सामाजिक सञ्जाल अहिले “द पोयट आइडल”ले चौतर्फी तरङ्गित छ । प्रारम्भिक चरणमा यसले विभिन्न कवि, लेखक र समालोचकहरूबाट निकै आलोचना र असहमतिका आवाजहरूलाई झेल्नु पर्यो तर अहिले ठिक उल्टो प्रशंसा, स्याबासी , शुभकामना साथै सकारात्मक टिप्पणीहरू पाइरहेको छ।

यो कार्यक्रम सामान्यतया एउटा यस्तो मञ्च बन्यो जसले अहिलेका नव कवि कवयित्रीहरूलाई सबैले सुन्ने र चिन्ने सुनौलो अवसर प्रदान गरिदियो । पूर्व मेचीदेखि पश्चिम महाकाली मात्र नभएर सिमापारीबाट नेपाली कविहरूलाई यसले समेटेको छ र विश्वभरि छरिएका नेपाली साहित्य प्रेमीहरूको ध्यान केन्द्रित गरिदिएको छ जसमध्ये म पनि एक हुँ।

यो प्रतिस्पर्धाको यस्तो कार्यक्रमको हो जहाँ विभिन्न पृष्ठभूमिबाट आएका हजारौँ कविहरूबाट मात्र एकजनालाई “द पोयट आइडल”को टाइटल र पुरस्कार दिइनेछ। त्यसैले मलाई लाग्छ यो कार्यक्रम परिकल्पना गरेर निर्माण गर्ने निर्देशक अधिकारीज्यूले धेरै अध्ययन, अनुसन्धान र असल नियतका साथ यो कार्यक्रमलाई अघि ल्याएका छन् ।

यस कार्यक्रमप्रति मेरो कुनै व्यक्तिगत आक्षेप, दुरासय र पूर्वाग्रह छैन, इमान्दार भएर भन्नु पर्दा म उत्साहित छु किनभने यो क्रायक्रम आफैँमा एउटा नौलो र पृथक प्रयोग हो । तर केही यस्ता मनमा लागेका जिज्ञासाहरू पनि छन् जसलाई जनमानसमा राख्दा यस कार्यक्रमलाई अझ बडी जवाफदेहिता र प्रभावशाली बनाउन सकिन्छ कि भन्ने मात्र मेरो चाहना हो।

धेरै भूमिका नबाँधी विषय वस्तुमा चर्चा गर्न चाहन्छु । यो कार्यक्रमको बनोटमा किन भोटिङको अवधारणा ल्याइएको ? के यो कार्यक्रम कुनै फ्रेन्चायस कम्पनीद्वारा सञ्चालित छ या स्वतन्त्र ? मलाई लाग्छ जवाफमा यो स्वतन्त्र छ । यो कार्यक्रम “नेपाल आइडल” , ” भोइस अफ नेपाल” या अरू कुनै पनि रियालीटी सो र मनोरञ्जका कार्यक्रमहरूभन्दा पृथक नै छ त्यसो भए किन भोटिङको व्यवस्था ?

जब कि आम नेपाली सबैलाई थाहा छ कि यो भोटिङ व्यवस्थाले असली कला र असली कलाकारलाई न्याय गरेको छैन । कवि चन्द्रवीर तुम्बापेको फेसबुक स्टाटसबाट एउटा दर्दनाक र दुखत खबर पढियो । कसरी एकजना कलालकार लोकदोहोरी प्रतियोगीतामा भाग लिन्छ र भोटको लागि ऋण काढेर खर्च गर्छ तर अन्तमा ऊ हार खाएर डिप्रेसनमा जान्छ । यो व्यक्तिले गरेको निर्णयमा नै व्यक्तिगत त्रुटी छ भनेर भन्नलाई त भन्न सकिन्छ होला तर के हामीले यसको जवाफदेहिता खोज्नु पर्दैन यसको जिम्मा कसले लिने ? यस्तो खालको पैसाको खेलमा खेलिने प्रतिस्पर्धाले कलाको प्रवर्द्धन र कलाकारको संरक्षण कसरी हुन सक्छ ?

हिजो भख्खरको एलिमिनेसन राउन्डबाट एकजना होनहार कवि बाहिरिनु भो । उहाँको फेसबुक स्टाटसमा यस्तो लेखिएको थियो “भोट गर्दिनुस् ल ! भनेर भन्न परेन । धन्य छु म । पूँजीवादले ग्रस्त समाजमा हामी सर्वहाराहरुको हविगत हुने यही हो।” यो स्टाटसको बारे म धेरै व्याख्या गर्दिनँ तर यसमा लुकेको यथार्थ कसैबाट लुक्न सक्दैन । यो भोटिङ प्रणालीबाट स्वयं निर्णायकहरू नै खुसी छैनन् । विप्लव दाइको आँखामा स्पष्टसँग पढ्न सकिन्छ । मुखै खोलेर उहाँले भन्नुभएको छ, “म खुसी छैन ।”

विप्लव दाइको कुरा गरेँ । अब दाइकै केही अभिव्यक्तिहरू बारे म चर्चा गर्छु । उहाँले कविको व्यक्तित्वसँग जोडेर केही यस्ता संवेदनशील कुराहरू भन्नु भएको छ, जसले कविहरूको व्यक्तित्वलाई चोट लाग्न सक्छ । कवि भनेको सधैँ विचरा, असाहाय, दरिद्र र सहानुभूतिको पात्र हुनु हुँदैन ।

मैले यो यसकारण भनिरहेको छैन कि त्यो अभिव्यक्ति गलत हो तर यसकारण भनिरहेको छु कि हामीले बुझ्नुपर्छ सबै कविको व्यक्तित्व उस्तै हुँदैन। उसको आर्थिक अवस्था, पृष्ठभूमि, व्यक्तिगत रूची र केही रहर अथवा बाध्यताहरू पनि हुन सक्छन् । कवि विप्लवलाई ह्याट मनपर्छ । कवि नगरकोटीलाई बुट मनपर्छ तर त्यही प्रतियोगिताका कवि लक्ष्मीप्रसाद मादेनलाई ढाका टोपी र चप्पल नै मनपर्न सक्छ ।

एउटा कविलाई उसको आर्थिक हैसियतले जे बनाउँछ ऊ त्यहीँ बन्छ । उसले प्रगति गर्नु हुँदैन, उसले परिवर्तनको बाटोलाई पछ्याउनु हुँदैन भन्नु खोजेको कदापि होइन । मात्र यति कि आर्थिक रूपले दरिद्र भएको कविको व्यक्तित्वप्रति संवेदनशील हुनुपर्छ र उसलाई सम्मान गर्नुपर्छ ।

अर्को विषयमा प्रवेश गरिहालौँ है त ।

त्यो हो कविहरूलाई कविता लेख्न दिइने विषय बारे । यो पनि निकै संवेदनशील कुरा हो । हाम्रा समाजमा घटेका व्यथिति, विसंगति र विचलनलाई सुधार गर्नमा कविहरूले आफ्ना कविता र अरू पनि कलाका थुप्रै माध्यम प्रयोग गरिरहेका छन् । यस कार्यक्रममा हिजो दिइएको विषय मलाई लाग्छ एउटा व्यक्तिप्रति नै अप्रत्यक्ष लक्षित गरिएको विषय देखियो ।

यस विषयको सार, तत्त्व र उद्देश्यमा कुनै खोट र दोष लगाउन खोजेको होइन र त्यसलाई सरल तरिकाले र व्यक्तिगत चोट नपुग्ने हिसाबले पनि देखाउन सकिन्थ्यो तर यसले निर्माण गर्न खोजेको भाष्य कलात्मक कम तर व्यङ्ग्यात्मक ज्यादा भयो । त्यसको जिम्मा अरू कार्यक्रमहरू जस्तै कमेडी क्लब र हाँस्य कलाकारहरूले लिएका छन् । यो कार्यक्रमलाई विशुद्ध कविताकै सौन्दर्यशास्त्र परिधिभित्र राख्न सकिन्छ कि सकिँदैन ?

अब अन्तिम विषय उठाउन चाहन्छु ।

प्रतिस्पर्धीहरूको प्रस्तुति बारे । यो कार्यक्रम कविता केन्द्रित किन भइरहेको छैन ? किन धेरै कलाका अरू विधाहरूलाई चलाइएको हो ? संगीतसम्म त ठिकै छ तर प्रस्तुतिमा अभिनयको प्रयोग अलि चाहिनेभन्दा बडी प्रयोग भएको लाग्दैन ? प्रतिस्पर्धीहरूको सृजनात्मक पक्षलाई कमजोर र प्रस्तुतिलाई बलियो बनाउँदा दर्शकलाई यसले नमज्जा त दिइरहेको छैन अथवा त्यो प्रस्तुतिको मज्जा केवल भावनात्मक र क्षणभङ्गुर मात्र हुने होइन ? नाट्य निर्देशक अनुप बरालज्यूले यसको अनुभव राम्रोसँग नै गर्नुभएको होला कवितालाई कविताकै रूपमा प्रस्तुत हुनुपर्छ शैली, शिल्प र प्रस्तुतिमा कविताको मूल तत्त्वलाई नै मर्न दिनु हुँदैन ।

मेरा यी जिज्ञासाहरू र बुझाइ आफैँमा अपूर्ण र असान्दर्भिक छन् भने म सच्चिन तयार छु । यो कार्यक्रमको म एक शुभचिन्तकको हैसियतले यस कार्यक्रमले प्राप्त गरेको सफलतामा मेरो पनि हर्षका केही अंशहरू हुनेछन् । बाँकी त अझै छ हेर्नु छ…।