मदन पुरस्कार ‘२०७५’ को श्रेष्ठ सूचीमा पर्न सफल कवि तथा समालोचक बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ कवितासङ्ग्रहलाई पल्टाएर नियाल्दा कृतिको न्यायपूर्ण तरिकाले अभिव्यक्ति दिन सक्ने शब्द र भाषाको सामर्थ्य त छैन मसँग तैपनि केही नलेखी बस्न मन नै मानेन ।
यही कृतिको चर्चाबाट मैले कवि बिन्दु शर्मालाई चिनेकी हुँ । त्यसपछि उनका कविता ,लेख ,अन्तर्वार्ता पाए भेटेसम्म पढ्दै आएकी छु। लैङ्गिक विभेद, सामाजिक विकृति, विसङ्गति, राजनीतिक क्षेत्रमा देखिएका अपाच्य क्रियाकलापको खुलेर प्रतिरोधात्मक शैलीमा आउने उनका लेखले निकै प्रभाव पारिरह्यो मलाई । ओक्कल दोक्कल पिपल पात कवितासङ्ग्रह प्रत्यक्ष साक्षात्कारमा स्रष्टाबाट नै पाएको अमूल्य उपहार चार खण्डमा संरचित रहेछ । यस कृतिभित्र चौबीस ओटा कविता रहेका छन् । प्रत्येक खण्डमा ६/६ ओटा कविता रहेका छ्न्।
पहिलो खण्ड ‘देशको दृश्य ‘ भित्र आकांक्षाको अवतरण ,प्रतीक्षा ,आँसुको सौन्दर्यशास्त्र,दङ्गीशरणको आँगनबाट ,बिम्बमा बटुवा ,हेलेनको अँगालोबाट शीर्षकका कविता समावेश गरिएको छ। यो शीर्षकले नै बोल्छ कि राज्यप्रतिको असन्तोषको पराकाष्ठा ।
राजै !
भर्याङमुनिको
कालो अँध्यारोलाई काखी च्यापेर
कुनामा कुँज्जिरहेको जाँतोजस्तो
जीवनहीन जिन्दगीसँग बेमन्जुरी देखाएरै
छोडेकी हुँ मैले ….
(पृष्ठ १९ – आकांक्षाको अवतरण)
यसरी सुरु भएको छ कविता ,राज्यबाट प्राप्त हुनुपर्ने न्यूनतम आवश्यकता कहिल्यै स्पर्श गर्न नपाएपछि देश छोड्नुको विकल्प नहुँदो रहेछ।आफू जहाँ पुगे पनि आफ्नो बाल्यकालको ,आफ्ना आफन्त र पर्वहरूको सम्झनाले पिरोल्दो रहेछ । जीवनयापनका लागि घर छोड्नु परेको कालो विवशताले कविता पढ्दा मन निकै निमोट्छ। थारु महिला परदेशमा रहँदा उसको आकांक्षालाई प्रस्तुत गरिएको यो कविता सुललित शब्द र बिम्बले निकै मार्मिक बनाएको छ। त्यस्तै प्रतीक्षा कवितामा जिबाले आफ्नो प्युसोको प्रतीक्षा र जिमाले आफन्तबाटै लुटिएकी जुनकिरी रातो फरियामा कतैबाट उदाउँछे कि नातिनी भनेर प्रतीक्षा गर्छिन्।सञ्चारको यति विकास हुँदा पनि आफूले कुरेर बसेका मुटुका टुक्राको खबर नपाएर अतालिएको कारुणिक अभिव्यक्ति दिएको यो कविताको अन्त्य यसरी भएको छ-
कतै होला कि
जूनै जूनको धर्ती ?
फूलै फूलको बस्ती? (पृष्ठ २५)
“आँसुको सौन्दर्यशास्त्र” कविता पढ्दा मन ढक्क फुलेर आउँछ। यसभित्र पसेर बाहिर निस्कँदा निसासिएको चिसो जिन्दगी भेटिन्छ।
निर्दयी मालीबाटै पत्रहरू थुतिएको
सौन्दर्यविहीन सयपत्री फूलजस्तै
छोरीका छताछुल्ल कहरहरूलाई
सहमाल्ने आँसुका अँजुली पनि
यिनै त हुन !
सोचमग्न,भावुक बनाउने र कतैबाट पनि साथ नभेटिएको न्याय नमिलेको जिन्दगीबाट बग्ने नुनिलो भेलको कसरी कुन शब्दले वर्णन गर्न सकिन्छ र ? तर कविले निकै मिठा शब्दमा सुन्दर बिम्बले कहालीलाग्दा विषयको उठान गरेको देख्दा बलियो काव्यको सौन्दर्यशास्त्र देखिन्छ। दङ्गीशरणको आँगनबाट शीर्षकको कविताले दाङ जिल्लाको थारुहरूको विलुप्त इतिहासलाई पुनः आह्वान गरेको देखिन्छ। ‘बिम्बमा बटुवा ‘कविता निकै ओजपूर्ण लाग्यो। प्रिय मान्छेलाई सम्बोधन गरिएको यो कविताको अंश यस्तो रहेको छ-
गुराँस फुल्ने पहाडका अभिसप्त छातीहरू
स्वार्थको सुनामीले जलमग्न बनाएका
समृद्धि झुल्ने तराईका विदग्ध मनहरू
छाम्नुपर्ने छ शून्य हृदयले। (पृष्ठ ३५)
यस्ता खँदिला बिम्बले सजिएको यो कविताले पढ्दापढ्दै भावुक बनाउँछ। देशतिर फर्किन्नँ अनि राजनीति हेर्दिनँ ,बुझ्न चासो राख्दिनँ सोच्दासोच्दै पनि झनै सोचमग्न बनाउने कविताको शक्ति प्रष्ट देखिन्छ।त्यस्तै अर्को ‘हेलेको अँगालोबाट ‘ शीर्षकको कवितामा हेलेनसँगको प्रेमिल सामीप्यतालाई उठान गरेर युद्धका बीभत्स रुपले धड्कन नै पड्कलाजस्ता राज्यका विसङ्गतिको आवाजलाई समावेश गरिएको यो कविता निकै सशक्त देखिन्छ।
दोस्रो खण्डको शीर्षक ‘सम्बन्धको यात्राबिम्ब ‘ रहेको छ।यस शीर्षकले पक्कै पनि जिन्दगीमा जोडिएका सम्बन्धभित्रका रेखालाई ऎनामा देखाएको हुनुपर्छ । यसको सुरुमै कविता सङ्ग्रह शीर्षक ‘ओक्क्लल दोक्कल पिपल पात’ रहेको छ। यो कवितामा लैंङ्गिकताको भिन्नता घरभित्रैबाट भएको, कुरुप संस्कृतिले मानसिकतामा जरा गाडेर आमाले नै गरेको फरकपनले आफूलाई र आफ्ना चाहनालाई निमोठेर बाँचेको हुनाले बहिनीलाई यस्तो नहोस् भन्ने आग्रह गरिएको छ। कविता पढ्दा आफ्नै बालापन आँखामा सचित्र घुम्छ।’म नहुँदी हुँ त प्रिय ‘ भन्ने कविता आफ्नै प्रियलाई गरेका अनेकौं प्रश्नमा सांसारिक जीवनमा प्रेमको अर्थ बुझाउन र आफ्नो अभावमा आउने सम्भावित समस्याको सूचना दिएर आफ्नो महत्त्वपूर्ण भूमिका भएको उल्लेख गरिएको छ। यसको कवितांश-
आकाश र धर्ती
धुलिका र बर्सात
मिलनको अपूर्व रहस्य
कसरी बोध गर्दा हौ ?
यदि म नहुँदी हुँ त प्रिय ! (पृष्ठ ४८)
‘सम्बन्धको मार्गचित्र’ कविता पढ्दा आफ्नो बाल्यकाल र हालको वर्तमान आँखामा झल्झली घुम्छ । छोरी हुनु र श्रीमती हुनुको अन्तरले मन कुँडिएर आउँछ । पछिल्लो सम्बन्धले जति नै खुसी र मनोरञ्जन दिए पनि बालापनको जस्तो खुसी र रमाइलो दिनै नसक्ने कुरा कविले आफ्नै स्थानीय ठाउँ र नदीनालाको उदाहरणबाट प्रष्ट पारेकी छिन् । प्रिय कमरेड शीर्षकको कविताले आफ्नो प्रिय मान्छेलाई दीनताका चाङहरूको गुनासो सुनाउन आफ्नो समाजमा भएका दीन दु:खीको बिम्ब जोडेको यो निकै मार्मिक कविता हो । ‘प्रेमको क्रुसिफिकेसन ‘ कालजयी कविता हो । छोरालाई सम्बोधन गरेर लेखिएको यो कवितामा आफ्नो छोरालाई विज्ञान र गणितका सुत्र सिकाउँदा समाजको वर्गीय भिन्नता र त्यसको असर बोध गराउन नसक्दा आफ्नो मातृत्वप्रति पनि असन्तुष्ट रहेको कविताको सार बुझिन्छ । यो खण्डको अन्तिम कविता हो ‘प्रियतमकी आमासित ‘। यस कवितामा सहअस्तित्वको सँगसँगै सासुबाट बुहारीले पनि मातृत्वको खोजी गरिएको छ। नारी भएर नै होला यो कविता निकै मन पर्यो ।पढ्दा नुनको सागर आँखाबाट बाध भत्काएर झर्यो । यस कविताको अंश-
ओ !मेरो प्रियतमकी प्रिय आमा !
अझै पनि अटाउन सकिनँ म
मेरो प्रियतमझैं
किन तिम्रो उदार वात्सल्यभित्र !(पृष्ठ ६२)
तेस्रो खण्ड ‘समविधानको स्वरुप ‘ रहेको छ । तिम्रो विरासतको अनुष्ठानमा यस खण्डको पहिलो कविता हो । यो कारुणिक कविता हो।यसमा थारू महिलाले आफ्नी मालिक्नीसँग आफूले गरेको संघर्षले मालिक्नीका सन्तानको उन्नति भएको गुनासो गर्दै आफ्ना सन्तानको तुलना गरेकी छे । समानताको खोजी गरिएको यो तराईको जातीयतालाई र वर्गीयतालाई चित्रण गरेको सुन्दर कविता हो । अर्को डुम्रीको रुख कवितामा नारी अस्तित्वको खोजी गतिएको छ । हाम्रो देशमा नारीहरू निकै पीडित छन् त्यसमा पनि तराई भागमा अझ बढी पीडित भएको दृष्टान्त यो कृति पढ्दा अनुमान लगाउन सकिन्छ । नारी अस्तित्वको घाम कहिले झुल्किएला ? तिम्रो विधान कवितामा पनि समाज र राज्यप्रतिको असन्तुष्टिको पहाड खडा भएको छ । अर्को कविता छ वर्गीय भिन्नतामा समानताको खोजी गरिएको ‘सम्बन्धमा सखी’। सखीलाई समानताको आह्वान गरिएको यो कवितांश-
विरुपताका हाम्रा मौसमी रङ र
विषमताका विद्वेषी वर्णहरू
खलक्कै पखालेर
कर्मसँगै बग्न सकौँ हामी
एउटै सङ्लो नदी भएर । (पृष्ठ ७७)
‘खास्टो’ कवितामा खास्टो नै बिम्ब बनेर आएको छ । यो कविता पढ्दा समाजको कुरुपता र पुरुषको पुरुसत्व ऎना अगाडि उभिएर आफैंलाई हेर्दा जसरी प्रष्ट देखिन्छ त्यसरी नै समाज देखिन्छ,पुरुष देखिन्छ।यस कविताको अंश-
अबेर राति लडखडाउँदै भित्रिन्छ
मक्किएको मियोजस्तो
त्यो एउटा उत्तरआधुनिक सभ्यता
र भिजेका कपडाजस्तै
चरक्क निचोरेर लैजान्छ
जतनले जोगाएको
मेरो सुकुमारी वैभव
यस कविताको अन्त्यमा आफ्नो अस्तित्वको खोजी गरिएको निकै मिठो निचोड रहेको छ। त्यस्तै अर्को कविता छ ‘मेनिफेस्टो’ जुन कविता बाबालाई सम्बोधन गरेर लेखिएको छ।यसमा आफ्नै बाहुबलले आलो समयमा आफ्नो जिन्दगीको प्रिय मेनिफेस्टो लेख्ने उद्घोष गरिएको छ।
यस कवितासङ्ग्रहको अन्तिम खण्ड “नाङ्गिएको समय “रहेको छ । नारी अस्मिता लुटिँदा मौन रहेको राज्य, प्रशासन र कानुन व्यवस्थालाई मिठा शब्दमा बिम्बात्मक शैलीको प्रस्तुति रहेको ‘अभिशाप ‘ कवितामा पीडितलाई बलियो बनेर सौम्य, सभ्य संसार जन्माउने आँट र साहस दिएको छ । यस्ता कविताले समाजको दृश्य देखाउदै आत्मबल प्रदान गर्छन् जस्तो लाग्छ।दु:खमा पनि सकारात्मक सोच बोक्नुपर्छ भन्ने सन्देश प्रवाहित गरेको छ। ‘ मेरी छोरी र प्रेमदिवस’ कविताले पूर्वीय सुन्दर र सभ्य संस्कारलाई पाश्चात्य संस्कृतिको प्रभावमा बेरिएर प्रेम जस्तो पवित्र सम्बन्धलाई आधुनिकताको खोलले ढाकेर समय उत्ताउलिएको वर्तमानकालीन अवस्थामा देखिएको विकृतिप्रति कविको ठुलो गुनासो र असन्तुष्टि प्रष्ट देखिन्छ।अनावश्यक स्वतन्त्रताले निम्त्याउने दुर्दशाबाट बच्न आधुनिकहरूलाई सचेत गराउने यस कविताको उद्देश्य देखिन्छ। त्यस्तै’ समृद्धिको सपना’ कविताले युद्धकालमा भत्काएका भौतिक संरचनाको खोजी गरेको अनुभूत गर्न सकिन्छ। विकासको नाममा भएको विनाशप्रति आक्रोश पोख्दै रहस्यका घुनहरू पिस्सिएर सिर्जनाका गीतहरू गुन्जिनुपर्छ भन्ने भावले भरिएको यो कविता निकै कलात्मक रहेको छ। ‘चरैवेती’ लाई मानवीकरण गरेर लेखिएको कविताले आफ्नोपनको चिनारी दिएको छ। खोजी कविताको एक टुक्रा –
इमान बन्धकी राखेर म
दसगजामा उभिएकी छु
कतै भेटिहालिन्छ कि अस्तित्व ?
यस कवितामा इतिहासको समृद्धि र अँध्यारोबाट उज्यालोको खोजी गरिएको छ । सुन्दर कवितासङ्ग्रहको अन्तिम कविता ‘ गोधुलीमा मालती’ रहेको छ । कलात्मकताभित्र वर्णनात्मक शैलीको यो कवितामा ठुलो असन्तुष्टिको आक्रोश भेटिन्छ।लैङ्गिकतामा वकालत गरेको यो कविताले मलाई जागृत गर भन्ने स्वर सुसेलेको छ।
समग्रमा सबै कविता पढ्दा मानवीय भाव र अनुभूतिलाई सम्प्रेषण गर्ने तरिका गज्जब लाग्यो । कविताको मूलभाव सिङ्गो मानवीय समाज नै हो जस्तो लाग्यो । आन्तरिक लयविधान रहेको यो सङ्ग्रहमा बढी थारू भाषाको प्रभाव,भाषामा आञ्चलिकता भेटिन्छ।यस कृतिका विभिन्न कवितामा विविध रसको स्वाद लिन सकिन्छ । शब्द र अर्थमा सौन्दर्यपूर्ण अलङ्कारले कविता चम्किरहेका छन् ।आकारमा सानो तर विषयवस्तुमा बृहत् भेटिने यो सङ्ग्रहमा बबई नदी धेरै ठाउँ बिम्ब बनेर आएको छ। कृतिभित्र छिर्दा कवि प्रकृतिप्रेमी, प्रगतिशील विचार, गहिरो चिन्तन, समाज रुपान्तरणको अपेक्षा ,सामाजिक जीवन भोगाइका यावत पक्षलाई काव्यिकरुपमा कुँदिएको पाइन्छ। महिला संवेदनालाई संवेदनशील भएर मुटुमै छुने गरी प्रस्तुत गरिएका कविताले नारीवादी कविका रूपमा चिन्न सकिन्छ । बिम्बात्मक र प्रतीकात्मक रुपमा आएका कुनै कुनै कविता अलि लामा, वर्णनात्मक र बढी आञ्चलिकताको प्रयोग हुनाले मजस्ता सरल पाठकलाई अलि अस्पष्ट लाग्नु स्वभाविकै हुनसक्छ। कविता पढ्ने अवसर पाएर म त पुल्कित भएँ । पढ्नै पर्ने सङ्ग्रह रहेछ । जिन्दगीका हर पानालाई काव्यमा उतार्न सक्ने सामर्थ्य भएकी कविलाई सलाम ! छिटो अर्को कवितासङ्ग्रह आओस् भन्ने अपेक्षा राखेँ। थप सफलताका लागि कलम निरन्तर अघि बढिरहोस् शुभकामना !!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।