साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

धर्मो रक्षति रक्षित:

हाम्रो घर भनेको घरको पूरै हिस्सा हो न कि बेडरुम मात्र । भान्साकोठा, बैठक कोठा, पूजा कोठा, भण्डार र शौचालय सबै हाम्रो घर हो । त्यस्तै हो मन्दिर, मस्जिद र चर्च; बाहिर जङ्गल, खोला, सडक, सदन, हिमाल, खेत सबै सबै भगवानको घर हो ।

Chovar Blues Mobile Size

धर्मो रक्षति रक्षित: तर यसको अर्थ धेरैलाई थाहा छैन । अर्थ थाहा नभए पनि यो अर्थ (पृथ्वी ) मा एउटा नियम छ । जहाँ वाक् स्वतन्त्रता त छ तर त्यसको प्रयोग धर्मको मामिलामा गर्न पाइँदैन । धर्मको विरुद्ध त परको कुरा धर्मको विषयमा सम्म उनीहरुले नचाहेसम्म बोल्न मिल्दैन । उनीहरु जसो जसो निर्देश गर्छन् त्यस्तै बोल्नुपर्छ भन्दा फरक नपर्ला । के बोल्ने कहिले बोल्ने भनेर उनीहरुले टाइम टेबल नै बनाएर राखेका छन् । तर आज म बोल्न बाध्य भएको छु किनकि शिव शून्य हैन रहेछन् । किनकि म भित्रको भगवानले बोल्नुपर्छ भनेका छन् ।

सबैले झैं लसुन प्याज बारेर , नुन बारेर एक महिनासम्म ढाँचा देखाएर बसिन तर सोमबार निरन्तर व्रत बसेँ । पाचौं सोमबार पनि व्रत जारी थ्यो र वर्षौंपछि म पनि पशुपति दर्शनको लागि पुगेँ । सबैले झैं लाइनमा बसेँ । सब आफूलाई मनपर्ने सुगन्धित अगरबत्ती , फुल , माला , दूध केके जाती बोकेर उभिएका थिए । उनीहरु घरिघरि मलाई हेर्थे । मलाई खाली हात देखेरै धेरैले धेरैपटक हेरे । एकजना भक्तले त सोध्नु पनि भयो, ‘भगवानको दर्शन गर्न खाली हात ?’ मैले पनि फिस्स हाँस्दै भने तपाईंको भगवानले मलाई भेट्न आउँदा दूध फल फुल लिएर आउनु कहिले भने ? मेरो प्रश्नमा उनी निरुत्तर भए तर मैले भने उत्तर पाएँ । शिव शून्य रहेनछन् । शून्य त हाम्रो मगज रहेछ ।

यतिबेला मलाई विगतको एउटा कथा बहुतै याद आइरहेको छ । त्यो कथाले नै मेरो लागि एउटा पुस्तक तयार गर्ने आधार दिएको छ । धर्म र विज्ञानको आपसी सन्तुलन सहितको कथा निकट भविस्यमा हजुर सबैले अवस्य पढ्न पाउनुहुनेछ । अहिलेलाई यस्तो सोचौं कि बिरालोले बाटो काटेको छ अनि म रोकिएको छु ।

भनिन्छ, भगवान् विष्णुले बिहे गरेको ऋण तिर्न नसकेपछि बिरक्तिएर बसेको ठाउँ आज तिरुपती बालाजी भएको हो । त्यहाँ गएर केही न केही अर्पण गरेर आउनु भनिन्छ । सबैभन्दा पहिले एउटा प्रश्न ऋण लिएर बिहे गर्न किन सिकाइयो ? यहाँ झट्ट हेर्दा बिहे गर्दा पुरुषलाई ऋण लाग्ने देखिन्छ तर किन बेहुलीको परिवार ऋण लिएर दाइजो दिन्छ ? कतै ऋण भर्पाइ गरेका त हैनन् । यदि हो भने कपाल अर्पण गरिसकेउ अरु केही दिनुपर्दैन । त्यही कपाल हुनेवाला ज्वाइँलाई देऊ । हैनभने संस्कारको नाममा आफ्नो छोरीको श्राद्ध गर्न बन्द गरौँ ।

अर्को कुरा उनले लिएको ऋण हामीले किन तिर्ने ? यो त हरेक बजेट भाषणमा हरेक नेपालीको भागमा यति ऋण छ भनेर सरकारले भनेजस्तो भएन र ? दोस्रो कुरा भगवानले भक्तलाई मेरो ऋण तिरिदेउ है भनेर कहाँ भनेका छन् ? छन् कहीँ ? कहीँ पनि छैन तर कोही टाठोबाठो मान्छेले कालान्तरमा अर्पण गर्ने कुरालाई कपालसँग जोडिदियो र व्यापार गरिरहेको छ । हामीले पैसा तिरेर काटेको टुक्रा कपालले त हजामले पैसा कमाउँछन् भने त्यहाँ त भो नकुरा गरौँ । तर त्यहाँबाट एउटा कुरा सिकिन्छ र चाहने हो भने सबैलाई सिकाउन सकिन्छ । त्यहाँ केवल आस्था लिएर जाने प्रचलन छ । धूप , दुध , फलफुल चढाउने ठाउँ छैन । मुख्य कुरा त अर्कै छ त्यहाँ लाममा बसेर दर्शन गर्न समय लाग्छ । समय ठुलो कुरा हैन स्वास्थ महत्त्वपूर्ण छ । दुध र हलुवा भगवानलाई हैन भक्तलाई दिइन्छ । अर्थात् खाली पेट रहनुपर्दैन । तर हाम्रो यहाँ मन्दिर जान पेटमा ताल्चा लगाइन्छ ।

sagarmani mobile size

आस्था राम्रो कुरा हो तर धर्मको नाममा हामीले दिमागमा ताल्चा झुन्ड्याउनु कतिको उचित ? के धर्म भनेको ग्रन्थको पाठ र केही तस्बिर तथा शिलाको पूजा मात्र हो त ? अक्सर मान्छेले मन्दिरभित्र चुपचाप बसेको पत्थरलाई सुख दुख सब सुनाउँछन् । मन लागेको माग्छन् र मन लागेको चढाउँछन् पनि तर त्यहीँ बाहिर लाचार माग्नेले मागेको बेला हात गोडा यस्ता छन् काम किन गर्दैनौ अथवा हामी आफैं माग्दै हिँड्ने बेला भएको छ भन्छन् । कसैलाई त त्यो दृश्य हेर्न पनि मन लाग्दैन । के यही हो त धर्म ? कताकता ग्रन्थमा पढेको छु हुँदा र सक्दा दान गर्नु तर हामी के गर्छौं गेरुवा बस्त्र धारी वा कुनै धार्मिक कार्यको लागि दान गर्छौं । र सामाजिक सन्जालमा कहिलेकाहीँ सहयोगको याचना आएको हुन्छ , हामी देखेको नदेखेझैं गरिछोड्छौँ ।

अर्कोतिर मन्दिरको द्वारमा कुनै पाले बसेको छ झैं गरेर महिनावारी भएका नारी जान अटेर गर्छन् र सामाजिक सन्जालमा लेख्छन् मेनुस्ट्रेसन म्याटर्स । क्रान्तिकारी कविता लेख्ने कवयत्री नै अक्सर यस्ता पाएको छु । पहिले बन्देज थियो त्यसमा वैज्ञानिक कारण पनि छ । किनकि अधिकांश मन्दिर डाँडामा हुन्थे । टाढा हुन्थे ।महिनावारी हुँदा कमजोर हुने सत्य हो त्यसैले धेरै भागदौड नगरेको राम्रो हैन र ? तर अहिले सहज छ र पनि पाइला बढ्न सकेका छैनन् । मस्तिष्कमा लागेको ताल्चाले मन्दिरको द्वार उघाउनै दिँदैन ।

अन्त्यमा, हाम्रो घर भनेको घरको पूरै हिस्सा हो न कि बेडरुम मात्र । भान्साकोठा, बैठक कोठा, पूजा कोठा, भण्डार र शौचालय सबै हाम्रो घर हो । त्यस्तै हो मन्दिर, मस्जिद र चर्च; बाहिर जङ्गल, खोला, सडक, सदन, हिमाल, खेत सबै सबै भगवानको घर हो । त्यसैले आस्था राख्नुहुन्छ भने धर्म गर्नुस् ढोङ हैन ।

प्रतिक्रिया
Loading...