प्रिय एन्जिला,
तिम्रो मौनताको लामो शृङ्खलापश्चात् आज तिम्रै सम्झनाले मेरो मन तड्पिरहेको छ। मलाई लाग्छ तिमिलाई पनि त्यो मौनतामा शान्ति त पक्कै मिलेको छैन होला।
सुन न..! तिमिलाई थाहा छ ? हाम्रो पहिलो भेट भयको स्थानमा नजिकै लामो पुल बनेको छ त्यहाँ कयौँ प्रेमीहरु सपना बुन्दै वारपार गर्ने गर्छन् । कतिपय त सायद प्रेमको व्यापार पनि गर्छन्।भन्नेले त त्यो पुल नेपालकै सबैभन्दा लामाे पुल हाे भन्छन् तर मलाई लाग्दैन । बरु सबै भन्दा छोटो लाग्छ जसबाट एउटा समुद्र पनि तर्न सकिँदैन । तिमी सात समुद्र पारी छ्यौ । तिमीसामु पनि नपुर्याउनेलाई कसरी लामो मान्नु म ? तिमीलाई मेरै आँखा अगाडि ल्याउने त सिर्फ दुई माध्यम छन् एउटा तिम्रो याद अनि अर्को सामाजिक सञ्जाल ।
तिम्रो यादले मन पोल्छ अनि ट्विटर या फेसबुकमा अप्लोड हुने तिम्रो तस्वीरले केही मत्थर बनाउँछ। त्यस्तै अर्को पुल छ हामीबिच जसले मेरा मेसेजको एकोहोरो समुद्रपार यात्रा गराउँछ तर तिम्रा मेसेज कुन पुलबाट कहाँको यात्रा गर्छन् मलाई थाहा छैन प्रिय ? यता आउनै छाडे त..!
अनि तिम्रा यादहरुलाई म कहाँ पुर्याउने त तिम्रो विमान नै छ क्यारे जसले भारी भारी याद लिएर मेरो मुटुमा अवतरण गराउँछ । अनि कम्पन पैदा गर्छ। फूल जस्तो तिम्रो वदन अनि काँडा जस्ता तड्पाइ र याद आइरहने त्यो विमानमा तिमी किन अट्दिनौ प्रिय ? सायद त्यो विमान इम्याजिनेसनबाट अर्को नेसन मा जाँदैन क्यारे।
प्रिय लुरी ! “तिमीलाई मायाको परिभाषा कसरी बुझाऊँ ?” भनेर लेखेको एक प्रेम पत्ररुपि मेसेज त फेस्बुकबाट हटाएकी छैनौ नि ? त्यसलाई हाइड गरेर राखेकी छौ अझै सजिलो सँग मेरो माया लुकाएकी छौ जो आफैले नदेखेको अभिनय गरिराछ्यौ।
एउटा कुरा भनूँ प्रिय ?
पाँच फुट चार इन्च हाइट भएको त्यो शरीरमा सपक्क सप्किएको सारी देख्दा म केहीबेर हाँसेको थिएँ त्याे बेला। तर अहिले लुराे अनि अग्लो शरीरमा जानी नजानी सारी सप्काएकी युवती देखे तिमी भन्ठानेर झस्किन्छु म । अनि केही बेर हेरिरहन्छु। जब दशैँका फोटा देख्छु अरुको अनि हतार हतार मोबाइल खोलेर हेर्छु तिम्रा ती तस्वीर । अनि अर्को दशैँमा सँगै बसेर टीका लगाउने कल्पनामा डुब्छु । तर तिमी कहाँ हो कहाँ।
मैले तिमी टाढिने डरले साथीभन्दा माथि नसोचेको कुरा बताइरहे । कुनै दिन बोलचाल पनि बन्द होला भन्ने डरले प्रेम प्रस्ताव पनि नराखेको म बबुरोलाई अनायासै टाढिनु पर्छ भन्ने के थाहा ? हरेक बिहेका लगनका महिनामा मनको कुरा खोल्ने मनसाय बनाएँ । तर सकिनँ । तिम्रा बर्थ्डेहरूमा प्रस्ताव गरौँ कि भने फेरि डर लाग्यो । कतै तिम्रो विशेष दिन बिगारेको आरोप त लाग्ने होइन ?
जीवन एक अभिनय हो जीवनमा प्रेमबाहेक सबथोक नाटक गरिन्छ। त्यसैले यो नाटकीय जीवनमा वास्तविक रङ भर्न चाहन्छु जुन तिमीप्रतिको प्रेममा छ।
साेचिरहन्छु हाम्राे मिलन । चिसाे माैसम, सुनसान ठाउँ, अग्लाे पहाडमा तिमिलाई अङ्गालोमा बेरेर मायाको सरगर्मीले रापिन मन छ । यो अनुमति कहिले दिन्छ्यौ प्रिय ? तिमी हिँड्ने बाटोमा फूलैफूल छर्न त नसकुँला तर मायाकाे सुन्दर बगैँचा बनाई तिमीलाई जीवनभरकाे खुसी भने अवश्य दिन सक्छु । बस तिम्रो अनुमतिको पर्खाइमा छु।
तिमिलाई सात जुनी सँगै हुने वाचा गर्न त सक्दिनँ । म अर्को जुनीमा कुन किराको रुपमा जन्मन्छु भन्ने थाहा छैन । लाग्छ तिमी पक्कै अप्सरा हुन्छ्यौ होला । धर्तीकाे कीराले स्वर्गकी परीलाई सँगै जिउने बाचा कसरी गर्न सक्छ ? तिमीले नै साेच त ध्यान दिएर । त्यसैले सात जुनीकै प्रेम यही जीवनमा अनुभूति गराउनेछु प्रिय !
आउँदै गरेको प्रणय दिवसको शुभकामना प्रिय ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।