१. विश्वको सबैभन्दा लामो कविता

दोस्रो र तेस्रो शताब्दीताका लेखिएको महाभारतलाई हालसम्म लेखिएको विश्वको सबैभन्दा लामो कविता र सबैभन्दा ठूलो महाकाव्य मानिन्छ । यसमा संस्कृतका १ लाख श्लोक र १८ लाख शब्दहरू रहेका छन् । यो महाकाव्य प्रसिद्ध ग्रीक महाकाव्य इलियड र ओडिसीभन्दा दस गुणा र रामायणभन्दा चार गुणा ठूलो रहेको छ ।

महाभारतलाई दोस्रो गीता र पाँचौं वेद पनि भनिन्छ । यसको रचना ऋषि वेदव्यासले गरे पनि यसको रचना गर्ने मुख्य श्रेय भगवान् श्री गणेशलाई जान्छ । गणेशले नै वेदव्यासले वर्णन गरेको श्लोकको आधारमा यसको रचना गरेको हुन् भन्ने शास्त्रीय मान्यता छ ।

महाभारत

यस महाकाव्यमा हजारौं ऐतिहासिक तथा पौराणिक कथाहरू समेटिएका छन् । वास्तवमा यो प्राचीन कालमा कौरव र पाण्डवबीच भएको युद्धको कथा समेटिएको ग्रन्थ हो । यस महाकाव्यको मुख्य लक्ष्य भनेको जीवनको चार उद्देश्य पूरा गर्नु हो । ती लक्ष्यहरूः १) धर्म, २) अर्थ, ३) काम, र ४) मोक्ष हुन् ।

….

२. शेक्सपियरलाई घृणा गर्ने चार लेखक

शेक्सपियर

शेक्सपियरले जति लोकप्रियता कमाए, त्यति त अरु लेखकले सायदै कमाए । तैपनि केही विश्वचर्चित लेखकहरूले भने उनलाई फिटिक्कै मन पराएनन् ।

लियो टोल्सटोय

मन नपराउने महान् लेखकहरूमा लियो टोल्सटोय प्रथम नम्बरमा पर्छन् । युद्ध र शान्ति अनि अन्ना करेनिनाजस्ता विख्यात पुस्तकका लेखक टोल्सटोय शेक्सपियरका हालसम्मकै कुख्यात आलोचक मानिन्छन् ।

सन् १९०३ मा प्रकाशित शेक्सपियर र उनको नाटकमाथि आलोचना गर्दै टोल्सटोयले शेक्सपियरका नाटकहरूलाई तुच्छ र सकारात्मक रूपमा साह्रै नराम्रो भनेका छन् । उनले त “शेक्सपियर घातक र एक तुच्छ अकलात्मक लेखक” भनी निन्दासमेत गरेका छन् । भनिन्छ, उनले जति शेक्सपियरको आलोचना अरू कसैले गरेको छैन । उनले जुनै ठाउँमा पनि शेक्सपियरको आलोचना गरिरहेका हुन्थे ।

अर्का प्रख्यात लेखक जर्ज बनार्ड शअ पनि शेक्सपियरका चर्का आलोचक हुन् । सन् १९२५ को नोवेल पुरस्कार विजेता शअलाई त शेक्सपियर पछिका दोस्रो प्रभावशाली बेलायती नाटककार मानिन्छ।

जर्ज बनार्ड शअ

सन् १८९० को दशकको अन्त्यमा बनर्ड शअले लन्डनको अखबार समीक्षा थियटरमा समीक्षकको रूपमा तीन वर्ष बिताए । त्यही क्रममा उनले शेक्सपियरका केही नाटक र ‘ओथेलो’लाई लिएर अव्यावहारिक नाटकको उपमा दिएका थिए। उनले समीक्षामा भनेका थिए, “मैले शेक्सपियरको दर्शनमा शून्यता, व्यवहारमा अनैतिकता, विचारको कमजोरी, असङ्गत पाएँ । अश्लील हर्कत र अज्ञानताबाहेक उनको नाटकमा अरु केही भेटिनँ ।”

उनले अझै थपेका छन्, “यहाँ कोही पनि प्रख्यात लेखक छैन।  जसरी म वाल्टर स्कटलाई घृणा गर्छु त्यसरी नै शेक्सपियरलाई ।”

यस्तै भोल्टेयर पनि शेक्सपियरलाई मन पर्दैनथ्यो । १८ औं शताब्दीका यूरोपीय साहित्यका महान् रत्न भोल्टेयरको विश्वविख्यात उपन्यास क्यान्डिड उनले तीन दिनमा लेखेका थिए भनिन्छ । व्यावसायिक रूपमा सफल हुने फ्रान्सेली लेखकहरुमध्ये उनलाई पहिलो मानिन्छ ।

भोल्टेयर

सुरुसुरुमा त उनी शेक्सपियरको प्रशंसक थिए । तर पछि जति बुढो हुँदै गए उति नै शेक्सपियरको आलोचक बन्दै गए । यूरोपमा शेक्सपियरको प्रसंशा बढ्दै गएपछि उनले शेक्सपियरको आलोचनालाई तीव्र बनाउन थालेका हुन् ।

सन् १७६५ मा आफ्ना वकिल साथी बनार्ड जोसेफ सउरिनलाई लेखेको पत्रमा भनेका थिए, “उनमा जङ्गली कल्पनाशीलता रहेको र उनको नाटकले लन्डन र क्यानडाबासीलाई मात्र खुसी बनाउन सक्छ । अन्य राष्ट्रहरूलाई उनको नाटकमा कुनै स्वाद छैन । उनको कुरा सुन्यो कि मेरो रगत उम्लन्छ । शेक्सपियरको बारेमा बोल्ने र आलोचना गर्ने म पहिलो फ्रान्सेली हुँ । उनको नाटक ह्याम्लेट अभद्र र बर्बर केटाकेटीको खेल हो । उनी मातेका जङ्गली मानिस हुन् । मलाई उनको ज्ञान भनेको विशाल गोबरको थुप्रो झैं लाग्छ ।”

यस्तै शेक्सपियरलाई मन नपराउने अर्का बेलायती लेखक जेआरआर टोल्किन पनि हुन् ।

जेआरआर टोल्किन

विश्वविख्यात उपन्यास ‘द लर्ड अफ रिङ्स’का लेखक टोल्किन किशोर अवस्थादेखि नै शेक्सपियरको आलोचक थिए ।

सन् १९०० मा स्कूलको बहस तथा भाषण कार्यक्रममा उनले शेक्सपियरको सम्बन्धमा लामो भाषण दिएका थिए । उनका जीवनी लेखक हम्फ्रे कार्पेन्टरका अनुसार, “उनी फोहोरी परिवेशमा जन्मेका र फोहोरी मानसिकता बोकेर हुर्केका व्यक्ति हुन् । उनी घिनलाग्दो चरित्र भएका मानिस हुन् । उनको रचना पढ्ने र उनको विचार विश्लेषण गर्नेहरू मूर्ख हुन्” भनेर चर्को आलोचना गरेका छन् ।

३. तीन पटक मदन पुरस्कार

वाङ्मय तथा शताब्दी पुरूष सत्यमोहन जोशी गत महिना असोज ३० गते १०३ वर्षको उमेरमा स्वर्गरोहण हुनुभयो । उहाँ मात्र यस्तो भाग्यमानी व्यक्ति हुनुहुन्थ्यो कि नेपाली लोक सँस्कृति तथा नेपाली साहित्य क्षेत्रमा सबैभन्दा लामो समयसम्म योगदान दिनुभयो । र अर्को कुरा, आफ्नो जीवनी आफैँले विमोचन गर्न र पढ्न पाउनुभयो ।

सत्यमोहन जोशी

नेपालका विभिन्न गाउँगाउँ गएर उनले विरही गीत सङ्कलन गर्दै जाँदा उहाँले ‘लोक संस्कृति’ नामक पुस्तक लेख्नु भएको थियो । यही पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो। नेपालमा लिच्छवि कालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरूको खोजतलास गर्दै र यही सेरोफेरोमा लेखिएको ‘नेपाल राष्ट्रिय मुद्रा’ पुस्तकका लागि २०१७ सालमा उहाँले दोस्रोपटक मदन पुरस्कार प्राप्त गर्नुभयो । तेस्रोपटक २०२८ सालमा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कारबाट सम्मानित हुनु भएको थियो । हालसम्म तीनपल्ट मदन पुरस्कार पाउने उहाँ एक्लो साहित्यकार बन्नुभयो।

सङ्कलनः मिलन कार्की ।