
१. दसैं – सरिता पराजुली

सरिता पराजुली
दसैं आयो चारैतिर खुसियाली छायो
मिठो खाने राम्रो लाउने चाड हाम्रो आयो ।
बाबियाको डोरी बाटी पिङ हालेका छन्
डाँडामाथि चौतारीमा भेला भएका छन् ।
सबै जना हाँसी खुसी दङ्ग परेका छन्
सयपत्री गोदावरी फूल फुलेका छन् ।
शिरभरि जमरा छ निधारमा टीका
चाडपर्व नमनाए हुन्छ जीवन फिका ।
आशीर्वाद थापौँ हामी मान्यजनबाट
मामाघर पनि जाऔँ हुन्छ भेटघाट ।
————
[पाल्पा जिल्लाको माडी, रुप्सेमा जन्म भई हाल चन्द्रागिरी नगरपालिका-१५, काठमाडौंमा स्थायी बसोबास गर्दै आएकी सरिता पराजुली (२०१५) रत्नराज्य लक्ष्मी क्याम्पस, काठमाडौँमा प्राध्यापन पेसाको अनुभव बटुलेकी स्रष्टा हुन् । उनको सक्रियता छन्द कविता प्रवर्धन र बालकविताको विस्तारमा रहेको देखिन्छ । कविता, लघुकथा, बालकविता उनका लेखनका मुख्य विधा हुन् । विभिन्न पत्रपत्रिकाको सम्पादन तथा रचनाहरू प्रकाशन गरी सिर्जन कर्म गर्दै आएकी पराजुली पछिल्लो समय बालकविता लेखनमा रुचिपूर्वक समर्पित रहेको पाइन्छ । सरिता पराजुली बालकसँग खेल्न, कुरा गर्न रुचाउने कवि हुन् । उनीहरूको मनोविज्ञान बुझेर रमाइलो प्रस्तुतिमा जोड दिने पराजुलीका बालकविता सशक्त छन् । नेपाली प्रकृति, संस्कृति, कृषिकर्मको सुमधुर चित्रण, बालसुलभ कोमल भावनाको अभिव्यक्ति आदि उनका बालकवितात्मक वैशिष्ट्य हुन् । उनका हातेमालो र झुल्के घाम गरी दुई बालकविताका सङ्ग्रह प्रकाशित छन् । उनी आफ्ना बालकवितामा बालबालिकालाई प्रत्यक्ष रूपमा उपदेशको भारी बोकाउनुको सट्टा अप्रत्यक्ष र कलात्मक ढङ्गमा व्यावहारिक एवम् नैतिक सन्देश प्रदान गर्दछिन् । प्रस्तुत ‘दसैँ’ बालकवितामा बालबालिकहरू निधारमा टीका र जमरा लगाएर, मान्यजनबाट आशीर्वाद ग्रहण गरेर, मामाघर जान पाएर, पिङ खेलेर, मिठो खाएर तथा राम्रो लगाएर दसैँमा खुसी हुन्छन् भनिएको छ ।]
***********
२. दसैँ मनाऔँ – शर्मिला खड्का (दाहाल)

शर्मिला खड्का (दाहाल)
आयो आयो हेर अब दसैँ आयो
घर-आँगन सबतिर खुसीयाली छायो
शारदीय उत्सव र उमङ्गको यो लालीमा
झुमेका छन् सब जन हर्षको तरङ्गमा
इष्टमित्र आफन्त सब जन भेला भई
खाई खेली रमाई बााड्छन् माया अपनत्व
मनमुटाव हट्यो पवित्र भयो सम्बन्ध
यही हो दसैँको सबैभन्दा ठूलो महत्व
चचहुई पिङ्गको हेर, मज्जा बेग्लै छ
मिठो, खानपान र आरामको नशा बेग्लै छ
उत्सव मनाई देवीको, गरिन्छ आराधना
सत्यको विजय गराउन गरिन्छ उपासना
दसैँ हो नेपालीको एकमात्र महान् चाड
मनाऔँ अनेकतामा एकताको भाव जगाउन
सत्यको विजयी गराई असत्यको नाश गराऔँ
वर्ष दिनको खुसी समेटेर अब दसैँ मनाऔँ ।
————
[भोटेपुल धरान–८ मा जन्म भई हाल काठमाडौँ , नयाँबानेश्वरमा बसोबास गर्दै आएकी शर्मिला खड्का दाहाल (२०२३) शिक्षण पेशामा १८ वर्ष अनुभव बटुलेकी स्रष्टा हुन् । कथा, कविता,सस्मरण, निबन्ध आदि विधामा कलम चलाउँदै आएकी उनी समालोचना लेखन र सम्पादनका क्षेत्रमा समेत सक्रिय छन् । बालसाहित्य अन्तर्गत उनले बालकविता, बालउपन्यास, बाल एकाङ्की आदि प्रकाशित गरिसकेकी छन् । ‘सानी’ (बालमनोवैज्ञानिक उपन्यास), मित्रताको महत्त्व ( बालउपन्यास) सिन्केको सफलता (बालउपन्यास) उज्यालो बाटो शिक्षाको (बालएकाङ्कीसङ्ग्रह), साने बन्यो सन्तबहादुर (बालउपन्यास), स्वर्णिमा (बालउपन्यास), सुइरे र भुइँफुट्टे (हास्यात्मक बालउपन्यास), चुलबुले बादल (बालकथा–सङ्ग्रह), दिच्छाको पुतली (बालकथा सङ्ग्रह), शिवाको कथा (बालकथा–सङ्ग्रह), चतुर स्यालको बुद्धि (बालकथा–सङ्ग्रह), विपिन र बुधराम (बालकथा–सङ्ग्रह) आदि उनका उल्लेख्य बालसाहित्यिक कृति हुन् । बालकवितातर्फ ‘सूर्य हाम्रो साथी’ शीर्षकमा २०७४ सालमा उनको बालकविता–सङ्ग्रह पनि प्रकाशित भइसकेको छ । नेपाली साहित्य तथा बालसाहित्यका क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै उनी विभिन्न पुरस्कार तथा सम्मानबाट पुरस्कृत र सम्मानित पनि भइसकेकी छन् । उनको प्रस्तुत ‘दसैँ मनाऔँ’ बालकवितामा दसैँलाई शारदीय उत्सव र उमङ्गको पर्वका रूपमा हेरिएको छ । दसैँ पर्वले अनेकतामा एकताको भाव जगाउने र सत्यको विजय गराई असत्यको नाश गर्ने सन्दर्भ समेत प्रस्तुत बालकवितामा अभिव्यक्त गरिएको छ । ]
************
३. दसैंको गृहकार्य – रमेशचन्द्र घिमिरे

स्तम्भकारः रमेशचन्द्र घिमिरे
रमाएर यो दसैँ मान्न पाइन्न कि ?
गृहकार्य धेरै छ गर्न भ्याइन्न कि ?
“नपढेर बिदामा खेल्यौ भने खेल
अर्को जाँचमा पक्कै नि हुन्छौ तिमी फेल”
सर-मिसका कुराले दिमाग तात्तिन्छ
लेख्दा-लेख्दा थाकेर मनै आत्तिन्छ
छिमेकको साथीले चङ्गा उडायो
थोत्रो जर्किन काटेर मोटर गुडायो
त्यो साथीले खेलेको देखेपछि झन्
मलाई कत्ति लेख्न र पढ्न छैन मन
पढ्नु पर्छ भन्ने कुरा हाम्लाई थाहा छ
चाडको बेला पढ्नै पर्छ भन्ने काहाँ छ ?
किन यस्तो हैरानी किन पेलम् पेल
घुँडा मारी लेखूँ म अब कतिन्जेल ?
पिङ खेल्न‘नि पाइएन मनै खन्न छ
सकिएन लेखेर अझै टन्न छ
सर-मिसले यो कुरा मनमा लिनू है !
रमाउने र हाँस्ने-खेल्ने मौका दिनू है !
पढाइको हतारोले टीकै लाइन्न कि ?
गृहकार्य धेरै छ गर्न भ्याइन्न कि ?
————-
[नेपाली बालकविता लेखनका क्षेत्रमा समर्पित लमजुङे स्रष्टा रमेशचन्द्र घिमिरे (२०२८) का मलाई माया गर्ने को को, सानी पुतली तथा घुमाउने घर गरी बालकवितासँग सम्बन्धित तीन ओटा कृति प्रकाशित छन् । साहित्यपोस्ट ई-पत्रिकाका स्तम्भकार घिमिरेका प्रायः बालकविताहरू ग्राम्य परिवेशसँग सम्बन्धित छन् । घिमिरेको प्रस्तुत बालकवितामा विद्यार्थीको मनोविज्ञान नबुझी शिक्षक-शिक्षिकाले दसैँको रमाइलो मान्नुपर्ने बेलाका विद्यार्थीलाई गृहकार्यको अनावश्यक बोझ थपेकोमा दुखेसो पोखिएको छ ।]
********
rcghimire47@gmail.com



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ कार्तिक २०८२, शुक्रबार 










