शीर्षकविहीन बारे:

“The titles and first few lines of your poem represent the hand you extend in friendship toward your reader. (उल्था: कविताको शीर्षक र पहिला केही हरफहरूले आफ्नो पाठक समक्ष तपाईंले बढाएको मित्रताको हातको प्रतिनिधित्व गर्दछन्।)
– Ted Kooser, The Poetry Home Repair Manual”

कवितामा शीर्षक अनेक प्रयोगका लागि राखेको पाइन्छ । जस्तै; कविताको परिधि बुझाउन, वा कवितामा राख्न नमिल्ने डिटेल पनि शीर्षकको रुपमा प्रयोग गरेको पाइन्छ, वा घटनाहरूप्रति कविको प्रतिक्रिया पनि शीर्षकको रुपमा प्रयोग गरेको पाइन्छ। शीर्षक राख्नु पनि कविको क्रिएटिभ स्पेस हो भनेर बुझ्ने गरिन्छ। शीर्षकलाई जानकारी प्रदान गर्ने वा अपेक्षा स्थापित गर्ने महत्त्वपूर्ण काव्यात्मक उपकरण मान्ने गरिन्छ।

यस कवितासङ्ग्रहको सबै कविता शीर्षकविहिन छन् । शीर्षक नहुँदा कविताहरू अपुरा लाग्छन् । कुनै कविताको बीचको अंशजस्तो पनि महसुस हुन्छन्। प्राय ‘प्वाँख’ भित्रका कविताहरूमा यो कुरा महसुस हुन्छ। अझै केही पाठकहरूले त कविता कहाँ सकिएको र कहाँ सुरुभएको नै पत्तो नपाएको कुरा पनि जिकिर गरेका थिए (प्रत्येक कविता सकिँदा प्वाँखको चित्रको एउटा सानो थम्बनेल वाटरमार्क रहेको छ)। शीर्षक नहुनुमा अहिले विश्वव्यापी रुपमा चर्चामा रहेको इन्स्टाग्राम पोएट्रीको प्रभाव देखिन्छ।

जोसेफ हन्टिङटनको एउटा एक लाइनको कविता छ:
Artichoke
O heart weighed down by so many wings!

(यस कवितामा शीर्षक नभएको भए…)

कवि प्राचीनकै निवर्तमान प्रकाशित सङ्ग्रह “उभिएर एक्लै”को एउटा कविता यस्तो छ :

‘संसारकै/ खतरनाक/अपराधीहरूको पनि/ बाल्यकालको तस्वीर/ हाम्रा नानीहरूको जस्तै/ अबोध हुँदोरहेछ’।

यस कविताको शीर्षक हो ‘क्रुर बगैंचा’। यस कवितामा प्राचीन आफैंले शीर्षकको सक्दो सृजनात्मक प्रयोग गरेका छन्। ‘प्वाँख’मा भने शीर्षक विहीन कविताहरू अधुरा अपुरा महसुस हुन्छन्।

किताबको पहिलो कवितामा कवि लेख्नुहुन्छ, ‘यी कविताका अधुरापन/ तिमीलाई/ आफन्त लाग्न सकुन्’। यसलाई कविको एस्केप अथवा स्वीकारोक्ति मान्न सकिन्छ।

कविता बारे:

निकै सामान्य कुराहरू सरल भाषाशैलीमा लेख्ने कवि प्राचीनका यस सङ्ग्रहका कविताहरूको कुरा गर्दा प्रायको विषयवस्तु र एक्सप्रेसन क्लिसे महसुस हुन्छन् । यस्तो हुनुको मुख्य कारण सरल कुरा सबैले लेखिरहने र सोही कारण समथिङ एक्सेप्सनल महसुस नहुनु हो । यति भन्दै गर्दा सरल भाषाशैलीमा सामान्य कुरा लेख्दा क्लिसे भई नै हाल्छ भन्ने पनि होइन। उदाहरणको रुपमा चन्द्रमाको बिम्बलाई हेर्न सकिन्छ जसको साहित्यमा यति प्रयोग भैसक्यो कि चन्द्रमाबारे कविता भन्ने थाहा पाउदा पक्कै केही क्लिसे नै होलाजस्तो लाग्छ। तर तामिलनाडूकी अंग्रेजी भाषाकी कवि मीना कन्दसामीले आफ्नो एक कवितामा चन्द्रमा बारे लेखेको बिम्ब कत्ति पनि क्लिसे महसुस हुँदैन– एक आघातग्रस्त सर्भाइबरले चन्द्रमालाई पनि रातको समयमा आफूलाई पच्छ्याइरहेको स्टकर (stalker) जस्तो ठानेर डराउने बिम्ब। (…i ran until terror stopped my tracks/ for, trembling i turned and saw that the moon was/ another-immodest-ogler-and-lecherous-stalker)

पेज नं ३०, सबैभन्दा बलिया हुन्छन्/ सपनाका पखेटा// नडराऊ,/ विश्वास गर/ आफ्ना सपनाका पखेटालाई// मान्छेले आजसम्मका सबै उडान/ तिनै पखेटाका भरमा/ भरेको हो’ र नवजोत सिंह सिद्धुले सुनाइरहने सायरी ‘मंजिलें उन्ही को मिलती हैं जिनके सपनों में जान होती है। सिर्फ पंखों से कुछ नहीं होता, दोस्तों हौसलों से उड़ान होती है ।’ मा खासै त्यस्तो फरक छैन।

पेज नं ४६को कविता ‘सपनामा भेटिएथ्यौँ हामी/ तिम्रो ठेगनासमेत लिन नपाई/ खुलिगयो निद्रा// त्यस रातदेखि/ सधैँ अनिदो छु’ पढ्दै गर्दा उपेन्द्र सुब्बाको सपनाको कुरा– ‘…र म स्वयंलाई छुन खोज्दा बिम्झिए/ बाँकी निद्रा लागेन/ छुकछुक लागिरह्यो/ तिमीलाई छुनु थियो, कसो छोइन’ पढ्न सकिन्छ।

पेज नं ८९ मा एउटा कविता छ ‘मान्छेहरू/ यसकारण/ बोलिरहन्छन् कि,// कसैले/ उनीहरूको/ मौनता नसुनोस्’, यस्तै हरफ हिन्दी कवि अरविन्द जोशीको ‘तुम बोल्ती हो’ कविताको अन्तिम हरफ छ ‘कूच ना केहने की/ दो तरीके है/ मै चुप रेहता हुँ/ तुम बोल्ती हो।’

यस्तै थप उदाहरण अरु पनि छन् जसलाई साहित्यिक चोरी भन्न खोजिएको भने होइन, तर निकै सामान्य विषयवस्तु लिँदा ठ्याक्क उस्तै कविता प्रकाशित हुने, क्लिसे हुने खतरा हुन्छ, प्वाँख पनि धेरै ठाउँमा यसबाट अविच्छिन्न रहन सकेको छैन।

सेल्फ-हेल्प जनराजस्तो महसुस हुने प्वाँखका प्रायः कवितामा मौनताले चिच्याउने कुरा र आफूभित्रको सङ्गीत रिपिटेड थिम हो । कविताको मामिलामा बिम्ब, प्रतीक, रूपक, उपमाहरू नवीन हुनपर्छ । लेखिसकेकै कुरा भए पनि भन्ने शैली, प्रस्तुति नवीन हुनपर्छ । थिमहरू पनि बदलिँदो संसारसँग केही परिवर्तित हुनपर्छजस्तो लाग्छ। पढ्दा रिफरेन्सियल राइटिंग हुनु एउटा कुरा हुन्छ, तर पढ्दा पढिरहेको/पढिसकेको कुरा दोहरिएको अनुभव हुनुहुँदैन। पढ्दा पहिल्यै पढिसकेको कुरालाई खाली आफ्नो भाषामा अनुवाद गरेजस्तो पनि महसुस हुनुहुँदैन। प्वाँखका प्रायः कविता पढ्दा रुमी र जिब्रानको शैली भेटिन्छ, रुपी कौरको जस्तो बनोट महसुस हुन्छ। रुपी कौरको कुरा गर्दा अहिलेको नेपाली कविताहरूको अव्यवस्थित लाइन एन्डिङ सम्झना आइहाल्यो। लाइन एन्डिङलाई कविताको शक्तिको रुपमा लिइने गर्दछ– प्रत्येक लाइन एन्डिङको दायाँपट्टिको खाली ठाउँलाई एउटा सस्पेन्स सिर्जना गर्ने अवसर मान्ने गरिन्छ। तर अहिले हामी कहाँ त १-२ शब्द पिच्छे लाइन एन्डिङ गरेर कुनै सामान्य वाक्यलाई कविताजस्तो देखाउन यसको प्रयोग गरिँदैछ।

यस सङ्ग्रहका प्रायः कविताहरूमा ‘कविता’लाई र ‘कवि’लाई ग्लोरिफाई गरिएको भेट्न सकिन्छ । डाक्टरले मान्छेको ज्यान जोगाउनु उसको पेशा हो, सिभिल इन्जिनियरले भवन, पुल आदिको स्ट्रकचरल डिजाइन गर्नु उसको पेशा हो र त्यही हो कविको लागि कविता लेख्नु भनेको पनि। यसमा अब कविले कवितैपिच्छे कविता लेख्नुलाई ग्लोरिफाई गरेर कविता लेख्नु, आफू कवि भएकोमा समाजको विशिष्ट व्यक्ति हुँ भन्ने भाव आउने गरी कविता लेख्नु आफैंमा प्रश्नवाचक चिन्हसहितको अभिव्यक्ति हो। यो कुरा प्राचीनका कविताका लागि मात्र होइन, यो अहिलेका प्रायः नेपाली कविताहरूमा भेटिने भाव हो। के यो भाव कविता लेख्छु भन्नेहरूको बढ्दो जमातको मनोविश्लेषण त होइन ?

सुन्दर लागेका कुरा:

सुन्दर लागेको कुरा यसमा आकाशबाट खसिरहेको प्वाँखको चित्रहरू छन् जसमा प्वाँखको पोजिसनले आर्टिस्टिक भूमिका खेलेको छ। (आकाशबाट खसिरहेको प्वाँखको चित्रहरू हरेक पन्नामा वाटरमार्क जसरी अटाएको भए पनि सुन्दर देखिन्थ्यो होला)। केही थोरै कविताहरू पनि निकै सुन्दर छन्। कविताहरूको क्रम जसरी मिलाइएको छ, त्यसमा पनि निकै मिहिनेत देखिन्छ। किताबको आवरण पनि निकै सुन्दर छ।

छोटा कविताहरूमा पनि निकै गहन कुरा लुकाएर कविता लेख्न सकिन्छ । यसको एउटा अब्बल उदाहरण विलियम कार्लोस विलियमका कविताहरूलाई मान्न सकिन्छ । कवितालाई साहित्यको विशिष्ट विधा मान्नुका कारणमध्ये एक भनेको यसमा शब्दहरूको थुप्रोको पछाडि लुकाइएका तह र कन्टेस्कटहरू पनि हुन् । र कवितामा घाटी खस्खसाउन (थ्रोट क्लियरिंग – throat clearing) को लागि ठाउँ हुनुहुँदैन। एक्सेस फ्याट (excess fat) हुनुहुँदैन। आख्यानमा पोएटिक टुलको प्रयोग गरेर मात्रै त्यो कविता बनिहाल्दैन। यो सकेसम्म कङ्क्रिट हुनुपर्छ। हाम्रो कविताहरू विश्व सामु नपुग्नुको कारण राम्रो अनुवादक नहुनु मात्रै भने होइन।