एक त कुनै पनि कुरालाई लिएर आत्मग्लानि गर्नु नै एकदमै असत्य हो, भ्रम हो । त्यसमा पनि आफ्नो कार्यकौशललाई प्रयोग नगर्नु वा गर्न नजान्नु अर्को ठुलो विडम्बना रहेछ । यति मात्रै भन्दै गर्दा अलि आदर्श जस्तो मात्रै बुझिएला, त्यसैले व्यावहारिक रुपमै हेरौँ ।

प्रदीप नेपाल

हामीमध्ये धेरै यस्ता पनि हुनसक्छौँ कि, जुन आत्मग्लानिको विषय नै होइन वा यथार्थमा ठिक काम गर्दागर्दै पनि अहो ! मैले त बर्बादै गरेछु नि भन्ने लाग्छ नि। हो, यो त भ्रमको पराकाष्ठा नै रहेछ । तर जब त्यो त मैले दुःख मान्नुपर्ने कुरा नै रहेनछ भनेर हामी होसमा आउँछौँ, त्योभन्दा पहिले त हामी आफूले आफूलाई धिक्कारेर म त कति कमजोर रहेछु, यति सामान्य बुद्धि पनि ममा रहेनछ जस्ता कुरा मनमा खेलाइरहन्छौँ ।

ती विकसित घटनाक्रमलाई केलाउँदै दुःख वा पीडा महसुस गरिरहँदा त हामी सत्यमा नै रहेर बोध गरि‍रहेझैँ आफूले आफूलाई दिनुसम्मका मानसिक कष्ट दिन पुग्छौँ । पछि यथार्थ कुरा गुरु, साथी वा अरु कोहीबाट छ्याङ्ङ हुन्छ, तब त्यतिबेलाको यावत मनोवेग त असत्य पो रहेछ, यथार्थमा त म ठिकै रहेछु भनेर दृष्टिबोध हुनपुग्छ र हामी वास्तविक यथार्थ बिन्दुमा आइपुग्छौँ ।

त्यसैले मलाई यस्तो लाग्छ कि, जीवन भनेकै यस्ता अनेकौँ भ्रामक सत्यको गुजुल्टो हो । जसलाई केलाउँदै, भ्रामक सत्यलाई यथार्थमा बुझ्ने कोसिस गर्दै समय बितिरहन्छ । कतिपय ठाउँमा, कतिपय कुराहरूमा त हामीले जीवनपर्यन्त नै भ्रमसत्यलाई यथार्थसत्य मानेर बिताइदिन सक्छौँ, किनकि कुनैकुनै कुरा त ठोकुवा गरेर यही हो भन्ने तागत ब्रह्माजीमा पनि होला के ! यानेकि सर्वज्ञता भन्ने कुरा त खाली ईश्वरमा मात्र हुनसक्ला । त्यसैले कसैको मूल्याङ्कन गर्दा होस् वा कुनै विषयको विश्लेषण गर्दा होस् हामी पूर्णतः असत्य कुरालाई चुरो मानेर भ्रमपूर्ण यथार्थमा रुमल्लिरहेका पनि हुनसक्दा रहेछौँ ।

के मानिस यस्तो खालको परिवर्तनशील प्राणी हो ? जोसँग आज भएको ज्ञान भोलि नहोस्, आज प्राप्त सूचना भोलि नै हराएर जाओस्, के यस्तो सम्भव होला ? भौतिक जगतका त सम्पूर्ण विषयहरू परिवर्तनशील छन्, यसमा त कुनै शङ्का भएन तर ज्ञानको तीक्ष्णता र बौद्धिकताले युक्त एउटा परिपक्व मानिसमा मानसिक र शारीरिक यी दुबै पक्षमा फेरबदल नआइकनै त्यस व्यक्तिको वास्तविक चैतन्यमा ह्रास आउन सक्ला ? ती सामान्य सुजबुझहरू हराउन सक्लान् ?

अर्को कुरा यो पनि छ कि हामीले देख्ने एउटै मान्छेभित्र अनेकौँ प्रकारका, अनेक प्रकृतिका मान्छेहरू हुँदा रहेछन् । यो मानसिक र मानिसमा हुने यावत् संस्कार, वासना र उसको आफ्नै मनोगत संसारको अभिव्यक्ति हुँदो हो, र माथिकै प्रश्नलाई अर्को पक्षमा पनि बुझ्न र खोतल्न खोज्दा त्यो हाम्रो निर्धारित बुझाइ नै गलत नहोला भन्न सकिन्न कि ती अमुक व्यक्ति यी यी कुरामा चाहिँ श्रेष्ठ छन्, जानकार छन् वा गुणवान् व्यक्ति हुन् भन्ने । कि हामी यत्तिकै एउटै पात्रलाई अपर्झट देवत्वकरण वा दानवीकरण गरिरहेका हुन्छौँ ? तर वास्तवमा यी दुबै गर्नु अनावश्यक हो जस्तो‌ लाग्छ मलाई चाहिँ।

कहिलेकाहीँ यस्तो लाग्छ कि जे भइरहेको छ त्यो एकदमै ठिक भइरहेको छ, तर हामी यो के-का लागि भइरहेको छ भन्ने बुझिरहेका हुँदैनौँ । कुनै घटनालाई जब हामी बोक्रे रूपमा मात्रै हेरेर राम्रो वा नराम्रो भन्न पुग्छौँ । त्यो असाध्यै गलत हो भन्ने निर्णयमा पुगेँ मचाहिँ । किनकि त्यो गलत भयो भन्ने हाम्रो बुझाइ नै गलत पनि हुनसक्ने रहेछ, प्रायः गरेर अत्यन्त सामान्य जनमानसमा यो समस्या बढी देखिन्छ, जसको दृष्टिकोण सतही हुन्छ ‌। जब हामी गहिरा र विश्लेषणात्मक कुराहरूलाई सोझो रूपले मात्रै बुझ्न खोज्छौँ तब ठिकैको घटना र परिवेशमा पनि बिनासित्तिको भ्रम पाल्न हामी विवशझैँ हुँदा रहेछौँ ।

जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने भनाइ एउटा सकारात्मक सोच मात्रै नभई क्रमशः यथार्थमा परिणत हुँदै जाने पूर्ण सत्य र दार्शनिक अभिव्यक्ति पनि हो भन्दा अत्युक्ति नहोला । तर दुःखद नै भन्नुपर्छ मलाई वा कसैलाई पनि सधैँभरि यस्तै नलागिदिन सक्छ, तब त जीवनका अनेकन छटपटीहरू सुरू हुनथाल्छन् ।

जीवनको विडम्बना यहीँबाट सुरु हुन्छ होला सायद । सत्यलाई सधैँभरि शिरोधार्य गरिरहन नै हामी नसक्दा रहेछौँ । यहाँसम्म कि अहिले जुन कुरालाई विश्वस्त भएर हामी सत्य भन्दछौँ र अडान कस्दछौँ सोही अडान केही समयमा टुटिसकेको हुन्छ । यसको मतलब सत्य अस्थिर हुन्छ भन्ने होइन तर हाम्रो मन वा म भन्ने आत्मग्रन्थ नै स्थिर छैन, तसर्थ हाम्रो मन र हामीले भन्ने गरेको बाहिरी म नै असत्य रहेछ । अनि सत्य असत्यको यो शृङ्खला पनि मनकै काल्पनिक विस्तार त होला !

कोही प्रफुल्लित भएर मुस्कुराइरहँदा सँगैको व्यक्ति पनि मुस्कुराउनु उसको स्वाभाविक धर्म हो या शिष्टाचार हो ? कोही रोइरहँदा सहानुभूति प्रकट गरेर कारुणिक हुनु स्वभाव हो कि आँसुको मूल्यबोध हुनु हो ? रुनुमा आनन्द छैन भनेर पनि त भन्न नसकिएला नि ! अनि हाँसोले सुखको वर्षा पनि त गराउँदैन होला ! तथापि रुनुलाई हामीले दुःखको संज्ञा दियौँ र हाँस्नुलाई आनन्द या सुखको ।

आखिर यी दुबैमा न पूर्ण सत्य रहेको छ न पूर्ण असत्य नै छिपेको छ, यी भनेका परम्परागत मान्यताको कसीमा लतपतिएका भ्रमहरू हुन्, जुन रहस्यलाई बुझ्नबाट हामी चुकिरहेका छौँ । यस्तो लाग्छ कि हामीमध्ये कति धेरै त परम्परा धान्नकै लागि जन्मिएका छौँ, जुन असाध्यै भ्रामक असत्यलाई समाजले आँखामा सत्यको पट्टी दशकौँ देखि लगाइदिँदै आएको छ, यसलाई अझै संस्थागत गर्नु उसको धर्म हो ।

सोच विचार गरौँ त हामीले एउटा सुन्दर फूललाई कुन प्रयोजनका लागि टिप्ने गरेका छौँ ? के यहाँ जीवन्त फूल हो या मृत ढुङ्गा? के सत्य के असत्य ? अब हामी कोही यथार्थ सत्यलाई ओकल्न थालौँ हाम्रो सामाजिक मनोविज्ञानले गैरजिम्मेवारपूर्ण ठहराइदिनेछ ।

त्यसैले हामीलाई कतिपय कुराहरू सत्यझैँ लागे पनि ती भ्रामक सत्य पनि हुनसक्ने रहेछन्, जसलाई हामी कुनै पनि हालतमा असत्य भनेर मान्न नसक्ने अवस्था(हिप्नोटाइज)मा बाँधिएका हुनसक्ने रहेछाैँ। अतः हरेक घटनालाई नियाल्नु सर्वप्रथम हाम्रो आवश्यकता रहेछ, तब मात्र हामीले आफ्नो कार्यलाई कुशलतापूर्वक सम्पन्न गर्न सक्छौँ, यसका लागि पनि यथार्थ चेतनाको विस्तार सर्वोपरि आवश्यकता हो । अनि मात्र हामी सत्य असत्यको शृङ्खलालाई नजिकैबाट नियाल्न सक्छौँ र यी सबै विवेचनाबाट हामी मुक्त हुनसक्छौँ ।