समाजले तिम्रा सपनाहरु मारिदिन सक्छ। न धनले जित्छ न मनले जित्छ। यहाँ सपना त केवल विश्वासले मात्र जित्न सक्छ । आत्मविश्वास भन्दा ठूलो केही हुनै सक्दैन ।

 

बढ्दो उमेरसँगै मानिसको सोच, विचार र दृष्टिकोणमा फरक पर्नु स्वाभाविक नै हो। आज धेरै समयपछि दाइ-दिदीहरुसँग जमघट भएको थियो। कुरैकुरामा लक्ष्यसँग जोडिएर धन र मनको विषयमा निकै बेर छलफल हुन पुग्यो।

 

धनबाट असन्तुष्टि

त्यहाँ उपस्थित प्रायः सबै आर्थिक रुपमा सक्षम भइसक्नुभएको थियो । आर्थिक रुपमा सक्षम हुनु मात्र सफल हुनु होइन। उहाँहरुसँग जति रमाइला कहानी थिए, त्यति नै गुनासोहरु पनि थिए ।

सृजन दाइ बोलिहाल्नुभयो, “त्यतिबेला बाउ पनि धनी थिए । पैसा भएपछि इन्जिनियरिङ कसो नगरिएला भनेर भर्ना भइयो। आफूले पढेर गर्छु भन्ने विश्वास त कहिले लागेन । विश्वास नभएपछि धनले मात्र केही नहुने रहेछ यार । ३ वर्ष बाउको पैसा त हो भन्दै अति मोजमस्ती गरियो । केही सीप नलागेपछि आफ्नै बिजनेसको केही जिम्मा मलाई सुम्पिदिनुभयो। आज बिजनेसबाट कमाइ त धेरै छ तर खुसी उतै कतै छुटिसकेछ ।”

 

मनबाट निराशा

दृष्टि दिदी सानैदेखि पढाइमा निकै अब्बल हुनुहुन्थ्यो । जन्मने बित्तिकै डाक्टर, पाइलट र इन्जिनियरको सपना देखाउने हाम्रो समाजले दिदीलाई पनि समायो । तोतेबोलीबाटै भन्न थाल्नुभयो, ” म त डाक्टल बन्ने हो ।”

अब दिदीमाथि हरेक कुरामा डाक्टर नाम जोडिन थाल्यो । बोलाउँदा डाक्टर शाब अनि केही बिगार्यो, खेल्न गयो अथवा स्कुलमा पर्सेन्टेज कम आयो भने, ” यसरी पनि डाक्टर बनिन्छ त ? पढ्नुपर्यो नि । फर्स्ट हुन पर्यो नि ।” त्यसपछि दिदीलाई हरेक कुरामा नम्बर १ हुनपर्यो।

त्यसलाई अब हौसलाको पाटोबाट हेर्ने कि प्रेसरको ?

स्कुलसम्म ठिकै थियो। एघारमा पुग्ने बित्तिकै दिदीको पर्सेन्टेज कम कम हुँदै गयो । दिदीको नम्बर १ बन्ने आशा निराशामा बद्लिन थाल्यो । सानैदेखि देखेको डाक्टरको सपना पूरा गर्नु थियो।

त्यहीँ सपनाले दिदीलाई बेला बेलामा झस्काउँदै मेहेनत गर्न प्रेरित गरिरहन्थ्यो । दिनरात नभनी खुब पढ्नुहुन्थ्यो । जस्तो जे भए पनि दिदीलाई आफ्नो मिहिनेतमा विश्वास थियो । ढिलो होला तर निरन्तरताले गर्दा म अवश्य लक्ष्यमा पुग्छु भन्ने विश्वास थियो।

तर सानोमा जस्तो राम्रो नम्बर नआउनाले घरपरिवारको आशा मर्यो । विश्वास थप्ने र हौसला दिने होइन बरु सपना बदल्ने, सजिलो विषय पढ्ने आग्रह बढ्न थाल्यो । आफन्त र साथीभाइबाट पनि “स्कलरसिपमै नाम निकाले पनि खर्च धेरै लाग्छ। खै पढाउन सक्दैनन् होला। तिमीले घाँटी हेरेर हाड निल्नुपर्छ है।” जस्ता नकारात्मक भावहरु धेरै पाउन थाल्नुभयो।

सानैदेखि देखेको सपनालाई अब अँगाल्ने समय आइसक्दा कसैले उहाँको सपनामाथि नै प्रश्न उठायो।

“आखिर तिमीले यो सपना कसरी देख्यौ ? किन ? के तिम्रो साँच्चिकै लक्ष्य यही नै हो त ? कि कसैले राम्रो भन्दैमा र गर भन्दैमा यसरी सोच्यौ ? के डाक्टर बनेर तिमी खुसी हुन्छौँ त ? यो तिम्रो यात्रामा चल्ने अन्तिम बाटो हुनेछ त्यसैले एकपटक फेरि सोच।”

दिदी सोचमग्न हुनुभयो । ध्यान भट्कियो।आफू र आफ्नो सपना केहीलाई विश्वास गर्नुभएन। निर्णय गर्नै सक्नुभएन। जब आफूलाई बुझ्नुभयो। आफ्ना चाहना बुझ्नुभयो।सपना बुझ्नुभयो। त्यतिबेला धेरै ढिलो भइसकेको थियो।

घर परिवार र साथीभाइको अविश्वास सफल भयो। दिदीको क्षमता नपुगेको त होइन। आफ्नो विश्वासले गर्दा आज दिदी आर्ट्स पढेर बिहे गरी बच्चाको पहिलो शिक्षक मात्र बनेर बस्नुभएको छ ।

 

विश्वासको सफलता

दिनेश दाइ निम्नवर्गको परिवारमा जन्मिनुभएको थियो । उहाँ जस्तो भए पनि बाहिरी रुपमा कहिले आफूलाई निराश देखाउनुभएन । उहाँका सपना पनि कहिले कसैले सुन्ने अवसर पाएनौँ । कक्षामा जीवनका लक्ष्यबारे सोधिएका प्रश्नमा उहाँको जवाफ एक असल र ठूलो मान्छे बन्ने भन्ने मात्र हुन्थ्यो । पढाइमा खासै तेज त होइन तर पनि जति जानेको हुनुन्थ्यो त्यो विषयवस्तुबारे बिज छर्नेदेखि बिज उब्जाउने सबै ज्ञान बटुलेकै हुनुहुन्थ्यो । गहिराइ र पूर्णता उहाँको लागि खासै नौलो कुरा हुँदैनथ्यो ।

पैसाले केही गर्ने भन्ने न उहाँको हैसियत थियो न त केही सपना नै थियो ।

“घाँटी हेरी हाड निल्नु” भन्ने उखानलाई आत्मसात गरेरै अगि बढ्नुहुन्थ्यो।

“नजाने गाउँको बाटो नसोध्नु” यस उखानको भने सधैं विरोध नै गर्नुहुन्थ्यो ।

‘के थाहा भोलि कतै भट्किँदै यही बाटोमै पो पुगिन्छ कि ।’

साँच्चिकै उहाँ भिन्न हुनुहुन्थ्यो तर सबैभन्दा धेरै आफूलाई विश्वास गर्नुहुन्थ्यो । त्यस्तै उहाँको आमाबुवा पनि। कुनै पनि काम आँट्यो भने सक्छस् र ? सक्दैनस् होला भनेर नकारात्मक भाव उत्पन्न हुनै दिनुहुन्नथ्यो । जे गरे पनि छोराछोरीले गलत गर्दैनन् भन्ने विश्वास थियो । यदि कुनै क्षण कतै अल्मलिँदै छन्, केही गलत गरिरहेका छन् भने ” यसरी त हुँदैन है यो गलत बाटो हुन सक्छ ख्याल गर्नु भन्थे तर निर्णय भने आफैँले लिनुपर्छ” भन्ने गर्थे। हुन पनि हो अरुले बाटो देखाउन सक्छन् तर त्यो बाटोमा हिँड्ने नहिँड्ने निर्णय आफैँले गर्नुपर्छ ।

दिनेश दाइले आज राम्रो पोस्टमा जागिर गरेर बस्नुभएको छ । आफ्नै सानो बिज्नेस पनि निकै राम्रो चलिरहेको छ। यदि उहाँले आफूले आफूमा विश्वास नगरेर, आफैँलाई शंका गरेको भए पक्कै पनि त्यो स्थानसम्म पुग्नु हुँदैनथ्यो। बाहिरीले “सक्दैन। केही गर्दैन।” भन्दा घरपरिवारले पनि सक्दैन होला भन्ने भ्रम राखिदिएको भए सायद त्यो सफलता आज हात पर्ने थिएन ।

जीवनमा सबैभन्दा ठूलो कुरा विश्वास हो। धन र मन दुबै हुँदाहुँदै पनि केही कुराले जित्न सक्छ भने त्यो पनि विश्वास नै हो । जसले जे भने पनि आफूले आफूमा रहेको विश्वासलाई तोड्नु हुँदैन।

अपरेसन गरिरहेको डाक्टरले पनि अर्धचेतको बिरामीलाई आफूमा विश्वास गर, ट्रिट्मेन्टलाई विश्वास गर र रेस्पोन्ड गर भनेर बारम्बार भनिरहेको हुन्छ । हामी चेकअपपछि औषधिले निको गर्छ भन्छौ तर औषधिले निको गर्ने भनेको ३०% मात्रै हुन्छ बाँकी हजुरको आत्मविश्वासले जितेको हुन्छ ।

कोही दुई व्यक्तिलाई एउटै बिमारीको एउटै औषधि दिनु र एकलाई भन्नुस्, “निको हुन त के गर्छ यो औषधि खाँदै गर्नु न ।”

र अर्को व्यक्तिलाई भन्नुस्, ” हजुरलाई ५ दिनमा पक्कै निको हुन्छ तर डोज पूरा गर्न १० दिन खानु न ।”

सुरुको बिरामी बिरामी नै भैराख्छ भने दोश्रो बिरामीले उस्तै परे ६-७ दिनमै सन्चो भयो भनेर औषधि छोडिदिन सक्छ ।

संसार नै विश्वासमा चलेको छ । फललाई हाङ्गाको विश्वास, हाँगालाई बोटको, बोटलाई जराको, जरालाई माटोको र माटोलाई धर्तिको ।

विश्वासबिना जीवनको त कल्पना गर्न सकिँदैन भने जीवन बिचमा आउने सम्बन्ध, प्रेम, उद्देश्य जस्ता जति पनि चिजहरु छन् उनीहरुको झन के कल्पना गर्नु ।

सम्बन्धहरु धनले मात्र कहिले बन्दैनन् न त मनले मात्र, न त धन र मनको समिश्रणले मात्रै बन्छन् । सम्बन्ध बनाउन र जोगाउन पनि विश्वास चाहिन्छ । अहिलेको समयमा सम्बन्ध विच्छेदका घटनाहरु कति देखिने गरिन्छ ?

के ती धनसम्पतिकै कारण हुन् त ?

प्रेम बिहेहरु टुटेका छन् , मन नमिलेर हो त ?

साँच्चै मन मिलेको कस्तोलाई भनिन्छ ?

विश्वास नै नभएको प्रेम कस्तो हुन्छ ?

सृष्टि चल्नलाई त विश्वास चाहिन्छ । हाम्रा व्यक्तिगत सपना र खुट्किलाहरु पार गर्न आत्मविश्वासको ठूलो भूमिका रहेको हुन्छ । सम्बन्धको त के कुरा गर्नु ?

सामूहिक रुपमा चल्न खोज्ने समाजजस्तै विचारहरु पनि सामाजिक ढंग र परिवेशका विचारसरह मात्र चल्नुपर्ने हो र ? समाजकै कुराले आफ्ना विश्वास टुक्राउनेहरुमा केही गर्ने क्षमता नभएको पनि त होइन । विश्वास नै हुँदैन भने नयाँ सोच कसले ल्याउने ? नयाँ सृजना कसले, कसरी गर्ने ?

समाजले तिम्रा सपनाहरु मारिदिन सक्छ। न धनले जित्छ न मनले जित्छ। यहाँ सपना त केवल विश्वासले मात्र जित्न सक्छ । आत्मविश्वास भन्दा ठूलो केही हुनै सक्दैन ।