यतिखेर एउटा व्यक्ति, एउटा समुदायलाई मात्र होइन सम्पूर्ण जगत्लाई परिचयको संकट बढ्दो छ । किनकि यो भूमण्डलीकरणको समय हो । राष्ट्रियताको घेरा नाघेर विश्व नै एउटा आवास गृह भएको छ ।
अहिलेको समय, एकातिर राष्ट्रियता व्यापक हुँदैछ, अर्कोतिर विश्व साँघुरिएर एउटा ग्राम बन्दैछ । भाषा, साहित्य, संस्कृति आपसमा मिसिएको छ, फेरि अलग्गै छ । उता विश्वव्यापी बन्दैछ ।
सिक्किमबाट प्रकाशित साहित्यिक पत्रिका ‘प्रकिया अन्तर्राष्ट्रिय स्वर्ण विशेषाङ्क’ त्यसैको एउटा दृष्टान्त हो । ३५ औँ वर्ष पार गरेर ५१ औँ अङ्कमा आइपुग्दा त्यसबीचमा यस पत्रिकाले धेरै थोक सामना गर्नु पर्यो । आज ‘प्रक्रिया’ अन्तर्राष्ट्रिय भएको छ । यसको अर्थ हो विश्वमा नेपाली भाषाको व्यापकता बढिरहेको छ । यसको अर्थ हो विश्वमा नेपाली नपुगेको ठाउँ कम्ती नै होलान् । यसको अर्थ हो ‘प्रक्रिया’ले सिक्किमको सिमाना काटेर त्यसभन्दा बाहिरका स्रष्टालाई समेट्ने प्रयास गरेको छ । धेरैभन्दा धेरै पाठक माझ ‘प्रक्रिया’ पुग्दैछ । अहिले म त्यही पढेर यति कुरा गर्दैछु ।
निजी स्तरमा साहित्यिक पत्रिका चौँतीस वर्षदेखि निरन्तर यसरी प्रकाशनमा आउनु साधारण कुरा होइन । सिक्किमी नेपालीको यो एउटा कठोर तपस्या हो । ‘प्रक्रिया’ भन्नु नै सिक्किमी नेपालीको आत्मा हो । भाषा, साहित्य, संस्कृतिप्रतिको अगाध प्रेम हो । सभ्यताको सूचाङ्क हो ।
यस पत्रिकाका सम्पादक तथा विशिष्ट साहित्यकार वीरभद्र कार्कीढोलीको त्यो सक्रियताको जति प्रशंसा गरे पनि अपुग हुनेछ । उनको त्यो बौद्धिक, साहित्यिक र सम्पादकीय व्यक्तित्वले म यसरी अभीभूत भएँ । उनी अनुवादक पनि हुन् । यही लेख मार्फत उनलाई नमन गर्न चाहन्छु ।
सिक्किमी नेपालीको त्यो भाषा साहित्यप्रतिको अतीव प्रेम र सचेततालाई खै कसरी वर्णन गरूँ ? सम्पादककै भनाइ उद्धृत गर्न चाहन्छु । विगत सम्झिँदै एक ठाउँमा उनी भन्छन्, “साहित्यिक पत्रिका प्रकाशन आफ्नो जातिक, सांस्कृतिक र भाषिक अस्मिताको अभिव्यक्ति अथवा वक्तव्य हुन्थ्यो । आफू हुनुको स्पष्ट र सशक्त कथन, आफ्नो पहिचान । कति ठाउँहरूमा साहित्यिक पत्रिका प्रकाशित गर्नका लागि समाजमा दान संग्रह गरिन्थ्यो, झण्डा–दिवस गरिन्थ्यो । घरमा अर्कै सपनाका लागि पालिएका बस्तुभाउहरू बेचिन्थे, खुत्रुके तोडिन्थे, देउसी खेलिन्थे, अरू त अरू नै भए, गृहस्वामीनीको गरगहनासम्म बन्धक राखिन्थे । साहित्यिक पत्रिका प्रकाशन एउटा सामुदायिक हतार, रहर, प्रयास र प्रतिबद्धता हुन्थ्यो त्यो । संकेन्द्रित सामुदायिक उत्साह र जोश हुन्थे । सबभन्दा ठूलो त्यो नि: शर्त सामुदायिक प्रतिबद्धता हुन्थ्यो ।”

अनिता पन्थी
अब डिजिटल युग आइसकेको छ । अनेक कठोरता र विविध चुनौतीका सम्मुख साहित्यिक पत्रिकालाई यसरी निरन्तरता दिनु, एउटा प्रतिष्ठित स्तम्भकै रूपमा कायम गर्नु सहज कुरा होइन ।
माथिको अभिव्यक्ति तिनै सिक्किमवासीको समवेत आवाज हो । भौगोलिक र कानुनी हिसाबले भारतीय भए पनि त्यो मन कहिल्यै भारतीय हुन सक्दैन । यदि सक्थ्यो भने खुत्रुके फोरेर, श्रीमतीको गहना बेचेर साहित्यिक पत्रिका किन प्रकाशन गर्नु पथ्र्यो ? पथ्र्यो नै भने पनि अन्य भाषाको साहित्यिक पत्रिका प्रकाशित गरे के हुँदैन्थ्यो र ?
भानु जयन्ती किन मनाउनु पर्यो त्यो धुमधामसँग, एउटा विशेष पर्वकै रूपमा । यता, त्यस्तो तन्मयताका साथ कहिल्यै मनाइँदैन । अझ कतिलाई त त्यो दिन भानु जयन्ती हो भन्ने नै थाहा हुँदैन । नेपालमा बरु भाषा साहित्यको निम्ति त्यस्तो असाधारण चिन्ता छैन होला । आफ्नो संस्कृतिप्रतिको मोह विस्थापित हुन थालेको समय छ । पश्चिमी संस्कृतिमा हामी आधुनिक बन्दैछौँ । जतिसक्दो हामी पश्चिमा जस्तो भएर आफूलाई सभ्य बनाउनु छ ।
नेपाल बाहिरका नेपालीहरूको मनोविज्ञान फेरि अर्कै छ । उनीहरू रातदिन आफ्नो भाषा, संस्कृति परम्पराको बचावट गरेर आफू हुनुमा गौरव बोध गर्दैछन् ।
नेपालमा बस्नेहरूलाई आफ्नो भाषा, साहित्य, संस्कृतिप्रति जति चासो हुनु पर्ने हो, त्यति नहुनुको केही मनोविज्ञान पनि छ । परिचयको संकट नहुनु एउटा कारक हो । फेरि अर्को के भने, अनुपस्थितिमा त्यस कुराको मूल्य बोध जति हुन्छ, त्यसको थोरै पनि मूल्य बोध उपस्थितिमा हुँदैन ।
डायास्पोरिक भूमिमा त्यसकारण पनि संस्कृति प्रेम, भाषा प्रेम बढेको हुन्छ । त्यो प्रेम परिचय तथा अस्तित्व निर्माणकै लागि मात्र होइन । त्यो एउटा सहज स्वाभाविक प्रेम पनि हो ।
‘प्रक्रिया अन्तर्राष्ट्रिय स्वर्ण विशेषाङ्क’मा जुन कुरा पाठकले सहजै बोध गर्न सक्छन् । आफैँमा एउटा प्रतिष्ठित संस्था बनिसकेको ‘प्रक्रिया’ सिक्किम, दार्जीलिङ, कालेबुङ, डुवर्सका विभिन्न स्थानहरू, पूर्वोत्तर भारतदेखि लिएर नेपाल, भुटान, हङकङक, यू.एस.ए उता बेलायत त्यसपछि फेरि यता आएर कुवेत, खाडी राष्ट्रहरू अनि विश्वका विभिन्न नेपाली भाषी देशहरूमा पुगिसकेको छ, परिचित छ । यसको गरिमा ठूलो छ । सार्वजनीन छ ।
देख्दैमा आकर्षक, हार्ड कभर भएको, ठूलो ३६० पृष्ठको प्रक्रिया स्वर्ण विशेषाङ्क आलमारीमा सजाउने खालको छ । यस्तो सुन्दर साहित्यिक विशेषाङ्क ! शुरुमा त मैले अर्कै केही ग्रन्थ होला सोचेकी थिएँ । यस किसिमको आकर्षण गर्ने साहित्यिक विशेषाङ्क पनि निकालिन्छ भन्ने मेरो मानसिकतामै थिएन । साहित्यिक पत्रिकालाई हाम्रोमा प्रशस्त खर्च गर्ने विषय हो भन्ने नै लाग्दैन । कामचलाउको दृष्टिले हेरिन्छ । औपचारिकता पूरा गर्ने तरिकाको हुन्छ ।
बाहिरी आवरण हेरेरै थाहा पाएँ उता सिक्किममा साहित्यलाई कति उच्च स्थान दिइँदो रहेछ । कत्रो त्याग, समर्पण, निष्ठा । म त आश्चर्यमा परेँ ।
साहित्यलाई यता उस्तो मूल्यवान कर्म मानिँदैन । हामी अझ ब्यूँझिन बाँकी नै छौँ । ‘प्रक्रिया विशेषाङ्क’ अध्ययनमा म घरी घरी विस्मित हुन्छु । हालै सिक्किम सरकारले साहित्यकारलाई साहित्यिक पेन्सन दिने घोषणा गरेको प्रसङ्गले झन् बढी विस्मित भएँ । हालका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ स्वयं एक प्रखर कवि हुन् । हेर्नु न नेपालमा कत्रो विडम्बना छ, कवि कलाकारलाई यहाँको सरकारले दबाउन मात्रै खोज्छ । मैले मनमनै प्रार्थना गरेँ, मेरो अर्को जन्म त्यही सिक्किममा होस् । जहाँ बुद्धिजीवि, स्रष्टा, कलाकारको कदर हुन्छ ।
यस विशेषाङ्कमा विद्वान्, सर्जक, लेखक, समालोचक, अनुवादक, अनुसन्धाता गरी वाङ्मयका लगभग सबै व्यक्तित्व र क्षेत्रलाई समेटिएको छ । विषय व्यापकता छ, विविधता छ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका विषयवस्तु छन् । नेपाल, भारत, हङकङ, अफगानिस्तान हुँदै बेलायत, अमेरिका त्यस्तै अन्य नेपाली भाषी भूभाग अझ डायास्पोरिक भूमिका लेखक भन्दा छरितोे होला । ती सम्पूर्णको प्रतिनिधि आवाजले नेपालीलाई एउटै सूत्रमा बाँधेको छ । अहिलेको प्रचलित भाषामा भन्नु पर्दा ग्लोबल नेपाली, ग्लोबल साहित्यको यो एउटा दृष्टान्त हो । आफैँमा एउटा पुनित कर्म पनि हो । नेपाली साहित्यको फैलावट कसरी हुँदैछ ? त्यो कुरा यसमा जान्न सकिन्छ । आजका विश्व नागरिकलाई भाषाले, साहित्यले कसरी एउटै धागोमा सूत्रबद्ध गरेको छ ? त्यो पनि एउटा मननीय विषय छ । अझ विस्तृत अर्थमा, भाषा साहित्य संस्कृति अनि नेपाली भाषीको यो ग्लोबल स्वरूप हो । डायास्पोरिक युगको प्रतिविम्बित स्वर हो ।
साहित्य पनि तिथिमिति बेगरको एउटा इतिहास नै हो । स्वर्ण विशेषाङ्कले त्यही इतिहासको काम गरेको छ । यो हाम्रै अस्तित्व, हाम्रो मनोविज्ञान र समाजविज्ञान हो । यसमा हाम्रो आत्मा टाँसिएको छ । हामी हुनुको परिचय यसैमा छ । संषर्घ र चुनौती छ । बहादुरी र उत्सर्ग छ ।
यसमा स्थापितदेखि उदीयमान स्रष्टाका समीक्षा, समालोचना, सिद्धान्तका विषय छन् । कृति समीक्षाको आवृत्ति भइरहन्छ, प्राय: कथा, कविता, नाटक, उपन्यास । साहित्यिक, राजनैतिक, ऐतिहासिक, धार्मिक, वैचारिक, समाज सुधारक व्यक्तित्वको चर्चा आइरहन्छ । लोक साहित्य, संस्कृति (नृत्य र संगीत) र परम्पराको अध्ययन पनि छ । वैचारिक वहस र विमर्श छ । अन्तर्राष्ट्रिय आविष्कारक, दार्शनिक तथा स्रष्टा व्यक्तित्वको परिचय छ । विभिन्न भूमिका नेपाली डायास्पोरिक साहित्यको विधागत अध्ययन, मूल्याङ्कन र कालविभाजन छ । त्यहाँ भाषा साहित्यको लागि गरिएको योगदान छ, प्रयास छ । अन्य मातृ भाषा र जातीय चिनारीका कुरा छन् । सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक जस्ता बहुल विषयको एकमुष्ट रूप नै ‘प्रक्रिया अन्तर्राष्ट्रिय स्वर्ण विशेषाङ्क’ हो ।
यो अत्यन्तै पठनीय छ, लाभदायक छ । एउटै ग्रन्थमा विविध विषयका उल्लेख्य जानकारी पाएर म धन्य भएँ । विश्वास छ अरू पनि धन्य हुने छन् ।
भोलिका दिनमा प्रस्तुत विशेषाङ्क एउटा शोध सामग्री हुन सक्छ । एक किसिमले यसलाई स्रष्टा परिचय कोष भन्न पनि सकिन्छ । एउटै पुस्तकमा एकैचोटि यति धेरै स्रष्टा उद्बोध हुनु, पाठक माझ पुग्नु, एकदमै सराहनीय कुरा हो । उपलब्धिपूर्ण प्राप्ति हो । यस विशेषाङ्क अध्ययनबाट थाहा भयो, मेरो पठन क्षेत्र अत्यन्तै साँघुरो रहेछ, किनकि मैले धेरै स्रष्टा साहित्यकारलाई चिनेकै रहेनछु ।
ग्रन्थको आरम्भमै सिक्किमका वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) कृत अन्यायले जन्माएका विद्रोहहरू कविता संग्रहमाथि ‘प्रक्रिया’का सम्पादक वीरभद्र कार्कीढोलीको सशक्त विश्लेषण रहेको छ । पढ्दा पढ्दै म एकैछिन रोकिएँ । उफ ! कति शक्तिशाली लेखन । कत्रो धैर्य, कलाशिल्प र ज्ञानले उज्यालिएको कृति समीक्षा । अत्यन्तै प्रभावक लाग्यो । एउटै आलेखबाट उनी गम्भीर, वैचारिक, सशक्त लेखक हुन् भन्ने बोध गरेँ । उता मुख्यमन्त्री प्रेमसिंह एक विद्रोही कवि हुन् भन्ने थाहा भयो । उनका कवितामा क्रान्तिको ज्वाला दन्दनाएको छ । अन्यायको विरुद्धमा सत्यको वकालत गर्ने उनी निरङ्कुश सत्तालाई चुनौती दिँदै भन्छन्—
जनताको अधिकारलाई आफ्नै मुठ्ठीमा राखेर
म मात्र सिङ्गो शक्तिमान हुँ भनेर
घमण्ड पाल्नेलाई के थाहा
सिङ्गो परिवेशलाई निल्न खोज्ने हिटलर पनि
आफ्नै घमण्डको खप्परमा गोली ठोके भनेर (पृ—१८) ।
सम्भवत: राजनीतिले नै उनलाई कवि बनाएको छ । साहित्य र राजनीति दुवै क्षेत्रमा सक्रिय उनको व्यक्तित्वमा मलाई फेरि वीपीको सम्झना भयो । जेलभित्रै उनले साहित्य साधना गरेका थिए । यता प्रेमसिंहले पनि कारावासमै कविता सिर्जना गरेका छन् । सिक्किमेली राजनैतिक परिवेशमा तानाशाही विरुद्ध लड्दा लड्दै उनी कवि बनेका हुन् । उनका मित्र सी.पी. भट्टराईको आलेख— प्रेमसिंह तामाङ (गोले) : एक संघर्षशील सफल साहसी व्यक्तिले अझै उनका सम्बन्धमा अरू थप कुरा थाहा हुन्छ ।
वेद, पुराण, उपनिषदमा, रामायण र महाभारतमा वर्णित भूमि अहिले पनि कुनै न कुनै किसिमले उल्लेख्य छन् । ती वर्णित भूमि भारतवर्षकै सेरोफेरोमा पर्छन् । दुर्गानारायण प्रधानको खोजमूलक, सूर्तिस्मृतिमा आधारित रचना पश्चिम सिक्किमको दरमदिन क्षेत्रका महŒवपूर्ण ऐतिहासिक दर्शनीय स्थलका रहस्यमय गुफाहरू त्यस्तै उल्लेख्य छ ।
नेपाल बाहिरको नेपाली भाषा साहित्यको इतिहास अध्ययन गर्दा भारत भूमि पहिलो स्थानमा पर्छ । निकै सक्रिय देखिन्छ । त्यसपछि वर्मा, हङकङ, बेलायत, अमेरिका, युरोप … । भारतका विविध नेपाली भाषी भूमिको आ–आफ्नै साहित्यिक इतिहास रहेका छन् । यस विशेषाङ्कमा सिक्किम, दार्जीलिङ, मेघालय त्यस्तै भारतका अन्य भूमिका स्रष्टा, साहित्यिक विधा र त्यसको उपलब्धि मूल्याङ्कन गरिएको छ । रुद्र पौड्यालको सिक्किमका साहित्यकर्मीहरू तथा साहित्य प्रवाह, दीपक तिवारीको भारतीय नेपाली उपन्यासका प्रमुख प्रवृत्ति र धाराहरूको सर्वेक्षणात्मक अध्ययन, डा. टेकनाथ उपाध्यायको नेपाली भाषा–साहित्यको विकासमा मेघालयको योगदान, डा. गोमादेवी शर्माको मणिपुरमा नेपाली साहित्य : एक अध्ययन, सुभद्रा बमजनको दार्जीलिङ, मङ्पुका साहित्यिक फाँटमा अक्षरखेतीको इतिहास, डा. गीता निरौलाको सिक्किमेली नेपाली कविता साहित्य : एक सरसर्ती अवलोकनलगायत रचनाले भारतीय नेपाली साहित्यको इतिहास बुझ्न केही सहायता गरेका छन् ।
स्रष्टा साहित्यकारको मन अनेक तत्त्वले बनिएको हुन्छ । उसको आदिम चेतना पुर्खौँ पुर्खाको संस्कारले निर्देशित हुन्छ । त्यस्तै ऊ एउटा सिङ्गो समाज हो । समाजको यावत संरचना भन्नु नै उसको संरचना हो । त्यसो हुँदा उसको लेखनमा विषयगत व्यापकता हुन्छ । फलानो कुरा लेख्ने नलेख्ने भनी निर्धारण गरिएको हुँदैन । उसले जे लेख्छ त्यही साहित्य हो, त्यही समाज हो, त्यही राष्ट्र हो । यस विशेषाङ्कले जुन कुराको पुष्टि गरेको छ ।
हाम्रा धर्म, संस्कृति, परम्परा अलिखित साहित्य हुन् । त्यसलाई स्रष्टाले कला भर्छ अनि त्यसले पार्ने प्रभाव बेग्लै हुन्छ । एउटा वृहस्पति झुट्टा भने झैँ त्यस समाजका सन्त ज्ञानदिल दासलाई आज पनि हामी उतिकै महŒवले पढ्छौँ । साहित्यिक व्यक्तित्वले उनलाई अझ बढी विशेष बनाएको छ । उनको उदयलहरीलाई भारतीय नेपाली साहित्यको प्रथम रचना मान्न सकिन्छ डा. कुमार प्रधानले त्यही भनेका छन् । सन्त ज्ञानदिल र हाम्रो समाज एक अवलोकनमा दिलदासको सन्दर्भ जोडी सिक्किम हुँदै यता नेपालको ऐतिहासिक राज्यव्यवस्थादेखि वर्ग व्यवस्थासम्मको कुरा उल्लेख गरिएको छ ।
ज्ञानदिल दासको प्रसङ्ग बडो रोचक लाग्छ । जन्मले होइन कर्मले ब्राह्मण हुनुपर्छ उनको यस भनाइले मलाई पुन: बाल्यकालमा पुर्यायो । म यिनै यस्तै कुरा सुन्दै हुर्किएकी थिएँ । घरमा बुवाले नित्य यही भन्नु हुन्थ्यो— काटेर (बलि) धर्म हुन्छ भने पाप के गरेर हुन्छ ? आज पनि म अनुत्तरित छु, त्यसको उत्तर कतैबाट आएको छैन । डा. प्रधान भन्छन्, “पुरोहित्याइँ, कर्मकाण्ड, बलि र भोग, दानदक्षिणा, अन्धविश्वास बढेर धर्मको साँचो अर्थ हराउँदा सुधारकहरू जन्मन्छन् । बुद्ध, कबीर, नानक, दादू त्यसरी भए, युरोपमा मार्टिन लूथरले त्यस्तै विरोध गरे । त्यही परिपाटीमा सन्त ज्ञानदिल उभिन्छन् (पृ—४२) ।”
ज्ञानदिल दासको बारेमा त्यस्तै अर्को आलेख रहेको छ बालकृष्ण लामिछानेको—सन्त ज्ञानदिल दासका चिन्तनको परिधिमा उत्खन्न र उत्खननकर्ताहरू ।
गीतामा अर्जुनलाई सम्झाउने क्रममा श्री कृष्णले श्रीमद भगवद्गीता, ३:३५ मा भनेका छन् “स्वधर्मे निधनं श्रेय: परोधर्म भयावह” । आफ्नो स्वभाव, आफ्नो परम्परा, आफ्नो संस्कृति नै वास्तवमा कुल धर्म हो । आफू हुनुको बोध त्यसैले गराउँछ । अम्बिका सङबाहाङफेकृत ‘लि मि:म् पालाम’, वरेण्य साहित्यकार वैरागी काइँलाले त्यसकारण पनि रुचाएका हुन सक्छन् । ‘प्रक्रिया अन्तर्राष्ट्रिय स्वर्ण विशेषाङ्क’ जस्तो महान् ग्रन्थमा उनले अन्य कृति समीक्षा या त अरू केही लेख रचना दिन पनि सक्थे । किन ‘लि मि:म् पालाम’ धान नाचलाई नै उनले रोजे ? यो मेरो जिज्ञासा गीताबाटै मत्थर हुनेछ ।
त्यस्तै डा. गोपाल प्रसाद दाहालको नेपाली समाज, संस्कृति र विभिन्न भाषाहरू, प्रा. तेजमान बराइलीको प्रकाश भट्टराईकृत “नेपाली लोक परम्परा” सामान्य चर्चा, डा. मोहन पी. दाहालको नेपाली लोक–सङ्गीत, रघुनन्द सापकोटाको नेपाली घरमा परम्परित भाँडाबर्तन र सामग्रीहरू जस्ता लेख रचना यही कुलधर्मसँग सम्बन्धित छन् । यी हाम्रै लोक साहित्य, संस्कृति, परम्परा र पहिचानका विषय हुन् । अझ यस अधुनातन भनौँ कि अझ यस उत्तरआधुनिक युगमा सम्पूर्ण कुरा ग्लोबल भएको छ । हाम्रो भाषा साहित्य संस्कृति पनि ग्लोबल भएको छ । यद्यपि विश्व साहित्यमा हामी कहाँ छौँ ? अझै थाहा छैन, अर्थात् हामी कहीँ छैनौँ । नेपालभन्दा कम विकसित, थोरै जनसंख्या अनि नेपालभन्दा पछि आधुनिकतामा प्रवेश गरेका, मुलुकले विश्व साहित्यमा आफ्नो गर्विलो स्थान प्राप्त गरिसकेका छन् । महेश पौड्याले वैश्विक मानचित्रमा नेपाली साहित्य, समालोचना र सिद्धान्तको प्रश्नमा भनेका छन्, अहिले स्थानीय नै वैश्विकता हो । पश्चिमाको स्पर्श विना नै कुनै पनि साहित्य संस्कृति वैश्विक हुन सक्छन् ।
वाङ्मय जगत् समृद्ध हुन साहित्य सिर्जनाको जति खाँचो पर्छ त्यति नै खाँचो पर्छ समालोचना र सिद्धान्तको । स्रष्टा जतिकै अझ थप महत्त्व हुन्छ द्रष्टा व्यक्तित्वको । यद्यपि हाम्रोमा सिर्जनालाई जुन दृष्टिले हेरिन्छ त्यो दृष्टिले समीक्षा समालोचनालाई हेरिँदैन । त्यसैको प्रभाव हुन सक्छ समीक्षक, समालोचक हाम्रोमा कम्ती भेटिन्छन् । तर यस विशेषाङ्कमा भने समालोचना सिद्धान्त र कृति समीक्षा आशा लाग्दो देखिन्छ । जस्तै प्रा. विश्वप्रसाद शर्माको नेपाली समालोचनाको उत्तरवर्ती स्वरूप, डा. नवीन पौड्यालको लकाँको मनोविज्ञान समालोचना, ज्ञानु अधिकारीको समालोचना स्वरूप, डा. लक्ष्मणप्रसाद गौतमको सिर्जनात्मक लेखनको स्वरूपलगायतका रचना समालोचना सिद्धान्त तथा साहित्य सिर्जनाको वस्तुस्थितिसँग निकट छन् ।
वीपी कोइरालाले एक ठाउँमा भनेका छन् “घटना, पात्र, परिवेशको लागि म कहिल्यै साहित्य रच्दिनँ” अर्थात् आख्यानको लागि आख्यान तयार गर्नु उनको अभिप्राय होइन । कुनै विचारलाई उद्घोष गर्न अझ भनौँ विचारलाई प्रस्ट्याउन उनी आख्यान सिर्जना गर्थे । उनको यस भनाइको म सच्चा अनुयायी हुँ । विचार विहीन साहित्य सिर्जना मलाई प्रिय लाग्दैन । वैचारिकता र कलाशिल्प नै स्रष्टाको आत्मा हो । त्यही हो, साहित्यकारको निजी परिचय ।
कला चिन्तन, वैचारिक विमर्शका अभिलेखमा म घण्टौँ भुल्न सक्छु । त्यस्तै यस विशेषाङ्कमा प्राय: आलेखहरू वैचारिक छन् बौद्धिक छन् । त्यसो हुँदा यस ग्रन्थमा म निकै भुलेँ । बडो ध्यानले पढेँ । साहित्यको महत्ता बोध गरेँ । भाषा संस्कृतिको सामथ्र्य कति हुँदो रहेछ त्यो पनि थाहा पाएँ । कतिपय रचना चिन्तनकै लागि चिन्तन गरिएका छन्, जस्तो कृष्ण धरावासीको विचारको मृत्यु, गङ्गा सुवेदीको चेतना, विद्या, अविद्याको सन्दर्भमा मान्छे, डा. इन्दुशेखर तत्पुरुषको आस्था र सिर्जनशीलताको अन्तर्सम्बन्धमाथि विचार गर्दै आदि ।
भाषा, साहित्य, संस्कृति नै प्राण हो भन्ने प्रसङ्ग अघि नै प्रस्तावनामा आइसकेको छ र फेरि पनि आइरहने छ विषय सन्दर्भमा । किनकि यो त्यही प्राणको वहस हो । ‘प्रक्रिया विशेषाङ्क’ त्यसैको नमूना हो । नेपाली जातिले आफ्नो निजात्मकताको लागि गरेको, उत्सर्गको व्याख्या विश्लेषण पनि हो । भुटानी नेपाली त्यसै शरणार्थी बन्न राजी भएका थिएनन् । प्राण विहीन बचाइ उनीहरूलाई स्वीकार्य थिएन । जतिखेर बलात् उसलाई आफ्नो निजता त्यात्न लगाइन्छ, त्यस निमेष उसको पीडा र अपमान कति हुन्छ ? त्यो त हाम्रा उनै भुटानी दाजु भाइ दिदी बहिनीलाई सोध्नु पर्छ । उनीहरू अहिले पनि त्यसैको लडाइँमा छन् । प्रत्यक्ष परोक्ष हामी सबै लडाइँमै छौँ ।
ग्लोबलताले एकातर्फ हाम्रो भाषा संस्कृतिलाई किनारीकृत गर्दैछ । फेरि अर्कोतिर विश्वमा फैलाउँदै पनि छ । यस्तो अवस्था हाम्रो जातिको मात्रै होइन । विश्वका शक्तिशाली भाषा अझ अंग्रेजी भाषाले अन्य भाषालाई निष्प्राण बनाउन खोज्दैछ । फेरि अर्को कुरा अंग्रेजी भाषाको मोहले पनि त्यस्तो गर्दैछ । विश्व नागरिकसँग प्रतिस्पर्धा गर्न त्यसैलाई आफ्नो मूल भाषा जतिकै प्रेम गर्नु पर्ने विवशता झन् भयप्रद छ । डायास्पोरिक समुदायमा छरिएका हाम्रा जातिले भोग्नु परेको यो एउटा कठोरता हो । अलिकति आफूजस्तै अलिकति पराईजस्तै भएर उनीहरू सङ्घर्षरत छन् । अझ होइन डायास्पोराको पहिलो पुस्ता आर्जित भूमिमा दुरुस्त आफू जस्तै हुन चाहन्छन्, अस्तित्वको संकट कम गर्नकै लागि अन्तर्राष्ट्रिय नेपाली समाज, विश्व साहित्य महा संघ, ग्लोबल भुटनिज् लिटरेरी सोसाइटि, नेपाली साहित्य परिषद, नेपाली साहित्य सिर्जना समिति, नेपाली साहित्य प्रकाशन समिति, नेपाली पाठ्यपुस्तक प्रकाशन समिति जस्ता संघ सस्थाहरूको स्थापना भएका छन् । तर दोस्रो तेस्रो पुस्तामा आफ्नो भाषा साहित्य संस्कृतिको प्रभाव नगन्य हुँदै जाने, लोप हुँदै जाने सम्भावन पनि उतिकै देखिन्छ । यो चिन्ताको विषय हो ।
गोविन्द गिरी ‘प्रेरणा’ को नेपाली भाषा–साहित्यको विश्व यात्रा यही विषयमा केन्द्रित छ । हर्ष र सुर्ता दुवैको व्याख्यान छ । विश्व नागरिकको अवधारणा विकसित हुँदै गएको अवस्थालाई सामान्यीकरण गर्दै अझ अगाडि—अमेरिकाका प्रथम पुस्ताका प्रवासी नेपाली र स्थानीयहरूको समिश्रणमा नारायण अधिकारी भन्छन्, “अहिलेको विश्व भनेको अन्तर्राष्ट्रियतावादमा आधारित छ । एउटा व्यक्ति, एउटा व्यापारिक संस्था, एउटा राष्ट्र वा कुनै क्षेत्रमा कार्यरत कुनै पनि एउटा इकाइ आफैँमा स्वावलम्बी छैन । कसैलाई कसै न कसैको सहयोग आवश्यकता छ र प्रगति र उन्नतिका लागि एक–अर्कामा निर्भर हुनै पर्ने अवस्था छ । अहिलेको विश्वको लागि यो साझा अवस्था हो । अर्को शब्दमा भन्ने हो भने वैश्विक उदारीकरणले राष्ट्रको सिमानालाई सिमानामै सीमित राखेर एक–अर्काेप्रति आश्रित बनाएको अवस्था छ (पृ–९७)।”
डायास्पोराका सम्बन्धमा जति बुझे पनि बुझ्न बाँकी नै रहन्छ । किनकि यसको स्वरूपमा निश्चितता छैन । सयम अनुसार परिवर्तित भइरहन्छ । त्यस्तै डायास्पोरिक युगको अन्त्य पनि कहिल्यै हुने छैन । झन् व्यापक हुँदैछ । प्रकारान्तरमा विश्वका सम्पूर्ण नागरिक डायास्पोराको एकांश भएका छन् । विश्व नै एउटा डायास्पोरिक ग्राममा रूपान्तरित भएको छ । त्यसैको प्रभावमा आद्यभूमिका नागरिकले पनि डायास्पोरिक भोगाइको अनुभूति गर्दैछन् । देशभित्रै पनि भाषा संस्कृति, रहनसहनको चरम अस्थिरता बढ्दो छ । साइबर क्रान्तिले त्यसलाई अझ बढी प्रभाव पारिरहेको छ । हरेक गाउँ बस्तीले आन्तरिक डायास्पोराको रूप लिइरहेको छ । त्यतिखेर एउटा यस्तो दिन आउने छ जुन समय आदिवासी भन्ने शब्द नै लुप्न हुनेछ । अबका मानिस सीमाहीन बन्दैछन् ।
उत्तरआधुनिकता र त्यसैको एउटा हाँगो— डायास्पोरा बारे नेपाली साहित्य समालोचनामा सैद्धान्तिक व्याख्या र निरूपण गर्ने डा. गोविन्दराज भट्टराई—डायास्पोरिक नेपाली साहित्य: वर्तमान स्थितिको संक्षिप्त अभिलेखमा भन्छन,् “नयाँ धाराका विश्व परिवेश बुझ्ने स्रष्टा र समालोचकहरूले अनुवादकजस्तै डायास्पोरिक साहित्यको भिन्नै र तेस्रो तर अत्यन्तै सम्मानित स्थान हुन्छ भन्ने कुरा स्वीकार गरिसकेका छन् । हामी मात्र होइन, हाम्रा लागि बोलिदिने विश्वका अन्य विद्वान्हरू पनि जन्मिसकेका छन् । उदाहरणको लागि, डेभिड गेल्नर तथा सोन्द्रा हाउसनर मिलेर अनुसन्धान अध्ययन गरेको एउटा बृहत् ग्रन्थ हालै विश्व बजारमा आइसकेको छ— ग्लोबल नेपालिज्: रिलिजन, कल्चर एन्ड कम्युनिटि इन अ न्यू एन्ड ओल्ड डायास्पोरा (पृ–८४)।”
भौगोलिक सीमाले भन्दा पनि जीवनका नयाँ अवसर र चुनौतीले आजका मानिस विश्व नागरिक बन्दैछन् । तर एउटा कुरा स्व निर्णय र मनोखुशीदेखि डायास्पोरा निर्माणका अरू पनि गहन तत्त्व रहेका छन् । युद्ध, भय, त्रास, आतङ्क झन् डरलाग्दो कुरा छ । फेरि उदाहरण भुटनिज् नेपालीकै लिऊँ । डा. भट्टराईले उनीहरूलाई डायास्पोरिक शब्दले मात्रै अथ्र्याउन नसकिने बताएका छन् । ग्लोबल डायास्पोरा त्यस्तै भिक्टिम डायास्पोराले मात्र उनीहरूको समग्र सम्बोधन हुन सक्छ उनी भन्छन् ।
यस स्वर्ण विशेषाङ्कमा साहित्यका विविध आयामको चर्चा परिचर्चा भएको छ । अझ भनौँ न नेपाली साहित्यको सुरुवातदेखि वर्तमानसम्मका केही साहित्यिक वाद, समालोचना सिद्धान्त, स्थानगत काल विभाजन र त्यसको इतिहास अध्ययन गरिएको छ । यस ग्रन्थलाई नेपाली साहित्यको एउटा विराट रूप मान्न सकिन्छ । मैले यसरी नै बुझेँ, जसमा धेरै थोक समेटिएको छ । अझ बढी त नेपाली भाषीको आत्मा प्रज्वलित भएको छ । प्रदीप्त भएको छ । अमेरिकी नपाली, बेलायती नेपाली, हङकङेली नेपाली, भारतीय नेपाली, मूल भूमिका नेपाली … सबै सबैको एकीकृत रूप नै यसको समष्टि हो ।
पर्यावरण, डायास्पोरा, साइबर जस्तै अभिघात साहित्य पनि उत्तरआधुनिकवादकै एउटा नयाँ अवधारणा हो, बेलायतदेखि विजय हितान भन्छन्, युद्ध साहित्य पनि अब बामे सर्दैछ । केदार संकेतको अफगानिस्तानमा किन युद्ध ? पनि त्यसै मध्येको एउटा अभिलेख हो ।
नेपाली भाषी जुन जुन ठाउँमा फैलिएका छन् त्यहाँ भाषा साहित्यको उत्थानमा अनेक प्रयास भएका छन् । हङङक निकै अगाडि देखिन्छ । संघ सस्था खोल्ने, साहित्यिक पत्रिका निकाल्ने, पाठ्यक्रम लागू गर्ने जस्ता थुप्रै उपलब्धिपूर्ण कर्म भएका छन् । दीपक सुवेदी तथा देवराज राईको आलेख—हङकङकको पृष्ठभूमिमा नेपाली साहित्य र स्रष्टा, हङकङकमा प्रा.डा. टङ्कप्रसाद न्यौपानेमा जुन कुरा थाहा पाउन सकिन्छ ।
यति ठूलो पुस्तकको आखिरी पृष्ठमा पुग्दा समेत मलाई केही थोक नभेटिएको आभास भयो । खिन्नता बोधसँगै म अनुत्तरित नै छु । ६०/६५ को संख्यामा महिला लेखकको सहभागिता शून्य प्राय: देखिन्छ । मुश्किलले ५/६ जना नारी स्रष्टाका आलेख यसमा मिसिएका छन् । महिला अझै सबल हुन बाँकी छ, यो यथार्थता हो । तर नारी स्रष्टा के यति मात्रै थिए त ? उनीहरूको उपस्थिति के योग्य थिएन ? यसले के पनि बुझाउँछ भने हाम्रो समाजमा पुरुषको एकाधिकार ढक्कै कायम छ ।
कृतिका माध्यमबाट होस् या गीत सङ्गीत, कलाका माध्यमबाट जसरी होस् त्यसबाट अभिव्यक्त मुक अमुक वाणी जुन त्यस समयकै प्रतिध्वनि हो, त्यस समाजकै प्रतिविम्ब हो, त्यस जातिकै संवेग हो । त्यस्तै यहाँ विभिन्न कालखण्डमा, विविध भूमिमा रचिएका साहित्यिक पुस्तकको विमर्श, समीक्षा, समालोचना, अध्ययन, मूल्याङ्कनमा हाम्रै पिता पुर्खा र वर्तमानका हामी अरू बढी प्रस्टिएका छौँ । अन्य लेख रचनाको अनुपातमा साहित्यिक काल विभाजन र त्यसभित्रका कथा, कविता, उपन्यास, संस्मरण र नाटकका कृतिमा गरिएको विश्लेषणात्मक, परिचयात्मक, समीक्षात्मक अभिलेखको आवृत्ति बढी पाइन्छ । प्रा. अमीर ठटालको औपनिवेशिक विमर्शभित्र इन्द्र सुन्दासको ‘जुनेली रेखा’: एक अध्ययन, डा. अशोक थापाको रङ्गमञ्चीयताका दृष्टिले माध्यमिककालीन नेपाली नाटक, अर्जुन प्रधानले तयार पारेको कवि भीम ठटालको ‘जिद्दी बालक’–सित पौँठेजोरी, डा. रामचन्द्र पोखरेलको कवि वीरभद्र कार्कीढोली “जीवन आयामका क्यान्भासहरू” का आयामहरूमा, खडगराज गिरीको देवानकी ‘गोमती’, डा. सुजाता रानी राईको शिवकुमार राईका काव्यकृतिको विश्लेषणात्मक अध्ययन, प्रा. हेम भण्डारीको हिमालका आवाज कविता कृतिमा प्रतिरोधी चेतना, हस्त नेचालीको मेरो कविता र डी. बी. परियार, सरस्वती मोहोराको अगमसिंह गिरीका कवितामा राष्ट्रियताबोध लगायतका आलेखमा विशेषत: भारतीय नेपालीको मनोविज्ञान उद्भासित भएको छ । स्रष्टा र तिनका कृति परिचय पुन: प्रकाशमा आएका छन् । नवपुस्ताका पाठकबीच त्यो चिनारी फैलिएको छ ।
मेघालयमा भारतीय नेपाली साहित्यको एक सय पच्चीस वर्षीय विकासक्रममा नेपाली भाषीको स्थिति र पृष्ठभूमिको अध्ययन गर्दै डा. टेकनाथ उपाध्याय भन्छन्, “मेघालयमा नेपाली भाषीहरू भाषाप्रति सचेत र जागरुक छन् । त्यसैले आफ्नो अस्तित्व जोगाउने प्रयासमा निरन्तर लागिरहेका छन् (पृ—११७) ।”
यता डा. गोमादेवी शर्माका अनुसार मणिपुरमा युद्ध साहित्य (सबाइ) बाट नेपाली भाषा साहित्यको आरम्भ भएको पाइन्छ । कुनै पनि भूमिमा धर्म संस्कृति भाषा साहित्यको जरा गाड्नु भनेको, प्रभुत्व कायमको आरम्भिक पाइला हो । नेपाली वाङ्मयमा भारतीय नेपालीको योगदान ठूलो छ । लामो छ । अझ् व्यापक हुँदैछ । केही समय अघि सिक्किम टुडेमा भानु जयन्ती उत्सवको प्रत्यक्ष लाइभ हेर्दै थिएँ—वर्तमान सिक्किम सरकारका मुख्य मन्त्री प्रेमसिंह तामाङ (गोले)को उपस्थिति सहितको । त्यो देख्दा म आश्चर्यचकित थिएँ । अनौठौ किसिमको गौरव बोध भयो । फेसबुकमा त्यो लाइभ उतिनखेरै शेयर गरेँ । आत्मसम्मानले प्रफुल्लित भएँ । प्रभुत्व कायम गर्नु भनेकै यही हो । डायास्पोरिक भूमिमा रहेका नेपालीहरूको सङ्घर्ष पनि त्यसैको लागि हो ।
नेपाली जाति, भाषा साहित्य, संस्कृतिको कुरा गरिरहँदा त्यस समाजको आर्थिक, राजनैतिक, शैक्षिक, धार्मिक, ऐतिहासिक विषय ओझेलमा परेको देखिन्छ । तर होइन । जुन कुरा भाषा साहित्यमै जोडिएर आएको छ । साहित्यका प्रभावक तिनै तत्त्व हुन् ।
हाम्रा वीर योद्धाको इतिहास नेपालमा मात्रै सीमित छैन । हाम्रो पुर्खाले विश्व युद्ध लड्यो । भारतीय स्वतन्त्रताको लागि पनि लड्यो । त्यसमा नेपालीको योगदान स्मरणीय छ । डा. जयन्तकृष्ण शर्माकोे पूर्वोत्तर गोर्खा: इतिहास औ स्वतन्त्रता संग्राममा अवदान, यस आलेखले गोर्खा जातिको त्यही इतिहास बोलेको छ । डा. पुरुषोत्तम भण्डारीको अभिलेख आजाद हिन्द फौजका भारतीय गोर्खा सहिदहरू: एक रिपोट पनि यस्तै एउटा उल्लेखनीय इतिहास हो । त्यस्तै अरू पनि केही रचना इतिहाससँग सम्बन्धित छन्, जस्तो कि—डा. स्वामी प्रपन्नाचार्यको जय दमाईको घरमा इतिहास लुकेको छ, गोपालसिंह विश्वको प्राचीन भोटाङको इतिहास: एक पुनरावलोकन आदि ।
कला साहित्यलाई समुन्नत स्थितिमा पुर्याउन प्रत्यक्ष अप्रत्यक्ष धेरै तत्त्वले भूमिका वहन गरेको हुन्छ । साहित्यिक पत्रपत्रिकाले अझ ठूलो सहायता गरेको हुन्छ । जति महŒव साहित्यको हुन्छ, त्यति नै महत्त्व पत्रपत्रिकाको हुन्छ । साहित्यिक पत्रकार र सम्पादकको हुन्छ । भारतीय नेपाली साहित्यिक पत्रिकाको एउटा दीर्घ इतिहास रहेको छ । दार्जीलिङ्बाट ‘दियालो’, कालेबुङबाट ‘साहित्य संकेत’, सिलगुढीबाट ‘बाढुली’, असमबाट ‘बिन्दु’, गान्तोकबाट ‘अर्चना’ र ‘निर्माण’ प्रकाशित हुँदै आए । तर दीर्घकालीन रूप लिन सकेनन् । सिक्किमबाट ‘स्रष्टा’ र ‘प्रक्रिया’ अझै निरन्तर प्रकाशित भएको देख्दा साहित्यको लागि सिक्किम अझ अगाडि हो कि ? भनूँ जस्तो लाग्छ । यसरी साहित्यिक पत्रिकालाई निरन्तर जीवित राख्नु साधारण कुरा होइन ।
थीरु प्रसाद नेपालको भारतीय नेपाली साहित्यिक पत्रकारिताको विकासयात्रामा सिक्किम भूमिको अवदानले समकालीन भारतीय नेपाली साहित्यिक पत्रकारिताको गहन अध्ययन गरेको छ ।
“दार्जीलिङले हिजो सोचेको कुरा नेपालले भर्खर आज सोच्दै हुन्छ रे !” यो भनाइ मैले धेरै अघिदेखि सुन्दै आएकी थिएँ । ‘प्रक्रिया’को अध्ययनमा मलाई जुन कुरा एकदम सत्य लागेको छ । डा. महेन्द्र पी. लामाको आलेख दार्जीलिङ : इतिहास र निर्माणबाट त्यो अभिव्यक्ति झन् प्रष्ट भएको छ । नेपाली भाषाको उद्गम भूमि पार गरेर नेपाली भाषा साहित्यको चिन्ता पहिले उतै (भारतभूमि) भएको देखिन्छ, साहित्यिक पत्रिका उतै प्रकाशित भए, पुस्तकालय उतै खोलिए । साहित्यिक अनुष्ठान उतै भए । साहित्यिक संघ संस्था उतै स्थापना भए । यता नेपालमा जुन उपलब्धि पर्खिन धेरै समय लाग्यो । एकतन्त्रीय राणा शासनले त्यस्तो केही उज्यालो छिर्न दिएन । यताका युवा उतै गएर साहित्यिक गतिविधिमा संलग्न भए । त्यसरी तृष्णा मेटाउनु परेको थियो ।
भारतमा स्वतन्त्रता पश्चात् गणतन्त्र स्थापना भयो । सँगै शिक्षाको विस्तार पनि भयो । महात्मा गान्धी, स्वामी श्रद्धानन्द, रवीन्द्र ठाकुरजस्ता उच्च व्यक्तित्वले शिक्षाको माध्यम मातृभाषा हुनपर्छ भन्ने माग राखे । त्यही अनुरूप भारतमा नेपाली मातृभाषाका माध्यमिक, उच्चमाध्यमिक विद्यालय पनि केही खुले । डुवर्सका नेपालीहरूमा उच्चमाध्यमिक शिक्षा व्यवस्थामा डा. जीवन राणा भन्छन,् तर त्यो नीति आशा लाग्दो, प्रत्याशित हुन सकेन । त्यसो हुँदा शिक्षाको अभावमा नेपाली साहित्य फस्टाउन सकेन । डुवर्सबाहिर नेपाली साहित्यको श्रीवृद्धि जति भएको छ त्यति डुवर्समा नेपाली साहित्य टाक्सिएको छ डा. राणा बताउँछन् ।
त्यस्तै एउटा भिन्न अन्य लेख रचनाभन्दा बेग्लै आर्थिक पक्षसँग केन्द्रित रहेको छ, एन् बी. राईकृत परोक्ष शोषण र सहकारिता । यसले के बुझाउँछ भने प्रस्तुत विशेषाङ्कमा धेरै थोकको संलग्नता छ । यसमा धेरै कुराको जानकारी पाइन्छ ।
फेरि त्यहीँ कुरा दोहोर्याउनु पर्यो, विद्यमान अवस्थालाई अध्ययन गर्दा भाषा र संस्कृति विस्तृत संकुचित दुवै भइरहेको छ । नेपाली भाषा पुस्तान्तरण भारतीय भूमि र वर्मामा जुन तरिकाले भएको छ त्यति अन्य भूमिमा हुन सक्दैन । बेलायत अमेरिका जस्ता राष्ट्रमा, डायास्पोराको आगामी पुस्तादेखि त्यसो हुन सक्दैन । किनकि नेपाल र भारतबीच भाषा, धर्म, संस्कृतिमा जुन समानता छ त्यो अन्य भूमिमा मिल्दैन । भारतको परिप्रेत्क्षमा नेपाली भाषा विकासका सन्दर्भमा अनेक उपलब्धिपूर्ण घटनाहरू भएको बताउँछन् डा. नरेशचन्द्र खाती । नेपाली भाषाको अध्ययन— उनको यस लेखमा नेपालीले गौरव गर्न लायक थुप्रै गतिविधिहरू भएका छन् । त्यहाँ धेरै प्रयासहरू भएका छन् । यस हिसाबले भारत नेपाली भाषी प्रयोक्ताका दृष्टिले स्रोतभूमि जतिकै जागरुक देखिन्छ ।
एकपटक ‘प्रक्रिया अन्तर्राष्ट्रिय स्वर्ण विशेषाङ्क’ सबैले पढ्नू, म यही भन्छु, अझ विशेष भाषा साहित्य प्रेमीले पढ्नू ।
आफ्नो जातीय गौरवको निम्ति विभिन्न क्षेत्रमा योगदान पुर्याउने साहित्यिक, ऐतिहासिक, राजनैतिक, शैक्षिक, वैचारिक, धार्मिक व्यक्तित्वको चिनारी गाउने रचना पनि यसमा प्रशस्तै रहेका छन् । अविनाश श्रेष्ठको नेपाली जातीयताका प्रतीक–पुरुष: गोपीनारायण प्रधान, प्रा. योगेश खातीको विविध आयामहरूमा लाल बहादुर परियार, डा. छत्र सुब्बा ‘पावल’ को कथाकार गहर उदासीको योगदान, सुमन मोथेको प्रथम गोर्खे आई.ए.एस. ललित परियार, डा. केशवप्रसाद उपाध्यायको इन्द्रमणि दर्नालको नाट्यकारिता, राजेन्द्र उपाध्यायको बहुआयामिक साहित्यकार: खडकराज गिरी, प्रक्रिया डेस्क प्रसप्रले तयार पारेको सिक्किमका भूतपूर्व मुख्यमन्त्री सञ्चमान लिम्बू: विभिन्न आयाममा, गोविन्द शर्माको दरामदिन क्षेत्रभित्रका केही दिवंगत साहित्यिक एवं कला स्रष्टा जस्ता रचनाले उज्ज्वल व्यक्तित्वको छविलाई उद्बोध गराएका छन् । जसले कला साहित्य अनि त्यस्तै अनेक किसिमले मानव सभ्यतालाई उठाएका छन् ।
त्यस्तै डा. कमला सांकृत्यायनलाई मैले बेला बेला सुन्दै आएकी छु । उनको बौद्धिक र साहित्यिक व्यक्तित्व अनुकरणीय लाग्छ । त्यो नाम सुन्दा मात्रै पनि प्रभावित हुने गर्छु । जीवन लाबरको अभिलेख डा. कमला सांकृत्यायन र साहित्यमा उनको योगदान पढेर म अझै तृप्त भएकी छैन । उनको विषयमा धेरै कुरा जान्ने इच्छा भएको छ । देवकोटाको अद्भुत प्रतिभालाई नेपाली साहित्य जगत्मा चिनारी गराउने प्रथम व्यक्ति नै उनका पति महापण्डित राहुल सांकृत्यायन थिए । हाम्रा महाकवि भारतीय साहित्यकार पन्त, प्रसाद, निरला तीनै जनाको योग हुन् भनी भारतवर्षमा उनले चिनाएका थिए ।
आधुनिक नेपाली कविता साहित्यको प्रकृति र प्रवृत्ति (सिद्धान्त र प्रयोग जे जस्तो भइरहेको छ) त्यसमा नेपाली कवि, समालोचकहरूको के–कस्तो योगदान छ भन्ने प्रश्नमा डा. सांकृत्यायनको उत्तर यतिखेर अझ अरू बढी सान्दर्भिक लाग्छ । उनी भन्छिन्, “साहित्यले समाजमा क्रान्ति ल्याउँछ, संस्कृतिलाई सुदृढ बनाउँछ । तर अहिलेको साहित्य विशेष गरेर कविता साहित्यको अवलोकन गर्दा मनमा यस्तो प्रश्न उत्पन्न हुन्छ के आजका रचनाकारहरूको सामु कुनै विम्ब, कुनै विषय छैन ? आजका युगमा के समाजमा यौन प्रवृत्ति लिएर मात्रै मनुष्य बाँच्न सक्छ ? के मानिसका जीवनबोध यति निम्न धरातलमा आउन सक्छ ? नेपाली कविताको प्रकृति र प्रवृत्ति अब कुण्ठा, यौन, वेश्या, नग्नता आदिकै चित्रण गर्नमा अग्रसर भइरहेछ । हुन सक्छ म पुरातनको समर्थन गर्न मन पराउँछु तर नयाँपन, नयाँ युग इत्यादिको नाउँमा अश्लील प्रकारका कविताहरूको सिर्जना गर्नमा हाम्रा रचनाकारहरूको आफ्नो बहुमूल्य समय नष्ट गरिरहेछन् जो असहनीय छ । हो, गौरव गर्ने कुरा यति छ कि भारतीय नेपाली कविहरू नग्नताको यति निम्न धरातलमा झरेका छैनन् र झर्ने पनि छैनन् । निराशावादी कविहरू हामीमाझ छन् तर उनीहरूको दृष्टिकोण त्यति अस्वस्थ र अश्लील छैन जतिको नेपालका अत्याधुनिक कविहरूको छ (पृ–२२९)।”
वर्तमान समयमा भूमण्डलीकरणले विश्वका नागरिकलाई एकरूप बनाउँदैछ । कुरा यति मात्र होइन, यसको विपरीत मानिसहरू अनेक वर्गमा विभाजित छन् । आफ्नो जातीय पहिचानको लागि विविध संगठनमा बाँधिएका छन् । मृत स्थितिमा पुगेको आफ्नो लिपि, भाषा संस्कृति, वंशको खोजी गर्न थालेका छन् । किनकि भाषा धर्म संस्कृतिमै त्यो समाज र जाति जीवित रहेको हुन्छ । उसको त्यो चिनारी समयसँगै युगिन परिवर्तन हुँदै जान्छ त्यो स्वाभाविक छ । यद्यपि त्यसको अन्त्य हुनु भनेको त्यो समाजको, त्यो जातिको नै अन्त्य हुनु हो । जी.एस. लिम्बूको सिक्किम राज्यमा लिम्बू भाषाको संक्षिप्त इतिहास, स्थिति र चुनौतीहरू, प्रधुम्न श्रेष्ठको नेवार र नेवा भाषा, पूर्ण योञ्जनको तामाङ जातिको चिन्हारी, टेकबाहदुर गुरुङ ‘तामी’को गुरुङ (तमु) इतिहास र संस्कृतका कुराहरू सहतिका केही रचनाहरू जातीय पहिचानका प्रयासहरू हुन् ।
त्यस्तै विश्वकै सम्पन्न, परिष्कृत तथा वैज्ञानिक भाषा संस्कृत कर्ममाण्डमा मात्र सीमित हुन पुगेको छ । विश्वका समृद्ध बौद्धिक राष्ट्रले पूर्वीय वाङ्मयको महत्त्वबोध गरेसँगै संस्कृत भाषाप्रति केही सकारात्मकता आएको छ । तर होइन । बरु उता भारतीय भूमिमा केही सचेतता छ । बौद्धिक, वैचारिक हिसाबले नेपालभन्दा भारत धेरै अघि छ अझ अघि छ । मेरो अनुभवमा भारतीय नेपालीको जुन चेतना स्तर छ, त्यो हामीमा छैन । हामी सतही र सस्तो मनोरञ्जनमा अल्मलिएका छौँ । केही समयको मौन अनुसन्धानबाट भनिएको यो मेरो निजी अनुभव हो । सत्य अर्कै हुन पनि सक्छ । किमिस किसिमका अनलाइन पत्रिकामा देख्छु माया, प्रेम, यौन उत्तेजना उमाल्ने लेख रचनाका पाठक कति धेरै हुन्छन् । उता वैचारिक, खोज अनुसन्धानमूलक अभिलेखहरू हातका औँलामा गन्न पुग्ने पनि भेटिँदैनन् । शेयर संख्याको आधारमा त्यो लिङ्कमा के रहेछ भनी पढ्न थाल्छु भरे त आफैँलाई धिक्कार्न मन लाग्छ । दैहिक मनोरञ्जनका लेख रचनामा हामी त्यसरी अलमल गर्दैछौँ, कि गाली र आक्षेपका स्वरमा तल्लीन छौँ । अनि साहित्यलाई राजनीतिकरण गर्नमा एकाग्र छौँ ।
प्रा. लक्ष्मीप्रसाद शर्मा—सिक्किमको सन्दर्भमा संस्कृत शिक्षाका उपलब्धि एवं चुनौतीहरूमा भन्छन्, “… विज्ञानसम्मत भाषालाई केवल जातिगत आधारमा हेर्ने गरेका छौँ, यही नै संस्कृत भाषाको अवन्नतिको कारण हुन जान्छ । संस्कृत केवल ब्राह्मण र कर्मकाण्डको भाषा नभएर यसमा विज्ञान, गणित, खगोल–विज्ञान आदि विविध विषयहरू निहित छन् जसलाई वैज्ञानिक रूपमा अध्ययन गर्न आवश्यक छ (पृ–३१०) ।”
अनुवाद विषयका पनि केही रचनाहरू यसमा समाविष्ट छन् । डा. सन्तोष खन्नाको अंग्रेजी नाटकको हिन्दी अनुवादलाई चन्दकला बमजनले नेपालीमा अनुवाद गरेका छन् । त्यस्तै अर्का डा. राकेश शर्मा कुमारको हिन्दी विज्ञान लेखन अनि अनुवादलाई वीरभद्र कार्कीढोलीले नेपालीमा रूपायित गरेका छन् ।
अन्तर्राष्ट्रिय व्यक्तित्व, नोबेल पुरस्कारका संस्थापक, स्रष्टा तथा साहित्यकार अल्फ्रेड नोबेल एक आविष्कारक पनि हुन् । उनलाई फादर अफ डाइनामाइट पनि भनिन्छ । अनेक उबडखाबडले निर्मित उनको जीवन सम्बन्धी प्रेमनाथ मनेनको रचना डाइनामाइट र नोबेल पुरस्कार: सङ्घर्षपूर्ण एक गाथा पढेर मैले आफूलाई शान्त गराएँ । महान् व्यक्तित्व निर्माणमा चुनौतीहरू पनि कति महान् हुँदा रहेछन् । प्रेममा पटक पटक आघात भोगेका, असफल दाम्पत्य जीवनले निराश भएका अल्फ्रेड एक दार्शनिक पनि हुन् । अरू किसिमले उनी सम्पूर्ण सफल भए पनि उनको यौन जीवन निराशा र ऐकान्तिकतामै बित्यो । एउटै लेखमा उनका सम्बन्धमा यति धेरै जानकारी पाउँदा मलाई एउटा सिङ्गो पुस्तक पढेको आभास भयो । आफ्नो अद्भुत भोगाइप्रति, महान् कर्मप्रति, सफलताप्रति सन्तुष्ट हुन नसकेकै कारण त्यसको क्षतिपूर्ति गर्न उनले नोबेल पुरस्कारको स्थापना गरेका थिए ।
एउटा ठूलो पुस्तक अध्ययनका लागि धैर्य र आँट दुवै चाहिँदो रहेछ । त्यसमा पनि बौद्धिक, वैचारिक, आख्यान विहीन विषय एकदमै निरस हुन्छ । यतिखेर लामो उच्छवासँगै ‘प्रक्रिया अन्तर्राष्ट्रिय स्वर्ण विशेषाङ्क’ धन्न पढेँछु भन्ने लाग्यो । चेतनाको स्तर वृद्धि गर्न बेला बेला यस्ता पुस्तक अध्ययन गर्दै रहनु पर्छ भन्ने पनि बोध भयो । इतिहासदेखि वर्तमानमा आइसक्दा, नेपाली साहित्य कुन मोडमा आइपुगेछ, त्यो कुरा पनि बुझ्न सकेँ । देशभित्र तथा बाहिरका नेपाली साहित्यको मोटामोटी इतिहास, स्रष्टा र तिनका कृति, त्यस्तै नवीन साहित्य सिद्धान्तका केही वादहरू र समालोचनाका विषयमा एउटा अनुसन्धान गर्नु जतिकै ज्ञान मिल्यो । त्यति मात्र होइन जातीय गौरवको निम्ति नेपाली भाषीले आर्जित भूमिमा गरेको सङ्घर्षले अरू थप प्रभावित भएँ । आफ्नो भाषा, साहित्य, संस्कृतिका लागि जीवन उत्सर्ग गर्ने ती योद्धालाई शतबार प्रणाम छ । यो विशेषाङ्क स्वयं एउटा ट्रफी हो ।
विषय सन्दर्भ अनेक भए पनि अन्त्यमा यसको मर्म जातीय गौरवकै खातिर रहेको छ । भाषा साहित्य कला, संस्कृतिको महिमा शिखर जतिकै अग्लो छ । अस्तित्व र पहिचानको खोजी छ । त्यस्तै आगन्तुक पुस्ताले यस्तै सत्कर्म गर्दै जाऊन् भनी देखाइएको यो एउटा निर्देशिका जस्तो पनि लाग्छ । उत्प्रेरणा जस्तो लाग्छ । यो ग्रन्थ नेपालीको, अस्तित्वको फैलावट भएको एउटा प्रमाण हो । त्यस्तै अरू पनि धेरै अर्थ छ यसमा । नेपालीको जातीय सङ्घर्ष हो, त्यसको प्राप्ति हो । विश्व समुदायबीच नेपालीको दौडधुप हो । अनिश्चित तर उज्यालो गन्तव्यको खोजी हो ।
नेपाल बाहिरका नेपाली भाषीको साहित्यमा, जातीय अस्तित्व नै प्रमुख चिन्ताको विषय देखिन्छ । हेर्नु न भारतमा बसोबास गरेका भारतीय नेपालीको कति पुस्ता त्यहीँ बित्यो । तर पनि त्यो मन भारतीय हुन सक्दैन । साहित्य, कला, सङ्गीत त्यही अस्मिताको क्षतिपूर्ति हो । विश्वमा छरिएर बसेका सम्पूर्ण नेपालीलाई एकतामा ल्याउने मूल सूत्र भनेकै भाषा, धर्म, संस्कृति हो । त्यसपछि बल्ल कला, साहित्य, सङ्गीत र आविष्कारको कुरा आउँछ । जसको माध्यमबाट अनि शुरु हुन्छ अस्मिताको लडाइँ । अब सबै जुट्यौ, सबै लड्यौँ, हामी पनि यस धर्तीमा केही विशेष बन्नकै लागि जन्मिएका हौँ । फरक त्यत्ति हो, हामी कति लड्न सक्छौँ ? हो, त्यसैले निर्धारण गर्ने छ हाम्रो अस्तित्व, हाम्रो पहिचान ।
पुनश्च: भाषा साहित्यमा समर्पित ‘प्रक्रिया’का सम्पादकलाई अनेक बधाई छ, शुभकामना छ । यस्तो अमूल्य रत्न प्रकाशित गरेर तपाईँले नेपाली जातिकै शिर उच्च बनाउनु भएको छ । त्यो स्तुत्य कर्मको जति प्रशंसा गरे पनि कम्ती हुने छ । साधारण तपस्या र साधनाले आज ‘प्रक्रिया’ यहाँ आइपुगेको होइन । प्रक्रिया, प्रक्रियाको अर्को नाम अथक स्रष्टा वीरभद्र कार्कीढोली र सम्पूर्ण सिक्किमवासी तथा प्रक्रियाका शुभचिन्तक सबै सबैमा मेरो हार्दिक नमन छ ।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

