मनोरोग विभाग (psychiatry) मा पहिलो दिनको पोस्टिङ चलिरहेको थियो । अरु विभागमा छाती दुख्यो, टाउको दुख्यो, सास फेर्न गार्हो भयो, मुटुको धड्कन बढ्यो, पिसाब पोल्यो जस्ता समस्या लिएर बिरामी आउने क्रम त धेरै नै थियो । मेरो मनमा भने साँच्चै मेरो मन दुख्यो, व्यवहारमा परिवर्तन आएको छ, तनाब भो, दिमाग बिरामी भयो भन्दै मनोचिकित्सक भेट्न आउँछन् कि आउँदैनन् होला भन्ने कौतुहलता धेरै नै थियो ।

यसो हेरेको त वार्डमा बिरामी भरिएका थिए । उनीहरूको बिहानीपखको शारीरिक व्यायाम साथै मनोरञ्जनको समय भएकोले नर्स उहाँहरूलाई व्यायाम गर्न सिकाउँदै , मनोरञ्जनमा समेत तल्लीन गराउँदै हुनुहुन्थ्यो । यसै क्रममा बिरामीको कुरुवाले अर्को कुरुवासँग कुरा गरेको मेरो कानमा पर्‍यो ।

कुरुवा (१) : पागलको वार्डमा पागलको सङ्गत गर्दा गर्दै मै पागल बन्छु क्या हो ।

कुरुवा (२): (हो मा हो मिलाउँदै) खै, हामी त त्यस्तै उस्तै हो बरु यी डाक्टर , नर्स पनि कतै पागल त भएका छैनन् । मलाई त शङ्कै लाग्छ ।

यति सुनिसकेपछि मनोरोग विभागको पहिलो दिन नै मानसिक रोगको बारेमा जान्न उत्सुक साथै पछि मनोचिकित्सक बन्नु पर्छ कि भन्ने सोच आएको मलाई कता कता आफैँ जानी जानी पागल बन्न आएको त होइन भन्ने सोच पो आयो । त्यो सोच आउने बित्तिकै फेरि अर्को सोचले पहिलाको सोचलाई गाली गर्दै भन्यो:

दिलिप अधिकारी

‘के भन्छस् यार तँ, यत्रो पढेको मान्छेको सोच यस्तो छ, अरुले जे भन्दियो त्यसैमा विश्वास गरेको छ , परिवर्तन आफैँबाट गर्ने हो । आजैबाट ‘पागल’ भन्ने शब्द नै तेरो शब्दकोशबाट हटाइदे र अरुलाई पनि बुझाउन अग्रसर भई’ भन्न थाल्यो ।

म पनि मेरोपछिको सोचको पछि लाग्ने निर्णय गर्दै लागेँ बिरामीको वस्तुस्थिति बुझ्न । नजिकै बेडमा भएका दाइसँग कुरा गर्दै केही लेखेजस्तो गरिरहेको थिएँ । दाइकी आमा आएर हाम्रो बाबु त पागल(Mental) होइन भन्दै छोरालाई नबोल्ने पो इसारा गर्नु भो । सुरुकै दिनमा धेरै बोल्न उचित नठानी यसो उहाँको फाइल पल्टाएको त उहाँले गाँजा, रक्सी साथै धेरै मादक पदार्थको व्यसनीमा फसेर मानसिक समस्या पनि देखा परेका रहेछन् ।

यस्तो अवस्था आफैँले देखेपछि पुनः आफैँलाई प्रश्न गरेँ । साँच्चै मनोरोग वार्डमा नै बिरामीलाई राखेर बिरामीका आफन्त मेरो बिरामीको त मानसिक समस्या होइन उसले रक्सी खाएर मात्र यहाँ ल्याएको भन्न सक्छन् भने कहाँसम्म छ त हामीमा मानसिक स्वास्थ्यको ज्ञान ?

अझै मनोरोग विभाग (psychiatry OPD) मा सकेसम्म आउन अप्ठ्यारो मान्ने र आइहाले पनि कोही चिनेकोले देख्छ कि भनी OPD कार्ड लुकाउने र भर्ना हुन गाह्रो मानेको देख्दा देख्दै कहाँ यो मन यसै बस्न सक्थ्यो र ।

आउनुहोस्, आज यस बारे केही बुझ्ने साथै मानसिक रोगप्रतिको हाम्रो सोच राम्रो बनाउने प्रयास गरौँ है त ।

आखिर के हो त मानसिक स्वास्थ्य समस्या ?

टाउकोमा लाग्ने चोट, कुपोषण, लागू औषध दुर्व्यसन, जीवनका नराम्रा भोगाइ, दुर्घटना, यातना, आघात, हिंसा आदि कारणले मनका भावना, सोच र व्यवहारमा असर पुग्छ । यदि त्यस्तो असर लगातार रूपमा वा दुई हप्ताभन्दा बढी समयसम्म देखा परिरहेमा मानसिक स्वास्थ्य समस्या रहेको भन्न सकिन्छ ।

कारण के हुन् त ?

बहुआयामिक कारणबाट व्यक्तिमा मानसिक रोग हुने गर्छ । वंशाणुगत गुणबाट कतिपयमा मानसिक रोग देखा पर्छन् । अर्थात्, बाबु–बाजेमा मानसिक रोग देखापरेमा सन्तानमा पनि यसको असर देखापर्छ । त्यस्तै शरीरमा (डोपामिन, सेरोटोनिन) जस्ता न्युरो केमिकल्समा घटबढ भएमा पनि मानसिक रोग देखिन्छ ।

पारिवारिक वातावरण पनि मानसिक रोगको कारण हो । परिवारमा झैझगडा हुने, सदस्यहरू कलहका कारण छुट्टिने, तनाव भइरहने भएमा बच्चामा यसको नकारात्मक असर पर्छ । बिस्तारै उनीहरूमा विभिन्न किसिमको मानसिक रोग हुने सम्भावना उच्च रहन्छ । दुर्घटनाबाट पर्न गएको मानसिक असर, दीर्घरोगीमा मानसिक रोग बन्न सक्छ । धेरै सोच्ने, अनावश्यक तनाव लिने मानिसमा यसको असर देखिन्छ । रक्सीको अत्यधिक सेवन, सामाजिक, राजनीतिक परिवेशले समेत युवामा मानसिक असर गरिरहेको हुन्छ ।

मानसिक रोगका लक्षण के हुन् त ?

-डर लाग्ने, निन्द्रा नलाग्ने, भोक नलाग्ने, खानमा रुची नहुने
-निराशापन, खुसी नहुनु, अनौठा विचार आउने
-हातखुट्टा झमझम हुने, टाउको, छाती र पेट दुख्ने
– एउटै कुरा दोहोर्याइरहने, व्यवहारमा परिवर्तन हुने
-कमजोर महसुस गर्ने, अरुप्रति त्यसै शंका गर्ने
– कानमा आवाजहरू आउनु, असामान्य कुराहरू देख्ने
– एकोहोरो हुने, धेरै रिसाउने वा अरुलाई कुटपिट गर्ने
– आत्महत्या गर्ने विचार आउने साथै प्रयास पनि गर्ने

मानसिक समस्याबारे केही भ्रम ?

– मानसिक रोग दीर्घकालसम्म हुन्छ, कहिल्यै निको हुँदैन भन्ने भ्रम छ, यो गलत हो ।
-मानसिक समस्या भएका मानिस पागल हुन् भन्ने पनि गलत धारणा हाम्रो समाजमा रहेको छ ।
-औषधि खायो भने बानी पर्छ, त्यसैले कहिल्यै पनि नखानु भन्ने गरिन्छ, जुन कुरा गलत हो ।
-अर्को भ्रम काम गर्न सक्दैन भन्ने छ । यो पनि होइन । यो रोग भएकाहरूले औषधि खाएर काम गर्न सक्छ्न् । आफ्नो दैनिक जीवन जिउन सक्छन् । जतिसक्दो छिटो उपचार गर्यो भने यो रोगले केही बाधा पुर्याउँदैन । जटिल र सामान्य खालका सबै मानसिक समस्याको उपचार सम्भव छ तर अलिकति समस्या आउनसाथ मान्छे डराउँछन् ।

अहिले त धेरै सचेतना आइसकेको छ । जसलाई लागेको छ उसले पनि अगाडि आएर भन्न थालेको छ । यो निको हुन्छ भन्न सक्यो भने अरुलाई पनि सहयोग हुन्छ ।

यो रोगबाट टाढै रहन के गर्नु पर्ला त ?

-मनका कुरा साथीभाइ, आफन्त वा मन मिल्ने मान्छेसँग खोल्ने वा भन्ने बानी विकास गर्ने ।
-नियमित व्यायाम र आराम गर्ने ।
-पोषणयुक्त र सन्तुलित खाना खाने ।
– आफ्ना लागि पनि समय निकाल्ने वा धेरै तनावमा नरहने प्रयास गर्ने ।
-योग र आरामदायी अभ्यास गर्ने ।
– अत्तिरिक्त क्रियाकलापमा सहभागी हुने प्रयास गरिरहने ।
– तनावग्रस्त जीवनशैलीबाट परिवारका लागि प्रशस्त समय निकाल्ने ।
– काममा सहयोग गर्ने वा सहभागी हुने बानी विकास गर्ने ।

उपचार कसरी गर्ने ?

यसको लागि विशेषज्ञकहाँ नै जानुपर्छ । कतिपय ठाउँमा विशेषज्ञ नहुन सक्छन् त्यस्तो बेलामा स्वास्थ्यकर्मीकहाँ गएर भए पनि सहयोग माग्नुपर्छ । औषधि लिएर वा काउन्सिलिङ गरेर यो रोग निको हुन्छ । दुवै गर्न सकियो भने अझै छिटो निको हुन्छ । विज्ञहरूसँग कुरा गरेर तनाव व्यवस्थापन गरेर पनि निको पार्न सकिन्छ । औषधि र ‘साइको थेरापी’ सँगै गर्यो भने झन् चाँडो निको हुन्छ भनेर विज्ञानले पनि भनेको छ ।

यति बुझिसकेपछि पनि आफ्नो रोग घरमै लुकाएर बस्ने वा मनोचिकित्सकको परामर्श लिएर छिट्टै साधारण जीवनयापन गर्ने भन्ने कुरा आफैँले विचार गर्नु है त ।