शहरमा नाटक चलिरहेका छन् । औंलामा गन्न सकिन्छ, तर गनिरहन अल्छी लाग्छ । नाटक पल्लो कुनामा चलिरहेको छ, वल्लो कुनाहरूमा राजनीतिक टिप्पणीहरू चलिरहेका छन्, जो साह्रो बेस्वादिलो छन् । नाटकहरूले जिब्रो पट्काउन दिएका छैनन्, ट्वाक्क ।  यो यस्तै कुरा हो, सबैले सबै गर्दैनन् ।  अंशियार हुनु नै जीवनको सार हो  ।

शहरमा चलेका नाटकहरूलाई हामी कविता महोत्सव, कला प्रदर्शनी, पुस्तक भेला (मेला), चिया सुरुप्प सुरुप्प र दारु झ्याप्प झ्याप्प जस्ता उपनामले बोलाउनेछौँ ।  लाग्ने गर्दछ, उपनाम परिचितकै हुने गर्दछ ।  र, म शहरका प्रायश: नाटकहरूसँग परिचित छु ।   बाँकी नाटकहरू मबारे परिचित होलान् ।  भनिहालें- अंशियार हुनु नै जीवनको सार हो ।  सम्पूर्णत खोज्नु मूर्खता हो ।  यही म्रुख्याई विद्वानहरूले गरिरहेकाले उनीहरू पटमूर्ख घोषित भएका हुन् ।

लेख्नु र नलेख्नु दोसाँधमा म आज पनि जकडिएको छ ।  म आफैँ आफ्नो लेखाइसँग सन्तुष्ट छैन ।  र, म पाउँछु- मबाहेक हरकोही मेरो लेखाइसँग सन्तुष्ट छन् ।  गफ होइन, भेट हुँदाका गफगाफमा प्रसंशाका केही हरफ र केही कप चिया मैले यो वा त्यो शहरमा खाइरहेको छु ।  चिया खान बोलाइएका निम्ताहरूलाई टार्ने काम गरिरहेकाले यो गलफतीमा उत्रिएको हूँ ।

मलाई लाग्दछ, म आज ३ महिनापछि अलि ढुक्कसँग लेख्न बसेको छु ।  ३ महिना नलेख्नुका विविध कारण होलान्, रहलान् ।  मूलत: ‘लेखुँला-लेखुँला’को ‘लाछी मनोभावना’ प्रमुख कारण हो ।  म सोच्ने गर्दछु, कोही किन लेखुँला लेखुँला गर्दछ तर लेख्ने गर्दैन ? कोही किन शीर्षक ‘कलर नोट’मा टिपेर महिनौँ अरूका लेख-रचना र चुट्किलाहरू सुनिरहने गर्दछ ? यस सहरसँगको पौने दश वर्षको उठबसले मलाई बताउँदछ कि – यहाँ लेख्नु-नलेख्नुको कुनै भेद छैन ।  राजधानी सदैव तीन तिघ्रे बनेर हिँडेको छ, यसको मर्दांगी कला-भाषाप्रेमीको लागि टाउको दुखाइको विषय हो तर, दैनिकी उठबसका क्रममा योसँग आफ्नो इज्जत नसाटी धरै छैन ।  यो शहर आफ्नो ऐतिहासिक र पुरातात्त्विक गौरवगाथालाई सम्झदै बाडुल्की पनि ओकल्दो हो तर..।  तर, ऊ जनकलाल शर्माको ‘हाम्रो समाज एक अध्ययन’ बटुलेर कतिन्जेल बस्न सक्छ ? यसपछि उसले मजस्ता धेरैको घाँटी अठ्ठाउँदो हो र कट्टु फुस्काइदिँदो हो ।  उसलाई यसमै मज्जा छ त मेरो के चल्छ ?

कहिलेकाही निन्द्रा नपर्दा, बिहानसम्म पनि आँखामा कचेरा जम्मा नहुँदा, म सोच्ने गर्दछु- ‘प्रदीप गिरी के कति स्वादले संसदमा हाई -हाई गर्दै संसदका उखानहरू सुन्थे होला ? सत्यमोहन जोशी कुन उन्मादमा देशदेशावर डुल्ने गर्दथे होला ?’ बितिजानेका के कुरा, बाँचिबस्नेहरूमा पनि यस्ता धेरै नाम छन्, जो निरन्तर लेखिरहेका छन् ।  तर, किन लेखिरहेका होलान् ?  पट्यार पनि नलाग्ने ।  वाक्कदिक्क पनि नहुने ।  बरै.. मान्नु छ यिनको हिम्मतलाई पनि ।

एउटा साथी हाइकमा गएकी थिई, उसले संस्मरण लेखिपठाएकी छे ।  ऊ लेख्छे- ‘जिन्दगीको यात्रामा बाटोहरू टुंगिनै लाग्दा पनि विकल्पहरू भेटिन्छन् र भेटिएका पनि थिए ।’ उसले जुन विकल्प भेट्याई, त्योसँग पनि मलाई समस्या छ ।  म छुट्नु र उसले विकल्प भेट्नु  एकैचोटि भएको थियो ।  तर, गुनासो कति गर्नु ? सबैसँग सबैको लागि हार्दिकता कहिलेसम्म रहोस् ? कोहीसँग कसैको लागि सदिच्छा कहिलेसम्म होस् ? मान्छे पनि त निम्ठो हुन्छ, बिटसम्म भरिएपछि पोखिन्छ ।  कोही माना होलान्, कोही पाथी तर, हरेक निम्ठो हुने चाह राख्छन् र पोखिन्छन् ।  भरिनु नियति हो भने पोखिनु स्वाभाविकता हो ।  यहाँ म सोही काम गरिरहेछु । भरिइरहेछु ।  पोखिइरहेछु ।

चिसोले नाक चुहिएको छ ।  काठमाडौंको पनि नाक छ, तर उसको गन्ध हराइसकेको छ ।  म अझै गन्धालु (सुगन्धालु ?) छु सायद र, मलाई लेखाइको गन्ध वाँस आइरहेछ ।  हो, लेखाइ एक गन्ध हो ।  यो गन्ध मनपराउने मौरीहरू कम छन्, बाँकी केजीका केजी चिनी बुत्त्याउनमै लागेका छन् ।  तिनीहरू उखुको ढाक चिन्दैनन्, तोरीका फाँटहरू जान्दैनन् ।  नित्य भुन-भुन तिनको खाइपाई हो ।  भरपाई हो ।  चारपाई हो ।  मुवारक !

चिसोले नाक चुहिँदा दिमागको एक नशो बटारिन्छ ।  तातो हुने मेलोमेसोका तमाम उपकरणहरू मलाई यतिबेला चाहिएको छैन ।  भनौं न, लेखेरै तात्छु भन्ने छ ।  तातिएनछ भने तातिएनछ, भुत्रैसित्ती ! तात्तिहालिएछ भने पनि तात्तिहालिएछ, भुत्रैसित्ती !  लेख्नु-नलेख्नुको दोसाँधमा एउटो किरो बत्तीमा झुम्मियो त के भयो ? बाचेछ भने भाग्य बलियो, मरेछ भने कर्महारा !

दाँतमा नङ छ, नहुनु पर्ने थियो तर छ ।  यो आदत हो, नहुनुपर्ने पर्ने हो तर छ ।

भनौँ न, जे लेख्दा पनि हुने भएको छ ।  नलेख्दा-नलेख्दा वाक्कदिक्क भएको मनुवालाई लेख्नुको अत्यासले न्याकेको छ किनकि यतिसम्म लेख्नु भनेको ‘लेख्न सकिँदो रहेछ’ भन्ने बोध हो ।  यो बोधको दुखाइ म महसुस गर्दैछु ।  मलाई साच्चैमा भन्ने हो भने आज पनि लेख्न थिएन ।  हिजो पनि मैले लेखेको हो झैँ मलाई लाग्दैन ।  भोलि लेखुला भन्ने त् सोचेकै कुरा होइन ।  तर, आज लेखियो ।  भनियो पनि, ‘नलेख्नु पर्थ्यो, लेखियो । ’

अब खुसी हुँदा हुने हो म ।  तर मन छैन ।  मन खुसी छैन ।

अब नाच्दा हुने हो म ।  तर, मन छैन ।  नाँच्न मन छैन ।

अब नलेख्दा पनि हुने हो ।  तर, मन छैन ।  नलेख्न मन छैन ।

त, फेरी लेख्नु पर्यो । नलेख्नुको असीमितता कारण लेख्नुको सीमिततामा थन्किएको छु ।  यसलाई थकान मान्दा ‘थाकियो’ भन्न पनि सकियो ।  तर नभन्ने ! हाललाई थाक्न मन छैन ।

यसप्रकारको मन हुनुका अनगिनत् कारण छन् ।  मसंग यतिखेर लेख्ने काम गर्नु बाहेक कुनै काम छैन ।  रुची छैन ।  जाँगर छैन ।  पेट भोको छ, भातलाई लात मारिरहेको छु ।  केहि संस्मरण र रिपोर्टीङ तयार पार्नुपर्नेछ, जाँगर छैन् ।  केहि अग्रजलाई आफ्नो तयार हुँदै गरेका कथाको पान्डुलिपि बुझाउन जानुपर्ने थियो, डेग चलेको छैन ।  धादिङ झरेर दुई चार ऐतिहासिक सामाग्रीको जोहो गर्नुपर्ने थियो, निस्कनै मन छैन ।  समग्रतामा भन्नुपर्दा, हाइसन्चोको स्थितिमा छु ।  तर, यसलाई ‘छटपटी’ भन्दा उपयुक्त हुन् सक्ला ।  यो सबै गन्थन एक छटपटाहट हो । छटपटाउनु जीवान्ताको बिम्ब हो भन्ने तोरी तर्कलाई म खोकनाको तोरी मिलमा लगेर पिँध्ने वाला छु, यसैले यस्ता तर्क नगर्नु !

आज दिउँसो दुई-चार कुरा भयो ।  हरेक दिउँसो हुने गर्दछ, नौलो कुरा केहि नै छैन ।  यसैले यसलाई ‘त के भयो ?’ भनेर बिट मार्यौँ ।

डेरा फर्कदै गर्दा, तास किनेँ ।  खेलिनँ ।  च्यातेँ ।  च्यात्नलाई आफ्ना कविता-कथा नहुनुले त्यसो गरेको हुँ । र, नमज्जाको कुरा के भन्दा, आजभोलि कापी-कलम समातेर कमै लेखिन्छ (विरलै) ।  यसो हुँदा च्यात्ने कुरा भेटिदैन । ल्यापटप च्यात्नु भएन । किताब च्यात्नु  मेरो हकाधिकार भित्र पर्दैन, म आफ्नो बाहेक हरेकको रचनाको सम्मान गर्छु ।  तर, फसाद कहाँ छ भन्दा- हरेकमा निकै कम व्यक्ति सूचिकृत गरेको छु ।

फेरि अर्कै कुरा गरि मन बहलाउनु छु ।  यो साँझ वियाल्नु छ ।  त, यसो गरौँ;

प्रेम जोसुवाको म्युजिक बजाएर छोडेको छु ।  एकातिर जोशन कुँवर ‘चौरी हिमाल चराउँदै’ गाउँदै छन् ।  अर्कातिर किबोर्डमा म खचाखच यिनै कुरा वाकीँरहेछु । भित्तोमा एउटा साङ्लोको अस्थिरपन्जर टाँसिएर बसेको छ ।  हिजो रातिको मेरै उपद्रव हुँदो हो । हो, हत्या उपद्रवमा दरिएको छ आजभोलि, सायद सदैव ।.. सामुन्नेको दुई रित्ता कप चिनी कमिलाले भरिएका छन् ।  तातो पानी खन्याएर तुइतुई पिइदिऊ कि भन्ने झोँक चलेको छ ।  तर मङ्सिर लाग्न लाग्दाको यो कार्तिके जाडोमा मलाई ‘खोला तर्नुछैन ।’  सो त्यसो नगरौं ।

म यहाँनेर एकछिन अल्झिएँ, ‘सो’ नेपाली शब्द हो ? हो क्यारे, ‘उक्त, त्यही’ जस्ता कुरा बताउनु पर्दा प्रयोग हुने सर्वनाम हो – सो ।  हाहा.. मलाई अङ्ग्रेजी शब्द जस्तो लाग्यो । ..अँ, यस्तो अनेकथरी लागिरहन्छ मलाई ।  आज बिहान अफिस निस्कन लाग्दा ‘ननिसक्यौं’ भन्ने लागेको थियो । अघि अफिसदेखि घरको लागि निस्कन लाग्दा पनि ‘ननिस्कौं’ लागेको थियो ।  अघि लेख्न थाल्दा पनि ‘नलेखौं’ लागेको थियो ।  अहिले लेख तुर्ने बेला भयो भन्दा पनि ‘नतुरौँ’ भन्ने लागेको छ ।  हाय, अस्थिरता !

प्रकाश पौड्याल मामाले कल गर्नुभयो ।  भन्दै हुनुहुन्थ्यो- ‘भान्जाश्री, माथिको निबन्ध पढेपछि म निकै हर्षित भएँ  र अचम्मित पनि । तपाईँको विचारको बुनाइ, घटनाहरूको सांकेतिक प्रस्तुति निकै अर्थपूर्ण छ । बौद्धिक पाठकको ठूलो माग यसले गरेको छ । बधाइ र शुभकामना । ’

उहाँसँग ३ सूर्यास्त अघि धादिङ बीचबजारमा भेट जुर्यो ।  उहाँ म कल्चर र हिस्ट्री लेखिरहेको/पढिरहेकोमा खुसी हुनुहुन्छ ।  म उहाँसँग धादिङ किन बौरिएन ? सोध्दै हुन्छु ।  उहाँ ‘हामी गर्नुपर्छ भन्नुहुन्छ ।’ धादिङको ऐतिहासिक र सांस्कृतिक विरासतका बारेमा प्राइमरी सोर्स नै जुटाउन परिरहेको गाह्रो मैले उहाँलाई सुनाएँ, उहाँले मुन्टो हल्याउनुभयो ।

तर, म फोन राखिसेपश्चात् सोच्दै छु कि, देशभर नै यही अवस्था छ । अबको एक दशक पनि यसैगरी बितिजाने हो भने हाम्रा तमाम संस्कृति गतार्थ हुनेछन् ।  ढिलो भएको छ ।  जागरूकताका ढिकीहरू मिर्मिरेमै चलेका राम्रा हुन्छन्, तर हामीसँग साँझ भइसके पनि ढिकी चलाउनुको विकल्प छैन ।  ढिकी- तमाम बेथिति र विसङ्गतिहरूमाथि पनि चलाउनु पर्नेछ ।  को तात्ने ?.. आगामी प्रदेशसभा चुनाव भन्दैछ – ‘म तात्छु ।’ ऊ तात्ने कुराले म तातेको छु ।  यो मुला तातेरै यो गति भएको हो । यो वित्यास परेको हो ।

दिउँसो कतै कोही मेरो कानसम्म आवाज पुग्ने गरी भन्दै थियो, ‘विश्व शौचालय दिवसको भोलिपल्ट प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव हुँदैछ ।  अब धेरैले त्यसै दिन हग्ने भए !’

त्यो आवाजमा जो मात थियो, माद थियो; त्यो यो लेखाइमा कहाँ ? अत: यसलाई बन्द गर्नु नै जाती हुन्छ ।