म बलिन्द्राधारा अश्रु बगाउँदैछु । पर्वाह गर्नेले सोध्लान्, म किन यति हतासिएकी छु भनेर । मेरो दयनीय, कारुणिक अवस्थाले पक्कै पनि कसैको मृत्युले शोकाकुल भएकी हो भन्ने सङ्केत गर्ला । हो, म तपाईं हाम्रै सपनाको मृत्युशोकमा डुबेकी हुँ, सपनीशोक परेको छ मलाई । नसोध्नुहोस् मलाई मेरी सपनाका बारेमा, उसका नरम मुलायम हातरुपी सिरानी मेरो शिरबाट खोसिएको छ ।

म तपार्ई हाम्रै कथाको मलामी जादैँछु । मेरा पाउमा जाँतो बाँधिएझैँ भएको छ , नसोध्नुस् मलाई बाँधिएका पाउले कङ्कडमय बलौटे बगरमा हिँड्नुपर्दाको पीडा । मेरा पात्रहरूको गर्भमै मृत्यु भएको छ । मेरो सपना र पात्रहरूको अकाल मृत्यु भएको खण्डमा मलामीमा सरिक भइदिनुहुन म सबैलाई शोकसन्तप्त निमन्त्रणा गर्दछु ।

अस्ति भर्खर गएकी रजनीमा मैले देखेकी सपनी आज खसेकी हुन् । मैले सपनालाई बाहुपाशमा च्यापेर राखिरहन सकिनँ । सपना त च्यापिन्नन् मिहिनेतको शिलामा हाड खियाउन सके पाउन सकिएला नत्र त ती मेरी सपनाजस्तै परमात्मामा लीन भइजान्छिन् । सपनाले कहिले दर्शन दिन्छिन् टुङ्गो हुँदैन । सपनालाई पर्खनु भगवान्ले कहिले दर्शन देलान् भन्ने आशमा मन्दिरमा ढुकेर बस्नु हो। सपनाको साटो वर्तमानमा हामी विपनालाई पाउछौँ जो मजस्तै असङ्ख्य सपनाहरुको मलामीमा सरिक भइरहेकी हुन्छिन् ।

स्नेहा पोखरेल

एक रात मेरा दिमागका नशा चड्किए र देखेकी थिएँ मैले सुन्दर कथा लेख्ने सपना । तर दुर्भाग्य ! त्यो सुन्दर पूर्णचन्द्रको रातमा देखिएकी बिछट्टै राम्री सपनाद्वारा लेखिएकी कथाकुथुंग्रीलाई मैले ब्यूँझिएपछि सम्झन सकिनँ । सपनीको कुथुङ्ग्रीलाई सम्झन नसके पनि विपनीमा आफैँले कलमले केरेर अधुरो सपना पूरा गर्छु भन्ने अठोट तब टुट्यो जब मैले मिहिनेतको शिलामा आफ्ना हड्डी घोट्न सकिनँ । भागीरथ प्रयत्न गरेर मैले शब्दहरू जोडेर वाक्य बनाउन सके पनि ती वाक्यमा कथा भने भर्न सकिनँ । झुलुक्क भगवानले दर्शन दिएजस्तो, आवाज बिनाको झिल्के चट्याङजस्तो त्यो कथामा के पो थियो होला ! त्यो कथाका पात्रहरु सपनीको गर्भमा धारण त भए तर मैले तिनलाई सुत्केरी गराउन सकिनँ । ती गर्भमै तुहिए । पात्रहरू तुहिएपछि सन्तानशोकमा परेकी मेरी सपनालाई मैले चाहेर पनि बचाउन सकिनँ । यसरी सुनौला अक्षरमा पात्रहरूको कथा केर्न असमर्थ भएपछि सपनाले यिनैजस्ता केरेर च्यातिएका रफालिएका पानामा अन्तिम सास फेरेकी हुन् ।

आफ्नै कक्षमा बसेर सिसाकलमले मेरा हातले पाना भर्दै थिए । “हन्तकाली एण्ड हर हर्मोन्स्” गाढा अक्षरमा पानाको सिरानमा टल्किरहेको थियो । त्यसमुनिका अक्षर धमिलिएर केही समझमा आउँदैनन् । त्यो शीर्षकको टल्काइले मेरो सामर्थ्यमाथि खिसी गर्दै छ । यस सपनाले मलाई जीवनपर्यन्त तर्साइरहने छ भन्ने भयले मेरो हृदयको कम्पन झन् बढ्दो छ किनभने यस शीर्षकलाई मेरी सपनाको चिताको आगोले मेरो स्मृतिबाट मेटाउन सक्नेछैन जसरी सकेको थिएन आगोले सतिलाई जलाउन, जसरी सकेको थिएन सितालाई पोल्न । एउटी सपनाको वियोगमा विक्षिप्त मलाई आज मानवजगत्का असङ्ख्य सपनाहरूको मृत्यको कल्पना मात्रले पनि थप अत्याएको छ । कृति सपनाहरू मेरोजस्तै स्मरणमा नआउँदा हुन् । कतिपय सपनाहरूको अस्तित्व मगजमा पनि नरहँदो हो, विपनीमा तिनको अस्तित्व के रहन्थ्यो होला र ! तमाम मनुवाका जीवनभरका सपनामध्ये केही थान मात्र पूरा हुँदा हुन् । म चाहन्नँ अब मेरा अरु कुनै सपना यसरी अल्पायुमा मलाई छोडेर जाऊन् ।

शोक मनाइरहँदा मलाई के लागेको छ भने, हाम्रो मगज सपनाहरूको तारामण्डल हो । जुन तारामण्डलबाट दुई चार वटा सपना खसेनन् भने अन्य रचनाहरुको अस्तित्व नामेट हुने गरी प्रलय अउनेछ । सबै मनिसहरूका सारा सपना पूरा हुने भए के हुन्थ्यो होला ? के पृथ्वीमाताले सबैका सपनाको भार बोक्न सक्थिन् होला र ?

सपना अवचेतन मनको कामना, कुण्ठा हो । सपना मोह, लालसा र चाहना हो । त्यसैले त सपना मानिसहरूले मात्र देख्छन्, नदेख्दा हुन् त ती देवात्मा भइसक्थे होलान् । किनकि देवात्माका त चाहना पनि त्यति धेरै नहुँदो हो । तिनलाई पूरा गर्न टुप्पी कस्नु, हाड घोट्नु र सम्पत्ति साँच्नु नपर्दो हो अनि तिनका मनमा क्लेश पनि नरहँदो हो ।

खैर, मानिसका दुईचार वटा सपनाले अरु सपनाको सार्थकता, पूर्णताको निम्ति अकालमा आफूलाई यमराजका सामु समर्पित गर्नैपर्छ (सपनाका मृत्युदेव पनि यमराज नै भएको खण्डमा) । अन्यथा के मानिसले आफ्ना सपना पूरा गर्न दुईतीन गुणा बढी परिश्रम गर्थ्यो होला र ? के अघिल्ला सपना नखसी पछिल्ला सपना पूरा हुनुको हर्ष त्यति नै हुन्छ जति खसेपछि शोकमा जोश मिलाएर पूरा गर्दाको क्षणमा हुन्छ ?

मेरी सपनाको बलिदानले आज मलाई आकण्ठ ऋणमा डुबाएको छ । उनको यस बलिदानको कदर गर्दै म मेरी सपनालाई शहीद घोषणा गर्दछु । उनी मरेर गए पनि यी पाना भरेर गएकी छिन्, यी अक्षरमा उनी जीवित रहनेछिन् ।

हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन कथा दुई चार पात्र मरेर नगए

भूपिका शब्दहरुलाई गिजोलेर मैले मेरी सपनाको त्यागको कदर गर्ने धृष्टता गरेकी छु । दिवङ्गत मेरी सपना जसले “हन्तकाली एण्ड हर हर्मोन्स” सुत्रपात गरिन्, उनको आत्माको चिरशान्तिको कामना गर्नुहुन म सबैलाई आग्रह गर्दछु ।

यस स्वप्नशोकले मलाई थप बलवान् बनाएको छ र भविष्यमा देखिन सपनाहरू पूरा गर्न ऊर्जाको अनन्त स्रोत प्रदान गरेको छ ।