जनै लगाउने मान्छे थिएनन् हाम्रो घरमा ।
हजुरबुवा अनन्तको यात्रामा निस्किनु भएको वर्षौ भएको थियो । बुवा अल्पायुमै स्वर्गीय हुनुभयो । दाजु भर्खरको चिचिलो मभन्दा मात्र दुई वर्ष जेठो । त्यसैले सधैं हातमा डोरो मात्र बाँधेर जनैपूर्णिमा मनाएको देखेको थिएँ ।
कालान्तरमा दाजु पनि जनै फेर्न लायक भयो ।
जनै लगाउने मान्छे घरमा नभए पनि जनैपूर्णिमा निकै हर्षोउल्लासका साथ उज्यालोअनुहार लगाएर मेरी आमाले सम्पन्न गर्नु हुन्थ्यो। रातो माटोले छेउछेउ पोतेर, हरियो गोबरले चिल्लो पारेर घर र आँगल सिनित्त लिपेर चिटिक्क पार्नुहुन्थ्यो कान्छी दिदीले। प्रकृति पनि कति रमणीय लाग्थ्यो चारैतिरबाट जनैपूर्णिमालाई सबैले स्वागत गर्थे ।
चाडपर्वलाई स्वागत नगरेको भए आज के लेख्न सक्थेँ र ? ती चाडपर्व जीवन्त रहेछन् । आज पनि आँखा चिम्म गर्दा सबै कुरा स्पष्ट देख्न सक्छु । हाम्रो पहिचान, हाम्रो चिनारी हो चाडपर्व ।
त्यसैले हाम्रा रीतिरिवाजमा त्यो बेला देखावटी र तडकभड्क कतै थिएन । जे उपलब्ध थियो त्यसैमा सन्तुष्ट थियौँ, सम्पन्न थियौँ ।
“हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएकै बेस आनन्दी मनले” महाकविलाई नमन गर्दै हाम्रा बाआमा र हजुरबा हजुरआमाहरूले मख्ख पर्दै संस्कृति र संस्कारलाई डोर्याउँदै हाम्रा हातमा राखिदिनु भएको छ ।
आज हिजोभन्दा धेरै कुरा सहज छन् । तर सम्बन्धहरू वातानुकुलित घरमा पनि चिसा र चाम्रा छन् ।
फेरि जनैपूर्णिमाको कुरा गर्छु । ठूलो तसलामा नौथरिका गेडागुडी भिजाएर जनैपूर्णिमालाई विशेष रूपले स्वागत गर्नुहुन्थ्यो आमाले। गेडागुडी भिजेपछि खोलको कपडामा पोको पारेर काँटीमा दुई दिन झुन्ड्याइदिनु हुन्थ्यो । बेलाबेला त्यो पोको पानीमा चोपल्दै राख्दै गर्नु हुन्थ्यो। के गरेको होला भन्दै साना आँखाले चियाउँथ्यो । दुईदिनपछि भरर टुसा आएको क्वाँटीलाई पखालेर चट्ट राख्नु हुन्थ्यो । अनि चारपाँचवटा हरियो घुमाउने टपरीमा चामल, दुनामा घिउ, दाल, क्वाँटी, आलु , पानी, बेसार, मसला, नुन दक्षिणा सबै चुटुक्क मिलाएर आकर्षक तरिकाले सिदा ठिक पार्नुहुन्थ्यो ।
त्यो देखेर मलाई निक्कै रमाइलो लाग्थ्यो।
जनैपूर्णिमाको दिन पुरेतहरू प्रायः ढिलो आउनुहुन्थ्यो । मेरी आमा चिया मात्रै पिएर दिउँसोसम्म कुर्नुहुन्थ्यो । फुपाजुहरू पनि अबेर गर्नुहुन्थ्यो आउन । पुरेत र ज्वाइँलाई टीका नलगाई अन्न खान मान्नुहुन्थ्यो आमा । म रिसाउँथे, आमा सम्झाउनु हुन्थ्यो ।
“ऊ खोलातिर हेर त जम्मै लोग्ने मान्छेहरू पूजापाठ गर्दैछन् । खान त सधैं खाएको त हो नि। कहिलेकाहीँ भोक पनि खप्नुपर्छ । आईमाईहरूको तीजजस्तै हो लोग्ने मान्छेहरूको जनैपूर्णिमा। त्यसैले ढिलो भएको हो तँ दही चिउरा खाँदै गर ।”
साँच्चै वारिपारि जम्मैतिर खोलाको किनारहरू भरिभराउ हुन्थ्यो । जनैपूर्णिमाको दिन प्रायः महिलाहरू इनार या कुलोमा स्नान गरेर खोलालाई पुरुषहरूको एकलौटी बन्न दिन्थे ।
स्नान सकेर फर्किँदा आलीको बाटोमा लस्करै पुरुषहरूको ताँती देखिन्थ्यो । म पूर्व कोठाको झ्यालबाट हेर्दै चिच्याउँथे –
“आमा ! खोलाबाट भिनाजुहरू आउनुभयो ।”
डोरो बाँध्न पोख्रेल बाहरू एकैछिनमा पालैपालो आउनु हुन्थ्यो । हातभरि डोरो लगाइदिदैँ मन्त्र पढ्नुहुन्थ्यो । म केही बुझ्दिन थिएँ तर पनि वहाँहरूले यस्तो भनेको जस्तो लाग्थ्यो – “देन वद्धु बलीराज, पैसा नदिई लु त जा: जा ।” । आमालाई सुनाउँदा हाँस्दै सही मन्त्र सिकाउनु हुन्थ्यो तर संस्कृत सिक्नै सकिनँ ।
जनैपूर्णिमाको दिन प्राय: ठूलो फुपाजु र माइलो फुपाजु र भान्दाजु घरमा खाना खान आउनु हुन्थ्यो । निधारभरि राता टीका लगाइदिएर आमाले ज्वाइँ र भान्जाको स्वागत गर्नुहुन्थ्यो । त्यो बेला पैसाले आफ्नो आधिपत्य जमाइसकेको थिएन । संस्कार जीवित थियो आफ्नोपन छताछुल्ल थियो । त्यसैले संस्कृति बोझ नभएर वरदान थियो। हिजोआज त दशैंजस्तो राष्ट्रिय पर्वमा पनि तीर्थयात्रातिर लाग्ने संस्कृति मौलाउँदो छ । दशैँ खर्चले त बरू एकदुई ठाउँ घुम्म सकिन्छ भन्ने महान विचार फैलदोँ छ । अनि कसरी कक्षामा संस्कृतिको महत्त्व बुझाउँछन् अध्यापकहरूले ।
त्यो बेला पैसाको खाँचो त्यति पर्दैन थ्यो । करेसा बारीमा लौका, घिरौंला, चिचिन्डो तर्ल्याङ्गग्तुर्लुङ्ग झुन्डिएको हुन्थ्यो । बारीभरि लहलह फर्सी र फर्सीका मुन्टाले बोलाइरहन्थ्यो । मकै उस्तै रहरलाग्दो हुन्थ्यो। आलु प्याज खसी जम्मै घरमा हुन्थ्यो, दहीदुधको कमी हुँदैन थ्यो । त्यही भएर पनि चाडपर्व हाउगुजी नभएको होला कि ?
आज सहरका घरमा पानीको पनि अभाव छ ।त्यसैले होला यस्ता चाडपर्वहरूमा एकाघरका सदस्यहरू पनि एकै ठाउँमा जम्मा हुन प्रायः मुस्किल पर्छ। परम्परालाई लत्याएर कतैकतै क्वाँटीको झोलभन्दा बढी जाँडरक्सीको झोलमा डुब्दा समृद्धि आएको महसुस गर्ने पुस्ताको कमी छैन ।नयाँ संस्कृति र चालचलनलाई अनुशरण गर्न हिच्किच्याउँदैनन् तर क्वाँटी पूर्णिमा अर्थहीनझैँ गर्छन्। मुस्किलले भेटघाट भैहाल्यो भने पनि म्यारीको खालमा समय र ऊर्जा खर्च गरेर सभ्यताको नयाँ संस्कृति निर्माण गर्छन् ।
आखिर किन चाहियो तास खेल्न चाडपर्व, भेटघाट र अपनत्व ? गेम खेल्न त अहिले प्रविधि नै काफी छ नि ।
यस्ता चाडपर्वहरूले आपसी सद्भाव, मायाप्रेमलाई अझ मजबुत पार्नु पर्ने होइन ? कसैको दु:ख पीडा सुन्न मन पराउँदैनौँ । केवल सुखको पछि दौडिएका छौँ । राम्रो मात्र हेर्न खोज्नु हाम्रो अपरिपक्वता हुँदैन र ? जीवन त यात्रा हो दु:ख सुख त यात्रामा आउने मोडहरू मात्र हो, हेर्दिन भन्दा पनि हेर्नु पर्छ, हिँड्दिन भन्दा पनि हिँड्नु पर्छ तर यात्रा सक्किएपछि त हामी सबैको गन्तव्य त आखिर एउटै हो ।
लेख्दा लेख्दै म त बहकिएछु । फेरि जनैपूर्णिमामै आएँ ।
कति वैज्ञानिक छन् हाम्रा परम्परा र रीतिरिवाजहरू । हिलो र झरीबाट भिजेको शरीरलाई क्वाँतिको तातो झोलले भित्रैबाट ऊर्जा दिन्छ भन्ने विज्ञानले पक्कै क्वाँति खान थालिएको होला । मौसमअनुसारका चाडपर्व खानपान आहा ! कति विद्वान् रहेछन् हाम्रा पुर्खाहरू।
यति महत्त्वपूर्ण चाडपर्व हिन्दुहरूको मात्र होला त ? पक्कै होइन मौसमले जातपात धर्म हेर्छ र ? भोकले गोत्र सोध्छ र ? सूर्यले जातअनुसार ताप दिन्छ र ? जसले जे चलायो तो चलन हुने हो । हरेक धर्मसंस्कृतिका आफ्ना आफ्ना पर्वहरू छन् सबै पर्वहरूको गहिरिएर अध्यन गर्ने हो भने सबैको आ-आफ्नो महत्त्व छ। यस्ता पर्वहरू सामाजिक, पारिवारिक, धार्मिक, पर्यावरणीय आदि जम्मै पक्षबाट उत्कृष्ट छ भन्दा म गलत हुन्न होला ।
हाम्रा रीतिरिवाज र चाडपर्वहरूलाई बेवास्ता गर्दै सम्पन्नताको खोल ओडेर आफ्नो मौलिक पहिचान गुमाउँदा बुख्याँचा त हुने होइनौ हामी ?
हाम्रा चाडपर्वहरूलाई आधुनिकताको नाममा महङ्गो महङ्गो जामा लगाइदिने रस्साकस्सीमा आफैंले खनेको खाल्टोमा त आफैं जाक्किने होइनौ ?
आफ्नै आँगनमा संस्कृतको वृक्ष रोपेर सहर पसेको माइलो कतै म्याक भएर म्याराथन मात्र त दौडिरहेको छैन ?
संस्कृति पढाउने बुद्धिजीवीहरूले पनि आफ्नै संस्कृतिलाई लात हानेर धरासाही बनाउन त लागि परेका छैनन् ? यो गम्भीर प्रश्न छ । अरूको लाख आमाको काख प्यारो भएझैँ संस्कृति पनि आफ्नो प्यारो हुनुपर्छ ।
केलाएर खान त हाम्रै पुस्ताले सिकाएका छन् । एउटा ढुङ्गा चामलमा पर्यो भन्दैमा बोराभरिको चामल फ्याँक्नेलाई के भन्ने र खै । छानेर खान त सिकेका छौँ नि । बाहिरबाट ल्याएको प्याकेट फुडमा पनि किला भेटिन सक्छ होसियार हुन आवश्यक छ । आफ्नै गहुँमा पनि घुन पर्न सक्छ बेलाबेलामा घाममा सुकाउनु पर्छ, केलाउनु पर्छ, निफन्नु पर्छ ।
म सम्झिन्छु । ठूलो कसौंडीमा मीठो पारेर मेरी आमाले क्वाँटी पकाएर सबैलाई हाँसीहाँसी खुवाउनु हुन्थ्यो । न ग्यास थियो न इन्ड्क्सन।
थियो त केवल ह्वार्ह्वार्ती बल्ने दाउराको चुलो । तर पनि चाडपर्व आउँदा मेरी आमाको प्रेसर कहिले बढेन । जुनसुकै चाडपर्वहरूले बिट मार्दा मेरी आमाको प्रेसर एकनाशको हुन्थ्यो ।
ज्वाइँ पाहुना बिदा भएपछि । कान्छी दिदी र चिनेलाई आमाले क्वाँटी र भात दिनुहुन्थ्यो ।
म सोध्थेँ – “कान्छी दिदी कस्तो भएछ क्वाँति?”
निश्छल हाँसो हाँस्दै कान्छी दिदी प्रफुल्ल भएर भन्थिन्- ” मीठो छ बज्जै ! कस्तो मीठो। क्वाँटी त मासुजस्तै भएछ ।”
आमा वैष्णवकी छोरी माछामासु नखाने कान्छीलाई भन्नू हुन्थ्यो – “मासुभन्दा मीठो कुरा खाकी छैनौ, के मासुजस्तो भनेको मासु नै खाए भैगो नि ?”
कान्छी खिस्स हाँसेर भन्थिन् – ” अमृतजस्तै छ बज्जै । ”
अनि म मुर्छा पर्दै सोध्थेँ- “कान्छी अमृत कहिले खाएकी थियौ ?”
चिम्सा आँखा अझ चिम्सा पार्दै कान्छी भन्थिन्, “यी क्या त अहिले खाँदैछु अमृत । यी यो क्वाँटी अमृत होइन त ? ”
कान्छीले सत्य बोलेकी रहिछिन् । आज म पनि कान्छीलाई सम्झेर अमृत नै पकाउन लागेको छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।