Chovar Blues Mobile Size

१. युगकवि सिद्धिचरण श्रेष्ठ सामन्त थिए !

सिद्धिचरण श्रेष्ठ

कुरो हाम्रा युगकवि सिद्धिचरण श्रेष्ठको हो । तपाईंले मनमा गुनगुनाउन थाल्नुभयो होला – … मेरो प्यारो ओखलढुङ्गा … ।

तर कुरो कविताको होइन । कवित्वको पनि होइन । झन् सिद्धान्तको त हुँदै होइन । के चाहिँ हो त ? पख्नुहोस्, म भन्छु । कुरो उनको व्यवहारको हो । सामन्ती व्यवहारको ।

नेपाली साहित्यिक पत्रकारिताका चुचुरा रोचक घिमिरेका बारेमा तपाईंहरु सबैलाई थाहै छ । तर कुरो घिमिरेको साहित्यिक व्यक्तित्वको होइन । साहित्यको पनि होइन । अझ साहित्यिक पत्रकारिताको त हुँदै होइन । भनिसकें त, कुरो युगकवि श्रेष्ठको हो । उनको सामन्ती व्यवहारको हो । जुन घिमिरेले देखे र भोगेका थिए ।

चुरो कुरोतिर लागौं अब ।

सिद्धिचरणलाई घनिष्ट तथा नजिकको व्यक्तिहरुले ‘काजी दाइ’को सम्बोधन गर्थे । रोचक पनि ‘काजी दाइ’ सम्बोधन गर्नेमा पर्थे । बुझिहाल्नु भयो, रोचकको सिद्धिचरणसँग नजिकको सम्बन्ध थियो ।

कुरो ०२५ सालको हिउँदको हो । काजी दाइलाई भेट्न भने ब्रह्मपुरीबाट अर्नेमा गएका थिए । त्यहाँ धानको दाइँ भइरहेको थियो । काजी दाइ खलियानमै भेटिए ।

दाइँ सकियो । धानको उडाइ–बताइ भयो । खेती आसामीले अँधियामा गरेका थिए । दुई थुप्रामा आधा–आधा भाग लगाइयो । अनि काजी दाइले किसानलाई भने, ‘‘तैंले खाएको कर्जा तिर्नुछ, तेरो भागको त्यो थुप्रो पनि यतै मिसा !’’

वर्षभरिको मिहेनतले उब्जिएको अन्न, पुर्याउनु पनि वर्षभरि नै पर्न । किसान बिन्ती भाउ गर्न लागे, ‘‘मालिक, मेरा छोराछोरी भोकै मर्छन् । केही त दया गर्नुहोस् !’’

यतिबेला रोचक काजी दाइको कवि हृदय र उनका सिद्धान्तहरु खोजिरहेका थिए । तर अपेक्षा विपरीत उनी कड्किए, ‘‘सावाँ–ब्याज सबै गर्दा यतिले त पुग्दैन, तँमाथि २ मनजति बाँकी नै रहन्छ । त्यसको कागज गर्, धानसान पाउँदैनस् ।’’

विचरा किसान ! बिन्तीभाउ गर्यो । तुरुक्क आँसु नै झार्यो । तर त्यो गरिब किसानको आँसु मिसिएको आवाजले पनि युगकविलाई पगाल्न सकेन ।

तपाईंलाई पनि लाग्यो होला हैन ! कस्तो निर्दयी । भन्छन् नि, कविको कवितामा कोमलता खोज्ने हो हृदयमा होइन । तर कुरो अझै बाँकी छ है !

अँ, रोचकले आफ्ना प्रिय काजी दाइलाई भनेछन्, ‘‘काजी दाइ ! यति सारो त गर्नु भएन, बिचरालाई केही त दिनुहोस् । यसबाट त तपाईंको सिद्धान्त र व्यवहारमा फरक पर्यो नि !’’

कुरो रोचक छैन त ! युगकविको उत्तर झनै कठोर छ, सुन्नुहोस् । उनले भनेछन्, ‘‘मैले केही दिएँ वा कर्जा माफ गरिदिएँ भने मेरा अरु आसामीले पनि यस्तै खोज्छन् । कहाँ साद्दे हुन्छ ! … आफ्नो सामन्ती छवि राख्न सकेनौं भने यहाँ हाम्रो मान्यता र महत्ता नै खत्तम हुन्छ । यो परम्परा हो, यसलाई नाघ्न मिल्दैन । सिद्धान्त भन्ने कुरा व्यवहारमा उतार्न कहाँ सकिन्छ र !’’

यो प्रसङ्गलाई ‘सम्झनामा फक्रिएका थुँगाहरु’ पुस्तकमा ‘सिद्धान्त र व्यवहारमा फरक व्यक्तित्व’ शीर्षकअन्तर्गत रोचक घिमिरेले विस्तृतमा लेखेका छन् ।

===

२. रक्सी–रसिक उत्तम–ध्रुवचन्द्र

उत्तम नेपाली

महेन्द्रनगरमा एकचोटि, पहिलोपटक निबन्ध गोष्ठी भएको थियो, २०५५ सालमा । संयोजन रमेश विकलले गरेका थिए । त्यहाँ नेपालका ठुला साहित्यकारहरु प्रायःको उपस्थिति रहेको थियो । मेहन्द्रनगर ड्राई एरिया, आयोजकले रक्सी–बियर नखुवाउने घोषणा गाडीबाट ओर्लिंदै विकलले सुनाइसकेका थिए ।

कार्यक्रम भव्यताका साथ सुरु र समापन भयो । रक्सी–रसिक साहित्यकारहरुले आफ्नै पैसाले सुरापान गरे । काठमाडौं फर्किनका लागि गाडी तयार भयो । गाडीमा साहित्यकारहरु तयार भए । तर गाडी अगाडि बढ्ने सकेनन् । होटलका साहुले रोकिदिए ।

सबै ठिक छ – भएको चाहिँ के थियो ? होटलमा साहुको काम त होटल चलाउने हो, तर गाडी किन रोके ? – पख्नुस्, म भन्छु । पत्याउनु–नपत्याउनु तपाईंकै कुरो !

उत्तम नेपाली र ध्रुवचन्द्र गौतम पनि त्यही गाडीमा थिए । उनीहरुले मस्त सुरापान गरेछन्, तर पैसा तिरेनछन् । र, त्यही कारणले होटल साहुलाई गाडी रोक्नुपर्ने बाध्यता आइलागेछ ।

डा. ध्रुवचन्द्र गौतम

गाडी रोकिएपछि गाडीमा भएका अन्य साहित्यकारहरु रिसाउनु स्वभाविक थियो । जनकलाल शर्मा, कृष्णचन्द्र सिंह प्रधान जस्ता द्विगजहरु पनि त्यही गाडीमा थिए । उनीहरुले गर्नु गाली गरे । गाली गर्नै त गाडीका कसैले पनि बाँकी राखेनन्, सायद । एक घण्टाजति गाडी त्यहीँ अल्मलियो । तर सुरापानको स्वादमा मस्त उत्तम–ध्रुवचन्द्र द्वयलाई कुनै फरक पर्ने कुरै थिएन ।

कथाकार भाउपन्थी त्यहाँका स्थानीय । उनकी श्रीमती स्थानीय नेत्री रहिछिन् । अन्ततः उनले होटलवालासँग कुरा गरिन् । सायद हिसाब आफूले मिलाउने जनाइन् । र, गाडी होटल साहुको कब्जाबाट मुक्त भयो ।

पत्याउनु भयो ? तपाईंलाई थाहै छ, पत्याउने–नपत्याउने सर्वाधिकार तपाईंसँगै सुरक्षित छँदैछ ।

===

३. शिरीषको फूल ‘च्यातेर फालिदिए हुन्छ’

पारिजात

नेपाली साहित्य वृत्तमा लक्ष्मीप्रसाद देवकोटा र उनका कृतिलाई लिएर एक चर्चित वाक्य छ । देवकोटाले आफ्ना आखिरी दिनमा भनेका थिए रे, ‘‘मेरा ‘मुना–मदन’बाहेकका सबै कृतिहरु जलाइदिए हुन्छ ।’’

यो कुरा देवकोटा आफैंले भने या नेपाली साहित्यका बृहत् मिथिकीय पात्रमाथिको मिथक मात्र हो, त्यो अलग पाटो हो । तर, यही कुरा पारिजातको मामिलामा भने ठिक उल्टो भएको देखिन्छ । उनले भनेकी थिइन्, ‘‘साहित्यमा कलात्मकता केही होइन । यही सोचेर ‘शिरीषको फूल’ च्यात्नुमा म आपत्ति मान्दिनँ ।’’

यहाँ मुख्य कुरो यो होइन – पारिजातले शिरीषको फूललाई ‘च्यातिदिए हुन्छ’ भनिन् । किन त्यसो भनिन् ? – यो चाहिँ मुख्य प्रश्न हो ।

अब गुदी कुरोमा जाऔं ।

कतिपय प्रगतिवादी समीक्षकहरुले ‘शिरीषको फूल’लाई गैरजीवनवादी सिर्जना ठह¥याएका थिए । शिरीषको फूलको प्रकाशनपछि पारिजातले पनि बामपन्थी धार समाइन् । र, आफैंले आफ्नो सर्वप्रिय कृति ‘शिरीषको फूल’लाई गैरजीवनवादी मानिन् । कतिसम्म भने, उनले यसको दोस्रो संस्करणको अनुमतिसमेत दिइनन् । आफैंले बहिष्कार गरिन् ।

अनि, फेरि प्रकाशनमा कसरी आयो ? अर्को कुनै अङ्कमा गफगाफ गरौंला । ल !

पारिजातले भनेकी छिन्, ‘‘आजको समाजले ‘शिरीषको फूल’ च्यातिदिए हुन्छ । सापेक्षतामा ‘महत्ताहीन’ माथिल्लो छ । वैचारिक दृष्टिले ‘शिरीषको फूूल’जस्ता कृति लेखिनु हुँदैन । ‘शिरीषको फूल मुर्दासमान भइसकेको छ । यसको हत्या समयले गरिसक्यो । तर ‘महत्ताहीन’को म चिहान खन्ने पक्षमा छैन । यथार्थता राजनीति भएकाले समाजको तीतो बोध हुने भएकाले यो महत्त्वपूर्ण छ…. ।’’

यो प्रसङ्गलाई गोविन्द गिरी प्रेरणाले पारिजातको जीवनी ‘सुश्री पारिजात’समेत उल्लेख गरेका छन् ।