बचपनको कुरा:
गाउँमा त्यही एउटा सामुदायिक विद्यालय थियो । काकाको छोरा र म छ वर्षको उमेर भएपछि कक्षा शिशुमा भर्ना भयौँ । त्यो समयमा घरमा नयाँ पाहुना आउँदा पनि ढोकाको चेपबाट लुकेर हेथ्र्यौ, डराउँदै ।
कक्षामा थुप्रै साथीहरू थिए । त्यसमध्ये हामी दाजुभाइलाई हर्केसँगै सिटमा राखिदिनुभएको थियो । विद्यालय भर्ना भएको केही हप्तापछि हर्केले डटपेन चो¥यो र उल्टै शिक्षक नभएको मौकामा पेन्सिलले घोचेर कक्षाबाहिर निकालिदियो । त्यही बेला एकजना शिक्षकले बाहिर निस्किएको निहुँमा झपार्दै टाउकोमा उनको साहिली र माइली औँला उत्तानो पारेर टकसिङ बजाउनुभयो । घरमा आपा–आमाले कहिले पनि पिट्नुभएको थिएन, बिनाकारण । हामी खूब रोयौँ । त्यो दिनदेखि त्यो विद्यालय जान दिनुभएन घरबाट ।
आपाले हामीलाई गाउँमा बोर्डिङ स्कूलको शाखा खोलेर पढ्ने व्यवस्था मिलाइदिनुभयो । बाँसले पातलो पारेर बारेको, टिन च्यापेको, दुईवटा कक्षासहितको थियो त्यो विद्यालय । हामी दुई घण्टा उकालो हिँडेर धाउँथ्यौँ । विद्यालयमा प्रयोग हुने ब्ल्याक बोर्ड, डेस्कबेन्चसमेत घरमै बनाएर लगिदिनुभएको थियो । त्यो समयको थोरै तलबले गर्दा नयाँ नयाँ शिक्षकरू फेरिरहनुहुन्थ्यो । गाउँमा थुप्रै शाखा खोलिँदै विद्यालय सरिरह्यो । हामी पनि सरिह्यौँ । ढिलो उमेरमा कक्षा पढ्न सुरु गरेको हुनाले कतिवटा कक्षा नपढी बुर्कुसी मारेका थियौँ ।
हामी पढ्ने भन्दै कविता ठुलो–ठुलो स्वरमा पढ्थ्यौँ । मैले एउटा सानो बाक्लो गाता भएको कपिमा मनपर्ने कविताहरु लेखेर राखेको थिएँ । प्रायः कितावका कविताहरु कन्ठस्थ हुन्थे । त्यतिबेला नेपाली किताव मेरो रोज्जा कितावमध्येमा पथ्र्याे । दाजुको नेपाली किताव पहिल्यै पढिसकेको हुन्थेँ ।
आपा र आमाका कुरा :
आपा घरमा दुई हप्तासम्म आउनुहुन्नथ्यो । जंगलमा चामल, तरकारी लगेर पाल लगाएर बस्नुहुन्थ्यो । विहानदेखि बेलुकीसम्म आरा तान्नुहुन्थ्यो । काठ चिर्नुहुन्थ्यो । वहाँका हात कक्रक्क परेका थिए । वहाँका हत्केलामा चिमोट्दा वहाँलाई दुख्दैन थियो । त्यही भएर वहाँका हात खुव मन पथ्र्याे । कमसेकम त्यही ठेलाले वहाँका हात दुख्दैन थियो । त्यसै ठेलाको आदेशले हाम्रो पेटको व्रत भंग हुन्थ्यो । घरमा भएको बेला दराज, टेवल, खाट आदि फर्निचरका सामान बनाएर बेच्नुहुन्थ्यो । कहिले नाम्लो बाट्नुहुन्थ्यो, डोको घुम, डालो बुन्नुहुन्थ्यो । कहिले खुकुरी, कर्दा आदि फलामको काम गर्नुहुन्थ्यो । सिमेन्ट र ढुङ्गाको काम गर्नुहुन्थ्यो । यतिसम्म कि हामीले विद्यालय जाँदा लगाउने कपडा पनि वहाँ आफैँले सिलाइदिनुहुन्थ्यो । गाउँले जीवनमा गर्नुपर्ने काममध्ये उहाँले नजानेको काम केही थिएन ।
आमा कहिल्यै विद्यालयको पाइला नटेकेको मान्छे । उहाँ पुल्ठो बाल्दै प्रौढ शिक्षा पढेकै भरमा गज्जबले लेख्नुहुन्थ्यो, गीत गाउनुहुन्थ्यो । उहाँले लिनुभएको महिला विकाश र रेशम खेतीको तालिममा लेखेर बाँकी रहेको कापीका पानाहरूमा गीत लेख्नुहुन्थ्यो । विशेष माहोल भएको समयमा आमा, आपा, दिवा, दिमा, देमाहरू मिलेर खुब मज्जाले स्वरमा स्वर मिलाएर दोहोरीजस्तो लैबरी गाउनुहुन्थ्यो । अहिले बुझ्दा प्रेमको दोहोरी चल्थ्यो । बेलाबेला खूब मज्जाले हाँस्नुहुन्थ्यो । हामी चाख मानेर सुन्थ्यौँ । त्यसको प्रभावले मलाई गीतले खूब तान्यो । अझै दुईवटा कापीहरू छन् । त्योबेला मनपर्ने गीतहरू लेखेर राखेको ।
अक्षर चिनाउन आपाले रत्नमाला, वर्णमालाका किताबहरू देखाउनुहुन्थ्यो । पढाउँदा निदाए खोयाले हान्नुहुन्थ्यो । हामी डराउँदै भित्रभित्रै हाँस्थ्यौँ । अक्षर चिन्ने भइसकेका हामी, आपाले दार्जिलिङ बस्दा ल्याउनुभएको किताबको कथा हामीलाई सुनाउनुहुन्थ्यो । कथा सुन्नेबित्तिकै म उक्त किताव खोज्न उहाँले मिलाएर राख्नुभएको किताबहरू छरपस्ट पारिदिन्थेँ । सेतो रुमाल भन्ने कथा सुनेर चार कक्षामा पढ्दा नै मैले त्यस कथाको पुर्नलेखन गरेको अझै याद छ ।
जजमानी:
पढ्ने सिलसिलामा झापा झरेपछि “मुना” मासिक पत्रिका रोजाइमा प¥यो । फेला परेका दिन नै पढेर सक्थेँ । कमिक्स र अन्य बालकथाहरू खूब पढियो । पछि प्रकास कोविदका उपन्यास हात परेपछि लेखनलाई निरन्तरता दिन्छु र साहित्यकै जजमानी गर्छु भन्ने जमर्काे कसेँ । उनले प्रेमका पात्रहरू मात्र लेख्थे । उनले लेखेका सबै उपन्यासहरू मैले पढेर सकेँ । “अर्काे जन्म” त झन दश–पन्ध्रचोटि दोहो¥याएँ । आफूले किनेर पढ्ने क्षमता थिएन । पुस्तकालयको राम्रो व्यवस्था थिएन । साथीकोमा भएका र फेला परेजति सबै पढियो ।
पढाउने सामथ्र्य बोझ बन्न थालेपछि दाजु इलाम नै फर्किएर सामुदायिक विद्यालयमा भर्ना हुनुभयो । आमाले मङ्गलसूत्र बन्धकी राखेर थप एक वर्ष पढाउनुभयो मलाई । त्यो एक वर्ष बिताएपछि मैले पनि झापा छाडेँ ।
कोविदको जस्तो प्रेम:
त्यसपछि पुरानै समय फर्कियो । दुई घण्टाको समय डेढ घण्टामा नै काट्न थालियो । दाजुहरू खूब पत्रमित्रता गर्नुहुन्थ्यो, विद्यालयको ठेगाना साटासाट गरेर । हुलाकी प्रत्येक हप्ता झोलाभरि चिठीपत्रहरू बोकेर आउँथे । दाइले लेख्ने चिठीहरूमा रुवाई, मुक्तक, कविताहरु भरेर सुन्दर अक्षरले लेखेर पठाउनुहुन्थ्यो । खासै चिठी नलेखे पनि नयाँ वर्षमा पोष्टकार्डचाहिँ खूब बाँडिहिँडेँ मैले पनि । पछाडि राम्रा राम्रा मुक्तक, रुवाई (अरूको चोरेरै भए पनि) मज्जाले लेखेर पठाउने गर्थेँ, आफ्नो मनले आफ्ना सम्झिनेहरूलाई । त्यो समयमा हवाई मासिक, त्रैमासिक र वार्षिक पत्रिकाको चलन नै चलेको थियो । हाम्रो घरमा पनि टाढा–टाढाबाट पत्रिका आइपुग्थ्यो ।
कोविदका उपन्यासमा जस्तै प्रेम खोज्ने उत्ताउलो उमेरको फड्को सुरु भएछ । प्रेममा परेँ । प्रेमका कविता, मुक्तक, गजल, गीत, कथा सवै लेख्न थालेँ । थुप्रै डायरी भरियो । दुईवटा उपन्यासको खाका सकियो । कतिवटा रात अनिँदो बिताएँ । पेवा अदुवा बेचेर मोबाइल किनेँ । मन ढुकढुक पार्दै फोन हानेँ । हातमा मोबाइल बोकेर म्यासेजको रिप्लाई कुरेर समय बिताएँ । प्रेमबाहेक उब्रिएको समयमा देशको अवस्थालाई हेरेर राष्ट्र सञ्चालकप्रति आक्राश पोखेँ । पछि प्रेमको धागो मात्र हातमा रह्यो । चङ्गा छुटेपछि विछोडको कविता लेखेँ । लेखे जति सबै बिछोडको । झोँकमा परेछन् दुईवटा डायरी । बच्चाले रिसमा खेलौना तोडेजस्तो जलाइदिएँ । आज के के लेखेको थिएँ खूब हुटहुटीले पोल्छ । हेर्न पाए हुन्थ्यो ।
अर्काे अध्याय:
बिस्तारै अध्याय फेरियो । कोविदको प्रेम फिक्का लाग्न थाल्यो । पारिजात, विपि परका लाग्ने मलाई बिस्तारै प्रगतिवाद, समाजवाद, नारीवाद, विसङ्गती इत्यादिका अर्थहरूको खेल बुझ्न थालेपछि मज्जा आउन थाल्यो । कोविद चटक्क छाडे पनि तिनको जस्तो सरल भाषा छाड्न सकिनँ । प्रेमलाई मात्र कविता मान्ने, लेख्ने म विष्णुविभु, अशेष मल्ल, मनु मन्जिल पढ्न थालेपछि मानवीय चिन्तन, विद्रोह र मुक्तिको खोजी पनि हो कविता भनेर बुझ्न थालेँ । बुद्धिसागर, सरुभक्त, कृष्ण धरावासी साथै अग्रज र समकालीन पछ्याउन थालेँ ।
नेपाली साहित्यको विकाशमा पश्चिम साहित्यको ठूलो हात रहेको भए पनि तिनका कृतिहरू नेपालीमा नपाएको अवस्थामा दुःख गर्दै पढ्नुपर्ने बाध्यता थियो । शेक्सपियर, पाउलो कोहेलो, हेमिङ्वे, आदिको जीवनी पढेपछि पश्चिमी साहित्यको लत लाग्यो । पर्ल एस वर्गको “द गुड अर्थले” त हप्ता दिनसम्म रिँगटा छुटायो । चिनिया अमेरिकन लेखक गेलिंग यानको “द फ्लावर्स अफ वार” ले थला परेँ । प्रेममा होस् या युद्धमा, जो जति लडेर जिते पनि आखिर त्यो चोट मात्र हो भन्ने थाहा पाउँदा पाउँदै पनि माहोल र परिवेशले घाँटी ङ्याँकेपछि जिन्दगी खुल्ला मैदान बन्दो रहेछ, चोटसहितको ।
युद्धप्रति आकर्षित अमेरिकी अर्नेष्ट हेमिङवेको चर्चित उपन्यास “बूढो मान्छे र समुन्द्र”, जुन उपन्यासले मानवले जीवनभरि गर्नुपर्ने सङ्घर्षको चित्रण यसमा भन्दा राम्रो विरलै पाइएला । यसै उपन्यासलाई कल्पना गरेर “बूढो मान्छे र उसको नाउ” भन्ने कविता लेखेको थिएँ ।
अकालमा आपा आमाले गरेको दुःखसँगै बसेर महसुस गर्न पाएँ । त्यसैले होला आफूले गरेका सानातिना सङ्घर्षलाई दुःख भन्न मन लाग्दैन ।
श्रीमती पाएपछि, श्रीमतीको दरिलो भूमिकामा खरो उत्रिन पार्टनर आइपुगेपछि काठमाण्डौँको सङ्घर्षको दिनमा नै पहिलो कविता कृति “चुचुरो अनि स्वास्नीमान्छेहरू” जन्मियो । जुन मैले अँचिला काटेको रहेछु । पूरै प्रेमको खाटो बसेपछि जन्मिए पनि विमोचनको समयमा प्रमुख अथिति सम्माननीय व्याकुल माइलाले कविता सङ्ग्रहमा जवानीमा फुल्ने प्रेमका कविता अटाएनछन् भन्दा म झल्याँस्स भएँ । प्रेम बहुत सुन्दर लाग्छ, तर प्रेमपछिको झर्काे समयमा जन्मिएछ सायद ।
जोसँग पनि घुलमिल हुन समय लागे पनि पछि घनिष्ट हुने म, अंशियारीमा एघार कविका एकसय दश कविताको कृति “उज्यालोका मालीहरू”सँगै विमोचन भयो घनिष्ट सम्बन्ध । अंश बाँडफाँड गर्ने जिम्मा बाबा र मातेसँग मात्र छ ।
गुनासो:
कोहीबेला त्यो मैले पढ्न सुरु गर्दा पहिलो पाइला टेकेको विद्यालय पुग्छु, र पहिले घटेका प्रत्येक घटना फनफनी आँखामा घुम्छ । कहिले हर्के सम्झिन्छु, कहिले ती शिक्षक सम्झिन्छु । शिक्षकप्रति खुब आदर पलाउँछ । सायद म त्यो विद्यालय पढेको भए बाल्यकालका साथीसंगी अरू नै हुन्थे । मलाई साहित्यको अमल लाग्थ्यो कि लाग्थेन होला ?? म यति बेला कता हुन्थे होला ??
आपा र मसँगै हिँड्दा नचिनेको कोही कोही मान्छेले दाजुभाइ भन्छन् । आजभोलि आपाको हातमा ठेला उठ्न छोडेको छ ।
कतिचोटि कविताहरू हिँड्दाहिँड्दै मस्तिष्कमा टाँगिन आइपुग्छन् । म हतार हतार रेकर्ड गर्छु । कतिचोटि बिम्ब बिर्सिएर अर्कै कविता बनेको छ । यतिबेला म जल्लाद भएको महसुस गर्छु । यस्तोसम्म भएको छु कि सोच्दासोच्दै कार्यालयबाट हिँडेपछि काहिलेकाहीँ घर आइपुगेपछि मात्र झस्किन्छु । बचपनमा नाम्लो बोकेर घाँस काट्न जाँदा घाँसै नकाटी कविता लेख्न घर आइपुगेको सम्झन्छु ।
बचपनमा त्यतैतिर धेरै रुमलिएर डुलेर होला लेखनको तत्व खोज्न चिहान, जङ्गल भौतारिन खासै रुचि लाग्दैन । बरु दिनभरि गर्मीमा खोलामा नुहाउनु, आँखा चिम्लिएर आफँैलाई माया गरिरहनु, लामो श्वास तानेर विश्राम गर्नु, नयाँ ठाउँ घुम्न जानु, सङ्गीत सुन्नु, खुल्ला आकाशमा बसेर लेख्न बस्नु, बहुत मनपर्छ । नोस्टाल्जिया हुँदै वालापनमा मैले गर्न नपाएका, भन्न मन लागेर भन्न नपाएका, खान मन लागेर खान नपाएका सवै कुरा तन्नेरी उमेरमै गर्न मन लाग्छ ।
प्रविधिको पहुँचबाट थाहा पाएर वा सुनेकै भरमा साहित्यिक कार्यक्रममा सहभागी हुँदा मञ्चबाट नाम उच्चारण हुँदा आनन्द मान्ने म, एउटा कविता वाचन गर्नुपर्ने ठाउँमा छोटो छ भन्दै दुई तीनवटा सुनाएर आएको घटना वेग्लै छ ।
घटना बेग्लै छ, एक रात रातभरि जङ्गलमै हिउँको चीसोमा बसेको । मलाई एक जना गुरुले भन्नुभएको कुरा अझै याद छ, लेख्ने भन्दैमा लेखक नाङ्गिनु हुँदैन । नाङ्गिए पनि कट्टुचाहिँ लगाउनुपर्छ । त्यतिसम्म चाहिँ कुनै दिन नाङ्गिने मन छ ।
झापाछेउमा बसेर झापा र इलामले नै नचिनेको म फगत एउटा उदाहरण हँु । एउटा पात्र हुँ शब्दको अखडामा होमिन्न खोज्ने, अक्षरजीवी हुन खोज्नेमध्येको । मजस्ता धेरै छन् साहित्यलाई साहित्यको आँखाले छेकबार गर्ने ।
मोफसलमा रहेर राजधानीलाई औँला ताकिरहेको छु । साहित्य जगतमा राजधानीमा राजाजस्ता धनी बस्नेले मोफसलको म फसल उमार्नेलाई एउटै नामले चिन्दो हो, तर छिचिमिराजस्तो थपक्क उडेर, पखेटा चुडाएर फेरि हराउनु पनि भएन । देवलमा बरू च्याउ नै उमार्छु । सङ्घर्षका नाममा लेख्ने काम जारी राखेको छु, लेखिरहने छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।