हरेक दिन मेरो एक्लोपनमा टिकटिक गर्दै साथ दिने घडीले रातको ३ बजेको संकेत दिइसकेको थियो। सोही बेला छिट्टो सुतेर निद्रा पूरा गर्नेहरु बिहानीको ब्रह्म मुहूर्तको समय भनेर उठिसकेका पनि हुन्थे । म भने वास्तविकतामा कहिले नभोगेको सुखद् सपनामा रमाएको भए पनि बाटोबाट आएको गाडीको आवाजसँगै व्युँझिन पुगेछु।

जून मान्छे र गाडीको प्रतीक्षामा म थिएँ, सो आइसकेको भए पनि ममा कुनै हर्ष थिएन । थियो त केवल, छरछिमेकीले देखेर भोलि फेरि एउटा श्रीमान् तह लगाउन किन नसकेको ? भनेर प्रश्न गर्लान् भन्ने चिन्ता, छोराछोरीले बाबाको हालत देखेपछि श्रद्धा नगर्लान् भन्ने पीर अनि ज्वाइँको व्यवहार बुझेका आफ्ना बाबाले फोन गरेर, ज्वाइँ अझै घर आउनुभएको छैन छोरी ? भनेर सोध्ने हो कि भन्ने त्रास।

उसका बाबू ,आमा त छोराको पुरुषार्थमा दङ्ग थिए र मैले पटकपटक आफ्नो छोरालाई सम्झाउनभन्दा पनि उसको काम नै यस्तै भनेर टारिदिन्थे। हरेक रात सधैँ जस्तो यस्तै समयमा र यो हालतमा आउनुलाई काम मान्ने हो या गलत आचरण ? बुझ्न म पनि त सक्ने थिएँ ।

निक्कै मेहेनत र समयपछि गेटबाट भित्र छिरेको गाड़ीबाट ओर्लिएको उसको एउटा हातमा आफैँले फुकालेको कोट र अर्को हातमा बज्दै गरेको मोबाइल थियो । निला ओठ र लर्बरिएको बोलीमा कसैको नाम लिइरहेको उसलाई मैले सकिनसकी भर्याङ चढाएर रूममा पुर्याएकी थिएँ त्यसपछि उसका जुत्ता, मोजा, बेल्ट फुकालिदिनु, उसका पकेटमा भएका क्लबहरुका बिल चेक गर्नु, बेडमा सकभर सजिलोसँग आराम गराउनु अनि चुपचाप छोरीको रूममा गएर पल्टनु, भोलिपल्ट ऊ कति बेला उठ्ला भनेर घडी हेर्नु, चिया, कफी सोध्नु ,खाना खुवाउनु अनि ऊ बाहिरिएसँगै एकछिन अन्य घर व्यवहारका काम मिलाउनु मेरो विगत केही वर्षदेखिका दैनिकी भइसकेका थिए । ऊसँग घुम्नु, रमाउनु र मिठा गफहरु गर्नु मेरा सपना मात्र थिएँ भने केही घर परिवारका कुरा थोरै गर्नू र चाडवाड, विवाह आदिमा हुने जमघटहरूमा इष्टमित्रहरुका खै ? भन्ने प्रश्नको जवाफ दिन नपर्ला भनेर करैले उसलाई लानु मेरो बाध्यता थियो।

प्रतिभा भट्टराई

आज भने उसको मोबाइल फेरि पनि बजेको ले मैले फोन उठाएँ र थाहा पाएँ यो अरू नै कसैको मोबाइल रहेछ । अनि उसको नं डायल गर्दा स्विच अफ भएको संकेत पाएपछि मैले उसको नजिकको साथी जो उसको कामसँग जोडिएको थियो,उसलाई रातको ३.३० भएको भए पनि निक्कै आँट जम्मा गरेर कल गरेँ तर उसले फोन छिट्टै उठायो र भन्न सुरू गर्यो,”भाउजू हजुरले सहने कहिलेसम्म अनि किन ? कति भनूँ म हजुरलाई रूपक मेरो कामको निक्कै मिल्ने साथी भए पनि उसको घर परिवारप्रतिको व्यवहार पटक्कै राम्रो छैन । म सम्झाउँदा, बुझाउँदा अनि देखाउँदा थाकिसकेँ , हजुर थाक्ने कहिले ?”

ऊ अझै केही भन्दै थियो मेरो भने मोबाइल हातबाट खसिसकेकोले अरू कुरा सुन्न पाइनछु। निक्कै बेरपछि आफ्ना बगेका आँसुहरुले भिजेको मोबाइल उठाएँ र अन गरेँ । रूपक आउनू भन्दा २ घण्टा अगाडि नै उसले क्लबमा देखाएका व्यवहारहरुका तस्बिर उसको साथीले मलाई पठाइसकेको रहेछ।

ती तस्बिरहरु हेरिसकेपछि मेरा आँखाहरूले मेरो मस्त निद्रामा रहेकी प्यारी छोरीको मुहार नियाल्न पुगेछ । ऊ जन्मेदेखि नै बिग्रन थालेको हाम्रो सम्बन्धको तीतोपनमा हुर्कदै गए सँगै थोरै मिठास भर्ने काम उसैले गरेकी थिई। हररात आफ्नो बाबुको हालत उसले नदेखेकी भए पनि आफ्नो प्यारो हुनु पर्ने अविभावकले कहिले आफ्नो ख्याल नगरेको, धेरै जसो अफिसको काम देखाई विदेसिएर,आफू र आफ्नो सानो भाइ अनि मामुलाई भन्दा विदेशमा रहेका साथी र साथीका छोराछोरीहरुलाई बढी माया दिएको, अनि विदेशको बसाइ अवधिभर घर परिवारलाई मुस्किलले हप्तामा एक पटक मात्र कल गर्ने गरेको अनि लामो समयपश्चात् विदेशबाट फर्केका बाबुको लगेज पुरै खोतली सक्दा पनि आफ्नो लागि केही सामान नल्याइदिएको तितो अनुभव सँगालेकी थिई।

त्यसैले त उसले मलाई बेला बेलामा भन्ने गर्थी मामु ,”भाइ र मैले बाबाको माया हुनु पर्ने जति पाउन सकेनौँ हजुरले त श्रीमानबाट पाउनु पर्ने माया पाउन सक्नुहुन्छ नि। हाम्रा बाबु पो अरू कोही हुन सक्दैनन् । हजुरको श्रीमान् त जो कोही पनि त हुन सक्छन् नि हैन र ? “ भनेर सोध्ने गरेकी थिई ।

उसको अनुहार नियालिरहँदा खै किन ? विगत सम्झेर पीडित हुनु राम्रो होइन भनेर जान्दा जान्दै पनि कलेज पढ्दा आफूलाई चाहने पुरुष साथीहरुको निक्कै याद आयो र तीन वटा अनुहारहरुले धेरै सतायो, जसलाई मैले समाजको डर, जातका कुरा अनि आमा बुबाका रहरका कारण लत्याएकी थिएँ।

एउटा चाहिँ आफ्नै फेसबुकको फ्रेण्ड लिस्टमा भएकोले प्रोफाइल खोलेर हेर्न मन लाग्यो र हेर्दै गएँ उसको जोड़ी र रमाइला क्षणहरुका पोष्टहरूले आफैँलाई जिस्काए झैँ लाग्यो र मोबाइल बन्द गरेर, आफूले मन पराएको र आफूलाई माया गर्ने मान्छेको खुसीमा रमाउनुको मजा पनि त बेग्लै हुन्छ नस भन्ने सोचेर निदाउने प्रयास गरेँ।

हुन पनि निक्कै आकर्षक व्यक्तित्व, पढाइ पेशा अनि घर परिवार भनेर विवाह भएको ऊसँग मेरो नाता गाँसिएको लगभग तीन वर्षदेखि नै खटपट सुरू भएको थियो । थप तीन वर्ष केही नबोली बसेपछि मैले यो कुरा आफ्नी साथीजस्तै आमालाई सुनाएकी थिएँ । तर पुरानै जमानाकी मेरी आमाले मलाई समाजको डर, इष्ट मित्रहरुका भनाइ, बाबुको पेशा, भर्खर जन्मेका नाति नातिनाको भविष्य देखाएर मेरो घर बचाउने र बसाउने प्रयास गरेकी थिइन्, अनि मेरा बुवाले पनि आमाकै हो मा हो मिलाउनु भएको थियो । त्यस्तै आफू पनि हजुर आमाले सिकाएको संस्कारअनुसार कुनै दिन त ऊ सुध्रिएला नि ? भन्ने आशमा मठ मन्दिर, पूजा, चिना, ज्योतिषकोमा धाउँदै र छोराछोरीको मायामा भुल्दै गएकी थिएँ ।

तर समय बिस्तारै व्यतीत भएसँगै आफूले जानेको, सकेको, भ्याएको, बुझेको सारा उपाय लगाउँदा पनि उसमा कुनै राम्रो परिवर्तन नदेखिएपछि, र उसका घर परिवारले पनि मेरो दुःख नबुझेपछि अनि विवाह भएको २० वर्ष बितिसकेपछि भने मैले आफ्ना नजिकका आफन्तहरुलाई बाहेक धेरै इष्टमित्रहरुलाई थाहा नभएको आफ्नो पीडा सार्वजनिक गर्न थालेँ र आफू त्यो घरमा बस्न नसक्ने यथार्थता पनि बताउन थालेँ ।आखिर दुःख लुकाउन सकिन्न भन्ने कुरा समाजमा चलेको पनि त छ। जसले जे भने पनि सुन्ने आँट बटुलेर मैले यो कुरा सबै आफन्तहरु माझ राखेकी थिएँ ।

तर समाज परिवर्तन भएको हो वा मेरा हितैषीहरुले मलाई माया गरेका हुन् जो जसलाई आफ्नो दुःख सुनाएँ र अब ऊसँगसँगै बस्न नसक्ने अवस्था बुझाएँ , मेरो अगाडि भएर हो वा साँच्चै हो ,हुँदैन र यस्तो निर्णय नगर भनेर चाहिँ कसैले भनेनन् । त्यस्तै मेरा बाबाले पनि हरेक दिन आफूले आफैँलाई बिर्सेर माया गरेकी आफ्नी छोरी हरदिन डिप्रेस भएर बाँचेको देख्नुभन्दा डिभोर्स गरेर हाँसेको हेर्ने रहर भएको बताउनु भएको थियो।

मैले लिएको निर्णय उसलाई सुनाउँदै आफ्नो हुनुको हक जताएर घुर्की लगाएपछि कताकता उसले आफ्नो व्यवहारमा पश्चाताप गरेर मलाई ‘छुट्टिने कुरा नगर’ भन्छ कि भन्ने झिनो आश ममा थियो । तर उसले मलाई ‘के, र किन ?’ जस्ता कुनै प्रश्न नगरी आरामले ‘It’s ok’ भनेर मेरो मुख टाली दिएको थियो । म पनि प्रक्रिया पूरा गर्नतिर लागेकी थिएँ।

प्रक्रिया पूरा भएसँगै माइतीमा बस्दै आएकी म ,ऊ बस्ने घरबाट थोरै मात्र टाढा थिएँ त्यसैले हरेक दिन उसका दिनचर्या देख्न पुग्थेँ ।केही समय त मैले पनि वास्ता गरिनँ तर कागजी रुपमा जे जस्तो निर्णय गरेको भए पनि आखिर मन त उसलाई चटक्कै छोड्न कहाँ सक्थ्यो र ? केही महिनादेखी नै हरेक दिन त्यो हालतमा आउने उसलाई कसले सम्हाल्यो होला ? कसले दियो होला उसलाइ मनपर्ने कफी ? भन्ने कुराले मलाई सताउन थालेछन् र आफू बसेको कौसीमा उक्लँदा देखिने उसको कौसीमा सुकाएका लुगाहरुमा उसका पहिरनहरु खोज्न थाल्ने पो भएछु । २० वर्षसम्म उसले सताएका कुराहरु सम्झेर छोड्ने निर्णय लिएको भए पनि त्यसभित्र केही राम्रा र रमाइला कुराहरु पनि त लुकेका थिए।

यसरी, ऊसँग छुट्टिएर बस्न थालेपछि मनका आएका ऊ र उसको परिवारसँगको रमाइला क्षणहरूको यादले सताइरहेकै बेलामा कसैले सम्झाएर हो वा आफैँ परिवर्तन भएर,दिदीको साथ लागेर मेरो माइतीमा आएको उसले केही नबोली मेरो हात मागेपछि भने मैले पनि केही नसोधी र नसोची चुपचाप उसलाई जे जस्तो परिस्थितिमा पनि साथ दिने कशम मनमनै खाएकी थिएँ।