एक्लोको विमोचनमा मैले लेखक बुद्धिसागरलाई भेटेर ठूलो गल्ती गरेँजस्तो लागिरहेछ ! किनकि मैले एक्लो पढेर यो कुरा बुझेँ कि, कल्पना, – भीरमौरीको महभन्दा मिठासको रसले भरिएको हुन्छ र यथार्थ, – बसिरहनेछ स्मृतिमा तितो बनेर जीवनकालभरि। त्यसैले, कल्पना र यथार्थलाई भेट गराउन नहुने रहेछ ।
“एक्लो” जिन्दगीको आवाज हो । पुस्तकले मनोवैज्ञानिक ढङ्गले थाहै नपाउने गरी जिन्दगी जिउन सिकाउँछ। अस्तित्वको बोध गराउँछ । प्रेमको अर्थ बुझाउँछ । एउटा पुस्तकबाट योभन्दा अरु के नै अपेक्षा गर्न सकिन्छ र ।
एक्लो एक अन्तर्मुखी किशोरले काठमाडौँमा देखेको, अनुभव गरेको, महसुस गरेको र कल्पना गरेको कथा हो । र आजसम्म मैले पढेका पुस्तकहरु मध्य उत्कृष्ट प्रेमकथा हो । चरित्रको मनोविज्ञान, चरित्र चित्रण, सरल भाषाशैली, ठाँउ र घटनाको सूक्ष्म व्याख्यासँगै वातावरण र परिस्थितिले मनलाई पुस्तकभन्दा बाहिर निस्कनै दिँदैन।
पुस्तक पढेर मलाई लाग्यो, पुस्तक विशेष हुन घटना ठुलो हुनु पर्ने रहेनछ । प्रस्तुतीकरणमा निकै शक्ति हुँदो रहेछ । मनभित्रै संसार हुँदो रहेछ। मनभित्रको सुन्दर संसारलाई आफ्नै शैलीमा प्रस्तुत गर्नुपर्ने रहेछ ।
मलाई लागिरहेछ कि म अझै हप्तौंसम्म पनि एक्लोको दुनियाँबाट बाहिर निस्कन सक्ने छैन । लागिरहेछ कि अझै पनि घट्टेकुलोको त्यो अध्यारो कोठामा श्रीले रेडियोमा समिराको आवाज सुनिरहेको होला । द गुड अर्थ पढिरहेको होला, समिरालाई भेट्ने आसमा । पुतलीसडकको जाममा टोपले श्रीलाई बोलाएर घाम पश्चिमबाट उदाउनेछ भनिरहेको होला । आदि बतासझैँ आएर, पार्ट्नर भन्दै बोलाउँदै होला । सुर्यबहादुरले भाइ जाम नाइट ड्युटी गर्न भन्दै फकाइरहेको होला । घरबेटी बाआमा अमेरिका भासिएको छोरालाई सम्झिरहेका होलान् । घरमा बाआमा सोझो छोराको पीरले रातभर निदाउन सकिरहेका छैनन् होला । समिराको पागलपनमा निरले साइको भन्दा समिराले मलाई यस्तै साइकी मनपर्छ भनिरहेकी होला । समिराकी आमा छोरीको पागलपनले दुखी भइरहेकी होलिन् ।
पुस्तक सकिएपछि मैले एकदम खालीखाली महसुस गरेँ । एकैछिन त लाग्यो कि जीवन नै सकियो । त्यसपछि के भयो होला । श्रीलाई फेरि कहिले कसैसँग प्रेम भयो होला त ? समिरा कति आवाजहीनका आवाज भइहोला त ? टोपले मुक्ति पायो कि पाएन होला ? प्रताप फर्कियो कि फर्किएन होला ? श्रीले अहिलेसम्म समिरालाई कतिपटक सम्झियो होला ? श्रीले सिनामंगलको नयाँ फ्लाटमा बाआमालाई बोलायो कि बोलाएन होला ? श्रीले पठाएको अन्तिम चिठी बतासले समिराको कानसम्म पुर्यायो कि पुर्याएन होला ? अब कसले दिने यी अधुरा प्रश्नहरुको उत्तर ? केही थाहा छैन । केही प्रश्नहरु अधुरा नै प्यारा लाग्ने रहेछन्।
लेखक बुद्धिसागरको एक्लो पुस्तकले साहित्य क्षेत्रमा नयाँ आयाम ल्याउने छ र मान्छेले जीवन जिउन सिक्ने छन् भन्ने कुरामा मेरो विश्वास छ ।
एक्लोका केही मन परेका लाइनहरु:
– यात्रा जति छोटो वा लामो होस् – हिँड्ने त एक्लै हो । भविष्यमा हामी साथमा नभए पनि वर्तमानमा रमाउन नबिर्सौं । सम्बन्ध, यस्तो होस्, जिन्दगीको अनकन्टार मोडमा सम्झना आउँदा पनि सन्तुष्टिको मुस्कान निस्कियोस् ।
– कति सम्बन्ध यस्ता हुन्छन् । जो सँगै हिँड्छन् । तर पनि सँगै हुँदैनन् । हरेक मोडको असफलतामा एकाअर्कालाई दोष दिन्छन् । तर तिम्रो र मेरो सम्बन्ध त्यस्तो नहोस् । सँगै नभए पनि के भो र ! जीवनको हरेक मोडको सफलतामा एकाअर्कालाई प्रेरणा मानेर अगाडि बढ्न सकियोस् ।
– म एउटा यस्तो प्रेमी थिएँ, जो बतासमा लेखिएको किताब पढ्न खोजिरहेको थियो ।
– पार्टनर, आवाजको प्रेममा नपर्नु । त्यस्तै आवाज अर्को भेटिँदैन ।
– म यस्तो ठाउँमा हतारिदै जाँदै थिए, जहाँ कसैले मेरो प्रतीक्षा गरिरहेको थिएन ।
– केटीको शरीरबाट सबैभन्दा सुगन्धित फूलको भन्दा पनि मीठो सुगन्ध आउँछ ।
– मेरो कल्पनामा पनि यति दरिद्रता थियो, मैले उसको वैभवतालाई बेवास्ता गरेको थिएँ । र आफ्नो सुविधाअनुसार उसलाई कल्पना गरेको थिएँ ।
– म सायद उनलाई अब कहिल्यै नदेखुँला, तर उनी मेरो सपनामा र कल्पनामा बाचिरहने छिन् , सधैँभरि, उस्तै दुरुस्तै । मूर्तिकारले वर्षौ खोपेर बनाएको उसको कालजयी कृति जसरी ।
– म उनको होइन आफ्नै कल्पनाको प्रेममा परेको रहेछु, जो जीवनकालभरि मेरै छेउछाउमा भइरहनेछ, मनतातो ढुकढुकी बनेर।
– म यस्तो आत्माजस्तो भएको थिएँ, जो पुरानो शरीरलाई माया गर्दा गर्दै पनि नयाँ शरीरमा प्रवेश गर्न चाहन्थ्यो ।
– पखेटा फैलाएर आकाशमा उडेको पन्छी पुरानो गुँडमा कहाँ फर्किन्छ र ! ऊ त आकाशका चोक्टाहरुमा अलमलिरहन्छ।
– ऊ मेरा लागि थिइन । म त केवल छापिइसकेको कथाको किताबभित्र पस्न खोजेको पात्र थिएँ । मध्यरातमा मैले थाहा पाएँ, मेरो तातोपन त केवल आँसुमा मात्रै बाँकी रहेछ । मैले अबेरसम्म तातोपन बगाइरहे र उसलाई हृदयबाट बिदा दिएँ । ऊ मेरो हृदयबाट बाहिर निस्किएर पदचापबिना नै अघि बढी । मैले फेरि बोलाउँछु कि भन्ने आशमा एकैछिन पर्खिई। तर मैले बोलाइन । ऊ अघि बढी र चिसो बतासमा आफ्ना पखेटा फैलाई । मैले यसो नजर उठाएर हेर्दा देखेँ, आत्माको रङ जस्तो, एकदमै सेतो पन्छी उड्दै उड्दै गइरहेको थियो ।
– आमा: गुँडमा फर्किने त चरा हुन् । मान्छे त फर्किँदैन।
– सायद, सपना र आत्मा असल मित्र हुन् । जब आत्मा निरास हुन्छ, सपनाले प्रेमले सुम्सुम्याउँछ।
– मलाई लाग्यो, म झुक्किएर अर्कै संसारमा पसेछु। जो मेरो होइन र कहिले पनि मेरो हुने छैन ।
– म शब्दकोशका शब्दशब्द जोडेर भविष्यको उज्यालो कविता लेख्ने छु । आँसुको गाढा मसी त छदैँछ नि।
– अचानक गुमेको कुरा र गुम्छ भन्ने थाहा पाउँदा पाउँदै गुमाएको कुरामा फरक हुने रहेछ । अचानक गुमेको कुराले एकपटक मार्छ तर थाहा पाईपाई गुमेको कुराले सयौं पटक मार्दो रहेछ।
– पार्टनर, जिन्दगी पनि चलचित्रका रिलजस्तै हो। फनफनी घुमेर थोत्रो हुन्छ । टालटुल पारेर घुमाइरहने हो । फेरि अर्को नयाँ रिल आउँछ । त्यो पनि थोत्रो हुन्छ। यही क्रम चलिरहन्छ।
– जस्तो होस्, जे होस्, आफूले रोजेको बाटोमा हिँड्दा छुट्टै मज्जा हुन्छ। आफूले रोजेका बाटोका दु:खकष्ट पनि एडभेन्चरजस्ता लाग्छन् ।
– संसारले मलाई एक्लो-एक्लो देख्छ । तर यो संसारलाई के थाहा, म एक्लै आफ्नो संसार कसरी रचिरहेछु भन्ने ।
– कुनै बेला उनले भनेकी थिइन्, “आफ्नै कल्पनामा रमाउने मानिसलाई, आफ्नै कल्पना पनि यथार्थ जस्तो लाग्ने लत लाग्छ” , हो रहेछ, बल्ल महसुस गर्दै छु।
– जवान छोराको चितामा आगो दिइरहेको पिताभन्दा दुखी व्यक्ति संसारमा अर्को को होला ? सानोमा कतै टुकी चलाइहाल्छ कि! कतै भुङ्ग्रोमा परिहाल्छ कि भनेर जोगाउँदै हुर्काएको सन्तानको चिता ननिभोस्, भर्भरी बलोस् भनेर गरिने कामनाभन्दा पीडादायी कामना संसारमा अर्को को होला ?
– हामी कहिलेकाहीँ कल्पना र यथार्थ छुट्ट्याउनु सक्दैनौँ । हामी पहिला कल्पना गर्छौं र आफ्नै कल्पनालाई यथार्थ मान्न थाल्छौँ ।
– बाच्नु मात्र जिन्दगी होइन, आफूलाई रच्नु पनि जिन्दगी हो । म आफूले आफैँलाई रच्ने छु।
– समय मिलाउन त होला । घाम र जुनले फेरि सम्बन्ध जोडेका थिए ।
– केही बरफ भएका मन पगाल्नु छ र केही लत्रिएका सपनामा थाक्रो हाल्नु छ।
– मैले सपनामै उनलाई देखे पनि अथाह मरुभूमिमा तिर्मिराइरहेको छायाँजस्तै देख्नेवाला थिएँ । कसैसित यतिधेरै प्रेम हुनु तर सपनामा पनि नचिन्नु, यो कस्तो फसाद ।
अन्त्यमा, मसँग अब कसैले कुनै पुस्तक पढ्न सुझाब मागेको खण्डमा मैले सबैभन्दा पहिले एक्लोको नाम लिनेछु । श्रीले जस्तो प्रेम त म कसैलाई गर्न सक्दिनँ होला, तर एक्लोको दुनियाँबाट बाहिर आउनेबित्तिकै म अवश्य ‘द गुड अर्थ’ पढ्ने छु । सुन्दर दुनियाँमा पुर्याएर मीठो यात्रा गराउनुभएकोमा लेखक बुद्धिसागरलाई धेरै धेरै धन्यवाद। फेरि भेटौँला तर पुस्तकमा मात्र ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।