विश्वको पहिलो लेखक
२३ औं ईशापूर्वतिर मेसोपोटामिया हालको इराकमा जन्मिएकी एन्हेडुआना विश्वको पहिलो कवि तथा लेखिका हुन् । उनी जन्मिएको १५०० वर्षपछि मात्रै होमर जन्मिएका थिए । उनी बेबिलोनिया तथा मेसोपोटामिया सभ्यताकी पुजारी तथा भजनहरूको रचनाकार थिइन् । ‘देवी इनन्ना’ र ‘द एक्लेटेशन अफ इनन्ना’ उनले लेखेको विश्वको पहिलो र चर्चित कृति हुन् ।
उनले आफ्नो भजन तथा केही कविताहरू माटो तथा केही शिलाहरू प्रयोग गरेर लेख्ने गरेकी थिइन् । उनका ती लेख रचना तथा केही प्रतिलिपिहरू १८ औं ईसापूर्वदेखि सुरक्षित राखिदै आइएको थियो । यद्यपि, ऐतिहासिक अभिलेखले एन्हेडुआनालाई पुरातन साहित्यिक रचनाकारको रूपमा परिचित गराउँदछ ।
कविता बाहेक उनको जीवनी अन्य स्रोत तथा पुरातत्वविद्हरुद्वारा पत्ता लगाइएको थियो। माटो तथा केही पथ्थरहरूमा उनले लेखेको शिलालेखहरू ब्रिटिश पुरातत्वविद् सर चार्ल्स लियोनार्ड वूली र उनको उत्खननकर्ताहरूको टोलीले सन् १९२७ मा पत्ता लगाएका थिए।
…
मुनामदन ८ घण्टामा लेखिएको कृति
नेवारी समुदायले देवकोटालाई त्यति रुचाउँदैनन् । उनीहरू देवकोटालाई आफ्नो पुरानो लोक गीत “जि वया ला लछि मदुनि” को चोरी गरेर नेवारी भाषा साहित्यमाथि ठूलो अन्याय गरेको आरोप लगाउँछन् । तर देवकोटाले त्यसको नक्कल या चोरी नगरेर त्यसको प्रभावले चाहिँ राती आठ घण्टामा मुनामदन लेखी भ्याएका हुन् भन्नेहरू पनि छन् ।
राणा शासनको अत्याचारको कारण त्यो बेला नेपालमा कुनै पनि प्रकाशन थिएनन् । पुस्तक छाप्न पनि राणाहरूकै अनुमति चाहिन्थ्यो । उनले आफ्नो रचना छपाउने रहर बालकृष्ण समकहाँ गएर सुनाएका थिए । तर उनले पुस्तक छाप्न केही सहयोग गर्न नसक्ने बताएपछि उनी ब्रह्म शमसेरकहाँ गए । ब्रह्म शमशेरलाई आफ्नो रचना वाचन गरेर सुनाए । त्यसबेला उनी ब्रह्म शमशेरका छोराहरूलाई ट्युसन पढाउने काम गर्थे । अन्ततः ब्रह्म शमशेरलाई उनको रचना मन पर्यो र छाप्ने अनुमति दिए । उनले इछ्याएकै समय १९९२ सालमा मुनामदन प्रकाशन भयो । मुनामदन मन परेपछि जुद्ध शमसेरले देवकोटालाई एक हजार रुपैयाँ बक्सिस दिएका थिए ।
मुनामदन नेपालको सर्वाधिक लोकप्रिय कृति यो । यसले जति चर्चा र माया नेपाली साहित्यमा अरु कुनै कृतिले पाएको छैन । यसको जति समीक्षा र समालोचना पनि अरु लेखिएको छैन । ०७४ सालमा मात्र साझा प्रकाशनले ५० हजार प्रति छापेको थियो । नेपालमा सर्वाधिक बिक्री भएको मुनामदन अहिलेसम्म १० लाख प्रति भन्दा बढी बिक्री भइसकेको छ ।
…
पहिलो महिला गायीका
विसं १९५४ साल ओखलढुङ्गाको रुम्जाटार जगरबोट वडा नं ८ मा जन्मिएकी मेलवा देवी गुरुङ नेपालको पहिलो महिला रेकर्डेड गायीका हुन् ।
सानो उमेरदेखि नै उनी केही न केही गाइरहन्थिन् । उनको गाउने कला र स्वरबाट मन्त्रमुग्ध भएर उनको बुबाले डोकोमा बोकेर काठमाण्डौँ ल्याएर दरबारमा छोडेका थिए । बालक कालमै राणा दरबार पसेकी उनले डूण्डे खाँ, बालाजिप्रसद शर्मा र अन्यसँग शास्त्रीय संगीतको तालिम लिने मौका पाइन् ।
उनको स्वर सानैदेखि निकै मीठो थियो । उनको स्वर मन परेर नै चन्द्र शमशेरले उनलाई दरबारमा राखेका थिए । उनको मीठो स्वरप्रति त्यहाँका दरबारियाहरुलाई डाह लाग्न थाल्यो । चन्द्र शमशेरले पनि उनलाई एकछिन छोड्न सकेनन् । सिकार खेल्न जाँदा पनि उनलाई सँगै लिएर जान्थे । समय समयमा उनको तलब भत्ता बढाइदिन्थे । उनले यसरी सम्मान पाउँदै गएको चन्द्र शमशेरकी श्रीमती मल्लिका देवीलाई पटक्कै मन परेन । अन्तत मलवा देवीप्रती षड्यन्त्र रच्न थालिन् ।
केही सुसारेहरुको साथमा लागेर उनको स्वर बिग्रियोस् भनेर बनारसी पानमा सिन्दूर घोलेर उनलाई खान दिइन् । यसको असरले बिस्तारै उनको स्वर भारी हुँदै गयो । उनको स्वर बिग्रिएपछि चन्द्र शमशेरलाई चिन्ताले सताउन थाल्यो । पछि उनले बेलायती घाँटी विषेशज्ञ डाक्टर बोलाएर उनको उपचार गराए । तर उनको स्वर कहिल्यै ठीक भएन ।
उनको लागि चन्द्र शमसेरले विजयीस्वरमा घर बनाइदिएका थिए । उनी त्यही घरमा बस्थिन् । तर दरबारियाहरुको षड्यन्त्रको कारण उनले त्यो घर छोडेर कलकत्ताको बसाइ रोजिन् । त्यसपछि बाँचुन्जेल उनी कलकत्तामै बसिन् ।
विसं १९८५ मा गाएको “सवारी मेरो रेलैमा” उनको पहिलो गीत हो । यो गीत रेकर्ड गर्दा उनको स्वर पहिलाजस्तो नभएर बिग्रिएको थियो । यसको रचना र संगीत उनी आफैले गरेकी थिइन् । कलकत्ताको “हिज मास्टर भ्वाइस” नामक रेकर्डिङ ग्रामो फोनमा उनले यो गीत रेकर्ड गराएकी थिइन् । आफ्नो २ छोराको सानैमा मृत्यु भएपछि रेलमा सवारी भएर कलकत्ता जाँदा उनले उक्त गीतको रचना गरेकी थिइन् ।
राणाहरूले आफ्नो फाइदाको लागि मात्रै उनलाई प्रयोग गरे । उनको प्रतिभाको कदर गर्न जानेनन् । उनको प्रतिभाको कदर गर्न जानेको भए उनको स्वरले नेपाली गीत संगीत क्षेत्रमा छुट्टै इतिहास बनाउँथ्यो । त्यतिबेलाको भनाइ थियो, मेलवा देवीको जस्तो मीठो स्वर संसारमै अरूको छैन ।
यस सम्बन्धी एउटा सत्य घटना छ । चन्द्र शमशेरको साँहिला छोरा उनको स्वरमा हुरुक्कै हुन्थे रे । एकदिन उनले मेलवा देवीलाई भनेछन् । “तिमी राग गाएर आकाशबाट पानी बर्साउन सक्छौ ? राग गाएर आकाशबाट पानी बर्सायौ भने तिमीलाई म पाँच हजार इनाम दिन्छु ।”
“म पानी बर्साउन त सक्छु । तर यति पानी बर्साउन सक्छु भनेर चाहिँ भन्न सक्दिनँ । तर पानी जरूर बर्साउँछु ।” यति भनेर उनले राग गाउँन थालिन् । नभन्दै केही समयमा नै आकाशमा बादलहरू मडारिएर पानी पर्न थाल्यो रे । अन्ततः उनले पाँच हजार बाजी हारे रे ।
उनले पाली, हिन्दी, उर्दू, नेवारी र बंगाली भाषामा पनि गीत गाइन् । तर उनले गुरुङ भाषाको गीत भने कहिल्यै गाइनन् । अन्तत विसं २०१२ मा खाना पकाउने स्टोभ पड्केर कलकत्तामा उनको मृत्यु भयो । कलकत्तामा हुँदा उनले धेरै सम्मान र पुरस्कारहरू पाएकी थिइन् । उनको ती पुरस्कार तथा क्यासेटहरु सबै उनको चितामा जलाइए । उनले आफूले पाएको सम्मान तथा क्यासेटहरू आफ्नो मृत्युपछि आफूसँगै जलाउन आग्रह गरेकी थिइन् ।
…
सङ्कलनः मिलन कार्की ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।