स्वभावतः पुरुषहरू महिलालाई बिना कारण अस्वीकार तथा बेवास्ता गर्न रुचाउँदैनन्। महिलाप्रति आकर्षित हुन्छन् नै। त्यसमाथि आकर्षक एवं कामुक महिला देख्दा झन् हुरुक्कै हुन्छन्। सामाजिक सञ्जालमा फलो गर्नका लागि एक सेकेण्ड पनि सोच्दैनन्। चाँडोभन्दा चाँडो नजिक हुन चाहन्छन्। सम्बन्ध जोड्न हतार गर्छन्। यद्यपि जब सम्बन्धमा गम्भीर हुनुपर्ने समय आउँछ, जब दीर्घकालीन प्रतिबद्धता व्यक्त गर्नुपर्ने हुन्छ वा जब बिहेको लागि अन्तिम निर्णय दिनुपर्ने अवस्था सिर्जना हुन्छ, तब उनीहरू महिलाबाट टाढिन खोज्छन्। महिलालाई बेवास्ता गर्न अनेकन् अवसरहरूको खोजी गर्छन्। स्पष्ट रुपमा भन्नुपर्दा, उनीहरू महिलालाई पूर्ण अस्वीकार गर्ने पक्षमा रहन्छन्। किन? यसको पछाडि निम्नानुसारको कारणहरू रहेका छन्:

कम शारीरिक आकर्षण
पुरुषहरू भिजुअल प्रवृत्तिका हुन्छन्। आकर्षक चीजवस्तुहरू हेर्न मन पराउँछन्। यो कुरा आकर्षक महिलामा पनि उत्तिकै लागू हुन जान्छ। त्यसैले प्रायः पुरुषहरू साधारण महिलाप्रति भन्दा शारीरिक रुपमा सुन्दर, आकर्षक, सेक्सी (कामुक) महिलाप्रति बढी आकर्षित हुन्छन्। उनीहरूलाई कुनै पनि महिलाको मन बुझ्ने, व्यवहार हेर्ने, मनोवृत्ति जाँच्ने फुर्सद र रुचि नै हुँदैन। यसको पछाडि वैज्ञानिक आधार के त? जब एउटा पुरुषले कुनै एउटी आकर्षक महिला देख्छ, उसको मस्तिष्कले डोपामाइन हर्मोन उत्पादन गर्छ। परिणामस्वरूप शरीरमा सो हर्मोनको मात्रा बढेर जान्छ। यो हर्मोनले मुड उत्थान गराउन, ध्यान केन्द्रित गराउन लगायत आनन्द प्रदान गर्न विशेष भूमिका खेल्छ। त्यसैले अधिकांश पुरुषहरू हरेक आकर्षक महिलातर्फ आकर्षित हुन्छन् र तिनै आकर्षक महिलालाई प्रेमिका वा जीवनसाथीको रुपमा स्वीकार्न चाहन्छन्। मानौँ तपाईं कम शारीरिक सुन्दरता भएको एउटी साधारण महिला हुनुहुन्छ। यसमाथि तपाईंसँग शारीरिक सुन्दरता बढाउन आवश्यक ज्ञान, सीप र आर्थिक स्रोतको पनि चरम अभाव छ भने? निसन्देह तपाईं पुरुषहरूबाट सजिलै अस्वीकृत हुन पुग्नुहुन्छ।

यौन आकर्षण हराउनु
प्रायःजसो पुरुषहरू साँचो र गहिरो प्रेम सम्बन्धको लागि होइन, शारीरिक आवश्यकता परिपूर्ति गर्नका लागि महिला निकट रहन चाहन्छन्। जुन महिलामा अधिक सेक्स-अपील (यौन आकर्षण) छ, तिनै महिलासँग आफ्नो नाम जोड्न, निकटताको सम्बन्ध गाँस्न लालायित हुन्छन्। यसको ठीक विपरीत, यौन आकर्षण कम हुने महिलासँग भने घनिष्ठता बढाउन चाहँदैनन्। सम्बन्धलाई औपचारिकतामा मात्र सीमित राख्न चाहन्छन्। अर्को महत्त्वपूर्ण कुरा, यौन आकर्षण रहने भनेको अपरिचित पुरुष/महिलासँग मात्रै हो। एक पटक शारीरिक गतिविधि (सेक्स)मा संलग्न भइसकेपछि, शारीरिक स्पर्श वा शारीरिक आवश्यकता पूरा गरिसकेपछि ती पुरुष/महिलामा यौन आकर्षणको स्तर घटेर जान्छ। त्यसपश्चात् यौनमा लिप्त पुरुषहरू यौन आकर्षणमा कमी आउने, यौन आकर्षण पूर्ण रुपमा हराउनेबित्तिकै महिलालाई छोड्न, बेवास्ता गर्न तथा अस्वीकार गर्न पछि पर्दैनन्। यसर्थ यदि तपाईं यौन आकर्षण बिनाको एउटी सामान्य महिला हुनुहुन्छ भने पुरुषहरुले तपाईंलाई अस्वीकार गरिदिन्छन्।

भावनात्मक सम्बन्ध स्थापित हुन नसक्नु
जो कोही महिलासँग न्यानो अनुभूति गर्न सकिँदैन। केही चरणको डेटिङ जाँदैमा ती महिलासँग सहज रुपमा व्यवहार गर्न सकिन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन। यति मात्र होइन, ती महिलासँग शारीरिक सम्पर्क राख्दैमा न्यानो भावना, मित्रभाव सिर्जना हुन्छ वा भेटका लागि हरदम उत्साहित हुन सकिन्छ भन्ने पनि कुनै ग्यारेन्टी हुँदैन। यसलाई अर्को शब्दमा भन्नु पर्दा, कुनै पनि महिलासँग सहजै भावनात्मक सम्बन्ध स्थापित गराउन सकिँदैन। यसको निम्ति पुरुष र महिलाबीच उर्जा मिलान हुन सक्नुपर्छ। त्यसकारण पुरुषहरू तपाईंप्रति जति नै धेरै आकर्षित भए पनि तपाईंसँग उर्जा मिलान हुन सकेन, भावनात्मक सम्बन्ध मजबुत हुन सकेन भने? ती पुरुषहरूबाट तपाईं स्वतः अस्वीकृत हुन पुग्नुहुन्छ।

करिअर उन्मुख जीवन
कहिलेकाहीँ पुरुषहरू अति नै भविष्य केन्द्रित हुन जान्छन्। आफ्नो करिअर निर्माण कार्यमा बढी चिन्तनशील रहन्छन्। भनाइको तात्पर्य, करिअर उन्मुख जीवन बाँचेका हुन्छन्। आफ्नो सम्पूर्ण समय, ध्यान, उर्जा र पैसा सुनिश्चित भविष्य निर्माणमा लगाएका हुन्छन्। त्यसै कारण उनीहरूसँग पार्टी गर्ने, रमझममा भुल्ने, महिलाहरूसँग घुलमिल हुने, प्रेम सम्बन्धलाई बढावा दिने न फुर्सद हुन्छ न इच्छाशक्ति नै। अब तपाईं आकर्षक महिला हुँदाहुँदै पनि यस्ता पुरुषहरूको सम्पर्कमा पुग्नुभयो भने अस्वीकृतिबाहेक अरु केही पाउनुहुन्न। त्यसैगरी पुरुषहरू आफ्नो करिअरबारे मात्र होइन, आफूले रोजेको अथवा सँगै जीवन जिउन चाहेको महिलाको करिअरबारे पनि उत्तिकै सचेत रहन्छन्। आफ्नो करिअर/पेशा महिलाको करिअर/पेशासँग बाझिन गए, कुनै पनि कोणबाट दुवैको करिअर/पेशा सम्बन्धित हुन नसके? उनीहरू मन परेको महिलालाई समेत अस्वीकृत गरिदिन सक्छन्। यसैकारण तपाईं निकै सुन्दर महिला भए तापनि, पुरुषहरूले तपाईंप्रति अधिकतम् रुचि देखाएपनि करिअर नमिल्ने हुँदा अन्ततः अस्वीकृत हुन पुग्नुहुन्छ।

नयाँ विकल्पको खोजी
एउटै महिलासँगको संगतले प्रेम र महिलाबारे बुझ्न सकिँदैन। धेरै भन्दा धेरै महिलाहरुसँग संवाद गर्न सक्नुपर्छ, शारीरिक एवं भावनात्मक सम्बन्ध स्थापित गराउन सक्नुपर्छ। त्यसैले पुरुषहरु एउटै महिलासँग सीमित हुन चाहँदैनन्। प्रेमिका साथमा हुन्छिन् र तापनि अरु महिलाहरूलाई क्रमशः दोस्रो, तेस्रो, चौथो, पाचौं आदि विकल्पका रुपमा राखेका हुन्छन्। यस अतिरिक्त समय र परिस्थिति अनुसार नयाँ-नयाँ विकल्पहरू (महिलाहरु) खोजी गरिरहेका हुन्छन्। उपलब्ध भए जति विकल्पहरू आत्मसात गर्न कत्तिपनि हिच्किचाउँदैनन्। अर्थात्, विविध महिलाहरूसँग हिमचिम बढाउन, परीक्षण गर्न र सम्बन्ध अगाडि बढाउन पछि पर्दैनन्। अब तपाईं यस्तो मनसायले अगाडि बढेका पुरुषहरूको संगत गर्नुभयो भने? अन्ततोगत्वा तपाईंले पाउने परिणाम भनेको अस्वीकृति नै हो।

आत्म-स्वाभिमानको कमी
पुरुषहरु सम्मानको भोका हुन्छन्। कुनै पनि महिलाबाट सम्मानजनक व्यवहार होस् भन्ने चाहन्छन्। निकै महत्त्व दिएर अन्तरक्रिया गरोस्, बोली नरम/मिठो होस्, प्राथमिकतामा राखोस्, हरेक सुखदुःख र संकटमा साथ देओस्, अनि कहिल्यै बेवास्ता नगरिदेओस् भन्ने अपेक्षा राखेका हुन्छन्। यी इच्छा, अपेक्षाहरू पूरा नभएको खण्डमा महिलाबाट अपमानित भएको अनुभूत गर्छन्। आत्म-स्वाभिमानमा ठेस लागेको ठान्छन्। अपमानित हुनुपर्दाको परिस्थितिलाई सहज रुपमा लिन, पचाउन सक्दैनन्। महिला जतिसुकै आकर्षक भएपनि, विश्व सुन्दरी स्तरकै सुन्दरताले भरिपूर्ण भएपनि यदि ती महिलाबाट आत्म-स्वाभिमानमा आँच आउने कार्य हुन्छ भने पुरुषहरू त्यस्ता महिलाप्रति कत्ति पनि आकर्षित हुन सक्दैनन्। र, सजिलै अस्वीकार गरिदिन्छन्।

बुझ्न नसक्नु
एउटा पुरुषलाई महिलाबारे बुझ्न त्यति सजिलो छैन। अझ यसो भनौँ, एउटा पुरुष र महिलाबीच बुझाइको स्तर बढ्न, विश्वासको सम्बन्ध स्थापित हुन निश्चित समय, उर्जा र अथक प्रयासको आवश्यकता पर्छ। एकदुई चरणको हाइ हेल्लो, भेटघाट मार्फत सम्बन्धलाई कुनै गति दिन सकिँदैन। यस दौरान एकले अर्कोलाई बुझ्न सकिने होइन, केवल सतही चिनापर्ची गर्ने वातावरण निर्माण भएको हुन्छ। उचित विधिको प्रयोग गरेर आफूलाई खुलस्त रुपमा प्रस्तुत गर्न, बुझ्न र बुझाउन सकिँदैन। यसले अविश्वासको बीउ रोपिदिन्छ। त्यसैगरी पहिलो वा दोस्रो चरणको भेटमै आफूलाई अतिनै खुला रुपमा प्रस्तुत गर्नु (खुला किताब जसरी) वा अति नै संकुचित अवस्थामा राख्नु पनि त्यति प्राकृतिक कदम होइन। यस्तोमा पनि पूर्ण विश्वास गर्न सकिने कुनै ठाउँ रहँदैन। जसकारण एकले अर्कालाई अस्वीकार गर्ने सम्भावना बढेर जान्छ। मानौँ तपाईं एउटी महिला हुनुहुन्छ। तपाईं सम्बन्ध जोड्नको लागि दुवै शारीरिक र मनोवैज्ञानिक रुपमा तयार हुनुहुन्छ। यसै क्रममा केही पुरुषहरूलाई भेट्ने, उनीहरूसँग घुमघाम गर्ने, समय पनि बिताउने गर्नुभयो, तर आफूलाई खुला रुपमा व्यक्त गर्न सक्नुभएन भने? आफ्नो वास्तविक व्यक्तित्व बुझाउन सक्नुभएन भने? ती सम्पूर्ण पुरुषहरूले तपाईंलाई सतप्रतिशत विश्वास गर्न सक्दैनन्। अनि प्रतिबद्ध सम्बन्ध वा बिहेका लागि सिधा अस्वीकृति जनाइदिन्छन्। उनीहरू तपाईंलाई अस्वीकार गरेर आफूले वा परिवारले चिनेको महिलासँग सम्बन्ध जोड्न वा वैवाहिक जीवन सुरुवात गर्न पुग्छन्।

स्तर बेमेल
सम्बन्धलाई प्रगाढ र दिगो बनाउन स्तर मिलाउन सक्नुपर्छ। पुरुषहरू यस मामिलामा विशेष चासो राख्छन्। कुनै पनि महिलासँग आफ्नो पारिवारिक, सामाजिक र आर्थिक स्तर मिलान हुन नसके ती महिलालाई अस्वीकार गर्न कुनै अप्ठ्यारो मान्दैनन्। यसमा ती पुरुषको पारिवारिक सदस्य लगायत साथीभाइले पनि उत्तिकै दबाब, साथ र सहमति दिएका हुन्छन्। अब व्यक्तिगत स्तरबारे संक्षिप्त चर्चा गरौँ। पुरुषहरू आफू महिलाको तुलनामा निकै शक्तिशाली रहेको र महिला निकै कमजोर हुने विश्वास गर्छन्। यस कुरालाई महिलाको मस्तिष्कमा एक तथ्यको रुपमा स्थापित गराउन कुनै पनि हदसम्म जान तयार हुन्छन्। त्यसैले पुरुषहरू आफ्नो स्तरभन्दा कम स्तरको महिला पहिल्याउने कोसिस गर्छन्। गहन अन्तरक्रिया गर्न, सम्बन्ध सुरुवात गर्नका लागि सोही मापदण्डको महिला हेर्ने गर्छन्। उदाहरणार्थ, पुरुषहरू आफ्नो शक्ति गुम्ने डरले आफूभन्दा बढी शिक्षित र बौद्धिक महिलासँग सम्बन्ध जोड्न वा बिहे गर्न चाहँदैनन्। त्यसैगरी पुरुषहरू आफूभन्दा अग्लो महिलासँग बिहे गर्न चाहँदैनन्। शारीरिक रुपमा अग्ला महिलाहरू औसत उचाइको पुरुषभन्दा उत्कृष्ट देखिन्छन्। यही कारण पुरुषहरू प्रेमिका वा श्रीमती आफूभन्दा अग्लो चाहँदैनन्। त्यसैगरी आफू प्राथमिकतामा नपर्ने सम्भावना हुँदा आफूभन्दा प्रतिष्ठित महिलासँग सम्बन्ध जोड्न वा बिहे गर्न चाहँदैनन्। त्यसैगरी पुरुषहरू आफूभन्दा बढी उमेरको महिला धेरै अनुभवी हुने र त्यसले आफ्नो शक्ति संकटमा पर्ने हुँदा कम उमेरका महिलासँग सम्बन्ध जोड्न वा वैवाहिक जीवनमा रहन चाहन्छन्। यस्तोमा यदि तपाईं योग्य महिला हुनुहुन्छ, तर कयौँ पुरुषहरूभन्दा शिक्षित, बौद्धिक, शारीरिक रुपमा अग्लो, प्रतिष्ठित र बढी उमेरको हुनुहुन्छ भने? अन्त्यमा तपाईं उनीहरूबाट अस्वीकृत हुन पुग्नुहुन्छ।