यस्तै होला एकदिन भनेर कल्पना गरेको भए के हुन्थ्यो
यस्तो – जस्तो अहिले भैरहेको छ
दिनहरू अँध्यारा छन्
रातहरू निदाउन सकेका छैनन्
र रंगहरू एकल आमाका सिउँदोजस्तै छन्
जिन्दगी जुन म बाँचिरहेको छु – के लाग्छ मान्छे यस्तै हुन्छन् ?
जुन म बाँचिरहेको छु – लाग्दैन र पशु यस्तै हुन्छन्
ऐना हेर्छु स्वरुप मान्छेको छ
यहाँ सबले देख्दा त्यही देख्छन् – म मान्छे नै हुँ
अर्कोतिर सिनेमाको पीडित चार्लीजस्तै छ मेरो हालत
– दयनीय
बस मेरा दुई जोर खुट्टा छैनन्
स्वभाव अभाव र करुण भावको बात गर्ने हो भने
हृदय नै नभएको धर्मा ठ्याक्कै मजस्तो छ
घर, फ्याक्ट्री, लडाइँ, सिग्रेट, बियर बस यही हो मेरो जिन्दगीमे भन्छ ऊ
म भन्छु – कोठा, आर्यघाट, चुरोट, दारु, चिया मात्र छ जिन्दगीमा
यसरी एकसाथ म धर्मा र चार्लीको जीवन बाँचिरहेको छु
फिल्मको धेरै दृश्यले रुवाउँछ
– धेरैलाई रुवाउँछ
म आफ्नो जिन्दगी रुँदै, धुँदै लेख्ने गर्छु
लेख्छु पत्र उद्दार गरी पाउँ भन्नको लागि
हिउँको दृश्यलाई काव्य बनाएर चार्लीले जसरी कोट्याउँथ्यो
त्यस्तैगरी मेरा पत्र अक्षरका पखेटा हाल्छन्
र पुग्छन् हृदयका गुमनाम घरहरूमा
तर त्यहाँ बस्ने धर्माहरू कहाँ सजिलै बुझ्छन् र ?
कति चर्किएको छ यहाँ भनी बुझ्न के उसले फुटेको हुनुपर्दैन ?
के कुनै चार्ली उसको जिन्दगीमा आउनुपर्दैन ?
अवस्य पनि धर्माको जिन्दगीमा चार्ली
चार्लीको जिन्दगीमा धर्मा – आउनुपर्छ
किनकि धर्मराजको युगमा मान्छे पशु भैसकेको छ
र चार्लीहरू बाध्य छन् धर्मालाई मान्छे बनाउन
ए चार्ली ! तिमीलाई हिमालको काखमा पुर्याएर धर्मराज मान्छे भैसकेको छ
भन मैले कसलाई कहाँ पुर्याउँदा मान्छे हुन्छु
भन न,
यतिका सारा मान्छेहरूलाई मान्छे बनाउन तिमी अझै कति जन्म लिन्छौ ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।