देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ ।
देश तीन महिनादेखि लकडाउन (बन्दाबन्दी)मा छ । आंशिक रूपमा बन्दाबन्दी खुल्दै गए पनि त्रासदि उस्तै छ। रोगको त्रासभन्दा अमानवीय तथा हिंसात्मक समाजको दिसाको चिन्ता भारी बनिरहेको छ।
यस्तो बेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा नवपुस्तालाई सुन्ने छौँ:
भेषराज बुढाथोकी:
“मन रून्छ, आँशु दुई आँखाले बगाउँछन् ।“
लक डाउनले देशलाई छुनुभन्दा अगाडि मैँले मेरो देशलाई छोएँ, आफ्नो माटोलाई धेरैपछि छुने अवसर मिल्यो । क्या गज्जब छ माटोको सुगन्ध ! देशको नक्सा देखेपछि, घर फर्किने नक्सा देखेपछि, गाउँ फर्किने बाटो देखेपछि ज्यान बिदेशमा हुँदा हर्लक्कै हुर्केका पीडा, अभाव र दुःखका बिरूवा ओइलिए, धेरै दिनसम्म पानी नपाएको धान जस्तै । छि ! कस्तो सम्झेँ, मैँले फेरि उतै जानुछ, यहीँ बाटो भएर !
लकडाउनले मलाई बच्चा बनायो । म नाबालक जस्तै भैगए छु । मैँले गल्ति गर्दा या कहीँकतै चकचक गर्दा मेरा हजुरबा भन्नुहुन्थ्यो, “ब्याउली आन्या भन्या नातीनुतिनो धेक्न्या छियाँ । तँ अझैँ आफूलाई छोराछोरी हौं सुच्तो । सुदैको ।”
बेला बेला सोच्छु, ल ठीक छ म बच्चा होइन | युवक हुँ तर मेरो मन त अझै बच्चाको जस्तै छ नि ! बचपनमा म बुवाको पछि पछि लाग्थें । ठीक यो समयमा पनि म बाको पछि पछि लागिरहेकै छु । बाको पैतलामा पैतला मिलाइरहेकै छु । बाको काँधमा काँध मिलाइरहेकै छु । पछ्याइरहेछु बाको बाटो । बाको बाटो पछ्याउँदा देखिन्छन्, फुटेका पैतलाहरू, खिइएका नङ्ग्राहरू, च्यातिएका लुगाहरू । ठीक त्यसै गरी च्यातिएका छन् ,मेरा कैयौँ सपनाहरू !
यो समयमा मलाई खोज्नेहरू मलाई घरमा सायदै भेट्छन् । म घरमा बिरलै भेटिन्छु । म भेटिन्छु त गैरीखेतको आलितिर, बाटुलीचौरमा बाख्राहरूको माँझमा, बथान डाँडामा बासित । धेरै जसो समय म प्रकृतिसंग बिताइरहेको हुन्छु आजभोलि । यहीँ बेला क्या मज्जाले पलाइरहेछन्, प्रकृतिका सुन्दर पखेटाहरू । क्या मनमोहक देखिन्छ आकाशको हुलिया । आकाश कहिल्यै नथाक्ने रहेछ बादलका ढिस्काहरू बोकेर । ठीक म जस्तै तिम्रा यादहरूको भारी बोकेर म पनि कहिल्यै थाक्दिनँ । बेला बेला पिढीबाट चाँदनी नियाल्छु । धेरै चिजहरू टाढाबाट नै सुन्दर देखिने रहेछन् । आकाशमा चाँदनी अनि धर्तिमा तिमी । तिमी सुन्दर छ्यौ सुन्दर रहीरहन मबाट टाढै रहनु प्रिय अज्ञात !
अलि पहिला गजलकार बाबु त्रिपाटीको “बा” गजल संग्रहका केही गजलहरू पढेँ । अनि यहीँ समयमा मैँले “मेरा बा”लाई पढेँ । बालाई सरसरती पत्रिका पढे जस्तै गरी पढेको पहिला नै हो, लक डाउनमा मैँले बालाई पढ्नुभन्दा पनि अध्ययन गरेँ । बाको अनुहार हेरेर म बल्ल बुझ्दैछु, संसारको सबभन्दा ओजनदार वस्तु त खाली गोजी पो र’छ ! लक डाउनमा मैँले खेतीपातीको काम मात्रै गरिनँ । केही नयाँ काममा पनि हात हालेँ । मेरा बाले बीस वर्षपछि एउटा काम फेरि दोहोर्याउनु भयो । निगालोका चोयाबाट डोको डालो बुन्न थाल्नुभयो । बीस वर्षअगाडि बा डोकोडालो बुन्नुहुन्थ्यो पछि बीचमा छोड्नुभयो अनि अहिले फेरि थाल्नुभयो ।
कस्तो अचम्म ! बीस वर्षसम्म पनि डोको डालो बुन्नु नबिर्सेका मेरा बा । अनि मेरा बाको छोरोचैँ, बिहान केको तरकारी खाएँ, बेलुका बिर्सिने, बेलुका केको तरकारी खाएँ, बिहान बिर्सिने । यहीँबेला मलाई प्लस टुमा बायोलोजी पढाउने सरको भनाई याद आउँछ । उहाँ हाँस्दै भन्नुहुन्थ्यो, “बिर्सनु भनेको स्वस्थ हुनु हो । स्वस्थ मान्छेले बिर्सन्छ ।”
बुवाले डोको डालो बुनेको देखेर मैँले पनि हात हालेँ तर सकिनँ । मलाई आउँदैआएन, त्यो काम ।
लकडाउनले मलाई व्यस्त बनायो या लकडाउनमा म व्यस्त भएँ । खैर, जेसुकै भए पनि मलाई यो समयमा फुर्सद छैन । बेला बेला फुर्सद निकालेर मेरा आँखाहरुलाई किताबमा दौडाएकै छु । मेरा औँलाहरूलाई लेखनीको कम्मरमा समातेर नचाएकै छु, डायरीका सेता पानातिर । यो बेला रेडियो मेरो सारथी बनेको छ ।
यो समयमा मैँले तीन-चारओटा किताब पढेर सक्काएँ । लेखक, नेता तथा विश्लेषक प्रदिप नेपालको ‘आमाको मन’ उपन्यास पढेँ । प्रदिप नेपालको नाम धेरैपटक धेरैको मुखारबिन्दुबाट सुनेँ, खोजेँ र पढेँ उहाँकै पुस्तक । यस उपन्यासभित्र मैले मेरी आमाको मन भेट्टाएँ । युद्धका काँडाहरूले घोचेका नेपाली मनहरू यहीँ पुस्तकभित्र अटाइएको पाएँ । यो पुस्तक पढेपछि यसले मलाई फेरि लेखक तथा कानुन व्यवसायी हर्क कठायतको किताब ” देशले हारेको युद्ध” दोहोर्याएर पढ्न सिफारिस गर्यो । जनयुद्धका बाछिटाहरूले कैयौँ सर्वसाधारणको बल्न लागेको आगो निभेको कथा यस उपन्यासभित्र छ । धेरै प्रतिष्पर्धामा हारेर पनि जित्न सकिन्छ भन्ने कुरा मैँले “देशले हारेको युद्ध” बाट सिकेँ । जति बेला म जनयुद्धको अनुहार सम्झिने कष्ट गर्छु त्यती बेला मेरी कान्छी हजुरआमाको कोख रित्तो भएको, काइँला काकाले आजसम्म घर फर्किने नक्सा नेदेखेको पिरलोले मन अमिलो भैजान्छ । हृदय छियाछिया भैजान्छ । मन रून्छ, आँशु दुई आँखाले बगाउँछन् ।
यो बेला मैँले केही फुटकर कविता लेखेँ । लेखन यात्राको गति बढाउन सकिनँ । कामको चाप, थकान आदि आदि कारण बने । लकडाउनमा बृक्षारोपण गरेँ । पन्ध्र ओटा जति टिमुरका बोटहरू रोपे । धेरै वर्षपछि हजुरआमाको बुढो हातले पनि मेरो सहारा खोज्यो । अफ्ठ्यारोमा म हजुरआमाको बलियो लट्ठी भैगएछु । यहीँ बेला सम्झिन्छु, आमा किन चाँडै मरिन् भनेर रुनेहरू अनि आजसम्म आमा किन मरिनन् भनेर रूनेहरू !
मेरी आमा फूल प्रेमी हुनुहुन्छ । हुन त फूल मन नपर्ने कसलाई होला र ? बच्चा मन नपर्ने कसलाई होला र ? आखिर फूल पनि त बच्चा हो । आमालाई बारीको आलीतिर फूल रोप्न सहयोग गरेँ । आमाले फूल हुर्काउन गरेँको मेहेनत सम्झिन्छु र सोच्छु मेरी आमाले आफ्ना बच्चाहरू हुर्काउन झन् कति मेहेनत गर्नुभयो होला ?
बारीको छेउतिर ढकमक्क फुलेको गुलाफ छ । योबेला गुलाफका सबै पात झरे तर गुलाफ मजाले फूलेको छ । पात झरे पनि उसले फूल्न बिर्सेको छैन । उसले आफ्नो अस्तित्व जोगाई राखेकै छ । तर हामी मान्छे जन्मन्छौं, आमा बिर्सन्छौँ | हुर्किन्छौं भुगोल बिर्सन्छौं | उभिन थाल्छौँ देश बिर्सन्छौं ।
भूमिका थारु :
“आमा औधी खुसी हुनुभएको छ ।“
लकडाउनले यतिबेला हामी सबैको दिनचर्या बदलिदिएको छ । एकदिन पनि घरबाहिर ननिस्की बस्न नसक्ने मेरा केही दिन त छट्पटीमै बित्यो । तर बिस्तारै आफूलाई घरभित्रै कैद पार्नुको बानी पार्दै लगें । स्वीकार्दै गएँ, अहिलेको परिस्थिति अनि समयलाई । र, यही लकडाउनको समयले नै त हो ! मलाई आफूले गर्न चाहेका तर गर्न नपाएका काम गर्न अवसर जुराइदियो ।
अचेल म आमासँग थारू हस्तकला सिक्दैछु । ढकिया, सुप्लीलगायत थारु हस्तकला बनाउने यो बर्खाको महिना निकै उपयुक्त समय मानिन्छ । मैले यसप्रति देखाएको रुचिले आमा औधी खुसी हुनुभएको छ ।
लकडाउन हुनुभन्दा अगाडि नै मेरी हजुरआमा काठमाडौं आइपुग्नुभएको थियो । लकडाउनका कारण गाउँ फर्किन पाउनुभएन । अहिले उहाँसँगै धेरै समय बिताउने गरेँकी छु । उहाँले आफ्ना जिन्दगीका पानाहरु पल्टाउँदै सुखदुःखका कथाहरू मलाई सुनाउनु हुन्छ । ध्यान दिँदै सुन्ने गरेँकी छु । अझै कयौँ कथाहरू सुन्न बाँकी नै छन् । मलाई लाग्छ, यो लकडाउन जति लम्बिएको छ, त्योभन्दा बढी हजुरआमाका कथाहरू लम्बिन्छन् होला ।
दैनिक बिहान क्याम्पसको अनलाइन कक्षा लिएर गमलाको फूलमा पानी हाल्नु, त्यसको स्याहार सुसारमा जुट्नु अनि फक्रिएको फूललाई हेर्दै ऊसँगै मुस्कुराउनु मेरो नियमित दिनचर्या जस्तै भइसक्यो । हामीले यही लकडाउनको बेला कौसी खेती पनि ग¥यौँ । त्यसैले बाहिरको तरकारी किनेर खानु परेको छैन ।
आफैँले फलाएको तरकारी आफ्नै हातले टिप्न पाउनुको मजा नै बेग्लै क्या !
यही बीचमा केही कथा, उपन्यासका किताबहरु पढेर सकाएँ । केही कथा, कविता लेख्ने प्रयास गरेँ । बुवालाई देखाउँदै उहाँका सुझाव मनन गदै लेखनीमा सुधार गर्दै छु । केही अल्झिएका काम फेरि नियमित गर्दैछु । बुवासँगै दिनमा एउटा चलचित्र भए पनि हेर्न छुटाएकी छैन ।
अचेल किताब, कलम, डायरी अनि प्रकृति नै मेरा सबैभन्दा मिल्ने साथी भएका छन् । दिन ढल्किएपछि हररोज कौसीमा गई कौसीबाट हरियै देखिने नजिकको जंगल नियाल्छु ,आकाशमा बनेका छिनको छिनमै बदलिरहने आकृतिहरू हेरी टोलाइरहन्छु र आफ्नो घर फर्किदै उडिरहेका चराहरुलाई आँखाले नभ्याउनजेलसम्म हेरिरहन्छु । यो मेरो बानी नै भइसक्यो । लाग्छ, यतिखेर प्रकृतिले निर्धक्क भई सास फेर्न पाएको छ । आकाश पनि स्वतन्त्र भई उडिरहेको छ, चराजस्तै ।
अहिलेको समयलाई स्वीकारेर अघि बढ्नुबाहेक हामीसँग अरू कुनै विकल्प छैन । यो समयलाई रचनात्मक बनाउनु त छँदै छ, तर जहिले पनि व्यस्त रहने हामी आफ्नाबारेमा अध्ययन गर्ने यो जत्तिको सहि समय हामीले अघिपछि चाहेर पनि सायद पाउने छैनौँ हेला ।
विष्णु उपरकोटी:
“विविध पुस्तकहरूको अध्ययन र दलित आन्दोलनको तलाउमा डुबेको छ लकडाउन”
मेरो लागि मसँगका दौँतरीहरू र अहिलेसम्मका नवपुस्तामा प्रकाशित भएका मित्रहरूको दिनचर्याभन्दा पृथक ढङ्गबाट लक डाउनलले पाइला चालिरहेको छ ।
बिगत केही वर्षदेखि अध्ययनको क्रममा म खोटाङ (मेरो घर खोटाङ हो) जिल्लाको सदरमुकाम दिक्तेल बस्दै आएको छु । यसर्थ लकडाउन(बन्दाबन्दी) सुरु हुँदाको समयमा पनि म दिक्तेल नै थिए । लकडाउन सुरु भएपश्चात् क्याम्पस पनि कोरोना भाइरस (कोभिट-१९) को त्रास कम भएर अर्को सूचना नआएसम्म बन्द भयो । केहीदिन कोठामै बसेर साहित्यिक र राजनीति पुस्तकहरू अध्ययन गरेँ ।
एक्लै, कलेज पनि बन्द, खाना पकाएर खाने अनि पढ्नेबाहेक अन्य सक्रिय काम केही हुन सकेन । त्यसपछि घर (रावाबेसी गाउँपालिका) आएँ । सदरमुकामबाट घर आउछु भन्ने थाहा पाइसकेपछि अन्य अध्ययनशील साथीहरूसँग सेयर गरेर केही धार्मिक र साँस्कृतिक पुस्तकहरू पनि जम्मा पारेँ, साथसाथै नेपालमा वर्ण व्यवस्थासम्बन्धि आहुतिका युटुबमा प्राप्त भएसम्मका भिडियो र ४०-४१ वटा हिन्दी चलचित्र पनि डाउनलोड गर्न भुलिनँ, साहित्यिक पुस्तक त थिए नै ।
कविता, मुक्तक लेखेँ, चलचित्रहरू पृथक-पृथक थिए | जसअन्तर्गत भावनालाई गतिशील बनाउनुका साथै सामाजिक संजालमा पनि साहित्यिक तथा राजनीतिक आर्टिकलहरू पढेर बडो आनन्दको महशुस गरिरहेको थिएँ ।
कोरोना भाइरसको चपेटामा परेर ज्यान गुमाउनेको सङ्ख्या दिनानुदिन बढेकाले मनमा केही त्रासका तरङ्गहरुले नछुएको भने पक्कै थिएन । यद्यपि गाउँ त क्वारेन्टाइन (संगरोध)नै जस्तो लाग्दथ्यो । बस्यो, खायो, भिडियो हेर्यो,पढ्यो ,बेलुका-बेलुका गाउँका दौँतरीहरू भेला पार्यो, राजनीतिक गफ चुट्यो | यसरी बडो आनन्दका साथ दिनहरूको संख्याले बिट मारिरहेकै थियो । त्यतिकैमा जेष्ठ १० गते शनिबारका दिन जातीय भेदभावको पराकाष्ठा नाघेर जाजरकोटका नवराज बि.क.सहित ६ जनाको पश्चिम्रुकुमको सोतीमा जगन्य जातीय नरसंहारको घटनाले मन भतभती पोल्यो । मनलाई एकत्रित गर्नै गाह्रो भयो ।
तत्काल दलित समुदायबाट मन्त्री भएका पुर्वमन्त्रीहरू र केन्द्रिय नेताहरू साथै जिल्लास्तरका नेताहरूसँग फोन र सामाजिक संजाल फेसबुकको माध्यमबाट कुरा भयो । मस्तिष्क आक्रोशमै थियो । केहीदिनपछि नेपाल सरकारका पुर्वगृहन्त्री तथा जातीय नरसंहार भएको जिल्लाका सङ्घीय सांसद जनार्दन शर्माको राजनीतिक स्थिति विवरणले त झन मन कन्ट्रोल हुने अवस्थामै थिएन । दुई चार दिनपछि सो घटनालाई सहि छानबिन गराएर दोषीउपर कडाभन्दा कडा कारबाहीको माग गर्दै केन्द्रमा संघर्ष समिति तयार भयो, र दबाब कार्यक्रम सुरु भयो | साथसाथै हामीले पनि खोटाङमा संघर्ष समिति बनाएर लक डाउनको समयमा सरकारले तोकेको मापदण्डलाई ध्यानमा राखेर शारीरिक दूरी कायम राख्दै चरणबद्ध आन्दोलन गर्न थालियौं, र हाल गरिरहेकै छौँ । त्यसले गर्दा अध्ययनमा केही समस्य तथा बाधा उत्पन्न त गर्यो, नै यद्यपि “खानेमुखलाई जुँगाले छेक्दैन” भन्ने उखानको प्रायोगिक सङ्ख्या बढाउदै कविता र मुक्तक लेख्ने क्रम र विविध पुस्तक अध्ययन गर्ने क्रम जारी नै रह्यो ।
म भाषाको विद्यार्थी तर पनि भाषामा गहिरो अध्ययन गर्नबाट भने चुकिरहेको छु या भनौं कम्जोर आधारको प्रतिकुल प्रभावमा भाषाको ज्ञानले मस्तिष्कमा सन्नाटा छाइरहेको बेला मैले सम्मानित गुरु तथा अभिभावकका रुपमा आदरणीय महेश पौढ्यालज्युलाई भेटेको छु । उहाँबाट मैले भाषाको केही बिशिष्ट ज्ञान् हासिल गर्ने ऐतिहासिक मौका प्राप्त गरिरहेको छु, र यो लकडाउनमा ब्यक्तिगत फाइदा भैरहेको छैन भन्न सकिन्न ।
अन्ततः पहिलो चरणको दबाब कार्यक्रम सकिएर गाउँमा आएर घरायसी र सामाजिक काममा रमाइरहेको छु । अबको केही दिनमै दोस्रो चरणको दबाब कार्यक्रम अथवा मान्छेले मान्छे बन्न मान्छेहरूसँग आग्रह गर्ने कार्यक्रमलाई अघि बढाउन सदरमुकाम जानेछु । साथसाथै जगदीश घिमिरेको, “अज्ञानीलाई आफ्नो ज्ञान् थाहा हुन्छ भने ज्ञानीलाई आफ्नो अज्ञान । ज्ञानी मान्छे आफ्नो अज्ञानको खोजी गर्दछ । जान्नु भनेको आफ्नो अज्ञानता जान्नु हो । धेरै जान्नुभनेको धेरै जान्न बाँकि छ भनेर जान्नु हो । अज्ञानी बोल्छ ज्ञानी सुन्छ |” भन्ने भनाइलाई आधार बनाएर धेरै अध्ययन गर्ने मन छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।