१. जब सायमीले देव आनन्दलाई सोधे – हाउ ओल्ड आर यु ?
कुरा ‘पीएस–पेडिया’को हो । अर्थात् प्रकाश सायमी । बुझ्नु भएन ? नेपाली कला र साहित्यका विकिपेडिया प्रकाश सायमी क्या !
कुरो सन् १९७१ ताकाको हो । त्यतिबेलाका चर्चित बलीबुड अभिनेता देव आनन्द (देवानन्द) फिल्म सुटिङका लागि नेपाल आएका थिए । फिल्मको थियो – हरे रामा हरे कृष्णा । जुन फिल्ममा हिप्पी संस्कारमा हुर्कँदै गरेका युवा–युवतीको कथालाई केन्द्रमा राखिएको थियो ।
अँ, कुरा पीएस–पेडियाको हो । काठमाडौंभित्र हुने फिल्म सुटिङहरु लगभग उनी छुटाउँदैन थिए । हेर्न पुगिहाल्थे । त्यही क्रममा उनलाई देव आनन्दको फिल्म ‘हरे रामा हरे कृष्णा’को सुटिङ हेर्ने अवसर जुर्यो ।
पीएस–पेडिया देव आनन्दको निर्देशकीय व्यक्तित्वबाट ज्यादै प्रभावित थिए भने हजुरआमाका फेबरेट हिरो पनि थिए । एकदिन हजुरआमाले उनलाई सुटिङ हेर्न जान लाग्दा देव आनन्दको उमेर साेध्नका लागि अह्राउनु भयो ।
नभन्दै, एकदिन त्यही सुटिङकै क्रममा उनले देव आनन्दलाई चिच्याएर बोलाए । सोधे, ‘देवानन्द, हाउ ओल्ड आर यु ?’
आश्चर्य ! देव आनन्दले सुने । फर्किए । र हात हल्लाउँदै जवाफ दिए, ‘आई एम फर्टी–सेभन यअर योङ !’
पत्याउनु भयो ? तपाईंलाई थाहै छ – पत्याउने या नपत्याउने अधिकार तपाईंसँगै सुरक्षित छ ।
===
२. मदनमणि–माधवी सपना संवाद
कुरा फेरि पनि विद्वान् मदनमणि दीक्षितको । एकपटक पत्रिका ‘समीक्षा’ र उपन्यास ‘माधवी’लाई सम्झिनै पर्छ । तपाईं भन्नुहोला – समीक्षा र माधवीको उल्लेखबिना मदनमणिमाथि लेख्न–बोल्न बर्जित छ ? – छैन । कुरो केचाहिँ भने – समीक्षा र माधवीबिनाका मदनमणिको चित्र धुमिल देखिन सक्छ ।
अँ, मुल कुरोको सुरो समाऔं ।
कुरा माधवीको हो । नेपाली भाषामा लेखिएको गहनमध्येको एक उपन्यास ‘माधवी’ हो । मदनमणिका कृतिहरुकै कुरा गर्दा पनि माधवीको उचाई सबैभन्दा अग्लो देखिन्छ । यो कृतिले उनलाई मदन पुरस्कारमात्र दिएन, उचाई पनि दियो । यो त तपाईंलाई पनि थाहा भएकै कुरा हो । बरु भन्नुहोस् त, ‘माधवीलाई नेपालीमा अनुवाद गर्नुपर्छ’ भनेर कसले पो भनेको ?
खास कुरा माधवी लेख्दाताकाको हो । पत्याउनु हुन्छ ? मदनमणि दीक्षित माधवी लेख्ने सन्दर्भमा माधवीसँग सपनामा संवाद गर्ने गर्थे । हुनसक्छ, उनले माधवी हृदयको सबैभन्दा नजिक राखेका थिए, जसले सपनामा समेत उनलाई घचघच्याइराख्यो ।
उपन्यास लेख्दा मात्र होइन, अघि–पछि पनि उनी सपना बर्बराउँथे । जुन कुराको साक्षी मदनमणिको जीवनकालमा नजिक रहेरका नगेन्द्रराज शर्मा छन् । शर्माले रातोपाटीसँगको एक अन्तर्वार्तामा भनेका छन्, ‘म धेरैपटक एउटै कोठामा उहाँसँगै (मदनमणिसँगै) सुतेको छु । उहाँ बर्बराएको कतिपय समयमा रेकर्ड गर्ने प्रयास पनि गरेँ । तर टेप मिलाउँदा मिलाउँदै उहाँको बर्बराई सकिन्थ्यो पनि ।’
===
३. फिल्मले नै आत्महत्या गर्नबाट बचाएको ‘नाटु नाटु’का कोरियोग्राफर
भारतीय सफल निर्देशक एसएस राजामौलीका बारेमा धेरैलाई थाहै छ । भर्खरैमात्र, उनैको निर्देशनमा बनेको फिल्म ‘आरआरआर’को विश्व चर्चित गीत ‘नाटु नाटु’ले उत्कृष्ट मौलिक गीतको विधामा ओस्कार जित्यो । ओस्कार जितेसँगै यसले धेरैवटा रेकर्डहरु बनाएको छ ।
‘नाटु नाटु’ ओस्कारको मनोनयनमा पर्ने पहिलो भारतीय फिल्मको गीत हो । जुनियर एनटीआर र रामचरणको अभिनय रहेको यो गीत गोल्डेन ग्लोब अवार्ड जित्ने पहिलो एसियाली गीत पनि हो । तर खास कुराचाहिँ यो गीतका कोरियोग्राफर प्रेम रक्षितको हो । जसले गरिबीका कारणले आत्महत्याको प्रयास गरेका थिए ।
चुरो कुरोतिर लाग्नुअघि अलिकति ‘नाटु नाटु’कै बारेमा जानौं । यो गीतको कोरियोग्राफ १९ महिना लगाएर गरिएको थिए । खासमा, सङ्गीतकार एमएम कीरावानीले ‘आरआरआर’का लागि २० वटा गीत लेखेका थिए, जसमध्यबाट चलचित्र निमार्णमा आबद्ध व्यक्तिहरुको भोटका आधारमा ‘नाटु नाटु’ छानिएको थियो । ९० प्रतिशत गीत आधा दिनमै कोरियोग्राफ गरिएकोमा बाँकी १० प्रतिशतलाई पूरा गर्न भने १९ महिना लागेको बताइन्छ । अर्को रोचक कुरा के पनि छ भने, यस गीतमा ५० ब्याकग्राउण्ड डान्सर तथा ४०० जति जुनियर कलाकारहरुले काम गरेका छन् ।
अब भने चुरो कुरामा पसौं । हो, यो गीतका कोरियोग्राफ प्रेम रक्षितले आत्महत्याको प्रयास गरेका थिए ।
प्रेमका बुबा एक समयका हीरा व्यापारी थिए । १९९० को दशकमा पारिवारिक मतभेदका कारण उनको परिवार आर्थिक सङ्कटमा फँस्यो । यतिसम्म कि, प्रेमले दर्जी पसलमा काम गर्न थाले भने उनका बुबा फिल्ममा नृत्य सहायक बन्न पुगे । यसैबिचमा एकदिन आफ्नो र परिवारको गरिबीबाट दिक्क भएका प्रेम आत्महत्या गर्ने सोचमा पुगे । र, चेन्नाईको मरीना बिच पुगे ।
प्रेम मरीना बिच साइकलमा पुगेका थिए । पुगेपछि उनले सम्झे – उनी चढेर आएको साइकल ऋणमा थियो । उनी साइकल राख्न घर फर्किए । साइकल घरमा पुर्याई आत्महत्या गर्न उनलाई पुन: मरीना बिच आउनु त छँदै थिए ।
तर भइदियो अर्कै । घर पुग्दा उनलाई बुबाको फोन आयो । बुबाबाट उनले फिल्ममा काम पाएको खबर पाए । र, त्यही समय उनलाई छोडी आत्महत्याको विचार पलायन भयो ।
समयक्रममा, प्रेमले गरेको कोरियोग्राफीबाट राजामौलीसमेत प्रभावित बने । प्रेमले राजामौलीको फिल्म ‘छत्रपति’मा कोरियोग्राफीको अवसर पाए । र, त्यही फिल्मले उनलाई भारतभर पहिचान दियो । अनि ‘नाटु नाटु’ले विश्वभर ।
सोच्नुहोस् त, त्योबेला प्रेमले फिल्मीमा काम पाएको खबर बाबुबाट थाहा नपाएका भए अहिले ‘नाटु नाटु’ले ओस्कार पाउँथ्यो होला ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।