चाडबाड, खुसियाली मनाउँदा र साथीभाइ जमघटमा खसी, कुखुरा, राँगा, भैँसीहरु त्राहिमाम भए । बढ्दो होटल, ठेला पसल, युट्युबका रिसेप्सन पढाउनेहरुप्रति पनि उनीहरुको गुनासो नै होला । आज शायदै नलेखिएको भैँसीको गुनासा लिएर अलौकिक संसारको परिकल्पनामा व्यंग्यात्मक कथाकुथी गुथिएको छ ।
नर्कसम्राट यमराज पृथ्वीलोक भ्रमणका लागि दलबलसहित तयार छन् । पृथ्वी लोकमा पो जलवायु सम्मेलनमा पनि अपान वायु प्रक्षेपण गर्ने हुल बोकेर जेट प्लेनमा देश विदेश सयर गर्दछन् । स्वर्ग र नर्कमा आआफ्ना वाहनका रुपमा जनावरको प्रयोग हुन्छ । नर्क सम्राट आफ्नो वाहन राँगोलाई उपस्थित रहनका लागि चित्रगुप्तमार्फत् सन्देश पठाउँछन् ।
राँगो नर्कसम्राटको आदेशलाई बेवास्ता गर्छ । चित्रगुप्त अनुरोध गर्छन् – चाँडै तयार होऊ । नर्कसम्राटले आफ्ना माग सम्बोधन गरे मात्रै आफू तयार रहने कुरा सुनाइदिनु भन्दै चित्रगुप्तलाई फिर्ता गर्दछ ।
वाहनलाई नर्कसम्राटको सभामा उपस्थित हुनका लागि बोलावट हुन्छ । आफ्नो आज्ञाको अवहेलना गरेकोमा वाहनका तर्फबाट र आफ्ना तर्फबाट केही दूतहरूलाई विचार राख्न आग्रह गरिन्छ ।
पक्ष वक्ताः हे महिषवाहन, प्रमाणका लागि साक्षीहरु छन् । आवश्यक बकपत्र भैसकेको छ । घटनास्थलका केही तस्बिरहरु पेश गरेको छु ।
विपक्ष वक्ताः हे नर्क सम्राट, हे दण्डधर, जनावर अदालतमा दायर हुनुपर्ने मुद्दा गलत स्थानमा दायर भएको छ । तथापि जनावरको हक र अधिकारबारे पृथ्वीलोकमा पशु बधशाला, क्वारेन्टाइन, नश्ल सुधार बाहेक यस मुद्दामा उल्लेखित घटनाबारे कुनै कानून नभएको र यो मुद्दा त्यतै चल्नुपर्ने भएकोले यो मुद्दाको औचित्य नभएकोले मुद्दा खारेज हुनुपर्छ भन्ने दलिल प्रस्तुत गर्दछु ।
यमराजः यहाँहरुलाई धन्यवाद । अब म पीडित भनिएकी भैँसीसँग कुरा गर्न चाहन्छु ।
(दण्डनायक यमराज र उनका वाहन भैँसीबीचको बहस)
यमराजः ल भन मेरो विशेष वाहन । तिम्रो गुनासो के हो ? तिमीले हिजोसम्म मेरो सबै आज्ञा मान्दै आएकोमा आजै किन इन्कार गरेका हौ ।
भैंसीः श्रीमान्, म पृथ्वीलोकको त्यो पनि नेपाल र भारतको भ्रमण गर्नमा असमर्थ छु । मलाई त्यहाँ जाँदा अत्यन्त हिनताबोध हुन्छ ।
यमराजः हामी सबैलाई न्याय दिने ठाउँमा छौँ । जिउँदामा गरेका पाप र धर्मको लेखाजोखा पनि हामीले नै हेर्छौं भने तिमीमाथि केही अन्याय भएको रहेछ भने न्याय दिलाउने कोसिस गर्नेछु । सविस्तार भन ।
भैंसीः हामीले पुस्तौंदेखि हाम्रो पहिचान गुमाइसकेका छौँ । आफूलाई सर्वश्रेष्ठ मान्ने मान्छेहरु हामीलाई अत्यन्त हिन भावले हेर्दछन् ।
यमराजः अँ भन ।
भैंसीः जनावरलाई बध गर्नका लागि सरकारले व्यवस्थित बधाशाला बनाउन भनेकै छ, जनावर अस्पतालसम्म छ तर जनावरको मुद्दा सुनुवाई गर्न एउटा न्यायालयसम्म भएन सम्राट । यसैले हाजिर भएको हुँ ।
यमराजः जाहेर मुद्दामा यस्तो देखिँदैन त ?
भैंसीः सुधार गर्नुपर्ने विषय धेरै छन् श्रीमान् । अहिलेका लागि यी मान्छेहरुका बोलीचालीका उखान बदलून् । हामीमाथि अन्याय भयो । खास मुद्दा यही हो श्रीमान् ।
यमराजः किन नि ? त्यसले तिमीलाई असर गरेको छ ?
भैंसीः हे महिषवाहन । हामी आहाल खेल्दा पनि चेपागाडाहरु हामीलाई जिस्काउँछन् । आहाल खेल्ने घोलछेउका किराफट्यांग्रा पनि हामीलाई उखानै लिएर जिस्काउँछन् । मान्छेहरु पनि आफ्ना सन्तानले फोहोरमा खेलेमा भैँसीजस्तो आहाल खेल्ने भन्छन् । हाम्रा लागि बाथटब, बाथरुम, स्वीमिङ पुल भनेकै आहाल त हो नि प्रभु ।
यमराजः नेपालीहरु ट्रिपर, ट्रकलाई पनि यमराज भन्दा रहेछन् । गाली गरेर जेमराज, ज्यामाराज भनेर सराप्दा पनि रहेछन् । मैले अनुहार देखाउन नहुने भैसकेको छु । तपाईँका अरु केही गुनासा ?
भैंसीः अँ श्रीमान्, कमिसनखोरलाई सरकारी जग्गा, कर्मचारीलाई सरकारी सवारी, नेतालाई भीडभाड देखेपछि खपिनसक्नु हुन्छ । कमिसनखोरले कतिखेर हडपौँ भन्ला, कर्मचारीले आफ्नो थन्क्याएर सरकारी सवारीको चरम प्रयोग गर्ला, नेताले एकाध भाषण दिएर भोटबैंक बनाइहालौँ भन्ला । तर ती सबै अवैध भए । हामीले सरकारी सम्पत्तिमा आहाल खेलेका हौँ र ? घुस सबै खान चाहन्छन् तर मौका सबैलाई मिल्दैन श्रीमान् । खान नपाएर चोखो भएका हुन् यिनीहरु । अनेक उखान बनाएर हामीलाई दोष दिन्छन् । यी हामीलाई यस्ता उखान प्रयोग गर्छन् – गएल भैंस पानी में ।
न्यायााधीशः विषयवस्तुमा गाम्भीर्यता छ । त्यो त अन्याय भयो । तर हाम्रो राज्यमाजस्तो मत्र्यलोकमा जनावर अधिकारकर्मी पनि छैनन् र ?
भैंसीः छन् क्यार तर ती अन्तै व्यस्त होलान् । फिल्डमा देखिँदैन श्रीमान् । बेपत्ता भएका राँगा, पाडापाडीजस्तै होलान् । आउँछन् भन्ने आश राखिएको तर नआउने ।
यमराजः अघि भर्खर तिमीले आहालमा खेल्ने कुरा गर्नु भएको थियो नि ।
भैंसीः पानी भन्नेबित्तिकै आजकाल मिनरल वाटर भन्ने बुझिन्छ । जस्तो चिसो भनेकै ….कुन्नि के । तर यो उखान बन्ने समयमा पानी भन्नाले पोखरी, ताल, तलैया, कुवामा जम्मा भएको प्राकृति जल भन्ने बुझ्नुपर्छ । हामी त्यसैमा रमाउँछौँ सम्राट ।
पक्ष वक्ताः आफ्नो आङको भैँसी नदेख्ने अर्काको आङको जुम्रा पनि देख्ने भन्ने उखान पनि विभेदकै देखियो दण्ड सम्राट ।
यमराजः यो विषय निकै विचारणीय छ । यस्ता अन्याय गर्ने ठानिएका अरु उखान पनि त होलान् नि ?
भैंसीः प्रशस्तै छन् सम्राट । जस्तैः भैँसीका अगाडि विन बजाउनु । यो सरासर अन्याय हो सम्राट । हामीलाई उदाहरण बनाएर मान्छेले मान्छेलाई जिस्काइरहेका छन् । गल्ती उनीहरु गर्छन्, अन्याय हामीलाई भएको छ ।
यमराजः हो रहेछ त । अरु केही ?
भैंसीः थुप्रै छन् धर्मराज । नेपाल र भारत दुवै देशमा कालो अक्षर भैँसी बराबर भनेर घोच्का मार्दै उखानको झटारो हान्छन् । हामी भैँसीलाई नै गाली गर्नका लागि के गाई, गधा, बाख्राहरुले मास्टर्स गरेका छन् र ?
यमराजः अनि तिम्रो नामजस्तै काली भैँसी भन्न मिल्ने, अक्षरलाई कालो भन्न नमिल्ने ? कि तिम्रो नाम फेरेर यो सम्भव छ ? यो समयमा पनि यहाँ मान्छेको नागरिकतामा नामै कुकुर राखिएका पनि छन् । बरु मान्छेले शासविनाको रोबोटलाई नागरिकता दिलायो, मान्छेलाई पनि अन्याय भएको छ । अझै यी भैँसीलाई पनि नागरिकता दिलाउनु पर्थ्यो कि क्या हो ? के विचार छ तिम्रो ?
भैंसीः हे दिकपाल । हामीले नागरिकता पायौं भने हाम्रो झनै बढी दुरुपयोग हुन्छ । हाम्रो नाममा मान्छेले भोट हाल्छन् । बरु मान्छेहरुका दोहोरो नागरिकता नै सही श्रीमान् । यता पनि भोट हाल्छन्, उता पनि भोट हाल्छन् । आखिर चुनाव भैँसीले जित्ने त होइन क्यार । हुन त जितिसकेपछि नयाँ नयाँ आहालका क्षेत्र भने तयार गर्दछन् । कता कता मडारिन मन लाग्छ, उतै उतै । क्या मस्ती छ मान्छेहरुलाई । हामीलाई नागरिकता नदिलाउनुस् श्रीमान् । त्यसपछि त मानिसहरु हामीलाई गोठबाट लाइन लगाउँदै हाम्रा नाममा भोट हाल्छन् अनि जितहारमा रोष्ट बनाएर टेस्ट गर्न थाल्छन् ।
यमराजः अहो, कुरा त झनै गम्भीर पो रहेछ ।
विपक्ष वक्ताः कालदेव यमराजको दूतका रुपमा प्रयोग भएका छौ । तिम्रो स्थान त हामीभन्दा उच्च रहेकै छ त ।
भैंसीः पशुपतिअगाडि साँढेको पूजा हुन्छ तर भैँसीको पूजा कतै हुँदैन । एउटै घाँस र कुँडो खाने गाईका गोबरदेखि गहुँत पनि चोखो मानिन्छ । भैँसीमाथि ठूलो विभेद छ श्रीमान् । यी कसरी चेतनशीलमा गनिएका हुन् मान्यवर ?
यमराजः पक्षका वक्ताबाट भैँसीमाथि भएका विभेदका उखान अरु पनि सच्याउने वा खारेज गर्ने माग छ क्यार ।
पक्ष वक्ताः हो दण्डनायक कालदेव । जनावर ओसारपसारमा नथीमा झुण्ड्याउने, जिउँदै मुण्ड्याउने, गाडीमा कोचेर, लौरोले ठाउँकुठाउँ घोचेर चरम शारीरिक पीडा दिएका छन् । उखानको बखान गरेर सिल्लीहरु जनावरको खिल्ली उडाइरहेका छन् यमराज । मेरा पक्ष भैँसीलाई नै यसबारे बोल्न अनुरोध गर्दछु ।
भैंसीः मेरा पक्षका वक्ताको शारीरिक यातनाका कुरालाई जोड्दै मानसिक यातना तथा विभेदका कुराहरु राख्दछु । मोटा मानिसलाई भैँसी, हात्ती, बंगुर भनेर सम्बोधन गर्ने गरिन्छ । चकचके मानिसलाई बाँदर, बदमासलाई स्याल र मूर्खलाई गधा भन्ने गरिन्छ । गोठालोको बुद्धि भैँसीको थुनमा भनेर हाम्रै नाम भजाइएको छ ।
एउटा हिन्दी उखान छः जसको लठ्ठी उसको भैँसी । अंग्रेजीमा माइट इज राइट । अंग्रेजी उखानलाई नेपालीमा रुपान्तर गर्दा भैँसी कसरी जोडियो श्रीमान् ? अझै हिन्दुहरु गाईलाई माता मान्छन्, भैँसीलाई सौतेनी नातासम्म पनि दिँदैनन् । भैँसी मात्रै होइन, गधा पनि खुबै पीडित छ श्रीमान् । गधाको भारी नपुगी उठ्दैन भन्ने उखान चलेको छ । सबै कुकुर काशी गए आची केले खाला भनेर हाइटेक जमानाको कुकुरमाथि अन्याय गरेका छन् । मूर्ख मानिसलाई गधासँग तुलना गरिन्छ । हामीले कहिल्यै मूर्ख जनावरलाई मानिससँग तुलना गरेनौँ । स्यालले पनि सहरमा अनुहार देखाउन नहुने भैसकेको छ । मरेका स्यालले पनि ठग्छ भनेर हामी जनावरको उछितो काढ्छन् ।
यमराजः म तिम्रो कुरामा सहमत भएँ मेरो प्रिय वाहन । अब जनावर कानुन पनि छैन हामीकहाँ कसरी कारबाही गर्ने त ?
भैंसीः व्यवहारिक कानुन त होला नि सम्राट । हजुरको त बोली नै कानुन हो । पृथ्वीलोकमा मान्छे मार्नेलाई त स्वविवेकले न्याय दिन मिल्दोरहेछ त हाम्रो सम्मानमा यसो गर्नु, नगर्नु भनेर नजिर दिन मिल्दैन ? हामीलाई लालपूर्जा दिलाउन सुकुम्बासी समस्या समाधान आयोग गठन गर्नु भनेको त होइन नि धर्मराज ।
विपक्षी वक्ताः तिमीहरुलाई मासु प्रयोजनमा प्रयोग गरिन्छ । अर्को दिन हाम्रो पाडापाडीको दूध चोरेर खाने काम र हामीलाई मासु प्रयोजनमा बन्द गरियोस् भन्यौ भने त्यसै गर्ने ? हाम्रो नर्क सम्राटको वाहनबाट मुक्ति पाउँ भन्यौँ भने हामी पृथ्वीलोकबाट धुलोधुवाँ फाल्ने सवारी र डिजेल पेट्रोल ओसारेर बस्ने ?
भैंसीः त्यसबारे हामी अनपढभन्दा तपाईँ वेद वेदाङ्गका ज्ञाताहरु जानकार हुनुहुन्छ । तपाईँ मेरो भावनालाई उचालेर खास मुद्दालाई ओझेल पार्न नखोज्नुस् विद्वान वक्ताज्यू ।
यमराजः मेरो सर्वप्रिय र निकटस्थ वाहन । तिम्रो मुद्दाप्रति समर्थन जनाउँदै निम्न विश्वास गर्दछु ।
आजकाल नेपालका केही नेताले भैँसी पूजाको चलन पनि सुरु गरेका छन् । यसबाट तिम्रो पनि पूजा सुरु भएकोले विभेदको अन्त्य हुँदैछ भन्ने बुझ्नु ।
यो समयमा पनि मान्छेले मान्छेलाई अछुत भनेर हेपिरहेका छन् । भाँडाकुँडा बनाउन हुने तर उसले त्यही भाँडामा दिएको पानी पिउन नहुनेसम्मको विभेद मत्र्यलोकमा रहेको छ । कानुन बनाएर, पढाएर, सकारात्मक विभेदमार्फत् रोजगारीमा थप उत्साह भरेर यस्ता विभेदहरु हटाइँदैछन् । मान्छेमाथिको विभेद हटेपछि तिमीले पनि पक्कै न्याय पाउँछौँ भन्ने विश्वास गर्छु ।
तिम्रो मासुको महत्त्व पृथ्वीलोकमा दिनानुदिन बढ्दोरुपमा रहेको छ । हलो प्रयोग हुँदासम्म तिम्रा छालाबाट हल्लुँडो बन्थे । अब त्यो पनि टुकुचाझैँ पूरातात्त्विक सामग्री बन्नेछ । यस्तै तिम्रो छालालाई ज्याकेट, टोपी, जुत्ता, झोला निर्माणमा प्रयोग हुँदै आएको छ ।
गाई, कुकुर, कुखुरा, उँट, जिराफ, खरायो, गैंडा, घोडा, जरायो, हलगोरु, बँदेल, बाघ, याक, सिंह, हात्ती र बोकासम्म चुनाव चिन्ह आइसकेको छ । अब राख्नुपर्ने चिन्ह नै केही नपाएपछि नेपालमा नेताहरुले चुनावमा भैँसी चिन्ह पनि राख्ने नै छन् ।
भैँसीको पूजा सुरु भएबाट पनि अब तिम्रा दूध, गहुँत र गोबरले स्थान पाउने नै छन् ।
तिम्रा नाममा बनेका असमान, असहिष्णु, असंगतीपूर्ण उखानटुक्काहरु निषेधका लागि मर्त्यलोकमा चिठी बोधार्थ गर्नेछु ।
(मर्त्यलोक भ्रमणपछि पुनः अर्को सभा बस्ने निर्णयका साथ आजको मुद्दा हेर्दाहेर्दैमा चढ्दछ ।)
ल अब त जाऊँ मर्त्यलोकतिर ।
भैंसीः साष्टाङ्ग दण्डवत् दण्डनायक । म यात्राका लागि तयार छु । सवारी होस् ।
नित्य कर्मका लागि महिषवाहन यमराज र महिष (भैँसी) मर्त्यलोकतिर प्रस्थान गर्दछन् ।
जय सिस्नुपानी ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।