‘अन्तरिक्षको धर्ती’ सुदेश सत्यालद्वारा लिखित एक रमाइलो कविता सङ्ग्रह हो । यस कविता सङ्ग्रहमा ५८ ओटा कविताहरू रहेका छन् । कविले यी सबै कविता कलेज जाने उमेरदेखि लेखेका हुन् र यस सङ्ग्रहमा थुप्रै छन्दमा रचिएका कविताहरू छन् । शार्दूलविक्रीडित, भुजङ्गप्रयात, शिखरिणी, पञ्चचामर, अनुष्टुप, इन्दिरा, मालिनी, उपजाति, वसन्ततिलका,  पृथ्वी, स्रग्विणी, मन्दाक्रान्ता, तोटक र स्रग्धरा छन्दमा लेखिएका कविताहरू यस सङ्ग्रहमा रहेका छन् । सबैभन्दा धेरै कविताहरू शार्दूलविक्रीडित छन्दमा लेखिएका छन् । सत्यालले लेखेका प्रायजसो कविताले देशप्रेमको भावना झल्काएका छन् । थुप्रै कविताहरूले नेपालको भौगोलिक र प्राकृतिक विशेषतालाई पनि प्रस्तुत गरेका छन् । यस सङ्ग्रहमा सङ्गृहित सबै कविताकाे विश्लेषण गर्दा पुस्तक समीक्षा निकै नै लामाे र पट्यारलाग्दाे हुने भएकाले म आफूलाई धेरै नै मन परेकामध्येका केही कविताकाे विश्लेषण गर्ने प्रयत्न गर्दै छु ।

विषयवस्तु:

 पहिलो कविताको शीर्षक फर्केर आऊ घर रहेको छ । यो कविता शार्दूलविक्रीडित छन्दमा लेखिएको छ । प्रस्तुत कवितामा कविले पैसा नै सबै थोक हाेइन भन्ने कुरा बताएका छन् । उनले अरू देश जतिसुकै सुखमय भए तापनि आफ्नै देश फर्किएर आउनुपर्छ र हाम्रा लागि जन्मभूमि नै सबैभन्दा प्यारो हुनुपर्छ भन्ने कुरा कविताका रूपमा लेखेका छन् । आफ्नो देशमा जतिसुकै दु:ख भए पनि, आलिसान महल नभए पनि आफ्नो देशको झुपडीलाई नै महल मान्नुपर्छ । विदेशका केही सामग्री देखेर हामी धेरै फुर्किनु हुँदैन, बरु आफ्नो देशलाई कसरी अझै राम्रो बनाउन सकिन्छ भन्ने सोचेर सिँगार्नुपर्छ । नेपाली हुनुमा हामीले गर्व गर्नुपर्छ र आफ्नो देशको विशेष खानेकुरा ढिँडो र गुन्द्रुक खान पाउनुमा हामी खुसी हुनुपर्छ । नेपालमा पनि थुप्रै रोजगारीका अवसर छन् त्यसैले ती अवसरको सदुपयोग गर्नुपर्छ भनेर कविले भन्न खोजेका छन् ।

देश मेरो हरायो” नामक कविता स्रग्धरा छन्दमा रचिएको कविता हो । यस कवितामा नेपाली संस्कृति र परम्परालाई नेपालीले कसरी भुल्दै आएका छन् भन्ने कुरा बताइएको छ । हाम्रो गुन्युँचोलीजस्ता पहिरनहरू अहिले हराइसकेका छन् अर्थात् अहिले मानिस विदेशी पाेसाक लगाउनमा बढी उत्सुक छन् । लोकगीत र नृत्यले पनि अहिले आफ्नो पहिचान गुमाएको छ । प्रायजसो नेपालीलाई विदेशी सङ्गीत मन पर्न थालेको छ । हाम्रो देशको झन्डाले पनि आफ्नो अस्तित्व गुमाउन लागेको छ । हाम्रा देशका लागि ज्यान दिएका वीर गोर्खालीहरूले माथिबाट हेरेर देश र देशको अस्तित्व हराएको देखेर निकै नै निराश भएका छन् । नेपालको परिचय हामी आफैँले हराउँदै छौँ । आफ्नो संस्कार छाेडेर हामी विदेशी परम्परालाई स्विकार्दै छौँ । सबैले देउडा गाउँदै, मादलहरू बजाउँदै अर्थात् आफ्नो परम्परालाई जोगायौँ भने हाम्रो देशको अस्तित्व कतै हराउँदैन भन्ने भाव याे कवितामा अभिव्यक्त भएकाे छ ।

सुनबी पोखरेल

म बालक नामक कविता तोटक छन्दमा रचिएको छ । यस कवितामा एउटा बालकको मनस्थितिको बारेम वर्णन गरिएको छ । एउटा बालकलाई आफ्नी आमाबिना जिउन निकै नै कठिन हुन्छ । ऊ जति नै चकचके भए पनि मन निकै नै सफा हुन्छ । उसमा हिंसाको भावना कदापि हुँदैन । बालक भनेका भविष्यका दक्ष जनशक्ति हुन् । उनीहरूले जीवनलाई रमाइलो बनाइदिन्छन् । उनीहरूलाई केही ठग्न आउँदैन र जति चञ्चल भए पनि उनीहरूको मन निकै नै कमलो हुन्छ । एउटा बालक हाँस्यो भने सम्पूर्ण समाज नै हाँस्ने गर्दछ । उसले धेरै पीडा पनि महसुस गर्दैन । जे छ, त्यसैमा सबै थोक भुलेर रमाएर बस्छ । कहिलेकाहीँ केही गर्यो भने बालक रिसाउँछ र रोइदिन्छ तर उसले व्यथा बुझेको हुन्छ । बालकले बोलेको बोली सारै नै मिठो हुन्छ र उसले मनमा भएका सबै भावनाहरू भन्छ । उसलाई बन्धनमा राखेको भने कदापि मन पर्दैन । बालकको मनमा थुप्रै इच्छा र चाहना हुन्छन् तर उमेर बढ्दै गएपछि चाहनाहरू पनि मेटिँदै जान्छन् तर हरेक वृद्धमा एउटा बालक भने लुकेर बसेको हुन्छ । यस्तै मर्मस्पर्शी भाव व्यक्त भएकाे छ याे कवितामा ।

जीवनबोध नामक कविता वसन्ततिलका छन्दमा लेखिएको छ । यस कवितामा कविले जीवनमा धेरै कुरा गरिसके तापनि त्यो काम कहिल्यै नसकिने कुरा बताएका छन् । हामीले जीवनबाट सिक्नुपर्ने कुराहरूको बारेमा पनि यस कविताले बताएको छ । हामीले आफ्नो जीवनभरि थुप्रै शिक्षा लिन्छौँ तर परीक्षा भने कहिल्यै पनि सकिँदैन । हामी कहिलेकाहीँ जीवनमा केही गर्छु भनेर अठोट लिन्छौँ र त्यो काम गर्ने बाटामा थुप्रै बाधाहरू आउँछन् अनि तिनै बाधाले हामीमा होस ल्याउँछन् । जो लडेको हुन्छ, त्यसले उठ्न पनि जानेको हुन्छ । समयले हामीलाई बालकदेखि वृद्धसम्मकाे अवस्थामा पुर्याउँछ । यसले कहिले वसन्त ल्याउँछ, त कहले खडेरी तर यो रोकिन भने कहिल्यै रोकिँदैन । जीवनको सिढीँ जति चढे पनि अझै बाँकी हुन्छ र त्यसैगरी जीवनमा जति कुरा सिके पनि अझै सिक्न बाँकी हुन्छ । जीवनको बाटामा हिँड्दै जाँदा थाक्न सकिन्छ तर हार मानेर बिचमा कहिल्यै रोकिनु हुँदैन, निरन्तर अगाडि बढी नै रहनुपर्छ । कहिलेकाहीँ सबै कुरा सोचेको जस्तो पनि हुँदैन र कहिलेकाहीँ गरेको काम खेर पनि जान सक्छ तर एउटै कुरालाई लिएर हरेस खानु हुँदैन, जीवनमा अघि बढी नै रहनुपर्छ ।

मूलभाव:

यस कविता सङ्ग्रहमा समाविष्ट सबैजसो कविताले मेरो मन छाेएका छन् । याे सङ्ग्रहमा सङ्ग्रृहित कविताहरूले केवल नेपालको विशेषताका बारेमा वर्णन मात्र गरेका छैनन्, जीवनलाई कसरी हेर्ने र लिने भन्ने कुरा पनि बताएका छन् । सम्पूर्ण कविताहरूमध्ये मेरो मन पर्ने कविता “जीवनबोध” रहेको छ । याे कविता निकै नै सन्देशमूलक रहेको छ । यस कविताले कोही मान्छे यस्ता हुन्छन् कि सुरुमा राम्रो बनेर एकदमै फुर्काएर माया गरेर राख्छन् तर पछि भने तिनै मानिसले विश्वासघात गरेर पछारिदिन्छन् । जीवनमा जे जति दु:ख र आपत आए पनि त्यसबाट अघि बढ्नुपर्छ र दु:ख हुन्छ भन्दैमा काम गर्न छाड्नु हुँदैन भन्ने भाव यसले अभिव्यक्त गरेको छ । यो केवल एक हरफले भनेको कुरा मात्र भए तापनि यसले मेरो मन छाेएको छ र यो सबैकाे जीवनमा घट्न सक्ने घटना पनि हो । निकै गहिरो भाव झल्काउने अर्को कविता “महिला हिंसा” रहेको छ । यस कवितामा महिलाले अहिले मात्र नभएर कैयौँ वर्षदेखि हिंसा खेप्दै आएको कुरा बताइएको छ । बोक्सी, सती, द्रौपदी सबै महिला नै हुनुपरेको र छोरी जन्मिने थाहा पाएर बच्चा मारेको समेत कुराहरू महिलाले भोगेका छन् । बलात्कृत भएकी छोरीको बलात्कारी आफ्नै पिता भएको र महिलालाई न्याय नभएको कुरा कविताले बुझाउन खोजेको छ । दाइजो प्रथा अन्त्य गर्नुपर्छ र महिलाको दु:ख बुझ्नुपर्छ भन्ने कुरा कविताले बताएको छ । त्यसैगरी अन्य थुप्रै कविताहरूले नेपालमा अवसर छन् र विदेशी परम्परामा मग्न हुनु हुँदैन, आफ्नै देशलाई माया गर्नुपर्छ भन्ने कुराहरू बताएका छन् ।

निष्कर्ष: 

यो किताब मलाई निकै रमाइलो लाग्याे । कविता हेर्दा गाह्रो भए तापनि विश्लेषण गर्न धेरै अप्ठ्यारो परेन । सत्यालले आफू कक्षा १२ मा भएदेखि लेखेका कविताहरू यस कवितासङ्ग्रहमा समावेश गरेका हुनाले बुझ्न सजिलो भएको म मान्छु । छन्दमा लेखिएको भएर यो कवितासङ्ग्रह लयवाचन गर्दै पढ्दा मलाई निकै नै आनन्दकाे अनुभूति भयो । यो पुस्तक पढेपश्चात् छन्दको बारेमा थुप्रै ज्ञान पनि आर्जन भयो र पुस्तकमा भएका कविता मज्जाले वाचन गर्न सक्ने पनि भएँ । यो पुस्तक पढेपछि पक्कै पनि मानिसको सोचाइमा केही न केही बदलाव आउँछ भन्ने मेरो ठम्याइ रहेको छ । म यो पुस्तक कक्षा ७ देखि माथिका विद्यार्थीलाई सिफारिस गर्न चाहन्छु किनभने केही कविताहरू त्यसभन्दा तल्लो स्तरका विद्यार्थीका लागि बुझ्न कठिन छन् । कक्षा ७ भन्दामाथि वृद्ध अवस्थामा पुगेकाले समेत यो कवितसङ्ग्रह पढ्न सक्छन् । यो निकै नै राम्रो र ज्ञानमूलक पुस्तक रहेको म ठहर्याउँछु ।

कक्षा १०, डियरवाक सिफल स्कुल