१. पहाडी-प्रसाईंबिचको त्यो चर्चित पुरस्कार विवाद
कुरो मोती पुरस्कारको । वर्ष मोती पुरस्कार । युवा वर्ष मोती पुरस्कार ।
पुरस्कारको नामबाटै हामीलाई थाहा लागिसक्यो, यो पुरस्कार कसका लागि स्थापना गरिएको हो ।
थोरै यो पुरस्कारको पृष्ठभूमि जानौँ । सन् १९७५ मा पहिलोपटक अन्तर्राष्ट्रिय युवा वर्ष मनाउन समिति गठन गरिएको थियो, संयुक्त राष्ट्र सङ्घको आव्हानमा । जसको अध्यक्ष थिए कमल थापा । कमल थापा र अध्यक्षको अन्तरसम्बन्धका बारेमा त मैले भन्नु परोइन । अँ, थापाकै पहलमा ‘युवा वर्ष मोती पुरस्कार’को स्थापना गरियो । चालीस वर्षसम्मको युवाले पाउने गरी ।
यो त भयो पुरस्कारको कुरो । तर चुरो कुरो भने विवादको हो । पुरस्कार विवादको ।
सुरूका वर्षहरूमा एकल रूपमा प्रदान गरिँदै आएको यो पुरस्कार समयसँगै संयुक्त रूपमा दिन थालियो । फलस्वरूप वि.स. २०४८ सालको युवा वर्ष मोती पुरस्कार त्यसबेलाका जल्दाबल्दा युवा नरेन्द्रराज प्रसाईँ र किशोर पहाडीलाई संयुक्त रूपमा दिने घोषणा गरियो । जुन निर्णयले पुरस्कारलाई ठुलो विवादमा तान्यो । विवादको कारण बनेर आयो राजनीतिक आस्था ।
किशोर पहाडी थिए घनघोर जुझारू प्रजातान्त्रिक युवा । ठिक विपरीत नरेन्द्रराज राजा र राजतन्त्रको हिमायतीका रूपमा चिनिन्थे । यही कारणले किशोर पहाडीले पुरस्कारलाई चुनौती दिँदै अर्को घोषणा गरे, राजतन्त्रका हिमायती प्रसाईँसँग आफूले सो पुरस्कार नलिने । र, उनले युवा वर्ष मोती पुरस्कार अस्वीकार गरे । पहाडीले पुरस्कार वहिष्कार गरेपछि उनको समर्थनमा तत्कालीन प्रजातन्त्रवादी तीन दर्जन बढी साहित्यकारहरूले संयुक्त वक्तव्य नै निकाले ।
पुरस्कारको विवाद र वहिष्कारको सन्दर्भमा किशोर पहाडी र नरेन्द्रराज प्रसाईंको यो प्रकरण निकै चर्चित घटनाको रुपमा साहित्यिक जगतमा आज पनि चर्चा हुने गर्छ ।
स्तम्भकार ! सकियो तेरो बकबक ? छैन । अझै थोरै बाँकी छ । एक्कै मिनेट ल !
अँ, किशोर पहाडीले पुरस्कारको पोस्टमा हानेको गोल नरेन्द्रराज प्रसाईंको हातमा पुग्यो । उनले आफूलाई ‘थ्रेट’ आएको भन्दै ‘मेरो मोती पुरस्कार’ शीर्षकमा लेख नै लेखे । पछि त्यही शीर्षकमा पुस्तकै पनि प्रकाशित गरे ।
अन्त्यमा, तपाईंले प्रश्न गर्न सक्नुहुन्छ – बकबकै भए पनि स्रोत खुलाउनु पर्दैन । उत्तर हो, पर्छ । तर तपाईंले पनि बुझ्नुपर्ने कुरा चाहिँ यो छ कि, ‘पत्याउनुस्/नपत्याउनुस्’को स्रोत के कति अवस्थामा गोप्य हुन्छन् । के कतिचाहिँ लोककथा र मिथक जस्ता पनि हुन्छन् ।
तर, पुरस्कार विवादका बारेमा चाहिँ अनलाइनखबरमा ‘साहित्यिक पुरस्कारमा सधैं रडाको’ शीर्षकमा गोविन्द गिरी प्रेरणालाई पढ्न सक्नुहुन्छ ।
===
२. वेर्नर कार्ल हाइजेनवर्गः जसलाई एक पुस्तकले सुरक्षा गार्डबाट नोवल विजेता वैज्ञानिक बनायो
कुरो नोवल पुरस्कार विजेता वैज्ञानिक वेर्नर कार्ल हाइजेनवर्गको हो । जो कुनै समय सुरक्षा गार्डको जागिर गर्थे ।
काइजेनवर्ग १९ वर्षका थिए, त्यतिबेला उनी एक पाठशालामा सुरक्षा गार्डको जागिर गर्थे । कुरो त्यो दिनको हो, जुन दिन जागिरमै रहेको बेला कतैबाट उनको हातमा दार्शनिक प्लेटोको पुस्तको आइपुग्यो । उक्त पुस्तकमा प्राचीन ग्रीसको परमाणुसम्बन्धी सिद्धान्त व्याख्या गरिएको थियो । र, त्यही पुस्तकले उनको जीवन नै अलग दिसामा मोडिदियो । तर
कसरी ? पख्नुहोस् न, म भनिहाल्छु नि !
कुरो के भने, दार्शनिक प्लेटोको उक्त पुस्तक हातमा परेपछि हाइजेनवर्ग त्यसको अध्ययनमा जुटे । उक्त पुस्तक पढ्दा पढ्दै उनलाई भौतिक विज्ञानप्रति रुचि बढ्न थाल्यो । बढ्ने क्रम रोकिएन । दिन दुई गुणा रात चार गुणाको हिसाबले बढ्दैन गयो । अनि भयो त के भन्दा, उनले यसै क्षेत्रमा केही गर्ने विचार गरे । एकदमै दृढ विचार । र, थप खोज र अध्ययनमा लागे ।
निरन्तरको मिहिनेत र लगावका कारण २३ वर्षको उमेरमै उनी गोटिजेनमा प्रोफेसर मेक्स प्लाङ्कको सहायक पदमा नियुक्त भए । बेजोड प्रतिभाको बलमा उनले प्रोफेसर प्लाङ्कलाई प्रभावित पारे । अनि त के थियो, त्यसपछिका दिनमा उनले कहिल्यै पछाडि फर्केर हेर्नै परेन । लगातार सफलताको सिँढी चढ्दा भए । चढि नै रहे । कतिसम्म भने जीवनले २४ औँ वसन्त पार गर्दा उनी कोपेनहेगनको विश्वविद्यालयमा भौतिक विज्ञान विषयको लेक्चर बनिसकेका थिए ।
कुरो सकियो ? छैन । नोवल पुरस्कार के त !
अँ, उक्त विश्वविद्यालयमा रहेर भौतिक विज्ञानमा अध्यापन र अनुसन्धान गर्दागर्दै हाइजेनवर्ग सफल वैज्ञानिकका रूपमा परिचित भए । भौतिक विज्ञानको अनुसन्धानमा जुटेको दशक पनि बितेको थिएन, उनले विज्ञानमा पुर्याएको योगदान र गरेका विभिन्न अनुसन्धानका आधारमा उनलाई भौतिक विज्ञानतर्फको नोवेल पुरस्कार प्रदान गरियो, सन् १९३२ मा ।
एवंरीतले एउटा पुस्तकले एक सामान्य सुरक्षागार्डलाई छोटो समयमै नोबेल पुरस्कार विजेता बनाइदियो ।
===
३. जब विष्णुविभू घिमिरेलाई सिद्धिचरणको कविता छाप्न योग्य लागेन…
कुरो त्यतिबेलाको हो जतिबेला कवि विष्णुविभू घिमिरे ‘गरिमा’को सम्पादक थिए । कृष्णचन्द्रसिंह प्रधान साझा प्रकाशनको महाप्रबन्धक थिए । र, अध्यक्ष चाहिँ हाम्रै गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी थिए ।
तर कुरो कृष्णचन्द्रको होइन । न त गामबेँसीका कविको नै हो । अँ, खास कुरो युगकवि सिद्धिचरण श्रेष्ठको चाहिँ हो । उनको कविताको हो । ३२ स्टेन्जामा रचना गरिएको कविताको । जसमा तत्कालीन गरिमा सम्पादक विष्णुविभू घिमिरीले ८ स्टेन्जामात्र कविता भेटे । बाँकीमा सिद्धिचरणको कवित्व विपरीत घोर निराशा र कुण्ठामात्र देखे ।
अँ, चुरो कुरोतिर लागि हालौँ । युगकवि सिद्धिचरण श्रेष्ठ एकदिन पानी परिरहेका बेला छाता ओढेर गरिमामा आइपुगे । सम्पादक घिमिरेको कार्यकक्षमा । उनलाई देख्नासाथै कृतज्ञभावमा उनले भने, ‘म आफैँ तपाईंकहाँ आइहाल्थेँ नि, किन दुःख गर्नुभएको ?’
सिद्धिचरणले भने, ‘भाइहरू कसरी काम गर्दै छन्, के गरिरहेका छन् ? बुझ्न आएको नि !’
कुराकानी भयो केहीबेर । अन्त्यमा, निस्कनेबेलामा सिद्धिचरणले एउटा कविता छाडेर गए, गरिमाका लागि । त्यही कविता जुन ३२ स्टान्जाको थियो । तर कविता पढेपछि विष्णुविभूलाई सङ्कट आइपर्यो । कारण, त्यतिकै प्रकाशनयोग्य लागेन उनलाई । तर सिद्धिचरण जस्ता सबैले मानेका भव्य कवि ! उनको लेखेको कवितालाई कसरी कविता भएन भन्नु ?
घिमिरेले महाप्रबन्धक कृष्णचन्द्रसिंह प्रधानलाई कुराको बेलिविस्तार लगाए । भने, ‘यो कवितामा त ८ वटा स्टेन्जाबाहेक कुनै पनि कविता छैन । बाँकी २४ स्टेन्जा निराशा र कुण्ठाले भरिएको छ ।’
प्रधानले भने, ‘काजी (सिद्धिचरणलाई प्रधान काजी भन्थे) लाई भेटेर भन्न सक्छौ त ?’
‘प्रयास गर्छु ।’ खै कुन आँटले हो, घिमिरे बोले । र, भोलिपल्टै उक्त कविता बोकेर पुगे सिद्धिचरणकहाँ । उनी सिद्धिचरणसँग धेरैबेर गफिए तर चुरो कुरोको सुरो फुकाउन सकेनन् । असीम आँट बटुलेर निस्किने तरखर गर्दागर्दै भने, ‘खासमा, अस्ति तपाईंले दिएको कविताबारे कुरा गर्न आएको थिएँ ।’
सिद्धिचरणको अनुमति पाइसकेपछि घिमिरेले हतारमा डराउँदै भने, ‘यो कवितामा त ८ स्टेन्जा मात्र कविता छ, बाँकी निराशा र कुण्ठा ।’
घिमिरेको यो वाक्यले सिद्धिचरण चुप भए । घिमिरे पनि चुप । सोचे, अब राम्रै दनक भेटिने भयो । ‘तँ फुच्चो कविता सिकाउने मलाई’ भन्न के बेर ?
तर भयो अचम्म । घिमिरेले नसोचेको । केहीबेरको संवादहीनतालाई तोड्दै, घिमिरेको काँधमा धाप मार्दै सिद्धिचरणले बोले, ‘ठीक भन्यौ । हामी अब बूढा भयौँ, गल्ती-कमजोरी बढ्छन् । तिमीले मलाई बेलैमा सच्यायौ । त्यही ८ स्टेन्जा मात्र छाप ।’
र, अन्ततः विष्णुविभू घिमिरेले सिद्धिचरणको ३२ स्टेन्जाको कविताबाट ८ स्टेन्जा मात्र छापे ।
कुरो सकियो । पत्याउनुभयो ? तपाईंलाई थाहै छ – पत्याउने या नपत्याउने अधिकार सधैँझैँ तपाईँसँगै सुरक्षित छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।