Chovar Blues Mobile Size

पश्चिम नेपालको पहाडी (हाल हिमाली) जिल्ला म्याग्दीमा जन्मनासाथ म स्वत: पहाडे बने हुँला र यही समाजको छत्रछायामा हुर्किरहँदा म स्वभावतः पनि पहाडे बन्नु कुनै सन्देहको कुरा रहेन।

यही स्वभावअनुसार हामीले तराईका मानिसलाई कहिल्यै आम मानिस ठानेनौँ । सिरक,तन्ना,डसना आदिको व्यापारको सिलसिलामा पहाडसम्म पुग्ने तराई मूलका मानिस हाम्रो शंकाको घेरामा जहिल्यै परिरहे।
यो बाहेक हाम्रो भेगसम्म पुग्ने साहस अरु तराईबासीले गरेनन् पनि।

“यिनीहरू हामीकहाँबाट बच्चा चोरेर लान्छन् र भारतमा बेचेर पैसा कमाउँछन् अरे !”

बालबालिकाका रुपमा हुर्कँदै रहँदा हामीमा यस्ता अफवाह फैलाएर डर र घृणा एकसाथ पैदा गराइन्थ्यो। यस्तो मानसिकता बोकेर हुर्किएको जुनसुकै पुस्ताबाट तराईबासीमा समभावको अपेक्षा राख्नु औँशीमा चन्द्रमा खोज्नुजस्तै थियो ।अहिले लाग्छ पहाडे बन्नु कुनै भूगोलको प्रतिनिधित्व गर्नु मात्रै होइन रहेछ बरु अभिमानको बोझले थिचिएर तराई समुदायको अस्तित्व स्विकार्नै गाह्रो हुनु रहेछ । कसैको पहिचानलाई आत्मसात् गर्न नसक्नु रहेछ ।

जब कसैको अस्तित्व र पहिचान धरापमा पर्छ त्यो स्वत: मुद्दा बन्ने रहेछ । यही मुद्दाकै आधारमा राजनीतिक आन्दोलनहरु हुने रहेछन्,लेखहरु लेखिने रहेछन्,सोधिखोजी बढ्ने रहेछ । हो यही पहिचानको मुद्दालाई लिएर लेखिएको उपन्यास हो “धम्बोझी”। पत्रकार सरोजराज अधिकारीकृत धम्बोझीको पहिलो संस्करण २०७५ असोजमा साङ्ग्रिला पुस्तक प्रा.लीले बजारमा ल्याएको छ। करिब २५२ पृष्ठको यो उपन्यासले अन्य विषयलाई छोए तापनि पहिचानको सङ्घर्ष र अधिकार प्राप्तिको लडाइँ यसको मुख्य मुद्दा हो ।

नेपालगञ्जको धम्बोझी चोकबाट,पात्रहरु विक्रम,सन्तमान,विष्णे र रत्नेशसँग सुरु भएको उपन्यासको उकाली ओरालीमा बैजनी,विमलेश,मिथिलेश,डि.एस्.पी दानबहादुर , सांसद नरहरिनाथ,फारुक चाचा,पारोदेवी,कौशिलादेवी,आयरा लगायत धेरै पात्रहरु जोडिँदै र छुटिँदै जान्छन् ।

नेपालको फरक फरक भूगोललाई प्रतिनिधित्व गर्ने यी पात्रहरुमा -विक्रम बाबुसँगै जाजरकोटबाट बसाइँ सरेर आएको हो । उपन्यासको धेरैजसो घटनामा निर्णायक भूमिका खेल्ने ऊ राजनीतिक र आर्थिक हैसियत सबल भएको पारिवारिक पृष्ठभूमिको छ । भने सन्तमान पुन, स्थायी घर रोल्पा भएको पूर्व माओवादी लडाकु हो।त्यस्तै विष्णेको घर बर्दिया हो तर ऊ नेपालगञ्जमा नै बस्छ भने रत्नेश र विमलेश मधेसी समुदायकै दाजुभाइ हुन्।

उनीहरुजस्तै अरुको पहिचानको समस्या,उत्पीडित वर्गको न्यायको लडाइँ, मूलधारको राजनीतिले मधेसी समुदायलाई गरेको उपेक्षा आदिको परिधिभित्र उपन्यास घुमेको छ।

अभाव र गरिबीको मारमा परेका तराईका जनताहरुलाई जगाएर, उनीहरुको प्रतिनिधित्व गर्दै कोही निस्केर अधिकारका कुरा गर्नु कति सकसपूर्ण छ र त्यसलाई दबाएर मुलधारको राजनीतिमा टेक्न नदिन कुन हदसम्मको घृणित राजनीति पहाडेसत्ताले गर्छ त्यो छर्लङ्ग देखिन्छ उपन्यासमा ।

उपन्यासको प्रमुखमध्येको पात्र विमलेश जब उत्पीडित र अल्पसंख्यकको अधिकारको मुद्दा लिएर सक्रिय राजनीतिमा होमिन्छ तब उसलाई राष्ट्रियता विरोधी, विखण्डनकारी करार गरिन्छ । उसको मुद्दालाई राष्ट्रघाती र साम्प्रदायिकको लेपन लगाइन्छ । जुन अहिलेको राजनीतिमा पनि उत्तिकै चरितार्थ नहोला भन्न सकिन्न । जब कोही आफ्नो अधिकारको लागि बोल्न थाल्छ तब उसलाई बाहिरी शक्तिबाट परिचालित,अराष्ट्रिय तत्त्व करार गरिनु हरेक सत्ताको विशेषता नै बनेको छ ।

मधेसी मूलको समस्यालाई बुझाएर, त्यहाँको राजनीतिलाई पहाडेसत्ताले कसरी षड्यन्त्रपूर्णक दबाएर शासनको बागडोर आफूले सम्हाल्न चाहन्छ यसलाई सरल तरिकाले पाठकलाई पस्कन सक्नु लेखकको सफलता हो । उनको कथासङ्ग्रह ‘रुप बजारकी नोरा’ माभन्दा यो उपन्यासमा भाषा र शैली पनि परिष्कृत बनेको छ।

केही ठाउँहरु छन् जसमा पाठकले चित्त नबुझाउन सक्छन् । जस्तो मैले बुझाइनँ ।

पृष्ठ ९९ को अन्तिम अनुच्छेदमा लेखिएको छ, ‘फारुक चाचा पनि हनिफासँगै रफिकको निकाह होस् भन्ने चाहन्थे । आफ्नै आँखाअगाडि हुर्केकी हनिफा उनलाई आफ्नै छोरी जस्तै लाग्थ्यो । सानैदेखि उनको घरमा आएका बेला केही न केही घरायसी काममा सघाउँथी, हनिफा । ऊ अत्यन्त सुन्दर थिई ।’

मलाई यी वाक्यहरु समस्याग्रस्त लाग्छन्।

हामीले बुझ्दै आएको बुहारीको परिभाषा, सुन्दर हुनु, घरायसी काम सघाउनुलाई यसले पनि अनुमोदन गरे जस्तो लाग्छ। घरायसी काम सघाउनै नहुने भन्ने होइन तर जब विवाहको प्रसङ्ग आउँछ तब यस्ता वाक्य जोडिनुले देखाउँछ लैङ्गिक रुपमा हामी पात्रहरुलाई अझै न्याय दिन सकिरहेका छैनौँ भन्ने कुरा ।

नेपाली आख्यानको समस्या नै यही हो । प्रेमिका पात्रलाई सुन्दरताको र बुहारी पात्रलाई घरायसी काम, सहनशील, सुशील, आमालाई अतिशय भावुकता, निरीह, लाचारीपन आदिको बोझ बोकाइरहनु। जुन फेरिइनु अत्यावश्यक छ । अब धेरै बरीहरू जन्मिनुपर्छ नेपाली आख्यानमा।

यी कुराहरु भएरै पनि समग्रमा उपन्यास राम्रो बनेको छ । कम्तिमा बच्चाहरुलाई अर्को समुदाय र भूगोलको मानिसप्रति अफवाह फैलाइरहेका समुदायका मानिसले पढ्नुपर्छ यो पुस्तक। म जस्ता पहाडिया मानसिकतामा हुर्किएका हरेकले पढ्नुपर्छ। जसलाई अझै पनि लाग्छ शासन , सत्ता, राष्ट्रियता, पहिचान, देशप्रेम, अधिकार सप्पैसप्पै पहाडीहरुको मात्रै विरासत हो ।

पढिरहँदा एक ठाउँमा लेखक भन्छन्, “परेका बेलाभन्दा मरेका बेला मानिसहरु धेरै भेला हुन्छन् । आजको समयको कठोर सत्य नै यही हो ।” लेखकले आत्महत्या गरेको केही समय मात्र भयो । उनको पनि परेको बेलाभन्दा मरेको बेला मानिसहरु धेरै भेला भए होलान्।

जब पाठकलाई थाहा हुन्छ लेखकले आत्महत्या गरेको कुरा, तब कतिपय ठाउँमा लेखकले – सङ्घर्ष गर्नुपर्छ, आफ्नो अधिकारको खातिर लड्नुपर्छ, जीवनसँग हार मान्नु हुँदैन भने पनि लेखकले आत्महत्या गरेको कुरा झलझली याद आउने रहेछ। कस्तो बिडम्बना।

योसँगै उपन्यासको दुई पात्र र लेखक सरोजराज अधिकारीलाई भावपूर्ण श्रद्धाञ्जली । नेपाली पत्रकारिता र साहित्य जगतले तपाईँलाई सम्झिरहने छन् ।