देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ ।
देश अढाई महिनाभन्दा लामो समयदेखि लकडाउन (बन्दाबन्दी)मा छ । आंशिक रूपमा बन्दाबन्दी खुल्दै गए पनि त्रासदि उस्तै छ। रोगको त्रासभन्दा अमानवीय तथा हिंसात्मक समाजको दिसाको चिन्ता भारी बनिरहेको छ।
यस्तो बेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा नवपुस्तालाई सुन्ने छौँ:
सम्पदा रिजाल:
“म निसास्सिरहेकी छु“
मलाईचाहिँ लकडाउन चामलका गेडा, झुलका प्वाल गन्दै समय कटाउनुपर्ने फुर्सदी भएर आएन । बरु सामान्य अवस्थामा बचेखुचेको समय पनि काटिदिने भएर आयो ।
लकडाउनको सुरुवाती समय त्रासद थियो । मेडिकल सामाग्री आइपुगेको थिएन । हरेक दिन भष्टाचारका फेहरिस्त पढ्दै सुरु हुन्थ्यो ।
संक्रमण देखिइसकेको थियो । सबैभन्दा धेरै त आफ्नै सुरक्षाको भय थियो । लकडाउन लम्बिदै जाँदा चासो र चिन्ताका बुँदा पनि लम्बिँदै गए । जैविक रोगको चिन्ता बिस्तारै सामाजिक रोगहरूमा सर्यो । यसै पनि २४ सै घण्टा कामका लागि तयार रहन पर्ने, बढ्दो संक्रमण, व्यक्तिगत सुरक्षा सामग्री अभाव आदिले एक खालको मानसिक दबाब छँदै थियो । त्यसमाथि महामारी व्यवस्थापनको संवेदनाहीनता, भोका मजदुरहरूको लस्कर, नाकामा छेकिएका नागरिक, भोकै मरेका मलर सदा, सूर्यबहादुर तामाङ, सामाजिक रोगले हत्या गरेका नवराज विक र उनका साथीहरू/ अंगिरा पासीजस्ता घटनाले स्वासबन्दीको मास्क दिनदिनै बाक्लिंदै गयो । यी सबै छोप्न निरन्तर बजिरहेको चुच्चे नक्साको विज्ञापन, बेला बेला जारी भएको आँसुको निषेधाज्ञाले यो बाक्लो मास्क झनै कस्यो ।
स्वास्थ्यकर्मी भएका कारण पेशागत दबाब पनि थिए नै । बेला बेला ताली पाएर, छातिमा हात राखेर गाएको राष्ट्रगानको समर्पण पाएर, दीप प्रज्ज्वलनको मनोबलले सम्मान त पाएकै हो । तर अचम्म ! सम्मान आफैं निसास्सियो यसपालि ।
अनुदार संघीय अभ्यासको चपेटा त पहिलैदेखि थियो । संकटमा अझै सग्लो अनुहार देखियो । विकेन्द्रीकृत संरचना र केन्द्रिकृत अभ्यासको बीचमा चेप्टिएर झनै निसास्सिएँ । संघीयताका हिमायतीहरू संघीयताको अभ्यासमा चाहिँ कति अनुदार रहेछन् भन्ने पेसागत अनुभव पनि भयो ।
निस्साहट आफैंमा छट्पटी हो । बेचैनी हो । बेचैन भएपछि ध्यान कतै केन्द्रित हुँदैन । एउटै काम निरन्तर गर्न सकिन्न । निरन्तर पढ्ने-लेख्ने काम पनि गर्न सकिएन । पढ्नुको मज्जा काँचो किताबको गन्ध पनि हो । घत परेका लाइन कोर्नु पनि हो । इबुक्समा त्यो सम्भव भएन । यसकारण पनि अल्छी गरियो अलि । केही कविताका किताब पढ्ने, साथीहरूले फाट्टफुट्ट सुझाएका फिल्म हेर्नेबाहेक खासै केही गरिएन ।
मलाई चाहिँ यो बन्दाबन्दी स्वासबन्दीजस्तो पनि लागिरहेको छ । म निसास्सिरहेकी छु । हुन त यो समय समाजवाद, सामाजिक न्याय, सामाजिक सद्भाव, समानता आदिको मुखुण्डो उतारेर नाङ्गिएको व्यवस्थाको विकल्प सोच्ने, चिन्तन गर्ने समय पनि हो । ढिलै भए पनि युवा जमात यो व्यवस्थाको स्वासबन्दी मास्क च्यात्न सडक निस्कदै छ, तर सरकारको असंवेदनशीलताको विरुद्धमा उत्रिएको यो युवा जमातले पनि रुकुम हत्याकाण्डको मुद्दालाई एउटा साँघुरो कुनाको एकान्तबासमा थन्क्याइदिएको छ ।
मलाई आशा छ, यो प्रतिरोधी जमात संरचनात्मक जडताका विरुद्ध पनि उभिनेछ । यो समय पनि बितेर जानेछ ।
ईश्वरा सिवा:
“अब त अति भयो, हैन र ? हाम्रै पालामा जातीय असमानता हटाउन पहल गरौँ न है !”
अचानक आएको बन्दाबन्दीको खबरले अमूक बनायो । वार्षिक छुट्टीमा घुम्न जाने योजना विफल भयो । एकातिर समय कसरी कटाउने भन्ने पीर, अर्कोतिर प्राइभेट जागिर ‘झ्वाम’ हुने हो कि भन्ने चिन्ता ।
सुरुवाती दिनहरू घरधन्धामै सीमित रहेँ । म त्यसै पनि एकान्तप्रेमी, झन् कोरोनाको त्रासले घरबाहिर निस्कने हिम्मत जुटेन । चार दिबारभित्र कैद शरीर, फुर्सदिला र पट्यारलाग्दा दिन अनि अनिदो रात । समय नहुँदा पो फेसबुक/टिभीमा झुन्डिन मन हुँदो रहेछ । फुर्सदमा त रमाइला लाग्ने चिजहरूले पनि आकर्षण गुमाउँदा रहेछन् ।
आफ्नो मायालु त प्रवासमा । उहाँलाई कतै भाइरसले आक्रमण गरिहाल्छ कि भन्ने सोच बारबार आइरहने । सपना पनि भयंकर देखिन थाल्यो । मन त्यसै बेचैन भैरह्यो । विश्वभर दैनिक हजारौँको संख्यामा मृत्यु भएको समाचारले झन् झन् आक्रान्त बनाइरह्यो ।
‘भो, अब त संहालिनुपर्छ’, भन्ने ठानेर घरको सरसफाई र करेसाबारी स्याहार्न थालें । पकवानमा विशेष रुचि भएकोले विभिन्न रेसिपीहरू खोजीखोजी मनपर्ने परिकार बनाएँ । परिवारसँग बसेर खाएँ । केही जाँगर बढ्न थालेसँगै आफूलाई सिंगारेर सेल्फी लिने र टिकटकमा भिडियो बनाउँदै साथीहरूसँग बाँढे । यसो गरिरहँदा खुसीको सीमा बढ्न थाल्यो । बल्ल बुझें, आफ्नो लागि वर्षौँदेखि दिन नसकेको समय त यो विपद्को घडीले पो जुराएछ !
अनलाइन अध्ययन मेरो लागि बिल्कुल नयाँ विषय हो । आफू अध्ययनरत कलेजबाट भर्चुअल क्लास गराउने सूचना मिल्यो । उत्साहसँगै कौतुहलता पनि छायो । वास्तविक जस्तो नहुने पो हो कि भनेर आतिएँ पनि । तर केही हदसम्म ठिकै हुने रहेछ । साथीहरूसँग सरसल्लाह पनि गर्न मिल्ने, होमवोर्क गर्न पनि मिल्ने । बडा गज्जब लाग्यो । यसैबीच आफ्ना विद्यार्थीहरूलाई पनि अनलाइनमा पढाउनु पर्ने भयो । आफैँले भर्चुअल क्लास संचालन गर्न पनि जानियो ।
साहित्यमा सानैदेखि रुचि भएको अनि थोरबहुत लेख्ने पनि गरेकीले केही थान गजल र कविता पनि सिर्जें । राजनीति र साहित्यसम्बन्धी पुस्तकहरू पढ्न पनि मन पर्छ । लकडाउनमा तीन वटा पुस्तकहरू पढें । आन्तोन चेखबका कथाहरू, मनोक्रान्तिको नवसफलता शास्त्र र सुनिता दनुवारको आँसुको शक्ति । उनलाई पढिरहँदा साँच्चै आँसु पनि बगे । बाल्यकालमै बलात्कृत, बेचिएर मुम्बैको कोठी पुग्नु, यौनधन्धाको कहर अनि उन्मुक्ति । उफ ! आङ नै सिरिङ्ग भैरहेको थियो ।
प्रकृतिले त सुन्दर र कोमल शरीर दिएर विभेद गरेकै छ, झन् त्यसमाथि पितृसतात्मक जालो । महिलाहरूको लागि हरेक बाटो अप्ठेरो छ, हगि ! सुनिताले जुन विषम परिस्थिति र पीडालाई शक्तिमा बदलिन् अनि उनीजस्ता कयौँ नारीको उद्दार गरिन नि, त्यो आँट र क्षमता हरकोहीमा हुँदैन ।
रुकुम हत्या प्रकरणपछि म लगभग एक हप्ताभन्दा बढी विक्षिप्त बनिरहेँ । अन्तरजातीय प्रेम स्वीकार्न तयार नभएपछि ६ जना युवाहरूको हत्या गरियो । यस्तो क्रूर अमानवीय घटनाले मेरो मथिंगलमा भूकम्प ल्यायो । कुनै बेलाका आफ्नै भोगाइहरू तरोताजा भए । एक्लै बसेर धेरैपटक रोएँ पनि । हत्याजस्तो आपराधिक घटना हुँदा पनि अधिकांशले खिल्ली उडाएको देख्दा म झनै प्रताडित बनेँ ।
पोस्टमार्टम रिपोर्ट आयो । डुबेर मरेका र प्रकृति मुचुल्कामा शवको घाउ नदीमा बग्दा घिस्रेर भएको भनियो । पीडकहरूको बयान र पोस्टमार्टम रिपोर्ट एकआपसमा बाझियो । अदालतमा बयानभन्दा प्रमाण चाहिन्छ । तत्काललाई आजन्म कैदको मुद्दा दर्ता गराएर जनआक्रोश ठन्डा बनाउने अनि अन्तिममा फैसलाताका अपराधी छुटाउने प्रपन्च रचिएको छ । मदन-आश्रित हत्याकाण्ड, दरबार हत्याकाण्ड र निर्मला हत्याकाण्डझैँ रुकुम नरसंहार पनि पर्दामै विलीन हुने पो हो कि ? न्याय हराइरहने कहिलेसम्म ?
कैलालीको क्वारेन्टाइनमा बलात्कार भयो । अपराधी जो सुकै भए पनि कानुनबमोजिम कार्वाही हुनै पर्छ । तर यतिबेला बलात्कारीहरू दलित समुदायका हुन् भनेर फेसबुक/ट्विटरमा युवाहरू पूर्वाग्रही बनिरहेका छन् । रुकुम घटना जातीय नस्लीयबादीहरूले गराए भनेर जब-जब दलित समुदायले आवज उठाए, धेरैलाई पाच्य भएन छ । त्यसकारण बलात्कारीहरू दलित समुदायको हुनासाथ कुन्ठा पोखिरहेका छन् । अझै पनि जात व्यवस्था अधिकांश युवाहरूको रगतमा बगिरहेको रहेछ भन्ने यो गतिलो उदाहरण हो ।
अब त अति भयो, हैन र ? हाम्रै पालामा जातीय असमानता हटाउन पहल गरौँ न है !
बन्दना भट्टराई:
“मलाई लेख अथाह मनपर्छ तर आउँदैन । सिक्ने क्रममा छु, सायद”
लकडाउन भइसकेपछि झापाबाट हामी सबै पढ्न गएका विद्यार्थी आ-आफ्नो जिल्ला फक्यौं ।
लकडाउनको अवधिभर मैले माटोसँग खेल्ने मौका पाएँ, परिवारसँग रम्ने वातावरण पाएँ । साहित्य नियाल्ने मौका पाएँ र देशको राजनीति बुझ्ने अवसर पाएँ । यो अवधिमा शारीरिक रूपमा मानिस कैदी भए पनि मानसिक रूपमा चाहिँ सधैँ ऊर्जाशील नै देखापर्यो ।
हाम्रो स्वभाव भनेको नयाँ कुरा देख्न खोज्नु, नयाँ कुरा पत्ता लगाउन खोज्नु हो । मानिसलाई विश्रामभन्दा यात्रा मनपर्ने कुरा पनि हामीलाई थाहा छ । यात्रा आखिर मलाई पनि किन नपर्नु ? यात्राले नै हो मानिसलाई आफूसँग परिचित गराइदिने । जीवन शून्य भएपछि पनि उसको राम्रो पक्ष सधैँ जीवित हुन्छ र मृत्युपछि पनि एउटा यात्रामा जान्छ ।
समुद्री यात्राबाट कोलम्बसले अमेरिका पत्ता लगाए । बालक ध्रूव ईश्वरको खोजीका लागि यात्रामा निस्के र धूर्वलोकका अमर राजा भए । निल आर्मस्ट्रङ पहिलो चन्द्रलोकको यात्री बन्न पुगे । साहित्य यात्रा हेर्ने हो भने भानुभक्त, बालकृष्ण सम, देवकोटा कलम बोकेर निस्की अमर साहित्यकार बन्न पुगे । ठूला ठूला दार्शनिकहरूले जीवनलाई यात्रासँगै दाँजेर हेर्नुको कारण पनि सायद यही थियो होला !
मानिसले धर्तीमा आँखा उघारेपछि उसको यात्रा प्रारम्भ निश्चित छ । हामी यति बेजोड गतिमा नदी जसरी हिँड्दै थियौँ कि प्रकृतिले बीचमा ठूलो ढुङ्गा तेर्साएर बाटो टक्क रोकिदियो । सागरसम्म पुग्न बाँकी नै छ अझै । यो अवधिमा आफूलाई धेरै नजिकदेखि नियाल्ने अवसर पाएझैं लाग्छ । जीवनमा रोकिँदा पनि छुट्टै यात्रा चलिरहँदो रहेछ ।
मेरो जन्म सायद एक संयोग थियो । म अरूजस्तै एक सामान्य केटी हुँ । म पृथ्वीरूपी सुन्दर बगैंचाको एक जिम्मेवार माली हुँ । पुर्खाहरूको इज्जत थामेर भविष्यमा आफूसँगै धेरैलाई बाटो देखाउनु छ । यो अवधिमा बुझेको समाज, अझै छुवाछुत, अझै महिला हिंसा देख्दा मुटु नै अमिलो हुन्छ । ऐनले जातभात र छुवाछुतको अमानवीय कुप्रथालाई कानुनीरूपमा निवारण गरे बावजूद पनि अझै ओल्ला घरको बिर्खे दमाइले पल्लो घरको पुरेत बाको घरमा मझेरी देख्न पाएको छैन । अझै पोख्रेल काकीको घरमा कोदाली बोकेर काम गर्न गएकी माया सुनार अलग बसेर च्याँख्ला खान बाध्य छिन् । एउटै ईश्वरका सन्तानहरूको प्रेममा समाज बाधा यसरी बन्छ कि प्रेमले अन्तिममा मृत्युदण्ड भोग्नै पर्छ ।
यो त मैले बुझेको समाज भयो । अर्कोतिर मुलुकले आजसम्म शासकीय परिधिमा विभिन्न स्वरूपहरू संग्रहित गर्दै आएको छ । विगतको लामो इतिहासदेखि नै यो देशले विकासको गति पकड्न सकिराखेको छैन । सायद विकासको लागि हरेक विचार शुद्धीकरण हुन आवश्यक छ । सामाजिक, आर्थिक, जातीय, शासकीय, सबै पक्षको सही रुपान्तरण भएपछि सायद राष्ट्रले नयाँ काँचुली फेर्न सक्थ्यो होला ।
साहित्यकार सर वाल्टर स्टकले आफ्नो कविता देशभक्तिमा स्पष्ट भनेका छन्- आफ्नो देशलाई माया नगर्ने मानिस एकै जन्ममा पनि दुई पटक मर्छ । र जहाँ देशभक्ति छ त्यहाँ भ्रष्टाचार, कालाबजारी हुन सक्दैन । यदि हुन्छ भने देश एक्लो छ, बुझें हुन्छ । देश एक्लो हुनु भनेको जन्मभूमि रुनु हो, र जुन देशलाई मात्र आँसु लाग्छ त्यो देश देश हुँदैन । मसानसरह हुन्छ ।
मलाई लेख अथाह मनपर्छ, तर आउँदैन । सिक्ने क्रममा छु, सायद ।
साहित्यमा भाव हुन्छ। म भावप्रेमी मान्छे । कविता पढ्दै गर्दा भावमा र शब्द खुब नियाल्छु । कुनै एक विद्वानले पनि भनेका छन् -“ कवि कविता होस्, कवि होस् कविता । तब पो कविता कविता जस्तो हुन्छ ।” साह्रै मन परेको थियो मलाई यो भनाइ ।
विद्यालयमा अध्यनरत हुँदा नेपाली गुरुले भन्नु हुन्थ्यो- “तिमीमा कवित्व भावना छ, लेखनमा उतार्नु है।” तर मलाई भने लेख्नभन्दा पढ्न रमाइलो लाग्ने । यो अवधिमा पनि थुप्रै रचना पढेँ । हेलन केलरको ’द स्टोरी अफ माइ लाइफ’ नामक आत्मकथाको किताब अपाङ्गहरूको लागि मात्र नभएर सबै मानिसहरूको लागि प्रेरणाको स्रोत रहेको छ । साथै डेथ अफ सेल्सम्यान, गीता, जीवन काँडा कि फूल, द काइट रनर साथै विभिन्न चलचित्र, सिरिज हेरेँ । जसमा कुनै मनोरञ्जनात्मक थिए भने कुनै प्रेरणादायी ।
अन्त्यमा, म आफैँमा विचार हुँ, भावना हुँ, आत्मबल र विश्वास हुँ । क्षितिजलाई कहिले भेट्न सकिँदैन भन्छन्, तर म आफ्नो उद्देश्य लिएर क्षितिजसरह फैलन चाहन्छु, भेट्न चाहन्छु र अँगाल्न चाहन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।