१. जब एक मुसलमानले महाभारतको पटकथा लेखे …
डा. राही मासुम रजालाई चर्चित भारतीय उपन्यासकारका रूपमा धेरैले चिन्दछन् । तपाईंहरूमध्ये धेरैलाई यो पनि थाहै होला कि हिन्दी टेलिफिल्म महाभारतका पटकथा लेख्ने काम पनि उनै उपन्यासकारले गरेका हुन् ।
भारतीय चलचित्र क्षेत्रको प्रसिद्ध नाम हो, बि.आर. चोपडा जसले महाभारतलाई दृश्यमा देखाए । महाभारत बनाउने क्रममा चोपडाले उपन्यासकार डा. रजालाई पटकथा लेख्न आग्रह गरेका थिए । तर रजाले लेख्न मानेनन् । निर्देशक चोपडाले कर गरे । रजा महाभारतको पटकथा लेख्न आफ्नो ल्याकतले नभ्याउने जिकिरका साथ पन्छिए ।
अनि ?
अनि त के थियो, रजाले महाभारतको पटकथा लेख्न अस्वीकार गरेको खबरले अखबारहरू भरिभराउ बने । अनि त्यहाँ प्रवेश पायो धार्मिक मुद्धाले । हिन्दु समुदाय निर्देशक चोपडासँग रुष्ट बने । हजारौंले चोपडालाई झपारेरै पत्र लेखे । पत्रको सार हुन्थ्यो – महाभारत लेख्न तिमीले जम्माजम्मी एउटै मुस्लिम पायौ ? यो देशमा कुनै विज्ञ हिन्दु फेला परेन जसले महाभारत लेख्न सक्छ ?’
अनि के भो ? चोपडाले हिन्दु विज्ञ नै खोजेर पटकथा लेख्न लगाए होलान् हैन ? – अरे हतार नगर्नुहोस् न ! म बताउँदैछु ।
एकदिन, आफूलाई गाली गरेर आएका एक भारी पत्र बोकेर चोपडा रजाको घरमा गए । र, उनको टेबलमा राखिदिएर फर्किए । ती पत्रहरु हेरेपछि भने डा. रजालाई झोँक चल्यो – एउटा मुसलमानले हिन्दु धर्मग्रन्थको पटकथा लेख्न किन नहुने ?
रजा उत्तर प्रदेशस्थित गाजीपुरमा जन्मिएका थिए । उनले त्यसै समय निर्णय गरे, ‘अब त महाभारतको पटकथा म नै लेख्छु । म पनि त गंगाकै पुत्र हुँ ।’
रजाले महाभारतलाई पटकथाको रुप दिए । चोपडाको निर्देशनमा महाभारत दृश्यमा तयार भयो । अचम्म त तब भयो जब टेलिभिजनमा महाभारतको प्रशारण सुरु भयो । महाभारतको प्रशारण सुरु हुनासाथै रजाको प्रशंसामा पत्रहरु आउन थालिहाले । केही समयमै पत्रहरुको पहाड बन्यो । पत्रहरुमा दर्शकले रजाको ज्ञान र मिहिनेतको खुल्ला दिलले प्रंशसा गरेका थिए ।
कुरा सकियो ? छैन, छैन । ज्ञानको कुरा त बाँकी नै छ । सुन्नुहोस् !
एकदिन, महाभारतका निर्देशक चोपडा रजाको घरमा खाना खान गएका थिए । उनले देखे, रजाको टेबल चिठ्ठीको एउटा मुठो राखिएकै थियो । र सोधे, ‘जवाफ लेख्न राख्यौ कि क्या हो ?’
तब रजाले भने, ‘होइन, यो मुठोमा मलाई गाली गरेर लेखिएको छ । त्यसैले यसलाई छेउमै राख्ने गरेको छु ।’
ती तिनै पत्र थिए जसमा मुस्लिम भएर महाभारतको पटकथा लेखेकोमा हिन्दुहरुले आक्रोश पोखेका थिए । मुस्लिमहरुले हिन्दुहरुको कथामा टेलिभिजनका लागि लेखिदिएकोमा दु:ख व्यक्त गरेका थिए । दुबैले उनलाई भनिरहेको थिए – तेरो यत्रो हिम्मत !
डा. रजाले अगाडि भने, ‘चिठ्ठीहरुको यो सानो मुठोले मलाई सधैं उत्साहित बनाइरहन्छ, यो देशमा खराब मानिसहरु कति थोरै छन् !’
विचारी हेर्नुस् त, यो देशमा पनि धेरै राम्रा मान्छेहरु केही खराब मान्छेहरुको छायामा पो छन् कि !
===
२. भैरव अर्यालले युवराज मविवि शाहलाई छन्दोबद्ध कविता–पत्र किन लेखे ?
कुरो हाम्रा बहुचर्चित हास्य–व्यङ्ग्यकार भैरव अर्यालको हो । तर व्यङ्ग्यको भने होइन, दु:खको हो । संघर्षको हो । अभावको हो । र हो, अध्ययनप्रतिको भोकको पनि ।
भैरव आर्यालले बद्रीनाथ आचार्यको डेरामा खाना पकाएरै पूर्वमध्यमा पास गरे । पूर्वमध्यमा पास गरेपछि उनलाई लाग्यो – अब सम्पूर्ण मध्यमा पनि पास गर्छु ।
सम्पूर्ण मध्यमा दुई खण्डमा परीक्षा दिएर पास गर्नु पथ्र्यो । तर भैरवले एकैपटक दुबै खण्डको परीक्षा दिन फर्म भर्न खोजेछन् । तर समस्या शुल्कको थियो । आवश्यक भारु. १० रुपियाँ भैरवसँग हुने कुरै थिएन ।
‘त्यत्रो १० रुपियाँ कहाँबाट जुटाउने ?’, भैरवलाई समस्या पर्यो । ‘जहाँ समस्या त्यहाँ उपाय’ भन्ने शब्दावली त्यसै बनेको भने होइन । उनले उपाय झिकी छाडे ।
भैरवले कविता लेख्न जानेका थिए । तत्कालीन युुवराज कवि थिए । कवि मविवि शाह । एक कवि आत्माले अर्को कवि हृदयलाई पुकार्यो । भैरवले पैसाको माग गरी कवि युवराजलाई छन्दोबद्ध कविता लेखी पठाउने मन बनाए ।
‘म सम्पूर्ण मध्यमा पढ्न चाहन्छु । भारु. १० रुपियाँ फारम भर्न लाग्ने रहेछ । तर मसँग पैसा छैन । हजुरबाट निगाह भए मेरो ठुलो कल्याण हुने थियो ।’ – यस्तै भावको छन्दोबद्ध कवितामार्फत भैरवले कवि युवराजसामु बिन्ती बिसाए । र, नारायणहिटीको गेटमा गएर त्यो कवितारुपी चिठ्ठी दर्ता गरे ।
छैन त कुरा रोचक ? अँ, यो रोचक कुरा आईएमई नेपाल लिट्रेचर फेस्टिवलमा रोचक घिमिरे बताएका छन् । प्रतीक्षा गर्नुहोस् – अझ रोचक कुरा त बाँकी नै छ ।
अँ, एक हप्तापछि नारायणहिटीबाट एक सिपाही भैरवको डेरा खोज्दै आइपुगे । भैरवको डेराछेउमा आएपछि घोडामा चढेको सिपाहीले गर्जिँदो स्वरमा भने, ‘भैरवप्रसाद अर्याल भन्ने को हो ?’
सिपाहीलाई भैरवले झ्यालबाटै देखिहाले । उनी डराउनुसम्म डराए । उनलाई लाग्यो – युवराजलाई चिठ्ठी लेखेका कारण पक्रिनका लागि सिपाही आयो । उनी खाटमुनि लुके ।
डेरानजिकै बस्ने एक महिला सिपाहीसँग कुरा गर्न थालिन् । खासमा, युवराजले पठाएको पैसा भैरवलाई दिन भनी सिपाही आएका रहेछन् । त्यो थाहा पाएपछि भैरव ढुक्कसाथ डेराबाट बाहिर निस्के ।
अर्को रोचक कुरो यो थियो कि उनले १० रुपियाँका लागि बिन्ती गरेका थिए, तर युवराज छन्दोबद्ध कविताबाट प्रभावित भएरै हुनुपर्छ, २० रुपियाँ पठाइदिछन् । अनि त के थियो ? टोल–छिमेकमा भैरवको चर्चा चल्यो । भैरवको दरबारसँग पहुँच रहेको भ्रममा परी सबै दंगदास भइगए ।
कुरो सकियो । एउटा कुरा चाहिँ सुटुक्क सोध्छु ल ! भन्नुहोस् त, भैरव अर्याल भन्ना साथ तपाईं सबैभन्दा पहिले के सम्झनुहुन्छ ?
===
३. जब श्रवण मुकारुङले दीपक मनाङ्गेलाई जीवन–दर्शन पढाए…
कुरो वरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङ हो, तर कविता वा गीतको होइन । रक्सीको हो । श्रवणसँग जोडिएको रक्सी किस्साको हो । उसो त श्रवण मुकारुङ र रक्सीबिचको सम्बन्ध घनिष्ट छ । यो सम्बन्धले तीन दशक पार गरिसकेको छ । र, यो सम्बन्धलाई लिएर नेपाली साहित्य जगत्मा धेरै गसिपहरु पनि चल्ने गरेका छन् । तिनैमध्येको एक प्रतिनिधि किस्सा यहाँ प्रस्तुत गर्ने दुस्साहस स्तम्भकारको हो ।
घटना दोहोरी साँझको हो । निरमाया दोहोरी साँझ । बद्री पंगेनी गीत गाइरहेका थिए । श्रवणको उपस्थितिलाई महत्त्व दिँदै उनी भनी पनि रहेका थिए, ‘आज श्रवण मुकारुङ दाइ आउनुभएको छ, यो गीत उहाँकै लागि’ ।
बद्री पंगेनीले महत्त्व दिएपछि कवि मुकारुङले आफूलाई महत्त्वपूर्ण ठानेँ । उनीसँग अरु केही केटाहरु पनि थिए । नजिकै एकजना भलाद्मी व्यक्ति पनि थिए । उनले मुकारुङलाई भने, ‘दाइ नमस्कार ।’
मुकारुङले नमस्कार फर्काए । कुराकानी अघि बढ्यो । मुकारुङले प्रश्न गरे, ‘भाइको बिजनेस के हो ?’
भलाद्मीबाट उत्तर आयो, ‘सानोतिनो काम गर्छु दाइ ।’
मुकारुङलाई अलिअलि रक्सी लागि सकेको थियो । उनले ती भलाद्मी व्यक्तिलाई ‘यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ’ भन्दै जीवन–दर्शन छाँट्न थाले । भलाद्मीले पनि होमा हो मिलाउँदै गए ।
खै त चुरो कुरो ? स्तम्भकारलाई पनि अलिअलि रक्सी लाग्या छ क्या हो ! गफमात्र छाट्ने ? – तपाईंलाई यस्तो लागेको हुनसक्छ । अब ठ्याक्कै चुरो कुरो गर्छु । हस् !
अँ, भलाद्मीसँग केहीबेरको कुरापछि मुकारुङ दोहोरी साँझबाट निस्किए । निस्कँदा साथमा भएका साथीहरुले मुकारुङलाई सोधे, ‘ऊसँग तेरो पहिल्यैदेखिको चिनजान हो ?’
‘होइन । आजै चिनजान भएको हो । गुरुङ भाइ रहेछ । त्यही भएर कुराकानी गरेको ।’, मुकारुङले सामान्य भावमा भने । तर साथमा भएका साथीहरुका लागि त्यो कुरा सामान्य थिएन । एउटा साथीले भन्यो, ‘केको गुरुङ हुनु ? दीपक मनाङ्गे हो ।’
दीपक मनाङ्गे ? तत्कालीन समयको जल्दोबल्दो गुण्डाको नाइके ? कवि मुकारुङको सातोपुत्लो उड्यो । जति रक्सी पिएका थिए, एकै झड्कामा छोड्यो ।
कुरो सकियो । अँ, नेपाल खबरका लागि कृष्ण आचार्यले श्रवण मुकारुङसँग लामो ‘मदिरा संवाद’ गरेका छन् । ‘रक्सी असल मान्छेले पिउने चिज हो’ शीर्षकमा प्रकाशित अन्तर्वार्तामा तपाईंले ‘श्रवण–रक्सी’सम्बन्धबारे विस्तृतमा पढ्न सक्नुहुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।