दाइ भन्नुहुन्छ –
१. धारणा-१
अघिल्लो रातको छलफलले नै मेरा दिमागका पूर्जाहरू हल्लिसकेका थिए । रात अबेरसम्म निदाउन सकेको थिइनँ । अर्को झट्का झेल्नका लागि तयार थिइनँ । तर, झेल्नै पर्यो । आखिर झट्काबिना जागरण पनि त सम्भव छैन !
‘गुड मोर्निंङ,’ बिहानै दाइको आवाजले म ब्युँझिएँ ।
‘गुड मोर्निंङ दाइ,’ प्रतिक्रियास्वरूप मैले जवाफ फर्काएँ ।
‘मु** !! के हो गुड मार्निंग भनेको !’ दाइको प्रेम र गालीबीचको अन्तर म छुट्याउन सक्दिनँ । आखिर दुवै धारणा त हुन् !
‘शुभप्रभात!’ मैले मेक्यानिकल उत्तर दिएँ । स्मृतिमा रहेका रहेका कुरा दिमागले यान्त्रिक रूपमा अनुवाद गरिहाल्यो ।
‘सबैकुराहरु धारणा, ‘कन्सेप्ट’ हुन् भनेर हिजो भनेको होइन ? गुड मोर्निंङ पनि एउटा शब्द मात्र त हो ! गुड मोर्निङको ठाउँमा गुड नाइट भनेको भए के हुन्थ्यो ?’ दाइले स्मरण गराउनुभयो ।
ज्ञान त चारैतिर छन् । गीता, कुरान, बाइबल, त्रिपिटक आदि सबै ज्ञानका भण्डार हुन् । आँखा खुलेकाले हरेक ठाउँमा ज्ञान देख्न सक्छन् । भनिएका कुराहरू तत्कालै अनुभव गर्न सक्छन् । तर, त्यस अनुभवमा स्थायी रुपमा रहन भने धेरै गाह्रो छ । साधनाको लक्ष्य यी अनुभवमा स्थायी रुपमा टिकिरहनु हो । म पनि एक ठाउँमा चुकिसकेको थिएँ ।
‘अनि अहिले त बिहान हो, कसरी गुड नाइट भन्न सकिन्छ त ?’ मैले बुझ्न सकिनँ र प्रश्न गरेँ ।
‘यदि तिमीलाई ‘बिहान’ भन्ने शब्द थाहा नभएको भए के भन्थ्यौ ? अनि बेलुका भन्ने थाहा नभएको भए के भन्थ्यौ ? भाषा नसिकेको बच्चालाई गएर गुड मोर्निङ भन या गुड नाइट, के फरक पर्छ ? प्रकृतिमा एउटा प्रक्रिया चलिरहेको छ । यसलाई कुनै ‘बिहान’, ‘बेलुका’ भनेर नामकरण नगरी ‘स्वभाव’मा रहेर मात्र अब्जर्ब गर्यौ भने वास्तवमा समयको पनि अस्तित्व छैन । समय तिम्रो मस्तिष्कको उपज मात्र हो । मस्तिष्कभन्दा पर गएकाहरुको लागि समयको अस्तित्व छैन,’ दाइले स्पष्ट पार्नुभयो ।
अस्पेन्स्कीले टर्सियम अर्ग्यानममा भनेका छन्, ‘फोर्थ डाइमेन्सनलाई समयले खोलेपछि थर्ड डाइमेन्सनको रुपमा देखा पर्छ ।’ हाम्रो संसार थर्ड डाइमेन्सन हो । त्यसैले यहाँका सबै कुराहरू समयसँगै नष्ट भएर जान्छन् । बुद्धले यही कारण यस संसारलाई अस्थायी भनेका छन् । हामीसँगै फोर्थ डाइमेन्सनको केही चिजहरू टाँसिएर आएका छन् । त्यसैलाई हामी ‘कन्सियसनेस्’ अर्थात ‘चेतना’ भन्छौं । यो कहिल्यै नष्ट हुँदैन र फोर्थ डाइमेन्सनमा समयको अस्तित्व छैन । त्यसैले ध्यानको अवस्थामा समयको बोध हुँदैन । ‘फोर डी’ले हाम्रो शरीरलाई कताकताबाट छोएको या छेडेको छ, पत्ता लगाउन कठिन छ । त्यसैले ध्यानको अवस्थामा सबै घटनाहरू कहिले शरीरभित्र भएको महसुस हुन्छ भने कहिले शरीर बाहिर ।
‘जसरी कमिलाले संसारलाई एउटा रेखाको रूपमा मात्र अनुभव गरिरहेको हुन्छ, लामखुट्टेले शरीरको रगत चुस्ने भाग मात्र देखिरहेको हुन्छ, त्यसैगरी मानिसले संसारलाई लम्बाई, चौडाई र उचाईको डाइमेन्सनमा अनुभव गरिरहेको हुन्छ । ती तीनवटा डाइमेन्सनबाहेक अर्को एउटा सम्भावना पनि छ, ‘फोर्थ डाइमेन्सन’ !
दिनभर दालभातको चटारोमा दौडिरहेका मानिसहरुले फोर्थ डाइमेन्सन अनुभव कसरी गर्न सक्लान् र ? उनीहरूका लागि पनि जीवन एउटा मात्र डाइमेन्सन हो । उनीहरूले पेटको भाषा मात्र बुझ्छन् । फोर्थ डाइमेन्सनका बारेमा अरू कुनै बेला कुरा गरौंला !’ दाइले फोर्थ डाइमेन्सनको च्याप्टर क्लोज गर्नुभयो ।
‘वास्तवमा तिमीलाई मन पर्ने, मन नपर्ने, राम्रो, नराम्रो सबै मनका धारणा मात्र हुन् । यस्ता धारणाहरू तिमीले वरपरका मानिसहरूबाट नक्कल गरेर सिकिरहेका हुन्छौ । तिम्रा सारा सुख-दु:ख पनि केवल कल्पना र धारणा मात्र हुन् । तिमीमा आउने एउटा निश्चित समवेदनालाई सुख भनेर नामकरण गर्छौ । अर्को समवेदना जुन तिमीलाई मन पर्दैन, त्यसलाई दु:ख भन्छौ । वास्तवमा यी दुवैको अस्तित्व छैन । त्यस्तै एउटा निश्चित विचारलाई तिमीले राम्रो भन्छौ अनि अर्कोलाई नराम्रो ! वास्तवमा यो तिमीले आफैसँग गरेका बकबक मात्र हुन् । यसको कुनै अर्थ छैन ।’ दाइले झनै थप्नुभयो ।
नकारात्मक विचारहरूले नकारात्मक समवेदनाहरू पैदा गर्छन् । यिनीहरूले कालान्तरमा मस्तिष्कमा मात्र नभई शरीरमा समेत प्रभाव पार्न थाल्छन् । यसै त अध्यात्ममा विचारहरूको कुनै मूल्य छैन । झन् नकारात्मक विचारको मूल्य त कौडीभर पनि छैन । तर, नकारात्मक विचारभन्दा सतविचार नै राम्रो !
वास्तवमा सौन्दर्य पनि धारणा मात्र हो । यिनीहरू समयअनुसार परिवर्तन भएर जान्छन् । चीनमा साना खुट्टा भएका स्त्रीहरुलाई सुन्दर मानिन्छ । उनीहरु आफ्नो खुट्टा सानो देखाउन सानो साइजका जुत्ताहरू लगाउँछन् । अफ्रिकामा ठूला ओठ भएका मानिसहरू सुन्दर मानिन्छन् । थाइल्याण्डको एउटा सम्प्रदायमा लामा घाँटी भएका महिलाहरू सौन्दर्यका प्रतीक हुन् । उनीहरू आफ्नो घाँटी लामो बनाउन घाँटीमा चुरा लगाउछन् । त्यस्तै फेसनको धारणा पनि परिवर्तन भइरहन्छ । कपडाको आधारमा मानिसको स्त्रीत्व र पुरुषत्वलाई परिभाषित गर्न सकिंदैन । लूई चौधौंको तस्विरमा उनले लगाएको कपडा र शरीरको भावभंगी हेर्ने हो भने अहिलेको बलिउड र हलिउड मोडेलको जस्तो देखिन्छ । सायद त्यस समयमा पुरुषत्वको प्रतीक त्यही थियो होला !
यसरी सौन्दर्यको परिभाषा ठाउँ र समयअनुसार फरक हुन्छ भने वास्तविक सौन्दर्य के हो त ? मैले सोधेँ ।
‘जुन अपरिवर्तनीय छ, त्यही,’ दाइबाट सुन्दर जवाफ आयो ।
अरु त सबै ठिकै थियो तर मैले संवेदनाको अस्तित्वलाई नकार्न सकिनँ । आखिर ‘म’ को अस्तित्व र समवेदना त मैले महसुस गरेको कुरा थियो ।
‘दाइ, विचार र समवेदनाहरू त छन् नि होइन र ?’ म चुप लागेर बस्न सकिनँ र सोधेँ । आखिर ‘वादे वादे जायते तत्त्वबोध’ अर्थात् विवादबाट नै तत्त्व जान्न सकिन्छ ।
‘कहाँ र कुन ठाउँमा छन् तिम्रा विचारहरू ? देखाऊ त !’ दाइले विचारहरू चलिरहेको स्थान देखाउन भन्नुभयो ।
मैले इशारा गरेर आफ्नो टाउको देखाएँ ।
‘भेरी गुड !’ दाइले व्यंग्यात्मक स्याब्बासी दिनुभयो अनि थप्नुभयो, ‘त्यसो भए तिम्रो सेरिब्रम, कलेजो पनि एक्ज्याक्टली कहाँ छ ? कस्तो छ ?’
‘मलाई कसरी थाहा हुन्छ ? मेरो आँखा पछाडि फर्किएको छैन,’ मैले जवाफ दिएँ ।
दाइले मुस्कुराउँदै भन्नुभयो, ‘अनि टाउकोभित्र चलेको विचार देख्न सक्ने अनि टाउको र शरीरका अंगहरू देख्न नसक्ने हुन्छ त ?’
फेरि दिमाग हल्लियो र सोधें, ‘अनि कहाँ चलिरहेको छ त विचार ?’
‘त्यो तिमी आफैँ पत्ता लगाउनू,’ यति भनेर दाइ उठेर जानुभयो । अब मैले विचारको उद्गमस्थल पत्ता लगाउनुपर्छ । अब भीषण ध्यान गर्नुपर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।