र लामा–लामा अलापहरु लिएर गाउने गर्थे । यो प्रसङ्गलाई रोचक घिमिरेले अनलाइन खबरका लागि अश्विनी कोइरालासँग गरेको संवादमा समेत उप्काएका छन् ।