

‘इजोरिया’ बेचेर बुवाको उपचार

०७९ भदौ अन्तिम साता फाइनप्रिन्टबाट प्रकाशन भएको सुबिन भट्टराईद्वारा रचित ‘इजोरिया’ प्रकाशन भएको पहिलो सातामै पहिलो संस्करण सकियो । दशैंपछि प्रकाशन भएको दोस्रो संस्करण यतिखेर बजारमा धमाधम बिक्री भइरहेको छ ।
किताब किरोका पुस्तक व्यवसायी तारानिधि रेग्मी भन्नुहुन्छ, “यतिबेला ‘इजोरिया’ प्रकाशन नभएको भए म बुबाको उपचार गर्दा ठूलै ऋणमा फँस्ने थिएँ । ‘इजोरिया’कै कारण अरु पनि केही पुस्तक मज्जाले बिक्री भए । मलाई ‘इजोरिया’ले मात्रै बुवाको उपचार गर्न भने सहयोग गरेको हैन । मैले झण्डै ९ हजार भन्दा बढी त ‘इजोरिया’ मात्रै बेचेँ । यसरी ‘इजोरिया’ले मलाई ठूलो ऋण लाग्नबाट बचायो ।”
उहाँका बुवालाई बिपी स्वास्थ्य प्रतिष्ठान धरानमा आइसियुमा २६ दिन र एक साता बाहिर राख्दा हस्पिटल राख्दा साढे छ लाख खर्च भएको थियो ।
एकै महिनामा लेखिएको ‘सेतो धरती’

२०६८ सालमा मदन पुरस्कार प्राप्त कृति ‘सेतो धरती’ हालसम्म ६५ हजार प्रतिभन्दा बढी बिक्री भएको उपन्यास हो ।
अहिले पनि गाउँघरतिर पौष शुक्ल पूर्णिमाको दिनदेखि श्री स्वस्थानीको व्रतकथा आरम्भ गरिएजस्तै महिनाभरि ‘सेतो धरती’को पनि अध्ययन हुने गरेको छ । गाउँघरतिरका केही प्रौढ मानिसहरूले ‘सेतो धरती’लाई पनि स्वस्थानीको कथाझैं प्रिय ग्रन्थ मानेर एक जनाले कथा वाचन गर्ने र अरूले ध्यानपूर्वक सुन्ने चलन बसेको पाइन्छ । केही गाउँ घुम्ने क्रममा लेखकलाई ती प्रौढ मानिसहरूले “हामीलाई त तपाईँको पुस्तक स्वस्थानी झैं प्यारो लाग्छ। त्यसैले हामीले यसलाई हरेक पौष शुक्ल पूर्णिमाको दिनदेखि स्वस्थानीसँगै पढ्ने गरेका छौँ” भन्ने गरेको पुस्तक प्रकाशनको १० वर्ष पूरा भएको अवसरमा प्रकाशित संस्करणमा उल्लेख छ ।
यो पुस्तक ०६७ साल घटस्थापनाको दिन लेख्न थालिएको थियो । लेखक अमर न्यौपानेले उपन्यास लेख्ने बारे सोचेका थिएनन् । बूढाबूढीको कथा लेख्ने भनेर लेख्न थालेका थिए । ०६८ साल वैशाखमा मात्र उनले पात्रहरूमाथि अन्याय हुने सोचेर चितवनको देवघाटमा केही समय सूक्ष्म अध्ययन गर्न बसे । दोस्रो पटक उनी पुनः देवघाट गए र विपश्यना ध्यान गरे ।
‘सेतो धरती’का लागि चाहिने सबै अध्ययनपश्चात् ०६८ मंसिर २७ गतेबाट उनले लेख्न थाले । डेस्कटप भए पनि उनले फोटोकपी कागजमा लेख्न थाले । लेखेर मन परेका शब्दहरू उनले भित्तामा टाँस्थे । पुस २७ मा यसको लेखन सकिएको थियो ।
दुई महिनामा सम्पादन गरेर ०६८ चैतमा बजारमा आएको थियो ।
पुस्तकको रोयल्टीबाट काठमाडौँमा जग्गा

सन् ००७ मा १ लाख ३५ हजार प्रति बिक्री भएको पुस्तक हो ‘रक्तकुण्ड’ । पुस्तकका लेखक कृष्ण अविरल हुन् । यो पुस्तक अहिले पनि सहज रूपमा बिक्री भैरहेको छ । यसै पुस्तकको रोयल्टीबाट लेखकले भक्तपुरको लोकन्थलीमा जग्गा किनेका हुन् ।
दरबारमा तत्कालीन राजा वीरेन्द्रको वंश नाश हुनेगरी भएको हत्याकाण्डलाई केन्द्रित गरेर सार्वजानिक भएको पुस्तक हो । दरबार हत्याकाण्ड भित्रका रहस्यहरू उत्खनन् गर्न अनि गणतन्त्र बहालीका लागि राजपरिवारको नैतिक धरातल समाप्त पार्ने उद्देश्यका साथ सो उपन्यास निकालेको लेखकको भनाइ थियो ।
“कसैलाई असत्य लाग्यो भने मेरो भन्नु केही छैन,” लेखकले पुस्तकको प्रामाणिकताबारे भन्ने गरेका छन् ।
यस पुस्तकले ५० प्रतिशत आलोचना र ५० प्रतिशत समर्थन पाएको थियो । उपन्यास बजारमा आए लगत्तै लेखकमाथि केही जासुसहरू लगाइएको थियो भन्ने समाचार पनि बाहिरिएको थियो । किताब लेखिएकै कारण घर बदल्नै हिँड्नु परेको थियो । यसै पुस्तकका कारण लेखकलाई धेरैतिरबाट ज्यान मार्ने धम्की पनि आएको थियो ।

मिलन कार्की



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

मिलन कार्की
पुष १, शुक्रबार १८:५९