हामी अक्सर जिउने क्रममा विभिन्न सपनाहरु देख्छौँ । आशाहरु राख्छौँ । सानादेखि केही ठुलासम्म । ती आशाहरु दैनिक जीवनका दैनिकीका गतिविधिहरु पनि हुन सक्छन् साथै उज्जवल भविष्यको निम्ति गरिएका सुन्दर कामना पनि हुनसक्छन् । हाम्रो मस्तिष्कमा हजारौं ख्यालहरुका झिल्काहरु चड्की रहन्छन् , कहिले यो त कहिले त्यो । अनि ती आशाहरु चाहेजस्तै ढङ्गले , कल्पना गरेझैं रुपले प्रतिफलित नभए हामी निराश हुन्छौँ । थाहै नपाई हाम्रा आशाहरु कतिखेर निराशामा परिणत भैदिन्छन् । त्यसपछि के भन्नु हामी आफूलाई संसारकै दुखी मान्न थाल्छौँ ।

एउटा मजदुर सयौँ आशाहरुले प्रेरित भएर दिनभर शरीर गलाउँछ र त्यही गलेको शरीरलाई आराम दिन रात कटाउँछ । उसका आशाहरु दिनरातका गतिविधिहरुले पनि तृप्त बनाउन सक्दैन । र फेरि नयाँ दिनको आशामा जीवनका उही आशाहरुको साथ हातगोडा झट्कार्छ । उसले कहिले यो थाहा पाउँदैन कि न उसको दिन नै नयाँ थियो न त उसले राखेका भोलिका आकांक्षाहरु नै । यसरी नै ऊ आफ्ना हातगोडाहरु झट्कारी रहन्छ , चलाइरहन्छ कतै दूर पुगिएला भन्ने आशामा । तर उसका पाइलाहरु बर्षौँदेखि उही जडतामा गाडिएका हुन्छन् । दलदलमा फसेका हुन्छन् । जहाँबाट जति निस्कने आशाले हातखुट्टा छट्पटाए पनि उम्कन सकिँदैन । बरु झन् जड भई फसिने सम्भावना बढिरहेको हुन्छ ।

निमेश बास्तोला

एउटा मध्यम वर्गीय मानिने व्यक्ति हजारौं आशाले आफ्ना शरीरका काममा आउने अङ्गहरु सबै चलाएमान राख्दछ । कहीँ कतै केही गर्दा पो हुन्छ कि भनी । चिट्ठा परे दशैं मनाउला भनेझैं । न उसको चिट्ठा नै कहिने पर्छ न त उसको दशैं नै कहिले आउँछ । उसलाई घरीघरी बडेमानको टिभी , फर्निचर , सवारी साधनको एक्सचेन्ज , घाँटीको चेन तथा सुपरमार्केटको स्वचालित एस्कालेटरले मन नलोभ्याएको त हैन । यसलाई उसले मकसेकम यथार्थ उद्घटित हुन दिन्छ र जब उसका यी कुन्ठित रहरहरु कडा मेहनतको चमत्कारले हकिकत बन्छन् तब मात्र उसको छाती केही क्षणका लागि चौडा हुन्छ । तर पनि ऊ आफूले सहनु परेको शारीरिक तथा मानसिक तनाब आफ्ना सन्तानले सहनु नपरोस् भन्छ । उसलाई आफू अन्धकारमै फसे पनि एकदिन आफ्ना अंशहरुले उज्यालो भविष्य पाउन् भन्ने आशाले जीवित रहेको हुन्छ । उसको जीवन बिचमै छिनालिएको रुखजस्तो हुन्छ जसलाई न जीवित नै भन्न सकिन्छ न त मरेको नै । भविष्यमा हाँगाहरु अझ विशाल भई झाङ्गिने आशामा उसले प्रत्येक सासहरु भविष्यको निम्ति फेरिएको हुन्छ ।

एउटा उच्च वर्गीय मानिने व्यक्ति लाखौँ आशाको झुठो रवाफले पेलिएर बाचेको हुन्छ । खुलेर न ऊ आफ्नो निर्धनता देखाउन सक्छ न त आफैँबाट मेटाउन नै सक्छ । कहिलेकाहीँ टल्किने दाँतहरूमाझ आफ्ना सन्देहयुक्त दाँतहरू देखाउँदा र महङ्गा हातहरूबीच आफ्ना लिलाम हुन लागेका हातहरू उठाउन पाउँदा ऊ केही क्षण खुसी हुन्छ । केही क्षणलाई ऊ आफूलाई समाजको एक महत्त्वपूर्ण नागरिक हुँ भन्ने आशा दिलाएर काममा निरन्तर अघि बढ्न आफैंलाई अभिप्रेरित गर्दछ । उसलाई यो राम्ररी थाहा हुन्छ कि इज्जत कमाउँदाको भन्दा गुमाउँदाको भार कत्ति असहनीय हुन्छ । कुनै समाजिक समारोहमा सम्मानित निम्ता आउँला कि भन्ने आशामा उसको बोली समाजमा कहिलेकाहीँ निस्कन्छ नत्र ऊ त आयव्ययको दौडमा नै शिथिल भएको हुन्छ । शिथिल भएको मस्तिष्क रातमा सेलाउने आशामा पनि उसलाई पहिला हिसाबहरु मिलाउनु पर्ने हुन्छ । तर जिन्दगीको हिसाब उसले कतै बिर्सन्छ । उसले फेरेका र फेर्न बाँकी रहेका सासहरुको हिसाब भोलिको आशाको लेखाजोखामै विलीन भएर जान्छ ।

हामीलाई दुःख अक्सर आफ्ना मानेका हितैसीहरुबाटै मिल्छ । हामीले आफ्नाहरुमै आशाको वीज रोपेका हुन्छौँ । आफ्नाहरुसँग गरेको वीजारोपित आशा विपरीत नतिजा देख्न पाए हामी दुखी हुन्छौँ । पराइ मानेका मान्छेहरुले गरेको गाली हामीलाई बकवास लाग्छ तर आफ्नाले गरेको भने मुटुमै शुल बनेर गाडिन्छ । हामी जिउने क्रममा नै आशाहरुसँगै हुर्किन्छौँ । एउटा बच्चा उसको आमाबुवाको मात्र नभएर समाजको आशा अनुरुप हुर्किन्छ । एउटा निश्चित उपलब्धि प्राप्तिको आशामा उसलाई त्यही अनुरुपको निश्चित शिक्षा दिइन्छ र अक्सर त्यही आशा एकअर्काको दु:खको कारण बन्न पुग्दछ । जीवनको बाच्न पाउने मौलिक अधिकार नै हनन हुने गरी जिब्रोको स्वादको तथा मनको शान्तिका निम्ति निर्दोष निमुखा जीवहरुको शिरक्षेदन गर्दा पनि गर्वान्वित भई ठाडो हुने हाम्रो शिर आफ्नाहरुलाई सानो चोट लाग्दा मात्रमै दु:खले झुक्दछौँ । दैनिकौं दुर्घटनाहरुको समाचार सुनेर मुस्कान कायम राख्ने गरेका हामी आफ्ना बच्चाहरुको स्कुलबस समयमा नआउँदा आतिन्छौँ । हामीले गर्ने सामान्यभन्दा पनि सामान्य दैनिकीहरु पनि आशामा रुमलिएर गरिरहेका हुन्छौँ ।

हाम्रो जीवन यत्ति क्षणिक छ हामी सबैले आँखा चिम्लेर आफ्नो बालपन सम्झियौँ भने अस्ति भर्खरजस्तो लाग्छ । थाहै नपाई पो आफू जीवनको यो चरणमा आइपुगेछु जस्तो लाग्छ । कतै कसैले भर्खरै आफूलाई टपक्कै टिपेर यहाँ राखिदिएझैं लाग्छ । अस्ति भर्खरै नाङ्गै पौडी खेलेको , लहैलहैमा चुरोट तानेको , साथीहरू सङ्ग बेफजुलका ठट्टा गरेको , कहिल्यै छुट्टिनै नसकिनेजस्ता लागेका साथीहरू अनि जाबो परीक्षा आउँदा सधैं तर्सिने मान्छे आज आएर यस्तो थाम्नै नसकिने आशाहरुको सर्वोच्च पदमा बसेको पाउँदा अचम्म लागेर आउँछ । तेज रफतारका साथ निरन्तर प्रवाहित आशाहरुको नदीमा यथार्थ नै दिग्भ्रमित हुँदा दुखको निरूपण पनि आशाहरुले नै गर्ने हाम्रो आजको अवस्था देख्दा आफैंलाई अचम्म लागेर आउँछ ।

हामीलाई आशा छ हामी एकदिन सफल हुनेछौँ । र यही सफलताको आशाले हामीलाई निराश बनाउँछ । हामीलाई आशा छ हामी एकदिन खुसी हुनेछौँ । र त्यही खुसीको आशाले हामीलाई दुखी बनाउँछ । केही क्षणको हाम्रो जीवनमा घटित हुन पुगेका क्षणिक सुखलाई पकडिन्छौँ र दुखी हुन्छौँ । त्यही क्षणिक दु:खलाई पकडिन्छौँ र दुखी हुन्छौँ । भुत र भविष्यको कपोकल्पित आशाहरुले दुखी हुन्छौँ । त्यही पनि बोधको अभावले रोगग्रस्त बनेको जीवनमा बेहोशीको साक्षीले अंकुरित आशाहरु । के छ र ? जीवन त यत्तिकै सपनाहरूमा भ्रमित भएर जताउता लस्याङ्फस्याङ् गर्दैमा व्यतीत भएर जान्छ ।

हाम्रो जीवन यत्ति क्षणिक छ कि यहाँ कसैको रजगज चल्दैन । दु:ख भो दु:ख भो भन्ने हरुको दु:ख पनि क्षणिक छ । यहाँ कसैले केही पाउनेवाला छैन । पाए त बरु केबल तिनीहरुले केही पाए जसले जीवनमा आशा र निराशाबाट प्रतिफलित क्षणिक सुखदुःखको बिलौनाभन्दा माथिको जीवनको उच्च लक्ष्य राखे । बोधको बाटो पकडी मुक्तिको लक्ष्य राखे ।