नारी घरकी लक्ष्मी, घरकी इज्जत, घरकी सौन्दर्य, शक्ति, गहना, सरस्वती, भगवती र देवीथानकी देवी हुन् । नारीलाई जुनसुकै नामले पुकारे तापनि र सम्मान गरे तापनि अझै कमी हुन्छ। नेपाली नारी सगरमाथाझैं उच्च छिन् । उनका विचार, भावना पनि उत्तिकै सम्मानजनक छन् ।

समयको परिवर्तनले गर्दा होला आजभोलि हुनेखानेहरुले हुँदा खानेहरूलाई असाध्यै ठूलो दमन र शोषण गरिरहेको पाइन्छ। नारीलाई नारीहरूले नै भेदभाव गरेको र विभिन्न ठाउँहरुबाट अपमान गरेको हामी देख्न र सुन्न पाउँछौँ । आज सरको कुर्सीमा बसेर होइन ,गाउँका आमा-छोरी चेलीका कुराहरु हामीले बुझ्नु पर्दछ। हाम्रो देश भौगोलिक विकटताले भरिएको छ। अति दुर्गम ठाउँ पिछडिएको समुदाय पनि छ । यस्ता ठाउँका आमा दिदी, बहिनीहरुका विचार अनि भावनाहरुलाई हामीले राम्ररी बुझ्नु पर्दछ। आज सहरमा बसेर आफ्नो पदको उचाइको खोक्रा आदर्श प्रस्तुत गरेर हिँडेको देख्न सकिन्छ। आज गाउँले परिवेशलाई बुझेर हेर्न सके, हाम्रो देश नेपालमा धेरै ठूलो परिवर्तन आउन सक्छ तर सहरको रमझममा बसेका ती पदीय दायित्वमा अड्किएका ठूला नारी भनाउँदाहरु आज ठूल्ठूला नकारात्मक कुराहरुको प्रचार प्रसार गरेर देखाउने गर्छन् । त्यसैमा सही थाप्नेहरुको पनि कमी देखिँदैन । आज हुनेखानेहरुले हुँदा खानेहरूलाई गरेको अपमान सहिनसक्नुको छ।

सरिता  भट्टराई नेपाल

आज सहरिया नारीहरुले खोक्रो आदर्श र बडप्पन देखाउन हतारिएको देखिन्छ । गाउँको जीवन गाउँका विचार भावनाहरु हामीले अझैसम्म बुझ्न सकेका छैनौँ । किनभने हामीले हाम्रो गाउँको परिवेश बिर्सिसकेका छौँ। हामी आज सहरको रमझममा सहरीया जीवनमा बाँचेका छौँ। पछाडि फर्केर हेर्न छोडिसकेका छौँ। आज साँच्चै भन्ने हो भने, हामी, नारीले नारीकै अपमान गर्नु कस्तो आश्चर्यको कुरा हो ! हाम्रो पहिचान गाउँघर, पँधेरी आँगन, डाँडा , काँडा, प्राकृतिक सौन्दर्य सबै भुलेर हामी रङ्गिन दुनियामा अल्झिरहेका छौँ । आज हामी जन्म उत्सव,विवाह उत्सवमा हजारौँ हजार पैसा खर्च गरेर रमाउन थालेका छौँ। छोटा छोटा वस्त्र लगाएर आदि जिउ देखाएर, प्रदर्शन गर्न पनि पछि परेका छैनौँ। विवाह व्रतबन्धजस्ता खालका कर्मकाण्डमा देखासिकी गर्ने चलन उग्र रुपमा बढेको छ । हाम्रो नेपाली समाजमा भनाइ छ “देखासिकी गरी जा , आरिसले मरिजा ‘’भन्ने उखान पनि छ । आज हाम्रो देश नेपालमा पश्चिमेली संस्कृतिको नक्कल भइरहेको छ। राम्रा कुराको अनुसरण गर्नुको साटो गलत कुराको पछिपछि हिँड्नेबानी हाम्रो परिसकेको छ ।अनावश्यक भोज ,भतेर गर्ने ,डिस्कोमा जाने ,रक्सी सेवन गर्नेजस्ता कुलतले गर्दा हामी बिग्रेसकेका छौँ । हामीलाई थाहा छैन हामी आफ्नै जीवनलाई कसरी नराम्रोसँग पतन गरिरहेका छौँ । हाम्रो धर्म र संस्कृतिलाई कसरी पछाडि धकेलिरहेका छौँ । हामीले यो कुरा बिर्सेझैं गरी लाज पचाएर रनभुल्ल जीवनमा जिरहेका छौँ ।आजभोलि ठुला, ठुला कुराहरु र नारीका भावनामा खेल्ने मानिसको पनि कमी छैन। आफू आर्थिक सम्पन्नता भएका हुनाले आफूलाई बडप्पन देखाई आफैलाई आदर्शवान् मान्ने, नारीहरूको पनि कमी छैन यहाँ । ‘टुप्पोबाट पलाएको बिरुवा यस्तै हुन्छ’ भन्ने पुराना विचारहरूको सम्झना मलाई आउन थालेको छ।

आजभोलि हरिया , राता ,पँहेला, चुरा ,आमा दिदी बैनीहरुको हातमा लगाएका सौन्दर्यका कुराहरुलाई लिएर प्रश्नचिन्नका रुपमा आउन थालेको देख्दा मलाई अचम्म लागेको छ । ठुलाबडाको हातमा लाखौं पर्ने सुनका गहना बहुमूल्य धातुका गहना लगाएको कसैले निन्दा,र चर्चा गर्न सकेको छैन । तर आजभोलि आमाका हातमा लगाएको छमछम बज्ने चुचुराहरुको निन्दा गरेको देख्दा , अचम्म लागिरहेको छ मेलापात घाँसदाउरा गरेर कमाएको सय,पचास रुपैयाँको हरिया राता पहेँला जस्तासुकै चुरा लगाए पनि नारीहरुले नै किन हो महिलाको सोह्र श्रृङ्गार मध्ये चुरा पनि एक श्रृङ्गार हो । अझ विवाहित महिलाले त झन् हात खाली राख्नु हुन्न भन्ने मान्यता परापूर्वकालदेखि नै चलिआएको छ । आज सहरबाट उठेका चुराका विरोधका कुराहरुले गाउँका महिला दिदी बहिनीहरुमा कस्तो असर पर्न सक्छ भन्ने कुराको अनुमान गर्न सकेका छैनौँ । आज सहरमा बस्ने नारीहरुले गाउँमा बस्ने नारीहरूको अपमान र धर्म संस्कृतिका बारेमा गरिएका विभिन्न कुराहरुलाई लिएर विवाद खडा गर्ने गरेको देख्न र सुन्न सकिन्छ । साउन महिनामा महिलाहरुले हरिया चुरा लगाए भनेर जताततै त्यही विषयमा चर्चा भएको पाइएको छ । आखिर किन र केका लागि हो ? यति ठूलो चर्चा, र परिचर्चा !पचास रुपियाँमा एकदर्जन आउने चुरा लगाउदा किन यति धेरै विरोध भएको होला ! नेपालीको बुद्धि र विवेक के भएको होला ! किन यति धेरै ठूलो नकारात्मक विचार पैदा भएको होला ! आज सहरमा बस्ने महिलाहरुले पनि त चुरा लगाउँछन् । हाम्रो धर्म संस्कृति जोगाउनु पर्दछ भन्छन् पनि,तर नकारात्मक टिका, टिप्पणी धेरै गर्छन् । चुराहरु छिमेकी मुलुकबाट नेपालमा आउने भएकाले धेरै हाम्रो अर्थतन्त्रमा नोक्सान भयो भनेर गलत कुराको प्रचारप्रसार भइरहेको छ । आज हामीले छिमेकी मुलुकबाट नै धेरै कुराहरु आयात गरिरहेका छौँ र हाम्रो देशले पनि आफ्ना उत्पादनहरु विदेश पठाउन सफल भएको छ । छिमेकी मुलुकबाट आयात निर्यात नगरी हाम्रो देशको विकास नहुने भएकाले यस्ता सहयोगहरु एक अर्कामा हुनै पर्दछ। हामीले नराम्रा सोचको अन्त्य गर्नु पर्दछ।

आमा, दिदीबहिनीहरु दिनहुँजसो धेरै काम गर्छन् । मेलापात गरेर जन मिश्री काम गरेर कमाएको पैसाबाट साँझमा आफ्नो रित्तो हातमा चुरा लगाएर घर जान्छन् । आहा !कति राम्रो सुहायो भन्दै परिवारमा खुसी हुन्छन् । वैज्ञानिक दृष्टिले हातमा चुरा लगाउनु असाध्यै राम्रो मानिन्छ । शरीरको रक्तसञ्चारमा नियन्त्रण, सकारात्मक ऊर्जा आउँछ भन्ने पनि विश्वास रहेको छ । हरियो चुराले त झन् आँखालाई राम्रो बनाउन र घरमा सकारात्मक ऊर्जा ल्याउन थप मद्दत पुर्याउँछ । आजभोलिको नकारात्मक टिप्पणीले गर्दा भावी सन्तानलाई कस्तो असर पर्न सक्छ हामी आफैं कल्पना गरौँ ! हामीले आजैदेखि सोच्ने बेला आएको छ। आमा दिदीबहिनीहरुले लगायतको हातको चुराको धेरै नै ठूलो महिमा छ । परापूर्वकालदेखि नै आमा हजुर आमाहरुले काँचका चुरा लगाएको हामीले देखिरहेका छौँ । यस्तो साना कुराको धेरै ठूलो विरोध गर्नु हुँदैन भन्ने मलाई लागिरहेको छ । हामीले विरोध गर्दा ठूलाठूला कुराको विरोध गर्नुपर्छ । घरपरिवार, समाज, देशमा आँच आउने कुराको खुलेर विरोध गर्न सक्नुपर्छ । त्यस विषयमा चाहिँ हामी सबैको सहयोग मिल्नेछ । झिनामसिना कुरामा अल्झिएर समयलाई बर्बाद पार्नुहुँदैन ।

वर्षा ऋतुको समयमा जताततै हरियाली छाएको हुन्छ । यस्तो प्राकृतिक सौन्दर्यले सबैलाई मोहित पारेको हुन्छ । चारैतिर हरियाली, हाम्रो जीवन पनि हरियाली हुन्छ । आमा, दिदीबहिनीहरूको हातका चुरा पनि हामी सबैको खुसी हो । गरिबीको खुसीले झन् ठूलो ऊर्जा पैदा गर्छ । यो ऊर्जा हामी सबैले लिनु अति नै जरुरी छ। नारीहरुले लगाएको हातको चुरा हाम्रो सुन्दरताको प्रतीक हो । हाम्रो ईज्जत र शान हो भन्ने मलाई लाग्छ । यस्ता कुरालाई हामीले विरोध होइन उच्च सम्मान गर्नुपर्दछ ।