१. कवि शिरोमणि लेखनाथ पौड्यालको दाह्री

साहित्यमा थोरैमात्र चासो राख्नेले कवि शिरोमणि लेखनाथ पौड्यालको चित्र सम्झदा मस्तिष्कमा सबैभन्दा पहिले के आउँछ ? – दाह्री । पक्कै, उनको सेतै फुलेको लामो दाह्री ।

तर कहिल्यै सोच्नुभएको छ – कवि पौड्यालको गालामा सधैं किन दाह्रीको भारी हुन्थ्यो ? वा, दाह्रीबिनाका कवि शिरोमणिका तस्बिर किन छैनन् ? केही छैन । आजसम्म सोच्नुभएको छैन भने अब सोच्नुहोस् । सोच्नका लागि २ मिनेटको समय छुट्याइएको छ ।

अब गुदी कुरोतिर लागौं । कुरो के भने, कवि पौड्याल भीम शमशेरका दरबारमा केटाकेटी पढाउन जान्थे । खास कुरोचाहिँ, उनको गालामा तुर्लुङ्ग एउटा मासुको डल्लो झुण्डिएको थियो । शमशेरका चकचके केटाकेटीहरू जुनबेला पनि पौड्यालको गालामा झुण्डिएको मासुको डल्लो तानिदिन्थे । हैरानै बनाउँथे । त्यही कारण, कवि पौड्यालले गालाको मासुको डल्लो छोप्न दाह्री पाल्न थालेका थिए ।

अनि, दाह्री पालेर चाहिँ के भयो त ? – मासुको तुर्लुङ्ग डल्लो छोपियो । अर्को कुरा त तपाईँलाई थाहा नै छ, त्यही दाह्री पौड्यालको ब्राण्ड बन्यो ।

अँ, कवि शिरोमणि लेखनाथ पौड्यालको दाह्रीबिनाको तस्बिर तपाईंसँग भए अवश्य खबर गर्नुहोला । स्तम्भकारलाई दाह्रीबिनाका लेखनाथ पौड्याल हेर्न मन छ के !

===

२. हरिभक्त कटुवालका मलामी जम्मा १३ जना !

हरिभक्त कटुवाल

कुरो हरिभक्त कटुवालको हो, तर कविताको होइन । कटुवालसँग जोडिएर आउने रक्सीको पनि होइन । बरु मृत्युको चाहिँ हो । अझ, उनको शवयात्रामा समेल मलामीहरूको हो । मलामी सङ्ख्याको हो ।

कटुवाल र अभाव सधैंभरि, जीवनभरि सबैभन्दा निकट रहे । उनी प्रज्ञा प्रतिष्ठानबाट अनेक जालसाजी गरेर निकालिएको तर्क साहित्य वृत्तमा कहिल्यै पुरानो हुँदैन । तर हरिभक्त ती कवि हुन्, जसले राजाले बक्सिसमा काठमाडौंमा जग्गा दिँदा लिन मानेन् । बरु भने, ‘‘होइन हजुर, मलाई यो जग्गाको के काम ? म त साहित्यको खेती गर्ने मान्छे हुँ ।’’

तर कुरो कटुवालको जीवनको होइन, मृत्युको हो । मलामीको हो । जीवनभर अभावमा बाँचेका कटुवाल स्वाभिमानी र इमान्दार थिए । माथि उल्लेख गरिएको ‘राजा–जग्गा’ प्रसङ्गबाटै यो कुरा थाहा लाग्छ । तर उनकै शवयात्रामा मलामीको सङ्ख्या जम्मा १३ थियो । कटुवालको मलामी सङ्ख्याको प्रसङ्ग उनीमाथि बनेको वृत्तचित्रमा पनि समेटिएको छ ।

आखिर के कारण थियो उनको मलामी जम्मा १३ जना हुनुमा ? चिन्ता नलिनुहोस्, म बताउँछु ।

कटुवाल क्षयरोग र अल्सरबाट ग्रस्त हुँदाहुँदै असममा बितेका थिए । क्षयरोग सरुवा रोग भएका कारण धेरै मान्छेहरू तथा साथीसँगतीहरू पनि उनको सामु जान डराए । मृत्युपछि, शवको सामु जान पनि डराए । अर्को चाहिँ, उनले आफ्नो उर्जाशील समय नेपालभूमिमै बिताए । त्यसो हुँदा  असममा उनका साथीसङ्गीहरू कमै भए । यही कारणले हरिभक्त कटुवालको शवयात्रामा मलामी सङ्ख्या सिर्फ १३ जना हुन पुग्यो ।

तेस्रो चाहिँ, यो पनि हल्ला सुनिन्छ कि रक्सीका कारण धेरै व्यक्तिसँग उनको सम्बन्ध बिग्रेको थियो । मलामी सङ्ख्यामा त्यसको असर पनि पर्यो ।

===

३. ध्रुवचन्द्र गौतमको प्रतिमा

डा. ध्रुवचन्द्र गौतम

प्रसङ्ग हाम्रा आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतमको हो, तर सुरु लेखक गिरीश गिरीबाट सुरु गर्नुपर्ने हुन्छ । गिरीश गिरीलाई चिन्नुभएन भने शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ पढ्नुहोला ।

गिरीशका बुबा गोपाल गिरी, जसलाई राजाले ६० सालमा तत्कालीन वीरगञ्ज नगरपालिकाको मेयरमा मनोनित गरेका थिए । तर ६ महिनापछि नै सशस्त्र जनयुद्धमा रहेको माओवादीले गोली हानी उनको हत्या गरिदियो ।

अब मुख्य प्रसङ्गमा जाऔँ । गोपाल गिरी र डा. ध्रुवचन्द्र गौतमको सम्बन्ध नजिकको थियो । आफू मेयर भएपछि एकदिन गिरीले गौतमसँग भनेछन्, ‘‘ध्रुवजी, तपाईंले नेपाली साहित्यमा धेरै कुराहरू दिइसक्नुभएको छ । बुझ्नुभो, अब म वीरगञ्जमा तपाईंको पूर्ण कदको प्रतिमा बनाउँछु ।’’

मुख्य प्रसङ्ग आयो । तर, गुद्दी कुरोचाहिँ हाम्रा आख्यान पुरुषको उत्तरमा छ । सुन्नुहोस् ।

गौतमले ठट्यौली पारामा भनेछन्, ‘‘किन बनाउनु पर्यो प्रतिमा ? बरु त्यो पैसा मलाई दिनूस् । म तपाईं जहाँ भन्नुहुन्छ त्यहीँ मूर्तिझैं उभिन्छु ।’’

कुरो सकियो ।

पत्याउने–नपत्याउने अधिकारी सधैं झैं तपाईंसँगै छँदै छ ।