नेपाली नारीहरूको उत्साह, उमङ्ग र  स्वतन्त्रताको आवाज हो तिज । तिज त्यो अवसर हो जहाँ गुम्सिएर बसेका भावनाहरू हुरूरू प्रस्फुटन हुन्थे ।श्रीमान्को दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै निर्जला व्रत बस्ने परम्परा मात्र होइन तिज । तिज त्यो कसौटी हो जहाँ  दिगो शान्ति र आनन्द प्राप्त होस् भनेर धैर्य, साहस, त्याग, समर्पण र सेवाको भावना जागृत होस् भन्दै जीवन जिउँने कला सिकाउने पर्व हो तिज ।

सामाजिक, धार्मिक र जातीय एकताको पर्व पनि  हो तिज । घरको पर्खालभित्र दबिएर बसेका कैयौं  आत्माहरूको आत्मविश्वास हो तिज । यस्तो विराट क्षेत्रलाई ओगटेको तिजलाई मात्र मनोरञ्जनको आँखिझ्यालबाट मनाउँदा कतिको न्यायपूर्ण हुन्छ होला ?

त्यसैले तिजका कार्यक्रमहरू हिजोआज आलोचित भएका छन् । रमाइलोका लागि मात्रतिज मनाउनाले यस्तो समस्या आएको हो । अल्पज्ञान त्यो डरलाग्दो रोग हो जसले आँखा भएकाहरूलाई पनि अँध्यारोको खाल्डोमा सोझै जाक्छ। तिजका विशेषता नै तिज गीत र दर हुन् । जुन हिजोआज निकै विवादित भएका छन् ।

हिजो सम्बन्धहरू सीमित थिए, परिवार सानो थियो। सम्बन्धको भूगोल पनि साँघुरो भएकाले पाइलाहरू पनि खुम्चिएका थिए । त्यसैले परिवारिक  साङ्ग्लो  छोटो थियो । तर  हिजोआज सम्बन्धहरूको जालो फैलिएको छ । त्यसैले होला तिज एक महिना लगाएर मनाउँछन् । हुन त  तिज एउटा बहाना मात्र हो , भेटघाट र रमाइलो गर्नको लागि तिजलाई भजाएका हुन् । बरू एक महिना अगाडिदेखि दर खान जाने भन्नु भन्दा पारिवारिक भेटघाट गर्न जाने भन्दा राम्रो सुनिन्थ्यो होला र  दर शब्दको इज्जत जोगिन्थ्यो ।

सबैजना आ-आफ्नो विचार र धारणा  राख्न स्वतन्त्र छन् । हिजोजस्तै आज हुनै पर्छ भन्ने सोच्नु पनि त गलत हुन्छ । परिवर्तन नै समाजशास्त्रको आधार हो ।  संस्कृतिलाई परिस्कृत गर्दै अगाडि बढ्नु उत्तम कुरा हो तर मौलिकता मासेर, विकृति निम्त्याएर, सामाजिक मूल्यमान्यतामा चोट पुर्‍याएर  संस्कृतिलाई कलंकित पार्ने दुस्साहस गर्नु चाहिँ घोर अपराध हो।  धर्म र संस्कृतिका  संवेदनशील  पाटाहरूमा सचेत र सावधान हुनै पर्छ ।

तिज भन्नेबित्तिकै मीठोमीठो पोषिलो परिकार, राता सारी, चुरा पोते  आँखा अगाडि झल्लल आउँछन् । तिजको अघिल्लो दिन दर खाने चलन वर्षौंदेखि चली आएको हो । दर खाएपछि भोलिपल्ट व्रत बस्दा भोक नलागोस् भन्ने सिद्धान्तमा दर खाने परम्परा बसेको थियो।

तिजको दिन देशभरका शिवालयहरूमा विशेष घुइँचो लाग्ने गर्छ भने पशुपतिनाथको मन्दिरमा त खुट्टो राख्ने ठाउँ पनि हुँदैन । राता,पहेंला पहिरनमा दुलही जसरी सजिएका नारीहरूको महासागर ओर्लिएको देख्दा स्वर्गमा देवताहरू पनि मुस्कुराउँदा हुन् ।

त्यस्तै  तिजका गीतहरूले तिजलाई  छुट्टै पहिचान दिएको छ । भने अर्कोतिर व्यवसायिक तिज गीतहरूले  सचेत नागरिकको  कन्पारोको रौँ तातेर पनि तिज विवादित हुँदैछ । होटेल, पार्टीप्यालेसहरूमा भड्किलो उत्ताउलो तरिकाले तिजलाई मनाउँदै जाने हो भने, भोलीका दिनमा तिजको अस्तित्व धरासायी नहोला भन्न सकिन्न।

“ओड इज गोल्ड” त्यसै भनिएको होइन रहेछ । तिजका पुराना गीत सुन्दा आज पनि गीत, संगीत र साहित्यको बेजोड संगम भेटिन्छ।  यस्ता ओजपूर्ण गीतहरूलाई भाका हालेर कुनै चेलीले  गाउँदा पाषण हृदयहरू पनि पग्लिएर छताछुल्ल हुन्थे।

अभाव, दु:ख र पीडाहरूका बिच निकै हर्सोउल्लासका साथ तिज गीत रचिन्थ्यो, गाइन्थ्यो ।नारीहरूको व्यथाहरूलाई कविता र गीतको माध्यमबाट अभिव्यक्त गर्ने साहित्यिक चाड थियो तिज।

तर आज सम्भावनाका चौतर्फी  द्वार खुल्ला हुँदा पनि ।  सामाजिक संजालहरूमा सुनका गहनाले लादिएर, गिलास सजाउँदै-  :: जेलैमा हो जेलैमा चरीजेलैमा ::  ।” भन्ने गीतमा अस्वभाविक  अभिनय गर्ने सक्षम नारीहरू देख्दा होस् या सम्मानित पेशाको पोशाक लगाएर यस्ता गीतहरूमा  बुरूक्क बुरूक्क नाचेर सामाजिक संजालमा पोस्ट गर्दा  साँच्चै अन्याय र हिंसामा चुर्लुम्म डुबेका पीडित नारीहरूलाई कस्तो असर पर्ला ?

यस्ता क्रियाकलापमा शिक्षित नारीहरू पनि दायाँबायाँ नसोची रमाइलो गर्ने नाममा होमिएको देख्दा दिक्क लाग्छ । सचेत वर्गले नै हो सावधान गर्ने र हराउने । हाम्रा व्यवहार र क्रियाकलापले   समाजमा  कस्तो सन्देश सम्प्रेषण गर्छ त्यो कुराको हेक्का हामीले गर्ने पर्छ । तिज जस्तो महत्त्वपूर्ण  पर्वको दीगो विकासका लागि हामीले अब  सोच्ने बेला आएको छ ।

अस्वस्थ खानपान, अव्यवहारिक प्रतिस्पर्धा, सामाजिक विकृति अनि बेतुकको तडकभड्कलाई  प्रोत्साहन दिन  घरघरमा कलह  मच्चाउने, पर्वको नाममा आर्थिक बोझले टाउको दुखाउने अनि श्रीमानको लामो आयुको खातिर व्रत बस्ने ?  तिजको नाममा श्रीमान्हरूलाई नै अनावश्यक दवाब र तनाब दिँदा,  श्रीमान्हरूले तिजलाई कसरी स्वागत  गर्लान् ?

अवसरको ढोका बन्द भएको बेला बरू नारीहरू गीतकार र गायक भएर इतिहास रचे । तिजलाई अभिव्यक्ति स्वतन्त्रताको सुन्दर  माध्यम बनाए । तिजलाई  मौलिक पहिचानसहित लोकप्रिय बनाए । तर स्मार्ट युगमा प्रयाप्त अवसहरूलाई सही तरिकाले  उपयोग गर्न नसक्दा तिज भद्दा र घिनलाग्दो हुँदैछ। समयमा सचेत नहुँदा मौलिकता मासिएर तिज  मसान बन्ने छ। अनि हामीले नै हाम्रो संस्कृतिको मलामी जानू पर्ने छ ।

हिजो धर्म नै ईश्वर थियो, धर्म नै संविधान थियो धर्मको विरुद्धमा जान सबै डराउँथे । त्यसैले धर्मको डर देखाएर साना साना नानीहरूलाई जीवन जिउने कला पो सिकाएका थिए कि  हाम्रा पुर्खाहरूले  ? जस्तोसुकै चोट र पीडा सहन सक्ने सामर्थ्य दिएर प्रकृतिले हामीलाई समृद्ध बनाएको छ ।

सकारात्मक सोच्ने कला सानैदेखि नारीलाई  दिएको हुँदा कठिनभन्दा कठिन परीक्षामा सफल हुन्छन् । यदि नारीलाई कष्ट सहने विशेष विशेषता  नदिएको भए सायद यो धरामा मानव जातिको अस्तित्व उहिल्यै  समाप्त हुने थियो ।

तपाईंलाई थाहा छ ? नारी कमजोर भएर पीडा खप्दिनन् । बोल्न नजानेर चुप लाग्दिनन् । नारी त सहनशील भएर अफ्ठ्यारा परिस्थितिमा धर्य धारण गर्न सक्छिन् । नपत्याए तपाईं आफ्नी आमालाई हेर्नुस् ।

जम्मा जम्मी असी वर्ष त भयो होला नारीले शिक्षाको ज्योति देखेको तर वर्षौंदेखि शिक्षाको उज्यालोमा गोडा पसारेर बसेका वर्गलाई चुनौती दिँदैछन् । यदि नारीले सदियौँदेखि पुरुष सरह अधिकार पाएको भए ?

त्यसैले हे नारी हो अवसरको सदुपयोग गर नारी जातिलाई नै कलंकित पार्ने मार्ग नरोज । आफूलाई बस्तु नबनाऊ । तिमी त शक्ति हौ,  प्रेरणा हौ र  प्रेम हौ । तिमी झुक्न जान्दछौ, तिमी सहनशील छौ, तिमीमा  धैर्यता छ, भोक प्यास खप्न सक्ने शाहस भएर त तिमी विशेष छौ ।आफूलाई चिन । तिमीले त आफूलाई जितेकी छौ, संसार जित्न गार्‍हो छैन्   ।

स्वतन्त्रता खोज्ने बहानामा कतै आफैले आफ्नो  गुणहरूलाई ध्वस्त त पार्दै  छैनौँ ? आनन्द तिम्रो गुण हो, धर्य तिम्रो शक्ति हो । खुसी, आनन्द त तिमी भित्री छ। तर तिमी आफूलाई  सम्भ्रान्त भएको देखाउन  मादक पदार्थ सेवन गर्न मरिहत्ते गर्दै छौं, नशामा लठ्ठिएर आफूलाई  सभ्य भएको ठान्छौँ ? नाङ्गेझार भएर सम्पन्न भएको मान्छौँ ? धिक्कार छ तिमीहरूलाई ।  अनुशासन र  शान्ति बिनाको स्वतन्त्रता घातक र विनाशकारी हुन्छ । कहिले विचार गरेका छौ ?

आफ्नो खुट्टामा आँफै बन्चरो किन हान्छौ ? आजको दिनसम्म आइपुग्न नारी जातिले के के गरेनन् । कस्तो कस्तो मूल्य चुकाएनन् सोचेका छौ ?तिमी आज प्रविधिको गलत प्रयोग गरेर लज्जा र सरम किन बेच्दै छौ ? भोलिको पुस्ताले तिमीबाट कस्तो पाठ सिक्छन् ? तिम्रो कारणले धर्म परम्परा, संस्कार र संस्कृतिको दुर्दशा भएको हेर्नू नपरोस् । इतिहासले तिम्रो निधारमा कलंकको टीका नलगाइदिओस् ।

तिमी त त्यो उज्यालो हौ, जसले अँध्यारोमा अरूलाई डोर्‍याउन सक्छ। तिमी त्यो गुरु हौ जो आफू मेटिएर अरुलाई गन्तव्यमा पुर्याउन सक्छ ।  ।  अनि किन दरिद्रता देखाउँछौ ?

नम्रता तिम्रो कमजोरी कदापी होइन त्यो त तिम्रो हतियार हो प्रयोग गर्न सिक । स्वतन्त्रता नै समृद्धिको द्वार भए पश्चिमीमा मुलुकहरूमा तनाव र आत्महत्याका घट्नाहरू कहिले घट्ने थिएनन् ।

तिमी चाहिँ आधुनिक बन्ने बहानामा आफ्नो सौन्दर्य नै  गुमाउँदै छौ ? आफ्नो पहिचान गुमाएर कसले इतिहास रचेको छ । समयमा आँखा खोल तिमी लक्ष्मी मात्र होइनौ कसैले अपमान गरेको खण्डमा दुर्गा बन्न सक्छौ । तिमी त्यो ज्वाला हौ जसले कामदेवहरूलाई पनि भस्म गर्छ।

अन्तमा, सबैले अहंकार त्यागौँ, भोक प्यासले गाल्दा पनि जीवनरूपी रङ्गमञ्चमा छमछमी नाच्ने  कोसिस गरौँ । आफ्नो हैसियतअनुसार तिज मनाऔँ ।अर्काको देखासिखी गरेर घरमा कलह नमचाऔँ । सबैमा तिजको शुभकामना ।