१. माहुरी – हरिप्रसाद चौलागाईं

हरिप्रसाद चौलागाईं

वसन्तको बिहानी

माहुरीकी रानी

फूलबारी घुम्छ

मन खुसी हुन्छ ।।१।।

 

वन हरियाली

फूल छ भरेली

माहुरीको हुल

डुल्छ फूल-फूल ।।२।।

 

रस चुसी लान्छ

मह बनाइराख्छ

मिहिनेत गर्छ

सबै चाका भर्छ ।।३।।

 

सधै काम गर्छन्

रनवन घुम्छन्

जाँगरिलो बानी

काममा रमाउनी ।।४।।

 

कोही मह भर्छन्

कोही घार कुर्छन्

काम भाग लिन्छन्

मिलिजुली गर्छन् ।।५।।

————–

[काभ्रेपलान्चोकका पुराना र स्थापित कवि हरिप्रसाद चौलागाईं (२००९) विशेष गरी कविता लेखनका क्षेत्रमा अनवरत साधना गर्ने सर्जक हुन् । उनका ‘आँसु, आँसु र आँसु’ नामक शोककाव्य प्रकाशित छ भने अन्य कृतिहरूमा जननी र जन्मभूमि (कविता सङ्ग्रह),  हिमालयदेखि सागरसम्म (काव्य यात्रा स्मरण), महाभूकम्प (सवाई), बिर्सिएका पाइलाहरू (खण्डकाव्य), ब्रह्माण्ड साइनो (लघुकविता विधा) लगायतका सङ्ग्रहहरू प्रकाशित छन् । बालकवितातर्फ उनको ‘बिहानी’ नामक बालकविता सङ्ग्रह प्रकाशित छ । संस्थागत संलग्नता हेर्ने हो भने उनी ज्योतिषमति साहित्य संगम नामक संस्थामा अध्यक्ष छन् भने जनमत साहित्य मासिक, रोसी बाङ्मय प्रतिष्ठान, अक्षरमार्ग साहित्य प्रतिष्ठान पनौती लगायतका साहित्यिक संस्थाहरूमा आजीवन सदस्यका रूपमा रहेका छन् । उनको प्रस्तुत ‘माहुरी’ बालकवितामा माहुरीमा हुने एकता, परिश्रम, कर्तव्यनिष्ठता, प्रकृतिप्रेम र लगनशीलताको गुणगान गाइएको छ । कवितामा प्रत्येक हरफमा २+२+२=६ अक्षरको संरचना रहेको देख्न सकिन्छ । माहुरीलाई हेरेर हामी पनि त्यस्तै जाँगरिलो हुन सक्नुपर्दछ भन्ने अप्रत्यक्ष सन्देश पनि प्रस्तुत बालकवितामा दिइएको छ । बालबालिकाका लागि सुबोध्य हुने खालको शब्दचयन प्रस्तुत बालकवितामा गरिएको छ ।]

***************

२. सेतो कोट भिरेर … – बिमुन्स पौडेल

बिमुन्स पौडेल

सेतो कोट भिरेर आइन् दिदी यता

अस्पताल भित्र गयौँ भुल्यौँ कताकता

उपचार गर्ने भनी गेट खोली पस्यौँ

दिनैभरि यता-उता ट्वाल्ल पर्दै बस्यौँ

 

सुई देख्दा सातो गयो सानो भाइको

रोगै लाग्न नदिऊँ भन्ने कुरो दाइको

सफा ताजा खाना, उस्तै कपडा

लगाएमा रोग लाग्ने हुन्न लफडा

 

भित्र के-के भएको छ भन्नुपर्छ खोली

आधा रोग निको पार्ने हुनुपर्छ बोली

के-के भयो समस्या भन्नु खुलेर

अनि मात्र उपचार हुन्छ बुझेर

 

आमा खुसी हुने छोराछोरी खुसी हुँदा

बाबा रुने छोराछोरी रोग लागी रुँदा

बानी अल्छी भएमा सक्छ रोग जाग्न

कीटाणुले छोएमा सकिँदैन भाग्न ।

——————

[गुलरिया, बर्दियामा जन्म भई हाल पोखरा-१३ कास्कीमा बसोबास गर्दै आएकी बिमुन्स पौडेल नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशनमा शिक्षण पेशामा आबद्ध छिन् । उनी  बिएस्सी नर्सिङ कार्यक्रमकी विभागीय प्रमुख हुन् । स्त्री रोग तथा प्रसूति विषयमा स्नातकोत्तर नर्सिङ गरेकी उनको विशेष रुचि भने साहित्यमा छ । नेपाल स्वयम सेवक संघ नामक संस्थाकी संस्थापक केन्द्रीय सदस्य र प्रशिक्षण विभाग प्रमुखको भूमिका निर्वाह गर्दै आएकी उनी साधना साहित्य मञ्चका संस्थापक महासचिव हुन् । उज्यालो मन कार्यक्रममा सचिव तथा प्रस्तोता एवम् हाम्रो लघुकथा पाठशालामा एडमिन तथा प्रस्तोताका रूपमा उनको संलग्नता रहिआएको छ । नेपाली साहित्यका विविध विधामध्ये कविता विधामा निरन्तर कलम चलाउँदै आएकी उनले कुशल छन्दवाचिका तथा कार्यक्रम प्रस्तोताका रूपमा आफ्नो परिचय बनाएकी छन् । कविता, टुक्का काव्य, लघुकथा आदि विविध विधामा कलम चलाउने स्रष्टा बिमुन्सले थोरै तर स्तरीय बालकविताहरू पनि लेखेकी छन् । उनको प्रस्तुत ‘सेतो कोट भिरेर …’ बालकविता स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विषयमा आधारित भएर लेखिएको जनचेतनामूलक बालकविता हो । यस बालकवितामा अस्पतालमा बिरामीलाई सेवा दिने नर्सलाई सेतो कोट लगाउने दिदी भनेर सम्बोधन गरिएको छ । बिरामीसँग तिनै सेतो कोट लगाउने नर्स दिदीले सोधपुछ गरेकी र उपयुक्त रायसुझाव एवम् सल्लाह दिएको प्रसङ्ग कवितामा आएको छ । कविताले बिरामी भएपछि अस्पताल धाउनुको सट्टा रोगकै बाटो छेक्नुपर्ने अप्रत्यक्ष सन्देश दिएको छ । अन्त्यानुप्रासको मिल्दो योजना, बालमनोवैज्ञानिकता, लयात्मकता र  शब्दचयनमा सरलता एवम् सुबोध्यता तथा सकारात्मक सन्देशमूलकता जस्ता गुणले कविता उत्कृष्ट र स्तरीय बन्न पुगेको छ । ]

*****************

३. झोला – खुसीकला परियार

खुसीकला परियार

कति राम्रो मखमलको झिलिमिली झोला

झोलाभित्र कापी कलम खाजा पनि होला

कस्तो बाटो काट्छौ साथी जङ्गल छ कि खोला ?

जाऔँ सबै  मिलिजुली पढ्न बोकी झोला

 

दौरा सुरुवाल, गुन्यु चोली रोजेको छु भेषमा

युवा उठे नयाँ विकास बन्छ  कि त देशमा

नरोकौँ है  कसैलाई नि जान दिनु होला

जाऔँ सबै  मिलिजुली पढ्न बोकी झोला

 

अन्धकारलाई मिल्काउने चहकिलो मोती

सुन साथी शिक्षा नै हो, संसारको ज्योति

देश  विकास  गर्न  जुटौ, नपरौँ  है ओरा

जाऔँ सबै  मिलिजुली पढ्न बोकी झोला

 

जुटौँ, उठौँ  युवा सबै  ढिला नगरौँ

सबै मिली  सफा गरौँ  हिला  नगरौँ

साथीसँगी भेला गरौँ, भन्छ भाइ भोला

जाऔँ सबै  मिलिजुली पढ्न बोकी झोला

 

नेपाली हुँ नेपालकै  लगाउने छु  पोसाक

शिक्षा स्वास्थ जनहितमा नगर्नू  है शोषक

नछुट्टयाऊ है कसैलाई नि उसको मन रोला

जाऔँ सबै  मिलिजुली पढ्न बोकी झोला

 

विश्वभरि  चिनिने  कति राम्रो  भेष

त्यही भेषमा सजिएको नेपाल हाम्रो देश

चारैतिर फैलिएको पहाड अनि खोला

जाऔँ सबै  मिलिजुली पढ्न बोकी झोला ।

——————

[मध्यनेपाल नगरपालिका-६ भोर्लेटार लमजुङ घर भई हाल व्यवस्थापन सङ्काय स्नातक तह अध्ययनका क्रममा पोखरामा बसोबास गर्दै आएकी खुसीकला परियार (२०५५) विद्यालय तहदेखि नै कविता लेखन, वाचन तथा गायनमा रुचि राख्ने प्रतिभा हुन् । क्याम्पस तथा विद्यालयमा हुने कविताका प्रतियोगिताहरूमा भाग लिएर उनी बेला-बेला पुरस्कृत समेत भइसकेकी छन् । विद्यार्थी छँदादेखि नै बाल्यअनुभव मिसाएर कविता लेख्न सक्ने खुबी भएकी उनी बाल मनस्थिति छाम्ने गरेर कविता लेख्न सिपालु छन् । उनको प्रस्तुत झोला कवितामा पनि यस्तै प्रवृत्ति देख्न सकिन्छ । बालबालिकाका लागि झोला प्यारो र आत्मीय सामग्री हो । यही झोलालाई विषय बनाएर उनले यस बालकवितामा शैक्षिक चेतनाको उजागर गरेकी छन् भने नेपाली मौलिक संस्कृतिको खुलेर प्रशंसा गरेकी छन् अनि राष्ट्रप्रतिको वफादारिताको भाव समेत झल्काएकी र सम्पूर्ण देशबासी युवाहरूलाई आफ्नो राष्ट्रको माया गर्नका लागि प्रेरणा पनि दिन भ्याएकी छन् ।]

**********************

rcghimire47@gmail.com