
प्रायः प्रेमको अभिलाषा राखी त्यसको वर्णन र हृदयको उतारचडाब बारे लेख्नुमा छुट्टै आनन्द लुकेको हुन्छ । मलाई कहिलेकाहीँ आनन्दहरुसँग लुकामारी खेल्दै परमानन्दसँग जम्काभेट गर्न मन लाग्छ र कोरिहेर्छु कापीमा प्रेमका, बिछोडका, अतीतका र भविष्यका कल्पनाहरु । तर, ती तथाकथित कल्पनाको उडानले कहाँ दिँदा रहेछन् र स्थायी आनन्द ? व्यवहारिक लोकमा ओर्लिने बित्तिकै फिस्स हासेर गिज्याउने गर्छन् । अघिका आनन्दलाई समेत भुलाइदिने गरी । बरु आफूले औधी रुचाएको मानिसको नाम र रुप कल्पदै उसैका निम्ति पत्र लेख्नु औधी आनन्दमय हुँदो हो । अरे वा ! त्यस आनन्दको त कल्पनले नै मन फुरुङ्ङ भइगयो । सम्झदै सन्तुष्टि दिने यस कुराको कुनै कुरासँग तुलना हुन्छ होला र ?
म अलि ज्यादै भावनामा बहकने मान्छे । कहिलेकाहीँ प्रस्तुतिलाई अतिरञ्जित बनाई हृदयका उक्केराहरुलाई स्वतस्फुर्त खेल्न नदिएर आफ्नो इमानदारितालाई गुमाइरहेको हुन्छु सके । त्यसैले मेरा मित्रहरु कहिलेकाहीँ मेरो प्रस्तुतिको सवालमा प्रश्न पनि उठाउने गर्छन् र अतिरञ्जिताबाट कहिले मुक्त हुने हो दोस्त भनी कुटिल मुस्कान छर्छन् । म चाहिँ उनीहरुको कुटिल व्यङ्ग्यलाई चियााको चुस्कीमै निलिदिन्छु । घुटुक्क !
पारिजात आफ्नो “एउटा चित्रमय सुरुवात” शीर्षकको संस्मरणात्मक लेखमा लेख्छिन्, “संस्मरण लेख्नु भनेको आफैसँग इमान्दार हुनु हो नत्र मनका स्वीकारोक्तिको साक्षी को ?” संस्मरणात्मक लेख होस् या त प्रेमको स्वीकारोक्ति यी दुबै अन्तरहृदयको भावना हुन् । अनुभव हुन्, नितान्त आफूमा निहित । यसमा लेखक इमान्दार नभए कथा मोडिन सक्छ, उसले आफ्नो पथ र पराक्रम दुबै गुमाउन सक्छ र बन्न सक्छ स्रोत बिनाको समाचारझैँ निकम्मा । फेरि शब्द त उही छेपारो न हो ! मैले प्रयोग गरे कर्कस र रुखो अनि बुद्धिसागर, अमर नौपाने, शम्भु सुस्केरा, गनेस पौडेल, विजय कुमार, नारायण वाग्ले र नयनराज पाण्डे लगायतका लेखकहरुले प्रयोग गरे कालजयी र सुललित हुने । वास्तवमा विजय कुमारले दिशानिर्देशको कुनै एक पोडकास्टमा भने झैँ शब्द आफैंमा पराक्रमी र ल्याङ्रो नहुँदो रहेछ बरु यो त प्रयोग कर्ताको क्षमतामा पो निर्भर हुने रहेछ ।

गगन ढकाल
मलाई लाग्छ प्रेम एउटा भोक हो जुन राधालाई कृष्ण देखेपछि जाग्यो, गंगालाई सान्तनु देखेपछि, रावणलाई सीता देखेपछि, जुलियटलाई रोमियो देखेपछि र मलाई तिमी देखेपछि । मान्छेलाई खानाको मात्र भोक हुँदैन । खानको मात्र भोक हुन्छ भन्नु मूर्खता हो । भोक छ त्यसैले संसार छ, सृष्टि छ । शक्तिको भोक हुनेले राजनीति गर्छन्, पैसाको भोक हुनेले व्यापार, ज्ञानको भोक हुनेले अनवेषण गर्छन्, अध्ययन गर्छन् उसैगरि सौन्दर्य र सिर्जनाको भोक हुनेले साहित्य र कलाको उत्पादन गर्छन् यति मात्र कहाँ हो र ? कोही कोही त शारीरिक भोक मेट्नमा पनि उत्ताउलो भएर लाग्छन् । प्राकारन्तमा भन्ने हो भने भोक छ जीवन छ, जीवन छ भोक छ । तिमीलाई थाहा छ संन्यासीहरुलाई पनि त मुक्तिको भोक हुन्छ । सबैलाई लखेट्ने यो भोकको नियतीबाट म चाहिँ मुक्त हुने कुरै छैन । मलाई प्रेमको भोक छ, तिम्रो सानिन्ध्यको भोक छ र छ तिम्रो स्पर्शको पनि ।
जब मेरो लोचनले तिम्रो सुसज्जित लावण्यको दर्शन पायो क्या अद्भूत रोमाञ्चकताले आलिङ्गन गर्यो मेरो हृदयलाई । यो कस्तो उरन्ठ्याउले पद्धति हो मेरो हृदयको मैले बुझ्नै सकिरहेको छैन । किन यति बिघ्न जिद्दी गर्दैछ यो मन तिम्रो सुन्दरताको बयान गर्न ? किन यसले मस्तिष्कलाई पनि तिमीप्रति नै नतमस्तक हुन भनिरहेको छ ?
मेरो मन वर्षात् पछि खुलेको आकाश, मुसुक्क हाँसेको फूल र दाग देखिने गरी उदाएको जूनप्रति नतमस्तक थियो तर तिम्रो दिव्यमुहारको दर्शन नपाएसम्म मात्र । जब तिमीलाई देखे लाग्न थाल्यो आजसम्म जति जे देखे ती सब रङ्गहिन थिए, सुवास रहित थिए र थिए मोहन बिहिन । तिमीमै मैले राग र संगीतको अनुपम मिश्रण पाए र मनमनै गीत गाउन थाले, चाँदी जेसी रङ्ग हैं तेरा सोने जेसी बाल एक तुही धनवान हैं गोरी बांकी सब कङ्गाल….।
मलाई तिम्रो रूपलाई परलौकिक कथाकी परीहरूसँग दाँज्नु छैन, र छैन कुनै प्राकृतिक सुन्दरताले भरिएका हिमाल, पहाड, नदी, तालतलैया र फूलहरूसँग पनि दाँज्नु । मलाई त तिम्रो नयन ठ्याक्कै मेरी आमाको जस्तै लाग्यो त्यसैगरी मुस्कान चाहिँ बुबाको जस्तो र तिम्रो बोली चाहिँ मेरी दिदीको जस्तो । आहा ! कति सुन्दर जुन चिज मलाई जसको औधी मन पर्थे तिनैसँग तिम्रो ती चिजहरु मिलेका । मलाई तिम्रो योवन मलाई खुबै मनपर्ने लजावतीको फूलजस्तै लाग्यो । हुन त तिम्रो रुप मलाई शब्द संसारमा बयान गर्न नसकिने कुनै प्राकृतिक स्नानकक्षझैँ सुन्दर लाग्यो र लाग्यो किसानको पौरखझैँ उर्जाशील ।
तिमी मुस्कुराउँदा टल्केका दाँतहरु हाम्रो देशको उत्तरी भू–भागमा रहेका हिमशृङ्खला जस्तै अनुपम सौदर्यले भरिएको देखिए । तिमीलाई थाहा छ तिमी मुस्कुराउँदा तिम्रो नयन बिहानी पखको कलिलो प्रकाशको किरणले टल्किएको सितझैँ चमकदार देखिन्छन् नि र त्यस समयमा तिम्रो शिरबिन्दु चाहिँ राम्रो गरी अन्न उत्पादन भएकोमा प्रफूल्लित किसानको मुहार झैँ सन्तुष्ट देखिन्छ । तिम्रो नाक साम्यवादी युगमा स्वतान्त्रताको पुट भर्न तयार कुनै प्रगतिशील लेखकको मस्तिष्कमा उब्जिएको सुन्दर साहित्यको अनुराग समान छ ।
तिमी कल्पनासम्म गर्न सक्दैनौं कि मलाई तिम्रो आकृतिको बयान गर्न प्रयोग गर्ने उपमाको छनौट गर्न कत्रो हम्मे परेको छ । मलाई लाग्छ सके मोतिराम भट्ट लाई पनि “म यसो भनूँ कि उसो भनुँ” शीर्षकको गजलमा आफ्नी प्रेमिकाको रुप सुहाउँदो उपमा पाउन यस्तै अफ्ट्यारो परेको थियो होला र उनले एक शेर यस्तो लेख्नु परेको होला ।
“मणि हो भनूँ त नझल्कने, बिजुली भनूँ त नचम्कने,
अइना भनूँ त नटल्कने, उपमा कसोरी जुराउनू ।।७।।”
तिम्रो आकृतिको बयान नगरि पनि बस्न फिट्टो मन छैन र बयान गर्न उपयुक्त उपमा पनि पाएको छैन । लौ बरु तिमी नै पुनः सपनीमा आएर भनिदेऊ तिम्रो निरुपम रुपको उपमा कसोरी जुराउनू !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

