छोरी भएर जन्मेकाहरूसमेत छोरी जन्माउन चाहदैँनन्, किन ? – अन्तत: यन्त्रणाले जन्माएको प्रश्‍न हो यो । साहित्यले समाजलाई निर्देशित गर्छ । इतिहासभित्र साहित्य हुन्छ । साहित्यभित्र इतिहास । अनुशासनले सभ्य समाजको परिचय दिन्छ । सृजनाभित्रको अनुशासनले व्यक्तिको वाक् शैलीलाई मजबुत र नम्र बनाउँछ । बोलीको शैलीबाट व्यक्तिको पात्रता बन्दछ । लेखनको शैलीबाट लेखकको शैली तथा मार्ग बन्दछ । पहिला त म अन्तत: यन्त्रणाको कथासार बताउँदै छु ।

गुणा, सामान्य परिवारमा हुर्किएकी छोरी तर लाडप्यारमा हुर्केकी । यो उपन्यासकी मूख्यपात्र गुणा हुन् ।  गुणाले जति दु:ख यो उपन्यासमा भोगेकी छिन् यस्तो दु:ख त समाजमा कयौँ स्त्रीहरूले भोगिरहेका होलान्  । जब गुणाका लागि गुणाका बुबाले नयाँ लुगा ल्याइदिनुहुन्छ, त्यहीँबाट गुणाको खुसीको आयाम बढ्छ । आमाबाट सन्तानले जति माया पाउँछन् त्यति नै माया त बुबाबाट छोराछोरीले पनि पाउँछन् । आमाको मायाको सम्मान जति हुन्छ र आमाको मायाको कुरा जसरी सृजनामा व्यक्त गर्दछन्, तर बुबाको मायाबारेमा लेखिएको कमै मात्रामा भेटिन्छ । उपन्यासको सुरुमा बुबाको प्रेमलाई उल्लेख गर्न खोजिएको भेटिन्छ । बुबाको सन्तानप्रतिको प्रेमलाई लेखकले उपन्यासको सुरुमा कलमको निभमा राम्रोसँग राखेकी छिन् । बुबाको छोरीप्रतिको प्रेमसँग सुरुवात भएको उपन्यास पूर्णत: मौलिक र सामाजिक छ ।

“गुणा हुर्किन्छिन्, बढ्छिन,  समय र उमेर पुगेपछि गुणाको गमनसँग बिहे हुन्छ, गुणा र गुणाका श्रीमान् गमनबाट पाँच जना सन्ततिले जन्म लिन्छन् । गुणा र गमनबाट जन्मिएका पाँचै जना सन्तति छोरी हुन्, गुणाले छोरालाई जन्म दिन चाहेकी थिइन् । छोरालाई जन्मदिन चाहेर नै गुणा र गमनले पाँच सन्तानलाई जन्माएका हुन् । पाँच/पाँच जना सन्तति जन्माउँदा पनि छोरालाई जन्मदिन नसक्दा गुणालाई भित्र-भित्र खूब खिन्नता हुन्छ । आफैँसँग पश्‍चाताप लाग्छ । गुणाकी एक छोरी हुन् भूमिका । भूमिका हुर्किन्, बढिन् र समय तथा उमेर पुगेपछि भूमिकाको बिहे हुन्छ । एकदिनको कुरा हो । गुणा घरमा थिइन् । गमन घरबाहिर थिए । भूमिकाकी बहिनीले भनिन्, “आमा,  दिदीबाट छोरा भयो” । गुणाको खुसीको सीमा नै रहेन यो कुरा सुनेर । गुणाले छोरीलाई भनिन् । छोरी तिम्रो बाबालाई फोन गरेर यो कुरा सुनाउनु पर्‍यो । यो कुरा तिम्रा बाबाले सुन्न पाएमा उनी खुसी हुनेछन् । गुणाले मनमनै सोचिन्, आफूले छोरा जन्माउन नपाए पनि आफ्नी छोरीबाट त छोरा भयो । उता गमनले पनि आफ्नी छोरीबाट नाति पाएको कुरा थाहा पाइसकेका थिए । छोरीबाट नाति पाएको कुरा सुनेर गमनको पनि खुसीको सीमा नै थिएन । गमनले आफूले छोरा नपाए पनि आफ्नी छोरीले छोरा जन्माएको कुराले आफूलाई हर्षित बनाएका थिए । गमन घर फर्किने बेलामा हातमा लड्डु बोकेर घरतर्फ लागे । गमनले बाटोमा साथीभाइ भेटेछन् ।

साथीभाइसँग बसेर गमनले आफूले नाति पाएकाले सबैसँग आफ्नो खुसी साटिरहेका थिए । गमनको कुरा सुनेर उनका एक जना साथीले गमनलाई भने, “छोरा भएको तिम्रो हो र ? तिम्रो त नाति पो हो । त्यो पनि छोरीबाट भएको । त्यसले तेरो कुल बचाउने हैन क्यारे । तिम्रो वंश गोत्र बचाउने पनि हैन के, खुसी भएको होला ?” आफ्नो साथीको यो कुरा सुनेर वर्षौँपछाडि हर्षले चौडा भएको गमनको छाती खुम्चियो । मानौं हावा भरेर लामो उडान भरेको बेलुन बिचबाटोमा काँडामा घोचियो । हावा भरेको बेलुन फुट्यो ? होइन खुसीले भरिएको गमनको छाती फुट्यो ।  गमनलाई भित्र भित्र जलन भयो । गमनको हृदय छियाछिया भयो । अन्तत: खुसीपछाडि पनि गमनको मनमा यन्त्रणाको भारी बस्यो ।

एक वाक्यमा भन्नुपर्दा मानिसलाई खुसीपछाडि पनि दु:खले नछोड्दो रहेछ । अर्को शब्दमा भन्नुपर्दा मनुष्यलाई आफ्ना कर्म र वास्तविक दु:खले भन्दा पनि अरूले भनेका कुराहरूले दु:ख दिलाउँदो रहेछ । कतिपय दु:खहरू वास्तविक रूपमा दु:ख हुन् भने कतिपय दु:खहरू केवल अनुभूति हुन् । अनुभूतिहरूले दु:खलाई जन्म दिने गर्दछन् । गमनले वास्तविक दु:ख भोगेका छन् कि कसैको शब्द सुनेर दु:खको अनुभूति गरेका हुन् ?

सामाजिक व्यवस्थालाई मात्र नभएर सामूहिक सोचलाई नै उपन्यासमा उल्लेख गरिएको छ । वर्षौंवर्षदेखि आमा र बुबाको सामूहिक कर्मबाट आमा बुबाले सन्तति प्राप्‍त गर्दै आएका छन् । तर आमाले आफ्नो कोखबाट छोरालाई जन्म दिन नसक्दा सामाजिक रूपमा छोरा जन्माउन नसकेको कुराको आक्षेप लागिरहेको छ । जुन कर्म गर्नका लागि आमालाई दोष लगाइन्छ त्यो कर्म आमा एक्लैले चाहेर सम्भव नै छैन । सन्तति लाभको कुरा त आमा र बुबा दुवैबाट हुने हो । उसो त गुणा र गमनले पनि छोरालाई जन्मदिने चाहनामै पाँच/पाँच छोरीलाई जन्म दिएका हुन् । तर पाँच/पाँच छोरी जन्मदा पनि उहाँबाट छोरा जन्मिन सकेन त यसमा गुणा र गमनको के नै गल्ती छ र ? तथापि यसको दोष खुलम् खुला रूपमा गुणासँग जोडिए तापनि आफूबाट छोरा नजन्मिदा गमनले सामाजिक रूपमा नानाथरिका आरोप-प्रत्यारोप खेपेको कुरा कही पनि उपन्यासमा उल्लेख हुन सकेन । के गमनलाई सामाजिकरूपमा कुनै पनि लाञ्छना नलागेको होला त ?

परिवारिक संस्था संसारको सबैभन्दा उत्कृष्ट व्यवस्था हो । तर परिवारिक संस्थाभित्र प्राय: मनुष्यले सन्ततिमा छोरा खोज्दछन् । सायद यो परापूर्वकालको परम्परा पनि हुन सक्छ । उःबेला भौतिक स्रोत साधनको कमी थियो । विवाह गरेर माइतबाट घर गएका चेलीबेटीहरूलाई माइत फर्कन धेरै समय लाग्थ्यो । माइतबाट घर गएका चेलीबेटीहरू साह्रोगाह्रो पर्दा माइत आउन सक्दैन थिए । अहिले भने विश्‍वको जुनसुकै कुनामा भए पनि ओहोरदोहोर गर्न कुनै समस्या छैन  । भौतिक स्रोत साधनको विकास नहुँदा त्योबेलामा आमाबुबाको ख्याल राख्ने मान्छे कोही हुँदैन थिए । त्यसकारण त्यो समयमा छोरीभन्दा छोरा जन्माउन चाहनु स्वभाविक थियो । किनकी चेलीबेटीहरूलाई त्योबेलामा माइतबाट आएर समस्या परेको समयमा आमाबुबाको स्याहारसुसार गर्न कठिन हुन्थ्यो । घण्टौं तथा दिनहूँ हिँडेर आउन जान कठिन हुन्थ्यो । अहिले भने त्यस्तो कुनै समस्या छैन । आमाबुबाको स्याहारसुसार गर्ने कुरामा होस् या पारिवारिक जिम्मेवारी वहन गर्ने कुरामा होस् छोराको जत्तिकै छोरीले पनि भूमिका निभाउन सक्षम छन् ।

नारीभित्रका जलन, आवेग, क्रोध, प्रेम तथा भावना समेटिएको यो उपन्यासको प्रमुख विशेषता गृहस्थी जीवनका यथार्थता, छोरालाई धेरै र छोरीलाई कम महत्त्व दिने सामाजिक परम्परा, राजनीति व्यवस्थाअन्तर्गत राजतन्त्रप्रतिको वितृष्णा र प्रजातन्त्रप्रतिको चाहना, जातीय तथा वर्गीय संस्कृति,  यौनेच्छाले भत्काएको सामाजिक मर्यादा, परस्त्रीप्रतिको अनैतिक सम्बन्ध, पुरुष र स्त्रीप्रति सामाजिक सद्‍भावना समान हुनुपर्नेमा पितृसत्ताले दिएको नारीमाथि थुपारेको यन्त्रणा, सामाजिक मूल्यमान्यतालगायतका विषयवस्तुहरू हुन् । सम-सामयिक विषयवस्तुहरू र वर्तमान समाजको रोचक चित्रणको तस्विर प्रस्तुत गरेकिछिन् उपन्यास अन्तत: यन्त्रणामा सुमनले ।

नारीका वेदना, संवेदना, भावना, सामाजिक तिरस्कारलगायतका विषयमा हजुरआमा, आमा, आफू र आफ्नी छोरीको जीवनशैली अर्थात् चार पुस्ताका जीवनशैली समावेश गरेर सुमनले उपन्यास ‘अन्तत: यन्त्रणा’लाई रङ्गिन बनाएकी छिन् । उपन्यास अन्तत: यन्त्रणा पढ्दा चलचित्र हेरेको दृश्य नै आँखामा झल्किन्छ । यति हुँदाहुँदै पनि उपन्यासभित्रको त्रुटि जस्तै-भाषिक सम्पादन, प्रस्तुतीकरणको शैलीलगायतका केही विषयहरूमा कमजोरी अवश्‍य नै छन् ।

चार पुस्ताको जीवनशैली समेटिएको उपन्यास अन्तत: यन्त्रणाभित्रको श्रव्यदृश्यलाई मनन गर्ने हो भने यन्त्रणाको चलचित्र नै बन्न सक्छ ।  यन्त्रणाभित्रको यन्त्रणा र खुसीपछिको यन्त्रणा तथा मनभित्रको यन्त्रणा र मनबाहिरको यन्त्रणाका साथै शारीरिक यन्त्रणालाई समेटिएको उपन्यास अन्तत: यन्त्रणा सामाजिक सोचाइमा परिवर्तन ल्याउन सक्ने उपन्यास हो ।