
उसको जीवनमा पूर्णिमा नै छ कि औंसीको रात लागिसक्यो म बेखबर छु । कतै समयको ग्रहणले निलिसक्यो कि ? स्वयम्भूको डाँडाबाट काठमाडौँको सन्ध्याकालीन दृश्य नियालेर फर्कँदै थियौँ हामी बालाजु बाइसधारातिर । दिनभरको दौडधुप सकेर ओत लाग्न फर्कंदै थिए मान्छेहरु,चारोको खोजीमा निस्किएको भँगेरा बचेरा सम्झेर गुँड फर्किएझैँ । ‘होला कि’ ले छोड्ने होइन, हुने कहिल्यै होइन सोचेझैँ, तै पनि सधैँ हतारमै हुन्छ मान्छे । अनौठो जीवन लीला । हेमन्तको सुरुमै चिसोले अलि बढी छोइसकेको थियो काठमाडौँलाई । काठमाडौँ सहर, हेर्न लाग्छ रहर थियो कुनै समय । मान्छेकै व्यवहारले हेर्न, भोग्न कहर बनाइदियो यसलाई ।
गाउँमा छउन्जेल सहरको रहर खुब लाग्थ्यो । सहर भोगेपछि रहर हैन कहर लाग्न थालेको छ सहरी परिवेश । गाउँको जस्तो निश्चल, शान्त, सुन्दर परिवेश कहाँ पाउनु यहाँ । कोठामा पुगेपछि जागिर खान निस्कने तयारीमा जुट्यो भतिज । झन्डै दशकअघि पहिलोपटक काठमाडौँको डान्सबार छिरेको म त्यसपछि पुनः छिरेको छैन । त्यो समय पनि गाउँको भतिज त्यहीँ काम गर्ने भएकाले एक्लै कोठामा बसरिहनुभन्दा उसैको करले ऊसँगै गएको थिएँ । गाउँको राम बजार छिरेसँगै रोम भइसकेछ । बजारले मान्छेको काम, नाम सबै बदल्दो रहेछ ।
राम अर्थात् रोम कामतिर लाग्यो । म ग्राहकभन्दा पनि अतिथिका रुपमा रहेँ । सरसर्ति नियालेँ त्यहाँ भित्रको परिवेश । अनौठो लाग्यो । डान्स गर्न सिपालु भइसकेछ भतिज । कामले नै काम सिकाउने रहेछ । अनुभवभन्दा ठुलो गुरु के हुन सक्छ र जिन्दगीमा ?
काठमाडौँ रातभर जाग्दो रहेछ त्यही दिन थाहा पाएँ । दिन जस्तै रातमा पनि चहलपहल नै थियो । खै किन हो अझ त्यो दिन ग्राहकहरुको उपस्थिति कम हो रे । डान्सबारभित्रको चमकता, मादकता अनेक लाग्यो । सामान्य परिचय भयो सुरुमै सबैसँग । पूर्णिमा उसैको नाम हो जो त्यही डान्स बारमा काम गर्थी ।

गोपाल खनाल
रामेछापकी चेली पूर्णिमा । भन्छन् नि भगवान्ले फुर्सदमा बनाएको,हो त्यस्तै । अझ भनौँ कुशल कलाकारले वर्षौं लगाएर कुँदेको मूर्तिझैँ । ज्यादै राम्री, चञ्चले । मिलेका दन्तलहर, पिपलपाते गुलाबी ओठ,रेशमी कपाल, कोकाकोला फिगर । हेररिहुँ जस्ती । षोडशी पूर्णिमा कसरी यो ठाउँमा आइपुगी म सुरुमै जान्न उत्सुक थिएँ । छन त त्यहाँ तारा, उर्मिला, ममता, सरुसँगै अरु पनि थिएँ आ-आफ्नै काममा व्यस्त ।
डान्स सुरु भइसकेको थियो विभिन्न खालका गीतमा । झिलिमिली बत्ती, कामुक नृत्य प्रस्तुति त्यसमै झुमिरहेका थिए । पालैपालो नाचे तारा, उर्मिला, सरुहरु । पूर्णिमाको पालो पनि आयो । ऊ प्राकृतिक रुपमै राम्री । झन् सिँगारिँदा उर्वशीझैँ देखिएकी थिई । बेजोड प्रस्तुति थियो उसको । ऊ नाचिरहँदा पैसाको वर्षा भइरह्यो मञ्चमा । सुराको तालमा सुन्दरीका वस्त्र नङ्ग्याउन हजारौँ उडाइरहेका महाशयहरु कसैको भोक मेट्न र लाज छोप्न रुपियाँ झार्दैनन् । अचम्म छ दुनियाँ । माग्दै आएकी वृद्धालाई एक धनाढ्य व्यापारीले केही दिनुको सट्टा झपारेर पठाएको दृश्य मैले यही बेला सम्झिएँ ।
साहित्य र पत्रकारितामा रुचि राख्ने मलाई फरक विषय भेटिएझैँ लाग्यो । नृत्य प्रस्तुत गरेर सकेपछि ऊ मेरै नजिक आएर बसी । सायद उसले निकट सोची, अरुभन्दा फरक रुपले हेरी, बुझी उसले मलाई ।। मान्छे मात्र राम्री होइन पूर्णिमा, बोली पनि सुमधुर उस्तै ।
मान्छे परिस्थितिको दास हो नचली सुख छ र उसलाई समय अनुसार । नसोचेको पात्र, परिवेश, कर्म जुराइदिन्छ कहिलेकाहीँ यसले । सायद समयको यही भेलले यहाँ ल्याइपुर्याइदिएको हो कि उसलाई पनि ।
म खै के सोचेर टोलाउन पुगेछु । मौनता तोड्दै उसले गफ सुरु गरी । ‘‘कस्तो लाग्यो डान्स ?”
‘‘गजब”, मैले भनेँ।
‘‘पहिलो पटक छिर्नु भएको हो बारमा ?” सोधी ।
‘‘हो, कसरी थाहा पायौ ?”
‘‘तपाईँको मुहारले त्यही बताउँछ ।” जवाफ आयो ।
‘‘कति भयो बारमा काम गर्न थालेको ?” प्रश्न गरेँ ।
‘‘डेढ वर्ष ।”
‘‘कसरी लाग्यौ यो लाइनमा ?”, मेरो प्रश्नले ऊ अलि भावुक देखिई ।
‘‘सुन्नुहुन्छ ? दुःखद छ नि मेरो कथा ।”, जस्तो होस् म सुन्न आतुर थिएँ । भन्छन् नि मनको भारी बिसाउन पाउँदा मन हलुङ्गो हुन्छ । मान्छे यसै रुँदैन आसुँले पीडा पखाल्छ सायद । ऊ पनि हितैषीसँग मन खोलेर कुरा गर्न पाएझैँ देखिई ।
आफ्नो अतीत कोट्याउन सुरु गरी उसले, “गाउँमा घर, घरको काम, मेलापातसँगै पढाइ पनि चलिरहेकै थियो । सानो परिवार दुःखसुख चलेकै थियो । पढाइ पनि राम्रो थियो । सपना थियो नर्स बन्ने । प्यारी थिएँ सबैको । भोलि कसले जानेको हुन्छ र ? अकल्पनीय घटना घट्न पुग्यो जीवनमा । साउने झरीले पहिरो गयो घरमाथिबाट । घर पहिरोले लग्यो । पहिरोले घरमात्र लगेन आमालाई पनि सँगै लग्यो । मातृस्नेहविहीन भयौँ हामी दिदी भाइ । म नौ र भाइ सातमा पढ्दै थियौँ । खै, दैवले कस्तो खेल खेल्यो हाम्रो जीवनमा ।
प्राकृतिक विपत्तिले पनि गरिबकै बास उठाउने त रहेछ । बालाई पनि एक्लो दैनिकी घर धान्न गाह्रो परेछ कि के हो । पहिले त कसैले बिहे गर्नुपर्छ भन्दा हाम्रो भविष्य बिग्रन्छ भनेर मान्नुभएको थिएन । पछि आफन्तकै करले बाबाले दोस्रो बिहे गर्नुभयो । आफ्नै आमाको जस्तो कहाँ हुन्छ र दोस्रो काख । जेनतेन कयस काट्दै एस.एल.सी पास गरेँ । नौमा पढ्दै गरेको भाइ घर छोडेर भाग्यो । भारत पुगेछ । म गाउँले दाजुसँग यता आइपुगेँ । साहूको घरमा काम गर्दै पढ्ने कुरा थियो । खै, त्यहाँ पनि सहज लागेन । मालिकको व्यवहार राम्रै भए पनि मालिक्नीको कचकच, छुद्र व्यवहार सहनै नसकेपछि छोडेँ र यता आइपुगेँ ।
तपाईँ मान्नुस् या नमान्नुस् कुरा काट्ने, दुनियाँ ढाँट्ने नारी नै हुन् । नारी भएर नारीकै किन विरोध गरी भन्नुहोला । पुरुषले कसैको कुरा काटेको मैले थाहा पाएको छैन । धेरै जसो घर महिलाकै कारण भाँडिएको छ । आफू पनि सासू हुनु पर्छ भन्ने भुलेर मालिक्नीले सासूप्रति गरेको नीच व्यवहार सम्झँदा पनि पीडाबोध हुन्छ” ,उसले भनी ।
“एउटी नारीले असल विचार र व्यवहार गरिदिएको भए म यहाँ आइपुग्ने थिइन । लक्ष्य पूरा हुने थियो । घर सजाउने बिगार्ने नारीकै हातमा हुने रहेछ । म आफू महिलाबाटै प्रताडित भएकाले पनि त्यस्तो लागेको हुन सक्छ । आँ गर्दा अलङ्कार बझ्ने जस्तो हुनुहुन्छ, कुरा आफैँ बझ्नुस् ।” आफ्नो भोगाइ मेल खायो । नेपाली सामाजिक यथार्थता पाएँ उसको विचारमा ।
ऊ फेरि अर्को प्रस्तुतिका लागि गई । मेरो मनमा उसको विगतसँगै उसले भनेका कुराहरु खेलिरहे । के हो अंकल, अन्टी बनाउने सुर छ क्या हो ? भतिजले जिस्क्यायो । उसको कुरामा म खिस्स हाँसिदिएँ ।
ऊ फेरि आई पसिना पुछ्दै ।
‘‘जुस मात्र पिउने ? जे भन्नुहुन्छ मै खुवाउँछु भन्नुस् ।” ऊ बोली ।
‘‘आफू त शाकाहारी, धुम्रपान मध्यपान नि चल्दैन, यति नै ठिक छ ।” मैले भनेँ ।
‘‘कति छ कमाइ, खुसी छौ यहाँ ?”
प्रश्न फुत्कन नपाउँदै उसले भनी, ‘‘कुनै पनि काम सानोठूलो राम्रो नराम्रो हुँदैन । मात्र मान्छेको त्यसप्रतिको विचार र व्यवहारले फरक पार्ने कुरा हो । शोषण जहाँ पनि छ । श्रमको उचित सम्मान र काम अनुसारको ज्याला नपाउँदा नै युवाशक्ति विदेशिँदो छ । देशको समृद्धि आकासको फल बनिरहेको छ । खै के भनूँ देखिहाल्नु भो । रुप र यौवन छउन्जेल त यसरी चल्ला, भविष्यले तर्साउँछ कहिलेकाहीँ ।”
उसको कुरा सुनिरहँदा देशमा असफल, अविवेकी नेतृत्व र भ्रष्ट प्रशासन सम्झँदै रिस उठ्यो ।
सुन्दर बस्ती, गोठालो जाँदाको समय, गट्टा र चङ्गा खेल्दाको रमाइलो विगत । आहा ! बालापन फर्किए । पीडा लुकाउँदै प्रेमिल विगत सम्झेर ऊ मुस्कुराई । घरहरु टाढाटाढा भए पनि नजिकका हुन्छन् सम्बन्धहरु गाउँमा । सहरमा नजिक घर सम्बन्ध टाढा,पक्की घर कच्चा सम्बन्ध । प्रशस्त धन, मानवताविहीन मन यहाँका मान्छेहरुका । यो सहरको उकुसमुकुसबाट उम्कने मन छ छिट्टै । उसको विगत रिलझैँ घुम्यो । ऊ भावुक देखिई । नाम जस्तै थिई ऊ । क्या गहन र यथार्थपरक कुरा गरी । मान्छे जस्तो देखिन्छ उसको यथार्थ कहाँ त्यस्तै हुन्छ र ? पूर्णिमामा ग्रहण त लागिसकेको रहेछ । उसको कथाले मेरा आँखा रसाएछन्, अर्कोपट्टि फर्केर गहमा टिल्पिलाएका आँसु पुछेँ ।
जुस पिउँदै कुरा गरिरहेका हामी । बारको तामझाम उस्तै थियो । आफूमाथि अहिलेसम्म नराम्रो केही नभएको भए पनि साथीहरुका दैनिकी र तिनले भाेगेका पीडाहरु पनि उकेली उसले । थोरै लजाउँदै भनी, ‘‘नशाले लठ्ठिएपछि मनलाग्दाे गर्न खोज्छन् । जोगिनु पर्छ आफैँ सचेत बनेर ।” ऊ जे भनिरहेकी थिई आखिर भइरहेको थियो पनि त्यही । जे जस्तो भोग्नु परे पनि मान्नै पर्ने भएकैले त मानिस भनिएको होला मान्छेलाई । जस्तो चोट परे पनि मान्न अर्थात् त्यसलाई स्वीकारेर आशाको त्यान्द्रोमा झुन्डिएर भोगिरहेछ मान्छेले जिन्दगी । काठमाडौँले केहीका रहर त पूरा गरिदिएको होला तर रहर साँचेर सहर छिरेका कैयौँको जिन्दगी भासमा डुबाइदिएको छ । सहरको रहर कहरपूर्ण देखेको भोगेको छु मैले पनि । बानियाँ सभ्यतामा कहाँ माया ममता भेटिन्छ र ?
‘‘अब कहिलेसम्म यसरी यहाँ काम गरिरहन्छ्यौ त ?”
‘‘पढ्ने अवसर पाएँ भने छोडिहाल्छु । म यहाँ मोहले कहाँ बसेकी हुँ र ?”
तारा रहरले, सरु सङ्गतले, उर्मिला सयलको लालसाले, ममता पारिवारिक लाडप्यारले, पूर्णिमा बाध्यताले जो जसरी यहाँ आइपुगेका भए पनि तिनको अवस्थाले मलाई घोचिरहेको थियो । पिउने-पिलाउने, हाँस्ने-हँसाउने, नाच्ने-नचाउने कार्यमा अभ्यस्त भइसकेका थिए सबै । ती मान्छे नभएर बजारका पुतलीझैँ भइसकेका थिए । व्यवहार पनि त त्यस्तै थियो सभ्य मान्छे कहलिएकाहरुको । समय आफू अनुकूल चलुन्जेल आफूलाई शेर सम्झन्छ स्वार्थी मान्छे । सुख, खुसी, स्वर्ग आनन्दको परिभाषा पनि त कहाँ समान छ र ? आटोपीठोमै सुखखुसीको अनुभूत गरिरहेछन् कोही त कोही सुरा सुन्दरीको उपभोगलाई स्वर्गीय आनन्द ठानिरहेछन् । संसारको लीला अनौठो ।
पूर्णिमा मनमा बसेकी थिई । खै, किन कोही यति छिट्टै मन पर्छन्, दिलमा बस्छन् म जान्दिनँ । सच्चा प्रेम यही होला सायद । उसको विचार, बानी-व्यवहारले प्रभावित थिएँ म । बारमा काम गर्नेप्रति जुन नजर र व्यवहार राख्छ मान्छे । फूलको आँखामा फूलै संसार मेरो मनले त नराम्रो केही सोचेन । राती करिब १२:३० पछि बन्द भयो बार । सबैलाई भ्यानले बाससम्म पुर्याइदियो । भोलिपल्ट म गाउँ फर्के । घर सल्लाह गरेर उसको सपना पूरा गरिदिने सोच थियो । त्यही सोचले एक महिनापछि भतिजलाई सोध्दा ऊ त्यहाँ नरहेको पो खबर पाएँ । उसको सपना र भविष्यले मलाई पिरोलिरह्यो लामो समयसम्म ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

