आदि भएको र अन्त्य नभएको कुराको अस्तित्व सम्भव छ ? जसको जन्म भयो । तर, जसको भाग्यमा मरणका हस्तरेखा छैन । अनि जिन्दगी छ; अपरम्पार, अदृश्य, असिम। दा भिन्सीको सोचमा गर्भ बसेर औंलाका टुप्पाहरुबाट निस्केकी मोनालिसालाई उनको जन्म भयो भन्न मिल्छ ? एउटा चित्र जसलाई चौध वर्ष लगाएर बनाइयो । अझै पनि नौ महिनाको कोखभन्दा कोसौँ टाढा छ। भिन्सीको धैर्यताको उचाइ र मोनालिसाको गहिराइ जुम्ल्याहा हुन्।

भुवन बास्ताेला

यद्यपी, फ्रान्सिस्को डेल जिओकन्डोले आफ्नी श्रीमतीलाई त्यो चित्र उपहार दिन नपाउनु अधुरो मायाको प्रतीक हो। माया जसको आदि हुन्छ, त्यसकाे अन्त्य हुँदैन त्यो अधुरो कसरी हुन सक्छ ? त्यो अभिव्यक्तिको अभाव चिहानमा गाडिएको मात्र हो। जिउँदो लास जस्तै।

चित्रकारले भिन्सीको हत्केलामुनि आफ्नो निधार कोर्न खोज्ला, साहित्यकारले फ्रान्सिस्कोको मुटु कलमले चिरेर उसैको छातीमा मायाका शब्द लेख्न खोज्छ। लेख्दै जाँदा रगत लेस्सिँदै जान्छ अनि शब्द पूरा होलान् तर वाक्य हुँदैन। कारण फ्रान्सिस्कोको मायाको सागरमा लेखकको डुबुल्की, सतहमा मात्र सटिक हुन्छ। यदि फ्रान्सिस्कोका औंलामा चित्रकारिताको पाठेघर हुन्थ्यो भने, बल्ल मोनालिसाको जन्म हुन्थ्यो। अहिले मोनालिसा एउटा चित्र मात्र हो।

जुन मोनालिसा बनाउनेले देख्यो त्यो हेर्नेले देख्दैन, जुन मोनालिसा बनाउन दिनेले देख्यो त्यो बनाउनेले देख्दैन। अक्सर लेख्नेले जे देख्यो त्यो पढ्नेले देख्दैन, पढ्नेले जे देख्यो त्यो लेख्नेले सोच्दैन।

अनेकौँ फ्रान्सिस्कोहरु छन् जसले माया जताउन जान्दैनन् अनि कैयौँ फ्रान्सिस्कोका श्रीमतीहरु पनि छन् जसले माया देख्न जान्दैनन्। अनेकौँ भिन्सीहरु छन् जो अरुको जालमा अल्झिरहन्छन्, दसौं वर्षसम्म फुत्किँदै नफोत्की- जो अर्कैका निम्ति जोवन अन्त्येष्टिको निम्तो पस्किन्छन्। अनगिन्ती हेर्नेहरु मात्र छन् जो आकर्षणका भोगी हुन्छन्, त्यसरी नै बेहोर्नेहरु छन् जो मुस्कुराउन मोनालिसाको पुरै मुहार हेर्छन् अनि रुन सिर्फ उनका ओठ हेर्छन्। अथाह आत्माहरु छन् जसलाई मोनालिसाको हाँसो, भिन्सीको भ्रम हो भन्ने थाह छैन। एकमुष्ठ हेर्दा उनी हाँस्छिन्, ओठ मात्र हेर्दा लाग्छ उनी फ्रान्सिस्कोको मायाको चिहानमै दब्बिसकिन्।

जे छ, त्यो छ। कहिलेकाहीँ त्यसको सुरुवातको बिउ खोज्दै गर्दा अन्त्यको जरा भेटिन्छन्। जन्मको भर हुँदैन किनकि जन्मनेले जन्मन्छु भन्ने आस गरेको हुँदैन। विडम्बना, जन्मिसके पछि मर्दिन भन्ने आस चाहिँ गरेको हुन्छ। वस्तुको अन्तेष्टि लेखिएला, त्यसैले मोनालिसा मर्ला। तर फ्रान्सिस्कोकी मोनालिसा कहिल्यै मर्दिनन्।

माया अक्सर कसैको जिन्दगीमा जन्मदैँन। आकर्षण, वासना, लालसा भएर हुर्किँदै जाँदा घमण्ड, ईर्ष्या, अहङ्कार ज्यादती हुँदै रूपकै गर्भमा तुहिन्छ। कुनै मायाहरु भएर पनि जन्मन सक्दैनन् जस्तै कि फ्रान्सिस्कोको माया । किनकि सबै माया गर्नेहरुसङ्ग माया जन्माउने पाठेघर नहुन नि सक्छ। नजन्मिए पनि कसैले कोखमै माया गर्छन् । त्यो मायाको अन्त्य हुँदैन ।

पाठेघर कोखमै हुनुपर्छ भन्ने जरुरी छैन। चित्रकारको औंलामा हुन सक्छ, साहित्यकारको कलममा हुन सक्छ, गीतकारको गायनमा हुन सक्छ, कसैको सुस्त सुस्त गरी सुमसुम्याइमा हुन सक्छ, कसैको हेराइमा, कसैको बोलाइमा हुन सक्छ।

माया र फ्रान्सिस्कोको मोनालिसाको अन्त्य लेख्ने अक्षर चित्रगुप्तसङ्ग छैन। मायाको ऐना अगाडि मान्छेले साथको छाया देख्न सक्ला । तर साथमा पूर्णविराम लाग्नु भनेको मायालाई चितामा राखेर जलाउनु होइन। फ्रान्सिस्कोलाई छोडेर मोनालिसा जान्थिन् भने पनि मोनालिसाको दाइने आँखा थोरै सानो छ भन्ने फ्रान्सिस्कोले बिर्सिंदैनथे । न त उनको देब्रे हातको साइँली औंलाको नङको थोरै माथि सानो, कालो तिल छ भन्ने बिर्सिन्थे, न त उनको खुट्टाको बुढी औंलाभन्दा माइली औंला थोरै ठूलो छ भन्ने बिर्सिन्थे।

यदि बिर्सिन्थे भने, फ्रान्सिस्कोसङ्ग पाठेघर नभएको होइन, ऊ सिर्फ देखाए जस्तो गर्न मात्र मोनालिसाको तस्बिर बनाउन भिन्सीलाई दिन्थे । र माया गर्भमै तुहिन्थ्यो। तर, मोनालिसा गइनन् किनकि उनलाई फ्रान्सिस्कोको माया पढ्न आफ्नो तस्बिर हेर्न जरुरी थिएन। उनले उसको अङ्गालोमा नै संसार अङ्गाल्थिन्, हेराइमा नै प्रकृतिको सबैभन्दा सुन्दर अवशेषको अवलोकन गर्थिन्। साथको अन्त्य होला, तर मायाको अस्तित्व यादका नाममा सदाभरी अजम्बरी छ, अमर छ।

एउटा कहानीको बीचको पाना थुतेर त्यही मात्र पढ्ने भएपनि एउटा फरक कहानी भइदिन्छ। मोनालिसा त दुनियाँको नजरमा परेको एउटा गाथा हो, यहाँभन्दा भारी गहिरा कथा पनि हुन सक्लान् जसलाई लेखिँदैन, जसको अस्तित्व सबैलाई थाहा हुँदैन। हुन जरुरी पनि छैन। तर जसलाई थाहा हुन्छ, उसको हेराइमा सूर्यबाहेक अर्को एउटा वास्तविकताको किरण पर्न जरुरी छ। मोनालिसा चित्र पूरा गर्नभन्दा पहिल्यै भिन्सी स्वर्गबासी भए तर उनलाई अरु हजारौं जुनि दिने भएपनि उनका औंलाबाट मोनालिसाको जन्म हुँदैन । जब सम्म भिन्सी नै मोनालिसाको मायामा मोहित हुँदैनन्, त्यो चित्र अपुरो हो ।

तर माया अपुरो हुन सक्दैन। माया, कि हुन्छ कि हुँदैन। कोही मायालाई प्रकारीकरण पनि गर्लान् तर मायाको प्रकार पनि हुँदैन। आमालाई गर्ने माया र श्रीमतीलाई गर्ने माया छुट्टै होला तर यो प्रकार होइन, जरुरी हो। मोनालिसा, फ्रान्सिस्कोको बोलाइ हो। भिन्सीको हेराइ हो। देख्नेको देखाइ हो । पढ्नेको बुझाइ हुन नि सक्छ, नहुन नि सक्छ। तर मोनालिसा, सत्य हो जसको अन्त्य हुँदैन। माया जस्तै।