“केटाकेटी त के भए के ? सारै बिग्रे । कहाँ, कोसँग , के बोल्ने भन्ने पनि थाहा छैन। खाली फोनमै झुन्डिन्छन्। भनेको टेर्ने पनि हैन ।”

सायद अहिले यसो नभन्ने अभिभावक बिरलै भेट्छौँ होला । तर बच्चाहरु यस्तो किन भए ? कसैले कारण खोज्ने प्रयास गर्नुभएको छ त ?

जन्मदै बच्चाले केही सिकेर आएको हुँदैन । माया र आफ्नोपन,खुसीको हाँसो र रोदनको आँसु सबै यही संसारले उसलाई सिकाएको हुन्छ । आफ्नो वरिपरि के भइरहेको छ ? को कस्तो बोल्दै छ ? के बोल्दै छ ? भन्ने कुराले बच्चाको मस्तिष्कमा सजिलै छाप पार्ने गर्छ । उसमा के सही के गलत भनेर छुट्टाउने मानसिकताको विकास भएको हुँदैन । उसले जे देख्छ त्यही बाटोमा हिँड्ने प्रयास गर्छ ।

परिवार कस्तो छ ? तीन कुराले निर्धारण गर्ने गर्छ । हजुरको घरमा गरिने बसिबियालो केसँग सम्बन्धित हुने गर्छ त ?

१. कसैको बारेमा कुरा गरेर
२. विगतका कुरा र आजका समस्याहरुको बिलौना गरेर
३. आजका समस्याको समाधानको विकल्प बारे सोचेर, साथै बाँकी हरेक कुरामा एकअर्काको विचार साझा गरेर,

लाइसा भुसाल

यदि हजुरको परिवार पहिलो नम्बर अन्तर्गत पर्छ भने हजुरको परिवार राम्रो छ । त्यस्तै दोश्रो नम्बर भए अझै राम्रो तर यदि तेस्रो नम्बर अन्तर्गत पर्छ भने हजुरको परिवार उत्कृष्ट छ । अब आफैँ विचार गर्नुहोस् कुन परिवारमा बच्चाले के सिक्नेछ ।

संगतको कुरा गरिरहदा सुन्तलाको छेउमा रोपेको करेला कहिले गुलियो भएको छ र ? भन्दै प्रश्न गर्नुहुन्छ होला तर कागको अन्डा कुखुराको अन्डासँगै राखिदिएपछि त्यस अन्डाबाट निस्किएको कागले आफ्नो क्षमता नै नचिनी उही कुखुराकै बथानमा बसेर उडिरहेका चराहरु जस्तै उड्न पाए पनि हुने नि भन्दै बिलौना गरेको कथा पनि त हामीले नै सुनेको छौँ नि ।

त्यस्तै अर्को एउटा उदाहरणः

यदि कोहि व्यक्तिले १२-१५ वर्षसम्म एक जना अर्बपतिको संगत गरिरहनु भएको छ भने उहाको जस्तै सोच, चालचलन, व्यवहार र अध्ययनको प्रभावले केही अन्तरालपछि उहाँ अर्बपती नै नभए पनि त्यसैको हाराहारीमा पुग्ने निश्चय हुने गर्छ। त्यसैले संगत गुनाको फल भन्ने कुरालाई म आत्मसात गर्छु।

“आज अरुका छोराछोरी कहाँ कहाँ पुगेर के के गरिसके ? कति कमाए । यो गरे त्यो गरे। तर हाम्रा ? अझै केटाकेटी जस्तै गर्छन् । निर्णय लिने , दायित्व बुझ्ने भन्ने केही छैन ।” यसो भनिरहनुहुन्छ भने एकपटक सोच्नुहोस्;

के हजुरले आफ्नो बच्चाको अभिरुचिबारे कहिले केही बुझ्न खोज्नुभयो ?

रोइरहेको बच्चालाई नरोउ भन्नुको सट्टा रुनुको कारण सोध्नुभयो ?

स्कुल जान्न भन्छ । किन भनेर जान्न खोज्नुभयो ?

र मुख्य कुरा यो गर्छु भन्दा के भन्नुभयो ?

. नाइँ सक्दैनौ । यो भन्दा यसमा यो राम्रो हुन्छ नि।

२. हुन्छ। प्रयास गरेपछि कसो नहोला।

बच्चा लड्यो उठाउनुभयो कि उठ्न सिकाउनुभयो ? कि लड्ने बाटो हिँड्नै दिनुभएन ?

तर ख्याल गर्नु लड्नु आवश्यक छ । हो, हजुर त्यही मैदानमा पछारिनुभएको होला तर एक खेलाडी पछारिएपछि के अर्को खेलाडीलाई मैदानमा जानै नदिने त ? चिन्ता जायज हो तर नियन्त्रण कदापि हैन।

आफ्नो बच्चा नराम्रो र असफल होस् भनेर कसैले पनि चाहनुहुन्न । उहाँ आफूले जतिसुकै नपढेको भए पनि उहाँलाई पढाइको महत्त्व थाहा छ । पढेपछि जागिर गर्न पाइन्छ भन्ने कुरा निश्चय गरेर बस्नुभएको छ । त्यसैले त हरबखत पढ्नुपर्छ भनिरहनुहुन्छ । स्कुलको किताबले धेरै कुरा सिकाउँछ भन्ने कुरामा दुई मत पनि छैन । तर स्कुलको किताब बाहेक पनि धेरै किताब हुन्छन् जसले हाम्रो ज्ञानलाई अझ तेज बनाउने गर्छ । त्यसैले बाहिरी किताबहरु पढ्ने बानीको विकास गर्नुपर्छ ।

पढाइ आवश्यक छ । तर पढाइका माध्यम केवल किताब कहिले हुँदैनन् । किताबी ज्ञानले व्यवहार सिकाउँदैन। हामी बच्चालाई पढ्नुपर्छ भनेर सधैँ सिकाउँछौँ तर आफू भने फोनमै व्यस्त हुँन्छौ भने बच्चाले पढेन भन्ने अधिकार कुनै अभिभावकलाई छैन। टेलिभिजन हेर्दा केबल मनोरञ्जनका कुराहरु मात्र रोझ्छौ भने सङ्गै बसेको बच्चाले अरु ज्ञानवर्धक कुराहरु पनि त्यहाँ हेर्न पाइन्छ भन्ने कुरा कसरी थाहा पाउँछ त ? उसलाई त लाग्छ यो मनोरञ्जनको बाटो मात्रै रहेछ ।

“सानोलाई माया ठुलोलाई आदर गर्नुपर् छ। दिनदुखीहरुलाई सहयोग गर्नुपर् छ। सबै मान्छे बराबर हौँ । कोही सानो ठूलो जात भन्ने हुँदैन । कुनै काम सानोठुलो हुँदैन ।” स्कुलको किताबदेखि आमाबुबाको बोली सबैमा यो ज्ञान कति सजिलै भेटिन्छ नि है। तर जब व्यवहारको कुरा आउछ तब यो ज्ञान कता हराउँछ ?

कसैसँग नराम्रो बोल्नु हुँदैन भन्ने सिकाउँदा सिकाउँदै कसैले आफ्नो केही काम नगरिदिएको भए कति सजिलै गाली भेटिन्छ । आफ्नो भन्दा पहिले अरुको समस्या देख्न सक्नुपर्छ भन्दाभन्दै” मलाई जस्तो परेको भए पो बुझ्थ्यो । उसलाई आफ्नै पिरलो छ । त्यति जाबो त भोलि गरे पनि त केही बित्ने थिएन। पैसा लिन मिल्ने ठाँउ भए गर्दिन्थ्यो होला नि।” भन्ने सोच कति छिट्टै उत्पन्न हुन्छ।

बच्चालाई सहयोगी हुनुपर्छ सिकाउनेले घरमा कोही जोगी माग्न आउँदा “ए! एक्छिन् बाहिर नजा है” कति सजिलै सुनिन्छ। भर्खर बैंकबाट पैसा निकालेर आएको भए पनि बाटो हिँड्दा माग्नेहरुलाई “आफूलाई त खान छैन” भन्न यो मनले कति सजिलै मानिदिन्छ।

घरमा आएका सिकर्मी, डकर्मीसँगै कथित तल्लो वर्गका मान्छेले खाएर बाहिरै माझेको भाडा फेरि आफैँले माझेर भित्र लैजाँदै गर्दा पनि सबै बराबर कसरी भएका होलान् ।

सबै पेसा बराबर भए पनि डाक्टर, इन्जिनियर, शिक्षक, पाइलट आउँदा पानी टक्राउने सिसाको गिलास ड्राइभर र किसान आउँदा स्टिलको कसरी भएको होला । यो सबै दृश्यलाई बच्चाले आफ्नै घरमा देखिरहेको हुन्छ । अब यसलाई उसले कसरी लिन्छ ? र त्यहाँबाट उसले के सिक्छ ?

हिजो एकजना बहिनीसँग कुरा गर्दै थिएँ । सपना, लक्ष्य र चाहनाका कुरा गरिरहँदा उनले आफ्नो चाहना र लगाब डिजाइनर बन्ने उल्लेख गरिन् । साथै आफूले कोरेका केही डिजाइनहरु पनि देखाइन् । साँच्चिकै ती निकै राम्रा थिए । म खुसी मान्दै हेर्दै थिएँ उनी बोलिहालिन्, ” अब यसलाई हवि मात्रै बनाउने त होला ।”

म झस्किए, ” किन?”

“यसलाई लक्ष्य त कसरी बनाउनु बुवाले डाक्टर बनाउने भन्नुभएको छ । यतिका पढाएर सिलाइबुनाइतिर गए पढाइको सम्मान हराउँछ भन्नुहुन्छ ।”

म स्तब्ध भएँ ।

पढाइ, सिकाइ र गराइ बिना कुनै पनि कार्य सम्भव छैन भने सबै काम समान किन हुन सकेनन् होला ? उसले पढेको समानता अब कहाँ भेटियो ? आफ्नो खुबीले पहिचान गर्ने लक्ष्य कता हरायो ? सबैले एउटै पेसा मात्र रोज्ने हो भने आफूमा भएको केही फरक कहिले काम आउने ? आज आफूमा भएको अरुभन्दा केही फरकको सदुपयोग नगरे भोलि नयाँ कुराको सृजना होस् भन्ने आश कुन अधिकारले राख्ने?

बच्चालाई गाली गर्नु हुँदैन। उसलाई स्वतन्त्र छोडिदिनुपर् छ। तर ऊ के बोल्दै छ ? के गर्दै छ ? कस्तो कुराहरु सिक्दै छ ? भनेर बुझ्ने कर्तव्य अभिभावकको होइन र ?

आज बच्चा छाडा बोल्यो भनेर गाली गर्नुहुन्छ। तर हिजोको दिन जब ऊ सिक्ने समयमा थियो हजुर के गर्दै हुनुहुन्थ्यो त ? आमालाई तँ भन्यो, ” ओहो बाबुले त मलाई तँ भन्यो हाहाहा ।” ।

अहिले समाजमा, स्कुल, क्याम्पस, अफिस हर कहीँ बुल्लिङको समस्या देखिरहेका हुन्छौँ तर सुरुवातको बुल्लिङ आफ्नै घरमा भैरहेको कुरालाई भने हामी हौसला दिइरहेका हुन्छौँ। कोही पाहुना आएको दिन उसैको बारेमा केही नराम्रो अर्थात केही मन दुख्ने कुरा भनेको छ । दिदी त यस्तो, दादाले त यस्तो गर्नुहुन्छ, सँगै नराम्रो कुरामा पनि तुलना अनि त्यो कुराको निचोडमा “बच्चा त हो हाहा” भन्दै त्यो कुरा टारिन्छ। तर त्यो बेलामा हाहाको सट्टामा ” बाबू नानी येस्तो भन्नू गलत कुरा हो है” भन्दै केही सिकाएको भए सोही कुरा बारम्बार दोहोरिने थिएन। आजको छाडापन सम्म पनि सायदै आउने थिएन ।

घरमा बच्चालाई गरिने अझै अर्को गल्ती:

घरमा दुइजना बच्चाहरु छन् । एउटा बच्चाले केही गल्ती गर्यो । ऊ मैले गरेको हैन भन्दै दोष आफूभन्दा ठूलो बच्चालाई लगाउँछ । पहिलो गल्ती बच्चाले झुट बोल्न सिकिसक्यो ।

उनीहरु सँगै खेलिरहेका छन् । अब सानो बच्चाले गल्ती गर्यो । रोयो। अथवा आफै कतै ठोकियो अनि रोयो । बाबा आमा भन्नुहुन्छ ” ए के गरिस् उसलाई ? राम्रोसँग खेल्न सक्दैनौ ? आफू ठूलो भएपछि सानोको बारे सोच्नुपर्दैन ?” जब उहाँहरुलाइ सानो रुनुको कारण पनि थाहा छैन। सानोलाई चुप गराउन गाली र दोष सबै ठुलोलाई लगाइन्छ। एकपटकको कुरा साम्य हुन्छ। तर जब त्यही कुरा र गल्तीहरु दोहोरिरहन्छन्। एउटाको गल्ती तर दोषी सधैं अर्को नै भइरहन्छ।

एकजनामा गलत कुराको लागि हौसला बढिरह्न्छ भने अर्कोमा सोही कुराले गर्दा उसको मानसिकता नै बद्लिन्छ। खाने, बस्ने, उठ्ने, हिँड्नेदेखि हरेक कुरामा मजाककै रुपमा भए पनि उसको गलत मूल्यांकन भइरहेको हुन्छ । सहि कुरा गर्न पनि उसलाऐ धौ-धौ हुनसक्छ । आखिर जसरी पनि दोषी नै त हुनु छ ।

जब उसको कुरा सुनिदिने कोही हुँदैन, ऊ मौन बस्न रुचाउँछ । सहि गलतभन्दा पनि उसको राय शब्दविहिन हुन थाल्छन् । त्यो मौनता कि त शक्ति बन्छ कि त दुर्बलताको प्रतीक बन्ने गर्छ। शक्ति भए मान्छेलाई कठोर बनाउँछ भने दुर्बल हुँदा मानसिक रोगी।

आज मानिसहरु धेरै मानसिक रोगको सिकार बनेका छन् । जुन कुराबाट उसको घरपरिवार नै अञ्जान छ । घरमा केही गल्ती हुँदा, “ए होस् नै पाइनँ ” भन्दा “के बोलेको त्यस्तो सुस्त बोल्। सुन्नेले के भन्छ?” जब बेला बेलामा झक्झकाउन आउने सुसाइडल थट्सबाट ऊ आत्तिन्छ । आफूले मानसिक रुपमा असजिलो महसुस गरेको केही कुरा भनिहाल्छ भने पनि कति सजिलै जवाफ आउछन्।

“तँलाइ के कुराको कमी बनाएको छ र हामीले ? कायर होस् तँ ? यति हिम्मत पनि राख्न सक्दैनस् ?”

जो व्यक्ति जनावरको हत्या हेर्न पनि डराउँछ ऊ आफ्नै हत्या गर्ने कुरा गर्दैछ भने उसलाई कायर भन्नु कत्तिको सान्दर्भिक ठहरिन्छ ?

…तर घरमा आफूआफू बिच कुरा चल्न सुरु भइसक्यो, “अब यसको बिहे गर्दिएपछि ठिक ठाउँमा आउँछ।”

यहाँ मानसिक रोगको उपचार कति सजिलै भेटिन्छ । बिहे ।