स्कुलले मेरो कल्पनालोकको हत्या गरिदियो ।
मैले स्कुल जानुअगावै कखरा पढ्न र लेख्न जानिसकेको थिएँ । अझ भनौं कखराभन्दा अघि एबीसीडी जानिसकेको थिएँ । ड्याडी (बुबा) शिक्षित हुनुहुन्थ्यो । शिक्षित भएकै कारण स्कुल जानुअघि नै नेपाली शब्दहरू अलि अलि पढ्न आउँथ्यो ।
मेरो बाल्यकाल कागलाई काग नभनेर क्राे, स्याललाई ज्याकल, बाघलाई टाइगर, घरलाई हाउस, जूनलाई मून र घामलाई सन भनेर बित्यो । मेरो टोलमा केही जनावर तथा वस्तुको अङ्ग्रेजीमा नाम उच्चारण गर्ने पहिलो बच्चा म नै थिएँ भन्दा कति पनि फरक पर्दैन । अझ रमाइलो कुरा के छ भने, पूरै बाल्यकाल बितिसक्दा पनि मैले ज्याकल भनेको स्याल हो भनेर बुझ्न सकिनँ । पछि ज्याकल भनेकै स्याल र स्याल भन्नु नै ज्याकल हो भन्ने बुझेपछि भने निकै समयसम्म मनमनै हाँसो उठेको थियो ।
मेरो अत्याधिक चकचक भनेको किताबसँग खेल्नु हुन्थ्यो । ड्याडीको पुस्तक कोठामा पसेर टेबलभरी भएको एक एक किताब निकाल्थे र त्यो किताब पढ्नुको साटो पहिला त्यो किताबको सबै चित्र हेरेर सिध्याउथेँ । यसरी पुस्तकको चित्र हेर्ने क्रममा जुन पुस्तकको चित्र सबैभन्दा राम्रा छन् त्यस पुस्तकलाई पढ्नुपर्ने पुस्तक भनेर छान्थेँ । त्यो बेला चित्र नभएको पुस्तक टिप्नै मन लाग्दैनथ्यो । यसरी चित्र भएको पुस्तकमा संक्षिप्त र मीठा लोक कथा तथा कविताहरू हुन्थे । स्कुल जानु अघि नै मैले (ड्याडी) बुबाको कोठामा संक्षिप्त रामायण भेट्टाएको थिए । यै संक्षिप्त रामायण जसले मलाई पुस्तक प्रतिको मोहलाई झन् उचाइमा पुर्यायो ।
एक समय, त्यस्तै असार-साउनको महिना थियो । घरमा कोही थिएनन् । को कहाँ कहाँ गएका थिए ? मलाई थाहा थिएन । घरमा एक्लै थिएँ । तैपनि आँगनमा के के सोचेर बसेको थिएँ । अचानक मेरो अगाडि एउटा कागजको सानो टुक्रा हावाले उडाएर ल्यायो । चकलेटको खोल भेटेँ भने पनि खोलमा लेखिएको एक एक अक्षर पढ्थेँ । झन् कागज या किताबको टुक्रा त कुरै नगरौँ । ढिला नगरी त्यो कागजको टुक्रा उठाएँ र त्यसमा लेखिएको अक्षरहरू पढ्न थालेँ, त्यसमा अरू के अक्षर लेखिएका थिए त्यो याद छैन तर त्यसमा लेखेको “भीमसेन थापा साह्रै विजोगले मरे” भन्ने शब्दचाहिँ पल पल याद आइरहन्छ । त्यो वाक्य पढ्नुभन्दा अघि मलाई मान्छे मर्छ भन्ने लागेको थिएन । हाम्रो घरवरिपरि पनि त्यस्तो कुनै घटना घटेको थिएन । अन्ततः मरे भन्ने शब्दले तीन चार दिनसम्म मेरो निद्रा लुट्यो । मन मस्तिष्कमा कल्पनाको अझ तीव्र आँधी चल्न थाल्यो । कागजको सानो टुक्रा, जसले मलाई मान्छे मर्छ भनेर पहिलोपटक बोध गराइदियो ।
मान्छे किन मर्छ ? कसैलाई सोधिनँ । मैले त्यो नसोध्नुको दुई कारण थिए । पहिलो, त्यो प्रश्न सोध्नै डर लागेको थियो । दोस्रो, मलाई चित्त बुझ्दो उत्तर प्रश्न सोधेकाहरुले दिन सक्दैन थिए ।
समय बित्दै गयो । म हुर्किएँ । स्कुल जान थालेँ । स्कुल घरभन्दा केही तल थियो । अहिले दस मिनेट लाग्ने स्कुलको बाटो निकै लामो लाग्थ्यो त्योबेला । कहिल्यै हिँड्न नपरे हुनेजस्तो लाग्थ्यो । तैपनि नहिँडी सुखै थिएन ।
स्कुलमा पाइला टेकेको केही दिनपछि हातमा स्कुलको पाठ्यपुस्तक पर्यो, तर पाठ्यपुस्तकमा मेरो मन रमाउन सकेन । ती पुस्तकहरू घरमा ड्याडीको पुस्तक कोठाका जस्ता राम्रा र रहरलाग्दा चित्र भएका थिएनन् । रहर नलागेरै पनि पढ्नचाहिँ पढें ।
विस्तारै स्कुलको किताबहरूमा गणितबाहेक सबै मन पर्न थाले । नयाँ कक्षा प्रवेश गर्दा किताब हात पारेको केही दिनमै सबै किताब पढेर सक्थेँ र कुनै मन परेको कथा, कविता, गीत आदि दोहोर्याएर पढ्थेँ ।
पछि कक्षा तीनमा पुगियो । त्योबेला मेरो उमेर नौ वर्षको थियो । हाम्रो कक्षाको एकापट्टि कुनामा पुस्तक राखेको चार पाँचओटा बोरा थियो । ती बोरामा केही पुराना तर राम्रा पुस्तकहरू थिए । मलाई त्यो बोराको सबै पुस्तकहरू छानेर मन पर्नेजति केही किताबहरू घर लिएर जान मन थियो । म ती पुस्तकहरू छान्ने दिनको पर्खाइमा थिएँ ।
भदौको महिना थियो । त्यो दिन बिहानैदेखि सिमसिम पानी परिरहेको थियो । बेलुका तीन बजेपछि स्कुल छुट्टी भयो । नजिकका सबै साथीहरू सिमसिम पानीमा भिज्दै भए पनि घर गए । मचाहिँ पुस्तक छान्ने पर्खाइमा कक्षाभित्रै बसिरहेको थिएँ । अन्ततः सबै साथीहरू घर गएको मौकामा कक्षाको ढोका थुनेँ र पुस्तक छान्न थालेँ । केही समयपछि आठ दसओटा राम्रो पुस्तकहरू हात पर्यो । हतार नगरी ती पुस्तकलाई झोलामा हालेर म घरतिर लागेँ । घर गएर एउटा किताब तुरुन्तै पढ्न सुरु गरेँ । त्यो किताब थियो भगवान् श्री कृष्णको संक्षिप्त जीवनी ।
अर्को दिनको जन्म भयो । खाना खाएर म स्कुल गएँ । स्कुल पुगेँ । कक्षामा बसेँ । पहिलो पिरियड सुरु भयो । हेड मास्टरको थियो । हेड मास्टर कक्षा पस्नेबित्तिकै एउटा साथी जुरुक्क उठ्यो र भन्न थाल्यो, ‘सर यसले हिजो यहाँ बोरामा भएको केही पुस्तक छान्यो र घर लिएर गयो ।‘
मलाई तुरुन्तै कालोपाटीनेर डाकियो । ‘पुस्तक किन लगिस् ?’ केरकार सुरु भयो ।
“यिनीहरू पुराना पुस्तक हुन् । कक्षामा पढाइदैनन् । दुई चारओटा पुस्तक मन पर्यो अनि लिएर गएको सर ।” मैले नआँत्तिकन जवाफ दिएँ ।
“तँलाई फटाहा ! यो त चोर पो रहेछ ।“, भन्दै हेडमास्टरले मलाई कुट्न र तिघ्रातिर चिमोट्न थाल्नुभयो ।
“भोलि आउँदा तैँले लिएर गएको सबै पुस्तक लेर आइज्, बुझिस् ?”
मैले ‘हवस्’ भनेर मुन्टो हल्लाएँ ।
स्कुल छुट्टी भएपछि घर गएर स्कुलबाट ल्याएको पुस्तक छान्न थालेँ । राम्रा र मन पर्नेजति घरमै राखेँ र ठीक ठीकै जस्ता किताबचाहिँ स्कुलमा लगेर हेडमास्टरलाई बुझिइदिएँ ।
तीन कक्षामा पढ्ने क्रममा नै हो । त्योबेला चर्चित बालपत्रिका ‘मुना’ साप्ताहिक हरेक हप्ता बजारमा आउँथ्यो । सुरुमा त्यो पत्रिकाको मूल्य यति पर्छ भनेर थाहा थिएन । मुना साप्ताहिक किन्न रुची लाग्नुको कारण एक समय शनिबारको दिन थियो । पानीघट्टमा कोदो पिस्न गएको थिएँ । कोदो पिसेर घर फर्कने क्रममा बाटोमा एउटा फोहोरको थुप्रोमा मेरो आँखा पर्यो । त्यो फोहोरको थुप्रोमा केही कागजका टुक्राहरू थिए । पिठ्यूँमा भएको पिठोको सानो भारी त्यति रोडको भित्तामा राखे र फोहोरको थुप्रोमा भएको काजगहरू खोतल्न थालेँ । कागजको टुक्रा खोतल्नेक्रममा एउटा सानो रङ्गीन पुस्तिका फेला पर्यो । हतार नगरी त्यसलाई टिपे र त्यसको एक एक पाना पल्टाउन थालेँ । “यो पनि राम्रो किताब रैछ ।” भन्दै मनमनै बोलेँ । एकछिन त्यही रोडको डिलमा बसेँ र सोच्न थालेँ, “अर्को हप्ताको शनिबार यै किताब किन्न बजार जान्छु ।”
अर्को हप्ता मुना पत्रिका हातमा बोकेर बजार गएँ । घरदेखि बजार पुग्न डेढ घण्टा लाग्थ्यो । बजार पुगेर पुस्तक पसलमा पुगेँ । तुरुन्तै पसलेलाई सोधे, “यहाँ मुना भन्ने नयाँ किताब पाइन्छ ?”
पसलेले ‘पाइन्छ’ भने र दराजबाट एउटा पुस्तक झिकेर मेरो अगाडि राखिदिए । भने, ‘दस रुपैयाँ देऊ र लैजाऊ ।‘
“ला… ! मसँग त आठ रुपैयाँमात्रै छ । अब के गर्ने होला ?” एकछिन टोलाए र पसलेलाई भनेँ, “मसँग त आठ रुपैयाँमात्रै छ । आठ रुपैयाँमा आउँदैन यो किताब ?”
“अहँ आउँदैन । दस रुपैयाँ ल्याउने अनि किताब लिएर जाने ।” यति भनेर पसलेले मेरो अगाडि भएको साप्ताहिक मुना पत्रिका उठाएर लगे ।
अन्ततः मन खिन्न बनाएर घर फर्किएँ ।
स्कुलमा हाजिरीजवाफलगायतका अन्य थुप्रै प्रतियोगिताहरू हुन्थे । ती सबै प्रतियोगितामा म ढुक्कसँग भाग लिन्थेँ र जहिल्यै पनि प्रथम हुन्थेँ । यस्तै, एकदिन अन्तरस्कुल हाजिरीजवाफ प्रतियोगिता भयो, जसमा छ ओटा स्कुलको सहभागिता थियो । त्यस प्रतियोगितामा म प्रथम भएँ । उक्त हाजिरीजवाफ प्रतियोगिताको प्रथम पुरस्कार नौ सय रुपैयाँ थियो । टिममा तीन जना थियौं । छ सय अरु दुई जनालाई बाँडेर तीन सय मैले राखेँ । यो पाँच कक्षामा पढ्दाको कुरो हो । पुरस्कार जितेकै दिन बजार गएँ र तीन सयमा दुई ओटा छुट्टा छुट्टै सामान्य ज्ञान पुस्तक किनेर ल्याएँ ।
गाउँको प्रावि स्कुल पूरा गरेपछि म सहरको बोर्डिङ स्कुलमा कक्षा चारमा भर्ना भएँ । भर्ना भएकै वर्ष मेरो कान्छो अङ्कल विदेशबाट क्रिश्चियन धर्म ग्रहण गरेर आउनुभएको थियो । अङ्कलको सङ्गतमा विस्तारै विस्तारै जिजसका ससाना हाते पुस्तकहरू पढ्न थालेँ । ती हाते पुस्तकहरूको मलाई यति आकर्षित गरे कि अन्ततः म चर्च जाने, प्राथना गर्नेजस्ता काममा आफ्नो सक्रियता बढाउन थालेँ । समयक्रमसँगै जिजसप्रति मेरो मोह बढ्दै गयो ।
मंसिरको बेला थियो । एक साँझ ड्याडीले कार्ल मार्क्सको कुरा गर्न थाल्नुभयो । आफूसँग भएको मार्क्सवादको पहिलो पुस्तक मलाई “ला पढ्” भनेर दिनुभयो । तुरुन्तै मैले त्यो पुस्तक पढ्न थालेँ ।
त्यो पुस्तकले मलाई यतिसम्म तान्यो कि अचानक जिजसप्रतिको मोह भङ्ग भयो । त्यो पुस्तकले मलाई निद्राबाट व्युँझायो । अब म पनि संसार हल्लाउँन सक्छु भन्ने प्रेरणा जगाउन थाल्यो । त्यही पुस्तकले गर्दा अझै धेरै अरू पुस्तकहरू पढ्न मन लाग्दै गयो ।
यसरी पुस्तक पढेको देखेर मलाई गाली गर्नेहरू स्कुलका शिक्षकदेखि गाउँमा छिमेकीहरूसम्म थिए । भन्थे, “अहिले नै यसरी जे पायो त्यही किताब पढ्ने हैन । पछि पागल भएर हिँड्लास । अहिले आफ्नो कक्षाको किताब पढ्, यी किताबहरू एसएलसीपछि पढ्ने हो ।” तर म उनीहरूको कुरा सुनेजस्तो मात्र गर्थेँ । मलाई उनीहरूको फुस्रो अर्ती मन पर्दैनथ्यो ।
सहरको स्कुलमा लाइबेरी थियो । हरेक शुक्रबार लाइबेरीबाट आफूलाई मन परेको पुस्तक घर लगेर पढ्न पाइन्थ्यो । यसरी त्यो लाइबेरीबाट मैले नेल्सन मण्डेलाको पुस्तक ‘सङ्घर्षको बाटो सजिलो छैन’, मार्टिन लुथर किङको ‘मेरो सपना’, ‘माहात्मा मान्धीको जीवनी’लगायतका थुप्रै पुस्तकहरू पढिभ्याएँ । कक्षा पाँचमा पुग्दा लाइबेरीको आधा पुस्तक पढिसकेको थिएँ ।
यसरी बालक कालमै विश्व चर्चित व्यक्तिहरूको जीवनी पढ्दा मेरो मनमा विचार आएको थियो, “मान्छे पढेर हैन असल कर्म गरेर महान् हुने रैछन् ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।