आदरणीय रवि दाइ,
सादर नमस्कार !
जीवनयात्राका सिलसिलामा आइपर्ने सुख र दुखका अनेकन अनुभवका आरोह–अवरोहहरु छिचोल्दै यहाँसम्म आइपुग्दा कुशल मंगल छु । दाजुमा पनि मंगलताको कामना गर्दछु । समय र परिस्थितिको जञ्जिरमा अल्झिएकै कारणले होला जीवनले कुन समयमा कस्तो खालको यु–टर्न लिने हो र कहाँ पुगिने हो पत्तो त छैन तथापि सूचना र सञ्चार जगतमा भएको तीव्र विकासले हामीलाई जोडिराखेकै छ । अनुभव साटासाट गर्ने मौका पनि जुराएकै छ । तैपनि हरेक हप्ता आइतबार, मङ्गलबार र बिहीबार देखिरहने र सुनिरहने भएकैले होला आजभोलि टेलिभिजनका पर्दाहरुमा नदेख्दा न्यास्रो लाग्नु स्वभाविकै हो ।
आजभन्दा ठ्याक्कै ४० दिन पहिले दाजुको निर्वाचन क्षेत्र चितवनमा पुगेको थिएँ । देश चुनावी माहोलमा चुर्लुम्म डुबेको थियो । तपाईं पनि समाज रुपान्तरणका सपना बोकेर दौडिरहेको दृश्य अनुभूति गरेको थिएँ । सोहीअनुसार अहिले तपाईंले जनताको न्यानो माया पाएर विजयको माला लगाउँदा खुसीले मलाई पनि सारा विश्वको भार काँधबाट छुटाएजस्तै शरीर हलुका भएको छ । दाजुको आगमनले जनतामा छाएको हर्षोल्लासले पृथ्वी नै पवित्र भएको जस्तो अनुभूति भएको छ । सहर दीपावलीमा बलेका बत्तीले झैँ धिपधिप बलेका जस्तै देखिएको छ । माटोबाट पनि फरक खालको सुगन्ध आइरहेको जस्तो आभाष भएको छ । गाउँ सहरका प्रत्येक कुना–कुनामा हजुरको चर्चा–परिचर्चा गरेको सुन्दा यो मन फुरुङ्ग नहुने कुरै भएन । खुसीले गदगद भइरहेको छ। जीवनसँगकै लडाइमा रातोदिन सङ्घर्षरत भएकाले त्यतिबेला यहाँलाई आफ्नो लक्ष्यमा पुग्न बाधा नपुगोस् भन्ने मनसायले नभेटेको मात्र हुँ । आशा छ, भाइ नभेटी गएछ भनेर पक्कै पनि सानो मन गराउनुहुने छैन ।
कुनै पनि व्यक्तिको भावी जीवन कस्तो हुन्छ भन्ने सन्दर्भमा निजले विगत र वर्तमानमा गरेको कर्मको आधारमा सजिलै आकलन गर्न सकिन्छ । सर्वस्वीकार्य साँचो कुरा के हो भने यहाँले विगतमा सत्यको रसातलमा निर्धक्क उभिएर गरेको मानव कल्याणका कार्यको फलस्वरुप आज सम्पूर्ण नेपालीको मुटुको स्पन्दन बन्न सफल हुनुभएको छ । हुन सक्छ, यही कटु–सत्यताकै परिणामस्वरुप यहाँले छोटो समयमा नै रहरलाग्दो र लोभलाग्दो नतिजा हासिल गर्नुभएको तथ्यमा कसैको दुईमत हुनै सक्दैन । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म घर–घरमा बालक, वृद्ध, महिला, पुरुष सबैको माझ “रवि दाइ, हाई हाई” को उल्लासमय ध्वनि गुञ्जिरहेको छ । यहाँको विजयमा अधिकांश नेपालीले स्वयं आफूले नै विजय हासिल गरेको महसुस गरेका छन् । तर सफलता र असफलता भन्ने कुरा एकै सिक्काका दुईपाटा जस्तै हुन् । यो पनि स्वयंसिद्ध साँचो हो कि सगरमाथा चढ्न भन्दा त्यसको शिरमा अडिएर केही समय व्यतित गर्न त्यो भन्दा निकै कष्टकर र पीडादायी हुने गर्दछ । छोटो समयमा हजुरले प्राप्त गरेको जनविश्वासमाथि गिद्धे नजर लगाउनेको संख्या पनि सानो छैन । यसमा यहाँले सदैव उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
आजभन्दा करिब २३०० वर्ष अगाडि ग्रिसका महान् दार्शनिक एवं राजनीतिज्ञ प्लेटोले भनेका थिए, जुन देशको राजनैतिक नेतृत्वले दर्शन बुझेका हुँदैनन् र दर्शनको व्याख्या गर्न सक्दैनन् त्यो देशका नागरिक र समग्रमा देशको अवस्था दयनीय र कष्टकर हुन्छ । हो, त्यही अवस्थामा नेपाल र नेपाली गुज्रिरहेका छन् । तसर्थ “घण्टी चिन्ह बोकी आए देशको मुहार फेर्न, पर्ने भयो एकैपटक यिनको काम हेर्न” भन्ने सन्दर्भमुलक चुनावी गीतबाट समेत प्रभावित भएर एकपटक तमाम सचेत नागरिकले यहाँलाई यस्तो अवसर प्रदान गरेका छन् भने अर्कोतर्फ अधिकांश व्यक्तिले “जुन जोगी आए पनि कानै चिरेका” भन्ने पुरानो नेपाली उखानलाई समेत स्मरण गर्दै यहाँले अब गर्ने कार्यको निरीक्षण गर्ने पर्खाइमा छन् । आशा छ, नेपाली जनताले दिएको माया, प्रेम, बलिदान, त्याग र समर्पणलाई कदापि भुल्नुहुने छैन र सो अनुरुपको दिशामा लक्ष्योन्मुख हुनुहुनेछ ।
अवसर र चुनौती मानव जीवनमा सँगसँगै विचरण गर्दा रहेछन् । हजुरको सन्दर्भमा पनि माथिको उक्ति अछुतो रहनै सक्दैन । एकातर्फ मुलुकमा भइराखेका विकास निर्माणका कार्यहरुलाई निरन्तरता दिँदै समुन्नत राष्ट्र निर्माणमा सरिक हुनुपर्ने देखिन्छ भने अर्कोतर्फ मुलुकमा कानुनी राज्य, विधिको शासन, सुशासन, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको आभाष हुने गरी शासन पद्धति सञ्चानल गर्नुपर्ने देखिन्छ । “नडराउ रवि दाइ, जनता तिम्रो साथमा छ, अघि बढ रवि दाइ, यो देश तिम्रो हातमा छ” भनेर जनताले गरेको माया र जनताले दिएको साथ, सहयोग र जन–अपेक्षालाई गायत्री मन्त्रकै रुपमा जपेर सोअनुसार कसैसँग नडराई र कत्ति पनि नबिराइकन सतिसालझैँ अडिग भएर अगाडि बढ्नुपर्ने हुन्छ । विश्वास छ, यहाँले जनताको आशा, विश्वास र भरोसालाई निराशामा रुपान्तरण गर्नु हुनेछैन ।
शिक्षाले मूलतः सचेतना फैलाउँछ, व्यक्ति जागरुक हुन्छन् र आफ्नो अधिकार र कर्तव्यप्रति सजग बनाउँछ । सामाजिक न्याय कायम गर्नमा शिक्षाले सकारात्मक भूमिका खेल्दछ र विकासका पूर्वाधारहरु मध्ये शिक्षा महत्त्वपूर्ण पूर्वाधार हो । विकासका अन्य पूर्वाधारहरुको विकास गर्न पनि शिक्षा क्षेत्रमा विकास हुनु अत्यावश्यक छ । शिक्षा क्षेत्रमा विकास भएमा मात्र यसको प्रभाव अन्यत्र देखिन्छ । तसर्थ मूल रुपमा शिक्षा क्षेत्रमा सुधार हुन आवश्यक छ । निर्वाचन आयोगले फोटोसहितको मतपत्र नेपालका दूर–दराजमा समयमै उपलब्ध गराउँछ । सरकारले सुर्तिजन्य पदार्थ, मदिरा, धुमपान, मद्यपान, आदि नेपालका कुना–कुन्दरामा समेत सहजै समयमै वितरण गर्छ तर विडम्बना देशका कर्णधार मानिने विद्यार्थीहरुले पाठ्यपुस्तक लगायतका पठनसामग्री समयमा प्राप्त गर्न सकेका छैनन् । शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने थलोको रुपमा परिणत भएका छन् । सहरी–क्षेत्रका अधिकांश शैक्षिक संस्थाहरु विदेशमा कामदार पठाउने मेनपावर कम्पनी जस्तै छन् । तसर्थ २१ औं शताब्दीको शिक्षा प्रतिस्पर्धी, प्रविधिमैत्री, खोजमूलक र उत्पादनमुखी हुन आवश्यक छ । गुणस्तरीय शिक्षामा सबैको पहुँच अभिवृद्धि गरिनुपर्छ । घाम डुबेपछि उज्यालो खोज्नुको कुनै अर्थ हुँदैन । तसर्थ समग्र समाज र राष्ट्रलाई उन्नति र प्रगतितर्फ लैजान शिक्षा क्षेत्रमा तत्काल सुधार गर्नुपर्ने देखिन्छ ।
नेपाल कृषिप्रधान देश हो । सन् २०१८ को श्रमशक्ति रोजगार सर्वेक्षण अनुसार, ६०.४ प्रतिशत जनसङ्ख्या कृर्षिमा निर्भर रहेका छन् । विज्ञान र प्रविधिको क्षेत्रमा उच्चतम विकास भइसक्दा पनि किसानहरु परम्परागत कृषि प्रणालीमा नै निर्भर रहेका छन् । अझैसम्म कृषिमा आधुनिकीकरण र व्यावसायीकरण हुन सकेको छैन । सरकारको अपारदर्शी र कमजोर नीतिका कारण एकातर्फ किसानले समयमा बिउबिजन प्राप्त गर्न नसक्नु, रासायनिक मलको बिक्री वितरणमा चरम कालाबजारी बढ्नु, कृषिमा प्रयोग हुने औजारहरु सहजै प्राप्त गर्न नसक्नु, किसानलाई कृषिसम्बन्धी आवश्यक पर्ने तालिम उपलब्ध नगराइनु जस्ता कारणले कृषि पेसा विस्तारै धराशायी बन्दै गइरहेको छ भने अर्कोतर्फ गाउँका अधिकांश खेतबारीहरु बाझा छन् । खेतीयोग्य जमिनहरुमा बुट्यान भरिएर बिस्तारै जङ्गलमा परिणत हुँदैछन् । जंगली जनावरहरुको आक्रमण दिन प्रतिदिन बढिरहेको छ । पुराना राजनैतिक दल र तिनका नेता तथा कार्यकर्ताजस्तै जंगली जनावरहरु पनि आक्रामक देखिन्छन् । नागरिकलाई बालीनाली संरक्षण गर्नको सट्टामा आफ्नै ज्यान जोगाउन मुस्किल छ । सरकारको स्पष्ट नीतिको अभावको कारण युवाहरु विदेश पलायन भएका छन् ।
मातृभूमिको अगाध माया र प्रेमको भावनाले ओतप्रोत भई स्वदेशमै केही गर्नुपर्छ भनेर गाउँ फर्कने युवाको कथा पनि कम्ति पीडादायी छैन । विदेश जाने ठाउँ होइन रहेछ । विदेशमा पसिना बगाउनुभन्दा मर्नै परे पनि आफ्नै माटोमा मर्न तयार भई उद्यम सञ्चालन गरेका उद्यमी युवाहरुलाई सरकारले सौतेनी व्यवहारजस्तै गरेको छ । सरकारको झिनो उपस्थिति पनि कहीँ कतै देखिँदैन । नेपाल सरकारले कृषि कार्य गर्न कृषकलाई दुई प्रतिशत ब्याजदरमा ऋण दिने नीतिगत व्यवस्था गरेको छ तर सरकारको नीति र कार्यक्रमकाबिच अस्पष्टता रहेकै कारण वास्तविक कृषकहरु मर्कामा परेका छन् तर झोलामा फर्म हुनेहरुले राज्यको कैयौँ रकम असुल गरेका छन् । कृषिलाई प्राथमिकतामा राखेर योजना तर्जुमा गर्ने गरेको राज्यको विभेदकारी नीतिले कैयौँ कृषकहरु आफ्नो पेसाबाट निरुत्साहित भएका देखिन्छन् । जसको ज्वलन्त उदाहरणको लागि मेरै गाउँठाउँको मुरली एग्रोफर्म प्रा.लि. गल्याङ–०९,गेजालाई लिन सकिन्छ ।
यस्तै विविध परिस्थितिजन्य कारणले मानिसहरु क्रमशः गाउँबाट सहरतिर नाना, खाना र छानाको खोजीमा जाने क्रम बढिरहेको छ । जसले गर्दा गाउँ क्रमशः रित्तिँदै छन् । तर के गाउँ, के सहर दुख त जहाँ पनि छ । पहिले गाउँमा दुख थियो । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइजस्ता आधारभूत आवश्यकता परिपूर्ति नहुँदा पनि मानिसहरु जसोतसो जीविकोपार्जन गरी बसेका थिए तर अहिले गाउँमा सबैथोकको सुविधा छ तर विडम्बना मान्छे छैनन् । नेपाली साहित्यकार इन्द्रबहादुर राईले “रातभरि हुरी चल्यो”भन्ने कथामा व्यक्त गरेझैँ जसरी मानिसहरु अवसरको खोजीमा गाउँबाट सहर पस्न बाध्य भए त्यसरी नै कष्टकर सहरीया जीवन, बढ्दो महंगी, प्रदुषण, जीविकोपार्जनमा आइपरेको कठिनाइजस्ता कारणले सहरबाट गाउँ फर्केनुपर्ने तीतोसत्य पनि ऐनामा आफ्नै अनुहार देखिएजस्तै स्पष्ट देख्न सकिन्छ । संघीयताको मर्म अनुरुप सरकारले तल्ला निकायमा समेत अधिकार प्रत्यायोजन गरी विकास कार्यहरु विस्तार गर्ने योजना बनाइरहँदा गाउँबाट नै अधिकांश मानिसहरु विस्थापित भई सहरतर्फ जानुले हाम्रोजस्तो सानो मुलुकमा संघीयता फस्टाउन सक्ला र ? यस्ता धेरै प्रश्नहरु अनुत्तरित नै छन् ।
हो, खुसी लाग्छ दाजुले रहरले नभई बाध्यताले विदेशिएका नेपालीलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरेर नेपाल फर्काउने र देशलाई समृद्धतातर्फ अगाडि बढाउने गरेको प्रतिवद्धता सुनेर र देखेर । कुनै पनि देशको विकासमा युवाहरुको अग्रणी भूमिकालाई नकार्न सकिँदैन । तर यहाँ अधिकांश युवाहरु विदेशिएका छन् । औसतमा प्रतिदिन वैदेशिक रोजगारीमा गएका मध्ये तीनजना भन्दा बढीको मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले बताउँछन् । विदेशमा जस्तै दुख गरे नेपालमा पनि प्रशस्त सम्भावनाहरु छन् । अवसरको कमीत यहाँ पनि कहाँ छ र ? आखिर गर्नै त दुख नै हो । स्वदेशमा गर्ने दुखको मज्जा नै बेग्लै हुन्छ ।
यस सन्दर्भमा प्रख्यात गायक पशुपति शर्माको पछिल्लो मर्मस्पर्शी गीतले यो मन जितेको कुरा स्मरण गराउँदछु । “मलाई पनि छ, उनलाई पनि छ, आफ्नो–आफ्नो दुख त जुनलाई पनि छ, जुनलाई पनि छ ।” तर आफ्नो दुख गरेर जीवन जिउने अवस्था राज्यले सिर्जना गर्न नसक्नु वर्तमानमा पीडाबोधको विषय बन्न पुगेको छ । आम–नागरिकहरु कैदीजस्तै निस्सासिएर बन्द कोठामा बस्नुपरेको बाध्यता घाम जत्तिकै छलर्ङ्ग छ । देशको अधिकांश बजेट संविधान, ऐन, नियम, नियमावली र नीति निर्माण गर्ने जस्ता विषयमा खर्च हुँदाहुँदै पनि कानुनको सही कार्यान्व्यन राज्यसंयन्त्रले गर्न नसक्नु अर्को पीडाको विषय नागरिकले भोग्नुपरेको वास्तविकता सर्वस्वीकार्य नै छ । तसर्थ नेतृत्वले यस्ता संवेदनशील विषयहरुमा संयमता अपनाउनुपर्ने जरुरी छ ।
देशमा भष्ट्राचार, बेथिति र अनियमितता व्याप्त छ । नीतिगत भष्ट्राचार दिन प्रतिदिन दिन दुगुना रात चौगुनाको दरले झाँगिदै गइरहेको छ । विकास निर्माणका कार्यहरुमा राजनैतिक जस–अपजस लिने होड्वाजीले कतिपय सन्दर्भमा विकास निर्माणका कार्यहरु अवरुद्ध नै छन् । सार्वजनिक सेवा प्रवाहमा चरम लापरवाही छ । देशमा सञ्चालन भइराखेका अधिकांश उद्योगधन्दा र कलरकारखानहरु बन्द छन् । निर्यातभन्दा आयात कैयौँ गुणा बढी छ । शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषिजस्ता नागरिकका प्रत्यक्ष सरोकार राख्ने क्षेत्र प्राथमिकतामा रहने राज्यको नीति हुँदाहुँदै पनि नागरिकले प्राप्त गर्न नसकेको गुनासो छरपस्ट देख्न र सुन्न सकिन्छ । लोककल्याणकारी राज्य, लोकतन्त्र र गणतन्त्र त विदेशी अनुदान भित्र्याउने सूचकका रुपमा परिभाषित छन् ।
जस्तो काम, उस्तै व्यवहार, जस्तो व्यवहार, उस्तै काम आजको प्रमुख आवश्यकता हो । पुराना दलका घोषणापत्र र तिनका नेताले गरेको प्रतिवद्धतामा कमजोरी कहीँ कतै छँदैछैन तर व्यवहार शून्य भएपछि आखिर जनताको के नै लाग्ने रहेछ र ? जनताले यहाँलाई परीक्षा दिनको लागि प्रवेश–पत्र दिलाएका छन् तर नतिजा कस्तो हुने हो आम जनमानसमा चर्चाको विषय छ । दाजुको राष्ट्रनिर्माण गर्नेक्रममा कहीँ कतै शंका गर्ने ठाउँ नरहे पनि एकातर्फ यहाँका आम कार्यकर्ताहरुले यहाँको मनोभावना बुझेर सो अनुसारको आचरण प्रर्दशन नगर्न पनि सक्ने हुनाले लोकतन्त्रको मर्मअनुसार लोकतान्त्रिक विधि र प्रक्रियाद्वारा शासन पद्धति सञ्चालन गर्नुपर्ने विषयमा समय–समयमा कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने देखिन्छ भने अर्कोतर्फ विद्यमान व्यवस्था र अवस्था परिवर्तनको आशामा ढाड थापेका जनताले सोचे अनुसारको परिवर्तन महसुस गर्न पाएनन् भने आम कार्यकर्ता लगायत नागरिकमा नैराश्यता छाएर सदाका लागि राजनीतिबाट नै विमुख हुने र जे–जसरी भए पनि अन्यत्र पलायन हुनुपर्ने बाध्यता समेत सिर्जना हुनुपर्ने देखिन्छ । भुइँमान्छेहरुको बाँच्ने आधार आखिर को नै छ र ?
जनताका तमाम समस्याहरु दिनप्रतिदिन बढिराखेकै छन् । जनताका आशा धेरै छन् । हरेक क्षेत्रमा व्यापारीकरण, कालोबजारी, अन्याय र असमानताको मार खेपेका जनताले नेतृत्वबाट “सिउडो पोलिटिक्स” को बदलामा सेवा भावनाको राजनैतिक नेतृत्वको नयाँ स्वाद ग्रहण गर्न चाहन्छन् । यदि जनताका आशा पुरा हुन सकेनन् भने आखिर परिवर्तन आएर पनि के नै फरक भो र ?अब मरिसकेको बाघलाई जिस्काएर समय खर्चनुभन्दा पनि आफ्नो लक्ष्यमा दत्तचित्त भएर आमूल परिवर्तन गर्ने गरी अझ सशक्त बनेर आवाजविहीनहरुको आवाज भएर न्यायको प्रतिमूर्तिको रुपमा शासक नबनीकन भौतिक सुखसयलभन्दा माथि उठेर जनताको सेवकको रुपमा आफूलाई प्रस्तुत गर्नुपर्ने देखिन्छ ताकि इतिहासमा स्वर्ण अक्षरमा जनताको छोराको रुपमा स्थापित गर्न बल पुगोस् । नेपाल सगरमाथाको देश र शान्तिका दूत गौतम बुद्धको देशको रुपमा मात्र परिचित नभएर रविको देशको रुपमा परिचित भएर एकपटक विश्व समुदाय नेपाल हेर्न आओस् । पत्र निकै नै लामो भए जस्तो छ । दाजुलाई दुर्गन्धित मनोभावनाले कसैले कोर्तन मात्र खोजे पनि वा सबैले आशा गरेका दाजु आफैँ दुर्गन्धित मनोभावनाले भरिएको बाटोतिर लाग्नुभयो भने भाइको भित्री मन अवश्य दुख्नेछ । मुटु छियाछिया हुनेछ ।
तर, दाइको चुनावी सभामा भाइ घण्टी बजाउन आएन भनेर कत्ति पनि दुख नमान्नुहोला है । दिनानुदिन चिसो बढेकाले समय समयमा बगिरहने गड्गडाहटयुक्त हावाहुरीले रुख हल्लाएर रुखको चिसो सिरेटो खप्न नसकेर वा प्रचण्ड घामको प्रकाशले वातावरणलाई असन्तुलित बनाइ रहेको वर्तमान समयमा दाइको समाज रुपान्तरणको सपना देखेर प्रफुल्लित भई अरुजस्तै यो भाइ पनि आशामा बाँचेको छ । धेरै नजिकका आफन्तजनले मात्र आलोचना गर्न भन्दा सकारात्मक सुझाव दिने हुँदा दाइलाई आउने दिनमा गर्ने कामको लागि सल्लाह दिएको मात्र हुँ । आशा छ, अन्यथा लिनुहुने छैन ।
विजय हासिल गर्नुभएकोमा बधाई एवं शुभकामना ।
उही तपाईँको प्यारो भाइ,
खगेन्द्रप्रसाद पाठक ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।