१. माधव घिमिरेले ‘क्या बोर भयो…’ गीत लेखेपछि क्षेत्रप्रतापलाई किन गाली गरे ?

क्षेत्रप्रताप अधिकारी

कुरो गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारीको हो । अझभन्दा अधिकारीले ‘क्या बोर भयो…’ गीत लेखेपछिको हो । अझ प्रस्टसँग भन्दा, ‘क्या बोर भयो…’ गीत एक पत्रिकामा छापिएपछि राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘बोर’ शब्दलाई लिएर जनाएको आपत्तिको हो ।

अँ, क्षेत्रप्रतापले गीत लेखे, ‘क्या बोर भयो …’ । एक पत्रिकामा छापियो । र, गीत छापिएपछि क्षेत्रप्रतापलाई पहिलो फोन माधव घिमिरेको आयो ।

फोन क्षेत्रप्रतापका छोरा अमनप्रतापले उठाए । घिमिरेले बावुलाई फोन दिन अह्राए । अमनलाई के थियो, बावुलाई फोन दिए । अनि, घिमिरेले भने, ‘ए क्षेत्रे, तँ र मैले पनि अब यो ‘बोर र सोर’ लेखेर हुन्छ ? यो त आयातीत भयो । हाम्रा नेपाली शब्द थिएनन् र !’

क्षेत्रप्रतापले भने, ‘होइन बुवा, हाम्रो जनजिब्रो यी शब्दहरु टाँसिइसकेका छन् । अब यी हाम्रा भइसके ।’

र, उनले माधव घिमिरेसँग प्रश्न–उत्तर सुरु गरे ।

– तपाईंले शरीरमा के लगाइरहनुभएको छ ?

– दौरा–सुरुवाल ।

– त्यसको माथि के ?

– कोट ।

– हो बुवा, हेर्नुहोस् त हजुरले पनि कोट भन्नुभयो । कोट पनि आयातीय हो, तर हाम्रो जनजिब्रोले स्वीकारी सक्यो । हाम्रो भइसक्यो । यस्ता कुरामा हामी खुल्ला हुनुपर्छ ।

कुरो सकियो । पत्याउनुभएन ? साँच्चै सक्यो क्या ! अँ, बरु अब तपाईं भन्नुहोस् – तपाईंलाई क्षेत्रप्रताप अधिकारी र माधव घिमिरेमा कसको कुरो मुनासिब लाग्यो ?

===

२. …अनि पारिजातले भनिन् – म नागरिकता लिन्नँ, कसले भन्दो रहेछ म नेपाली होइन भनेर ?

पारिजात

तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ – नेपाली साहित्यमा मिथकीय पात्र बनिसकेकी पारिजात कानुनी रुपमा नेपाली थिइनन् । हो, उनीसँग नेपाली नागरिकता थिएन । तर कसले भन्न सक्छ, पारिजात नेपाली होइनन् भनेर ।

कुरो पारिजातको जीवनकालको अन्तिमतिरको हो ।

नेपालबाट मजदुरीको सिलसिलामा दार्जीलिङ पुगेका धनमान लामीकी नातिनी पारिजात (विष्णुकुमारी वाइवा) जन्मसिद्ध भारतीय नागरिक थिइन् । नेपाल आएर साहित्य कर्ममा लागि यतै बस्न थालेपछि आफ्नो साहित्यिक न्वारन आफैं गरी उनी ‘पारिजात’ बनिन् । तर वैधानिक रुपमा उनी नेपाली नागरिक थिइनन् । नेपालबाट विविध कारणले अन्य मुलुकमा गएकाहरुको सन्तान–दरसन्तान नेपाल फर्किएपछि नेपाली नागरिकता लिने गरेको इतिहास नौलो होइन । तर पारिजातले चाहँदा पनि उनले नेपाली नागरिकता पाउन सकिनन् ।

पटक–पटकको प्रयासमा पनि पारिजातले नेपाली नागरिकता प्राप्त गर्न सकिनन् । र त धिकदार भएर भनिन्, ‘अब म नेपाली नागरिकता लिन्नँ । म यहीँ बस्छु, यहीँ मर्छु, कसले भन्दो रहेछ म नेपाली होइन भनेर ?’

पारिजातकै शब्दहरुमा, पच्चीस लाख शोषित जाति तामाङ भिन्न भएकाले नेपालीपनका निम्ति एकपल्ट नागरिकताको प्रमाणपत्र पाउने सोझो बाटो (प्रपर च्यानल) बाट कोसिस गरेकी हुँ । तर नोकरशाही कुर्सीहरुको तल र माथिको सङ्केतबाट झकुण्डो खेलाइ भएर सिंहदरबारबाट रित्तो हात फर्केपछि नागरिकतामाथि विश्वास छैन । त्यसै दिनदेखि शोषणबोध मात्र हुन्छ, राष्ट्रबोध हुँदैन । (एउटा विसङ्गत संस्मरण, पारिजात, ‘रुपरेखा २०२७ मङ्सिर, पूर्णाङ्क ११५’)

हो, उनले नेपाली नागरिकता पाइनन् । उनलाई जीवनकालमा यसको आवश्यकता पनि परेन, सायद । दार्जीलिङ र नेपालको खुल्ला सिमाका कारण उनलाई नेपाल–दार्जीलिङ गर्नका लागि भिजाको आवश्यकता पनि परेन ।

त्यसो भए पारिजातलाई कहिल्यै नागरिकताको आवश्यकता परेन त ? पर्यो नि । कुरो चाहिँ सकियो त ? छैनन नि । चुरो कुरो त बाँकी नै पो छ त हाउ । ल सुन्नुहोस् ।

अँ, ०४९ सालको अन्त्यसम्मा पारिजातको शरीर गलिसकेको थियो । उनलाई उपचारका लागि विदेश लाग्नु पर्ने आवाजहरु उठे । उक्त आवाजले देशको राजनीतिक नेतृत्वसम्मलाई तान्यो । तत्कालीन प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला । कोइरालाले ‘नागरिकताबिना पासपोर्ट नबनेर उपचार रोकिनुहुन्न’ भनेर बिनानागरिकता पासपोर्ट बनाइदिन निर्देशन दिए ।

अनि ? अनि खरिदार यादवप्रसाद कोइरालाले पारिजातको पासपोर्ट लेखे । नायब शिष्टाचार महापाल बद्रीप्रसाद खनालले सही गरे । परराष्ट्रका तर्फबाट यसरी नागरिकताले पूर्णता पासपोर्ट नम्बर ४२७२८२ ले पूर्णता पायो । तर त्यसमा पारिजातले हस्ताक्षर गरेपछि मात्र पासपोर्टले पूर्णता पाउँन्थो । विडम्बना ! हस्ताक्षरका लागि वीर अस्पतालमा मृत्युसँग लडिरहेकी पारिजातसामु पासपोर्ट पुर्याउँदा उनको स्वास्थ्यस्थिति नाजुक बनिसकेको थियो । उनले हस्ताक्षर गर्न सकिनन्, तर ल्याप्चे लगाएर पासपोर्टले पूर्णता पायो ।

अनि त पारिजातको उपचार विदेशमा गरियो होला हैन ? होइन । बिडम्वना यस्तो भयो कि, सम्पूर्ण प्रक्रिया सकेर पासपोर्ट तयार हुँदासम्ममा पारिजातको देहावसान भइसकेको थियो ।

अँ, गोविन्द गिरी प्रेरणाले बहुत मिहेनतका साथ लेखेका छन् ‘सुश्री पारिजात’ । पारिजातलाई सम्पूर्ण रुपमा बुझ्न चाहनुहुन्छ भने सिफारिस भयो । परेको बेहोरूँला ।

===

३. आदिगायक उस्ताद सेतुराम !

उस्ताद सेतुराम

‘ए आमा सानिमा
फूलको थुङ्गा खस्यो पानीमा …’

तपाईंलाई यो गीतका बारेमा पक्का थाहा छ । तर यसका सर्जकका बारेमा थाहा नहुन पनि सक्छ । यो मेरो फगत अनुमान हो । अनुमान सधैं सही हुन्छ भन्ने छैन ।

अँ, यो गीतका रचनाकार उस्ताद सेतुराम हुन्, स्वर पनि उनकै हो । सेतुराम नेपालका आदि गायक हुन् वा होइनन् ? त्यो भने अर्कै अध्ययनको विषय हो ।

आजभन्दा १०७ वर्षअघि पहिलोपटक सेतुरामले मोतिराम भट्टको गजलमा सङ्गीत कम्पोज गरी आफ्नै स्वरमा रेकर्ड गराएका थिए । उनले कलकत्ता गएर पहिलोपटक ग्रामोफोनमा सात वटा गीतहरुसमेत रेकर्ड गराए । उनको ‘राजमति कुमति…’ बोलको नेवारी गीत अहिले पनि नेवारीमात्र नभएर नेपाली जनजिब्रोमै छ । त्यसबेला, श्री ३ हरुका दरबारमा समेत उनको गायकीको ठुलो माग थियो ।

नेवारी परिवारमा जन्मेका सेतुरामको वास्तविक थर यकिन छैन । सङ्गीत अन्वेषकहरूले भने उनको थर श्रेष्ठ र प्रधानमध्ये एक भएको उल्लेख गरेका छन् ।

सेतुरामले नेपाली भाषामा १६ वटा र नेपाल भाषामा १२ वटा गीतहरु रेकर्ड गराएको तथ्यांक पाइन्छ । तर मिठो स्वर र मर्मस्पर्सी शब्दले स्रोताको मन जितेका उनले गीत–सङ्गीतलाई पेसा भने बनाएनन् । उन पेसाले जीवनभर व्यापारी रहे । पेसाले व्यापारी भएर पनि गीत–सङ्गीतमार्फत् जनताको मन जितिरहेका सेतुराम जिब्रोमा एक्कासि घाउ आएपछि थला परे । गायन कर्ममा निष्क्रिय बने । र, त्यही बिरामीले १९९८ सालको चैतमा उनलाई स्वर्गबासी बनाइछाड्यो ।

अँ, कुरो सकियो । पत्याउने या नपत्याउने अधिकारी सधैं झैं तपाईंसँगै छँदै छ । तर एउटा जानकारी लिइहाल्नुहोस् । नीलकमलकृत ‘सुरसङ्गीतका केही साधक’ पढ्नुभयो भने नेपाली सङ्गीत क्षेत्रका विराट् व्यक्तित्वका बारेमा धेरै कुरा थाहा पाउनु हुनेछ ।