यसपटक महानगर र एकेडेमी पनि सहयात्री बनेको यो कार्यक्रम पक्कै त्यस्तै कुनै फेस्टिभल हो । यसपटक पोखराले पनि मलाई फेस्टिभल दियो तर लिट्रेचर आफैँ खोज्दै हिँड्नुपर्यो । पोखरामा योभन्दा उत्तम लिट्रेचर लेकसाइडबाट हिँडिरहेका छन् कहिले नेपाली त कहिले विदेशी पर्यटक बनेर । कहिले डुङ्गामा सवार भएर । कहिले बराही घाटमा सन्ध्या आरति भएर । कहिले रातो टल्केको हिमाल भएर । अनि कहिले भाडा फिर्ता गर्ने पोख्रेली स्वभाव भएर । गाडी चढ्दा पहिलोपटक कविता भेटेको यही पोखरामा हो । तपाईं ३० रुपैयाँको यात्रामा चढ्नुभयो र २५ को गन्तव्यमा झर्नुभयो भने ५ रुपैयाँको कविता फिर्ता पाउनुहुनेछ । यति सुन्दर कविता ३२ को उमेरमा पहिलोपटक पढेको हुँ । सलाम छ पोख्रेली दिललाई अनि आयोजकलाई पनि । मेरो नजरमा केही कमजोर भए पनि सफल कार्यक्रम भन्नुपर्छ नत्र दसौँ संस्करण कसरी सम्भव हुन्थ्यो ?

रूपक अधिकारी

दसौँ राष्ट्रिय साहित्यिक महोत्सव कार्यक्रमको उद्घाटन सत्रमा सिवानी सिंह थारुले पहिलो संस्करणमा नगरकोटी कस्ता थिए र आज कस्ता भइसके भनेर सुनाइन् । उनले नगरकोटी आज यहाँ भएको भए के भन्थे  कसरी भन्थे भनेर अनुमान पनि गरिन् ।

तर आयोजकले त्यस्तो फिक्सन डिजाइन नै गर्न सकेन वा ऊसँग त्यस्तो फिक्सन डिजाइनको ल्याकत नै थिएन । हुन पनि कुनै एक पब्लिकेसन हाउसको आयोजनामा भइरहेको सभामा अर्को हाउसको लेखकको के काम हुँदो होला र । खै तर साहित्यमा राजनीति नहुनुपर्ने भन्ने मेरो बुझाइ हो । यहाँ राजनीति भइरहेको छ । देखिन्छ पनि । विभिन्न प्यानलका लेखक संघका समिति बनेको खबर सुन्ने गरिन्छ । के लेखक आफ्नो धर्म छोडेर साधारण हुन खोज्दै छन् ? यदि छैनन् भने यिनले क्रान्तिकारी भूमिका खेलेर अग्र मोर्चामा कहिले उभिने ?

पोखरामा आयोजित कार्यक्रम अवधिमा मलाई सबैभन्दा प्रिय लागेको पल साहित्यबाट पर रहेर गरिएको विशेष प्रस्तुति “माया मन्त्र ” । साँच्चै यो मायावी थियो । मलाई मन्त्रमुग्ध बनायो । मेरो अनुमान छ सबैलाई लोभ्याएको एक मात्र कार्यक्रम यही हो । उनीहरुको बाजा सुनिरहुँ लाग्यो किनकि त्यहाँ सुरसँगै बजिरहेको पाएँ मैले आनन्द नामको कविता । एकातिर पोखराले फेवातालको काखमा माछापुच्छ्रेको प्रतिमा बोकेर कविता सुनाइरहेको बेला अर्कोतिर मिठो ध्वनिले बाँसुरी , तबला लगायतको जादुमय कविता सुनाउँदा कसले पो एक पटक दुनियाँ नबिर्सिएको होला र ? मैले त ताली र सिट्ठीमा बजाइरहेको कविता पनि बहुत सुनेँ । अनि आफूलाई पर राख्न सकिनँ ।

पूर्वसत्रमा नवराज पराजुली सुनिए । उही पुराना केही काव्यहरुसहित । अन्त्यमा पनि उही पुरानै गजलसहित उभिए रोदन । मलाई लाग्छ  केही न केही कुरा त नयाँ सुनिनेछ । मलाई लाग्दैमा सुनाउनुपर्ने बाध्यात्मक परिस्थिति तिनमा छैन र कहिल्यै पर्ने पनि छैन ।

अन्तिम दिन सरकार निर्माणको रस्साकस्सीले जुराएको एउटा सेसन बडा प्रेमिल रह्यो । सिके राउतसँग खगेन्द्र हुनेमा खगेन्द्र एक्लै हुनुपर्यो । उनले आफ्नो प्रेम सुनाए । आहा ! खगेन्द्र तिमी यति प्रेमिल । मलाई सुरुमा त विश्वास नै लागेन तर मलाई नलागेर भयो त । के आन्दोलनको मोर्चामा अघि उभिनेले प्रेम गर्नु हुँदैन र ? हुन्छ नि प्रेम त सबैको भागमा छ । कसको हातमा कति त्यो अलग कुरा हो ।

किताब जात्राको सुन्दर कार्यक्रम मस्तिष्कमा नचाउँदै आँखा अगाडिको अर्को रौनक हेरेँ । यहाँ रौनक थियो । तामझाम थियो । खुकुरी रम पनि थियो तर त्यो रम काफी थिएन । सर्दमा न्यानो पार्न अनि मैले यो फेस्टिभल किन पोखरामै भयो भन्ने कुरा सोचिहेरेँ । दुइटा पुस्तकको लोकार्पण र नेपालदेखि श्रीलंकाका लेखकलाई उभ्याएर हामीले साहित्यको भव्य समारोह गर्यौं भन्नु बाहेक साँच्चै साहित्यलाई न्याय हुने गरी गरेको जस्तो लागेन । कमसेकम मलाई त्यो प्रत्याभूति भएन । म एकलाई यो सभा भव्य हुँदा हुँदै पनि साहित्यको उपलब्धि नलाग्दैमा सफल भएन भन्नु पनि ठिक नठहरिएला । एकाध सेसन र बाँकी सेसनका एक आधा कुरा झिक्ने हो र मिश्रण बनाउने हो भने एक वा दुई दिनको कार्यक्रम साहित्यको भलोको लागि हो कि भन्ने लाग्छ ।  आगामी दिनमा सुधार हुने आशा यहीँ जन्मिएको छ ।

कार्यक्रम अवधिमा तुलसी दिवस च्यापेर लोककथाको कुरा भयो तर अर्को कुनै विषय बहानामा छन्द सम्झनुपर्छ भन्ने कसैलाई लागेन । छन्द कसैले पनि सम्झिएन ।

केही राजनैतिक हस्ती र बुकर प्राइज अनि मदन पुरस्कार प्राप्त लेखकहरु उभिँदैमा कार्यक्रमको सोभा बढ्ने र माछापुच्छ्रे आरोहण भैहाल्ने हैन ।   हैन भने त बजारमा बिकेका एक दुई लेखक आयोजकले यताउता किन डुलाइरहन पर्थ्यो र ? आखिर तिनले न केही सुनाए न त सिकाए नै । हुनसक्छ त्यति देखाएर सभाहलमा आगन्तुक तानिरहेको थियो । फोटो खिच्नकै लागि भए पनि केही साहित्यका पाठक आउँछन् र आइसकेपछि केहीबेर त बसेरै जान्छन् भनेर पो हो कि ?

अर्को एउटा कमजोर पक्ष भनेको अनुज पुस्ताका लेखककाे  कुनै सेसन पाइनँ । आखिर अनुज पुस्तालाई स्पेस नदिने यो चलन कहिलेसम्म चल्छ ? १२खरी कथाको सेसनलाई यसको विकल्पमा लिन सकिन्छ तर त्यसबाहेक आयोजकको हाउसमा अरु केही नयाँ थिएन र ? थिएनन् भने बजारमा भएका एक अनुज उठाउन के कुराले छेकेको थियो ? फेरि एकाध नयाँ अनुहार भित्र्याएको दावी पनि हाउसले गरेकै छ । दावा गर्ने हाउसले नयाँ पुस्ता कसरी अघि बढ्दैछ वा कसरी बढ्नुपर्छ भनेर नयाँ , अलि पुराना र पुराना गरी एकै मञ्चमा बहस गराउन किन सकेन ? यसमा त चुकेकै हो । कि निकट भविष्यमा नेपाली साहित्य बजार ताल्चा लागे फरक नपर्ने हो र ? यदि हैन भने नयाँ र पुराना बीच तालमेल गराएर बाटो देखाउन किन खोजिएन । आयोजकले यो कुरा मनन गरे आउँदो संस्करण थप माथि उठ्छ जस्तो लाग्छ ।

जस्तो कि हामी कसैलाई दशैँ मन नपर्न सक्छ तर चलेको चलन भएर उसले मानिरहेको हुनसक्छ । आगामी संस्करण अझ शक्तिशाली बनाउन आयोजकलाई सुझावसहित धन्यवाद भन्न चाहन्छु ।

अबको पोखरा फेस्टिभल र होलिडेमा मात्र सिमित हैन, आयोजकले साहित्यिक पनि बनाउनु पर्यो । उपस्थित हुनेले सतहमा तैरिएर मात्र हैन डुबेर फर्कन सकियोस् ।