
पक्कै पनि गाली पाउँछु – तर भाग्यवश फेसबुकमा वा अन्त कतै – मेरा साथी नै कम छन् र अझ भाग्दै छन् सो डराउनु पर्ने छैन । खाली छोटो विचार राख्दै छु । बस यो साउन महिना लाग्न आँटेदेखि कतिपय महिलाहरुको सुन्दर हातमा मेहन्दीको टाटो देखिन थालेको छ । बिहे गरेपछि वा आफ्नो जीवनसाथी चुनेपछि लाउन पर्ने फेसनको रुपमा सायद मित्रराष्ट्रबाट आयातित संस्कृति होला । जे होस् हाम्रो हिन्दु धर्मले प्रोमोट गरेको संस्कृति हो । मैले यसअघि ‘कसैको संस्कृति – धर्मले व्यक्तिगत हानि पुर्याएको छैन भने किन जान्ने हुनु ?’ भन्ने प्रतिक्रिया पनि धेरैबाट पाएको छु ।
हेक्का रहोस् यस्तो संस्कृतिले सामूहिक र व्यक्तिगत हानि पनि पुर्याइरहेको छ । मलाई पनि एकदम व्यक्तिगत हानि पुगेको छ – यसलाई व्याख्या गर्नुपर्ने छैन ।

रुबन जोशी
नारी सुन्दरता ?
विवादास्पद मिस नेपाल मिस वर्ल्ड इत्यादिको कुरा नगरौँ । यहाँ केवल नारीहरुलाई उनीहरुको सुन्दरताको अनुभूतिलाई कसरी तोडमोड बनाएर सामूहिक मनोविज्ञानलाई शताब्दियौंदेखि वैज्ञानिक आधारको विरुद्ध लगिएको छ त्यो व्याख्या गर्दै छु । जैविक विकाशको दृष्टिले कसैलाई किन सुन्दर देखिनु पर्छ ? सामान्य छ उत्तर – ता कि विपरित लिंगीले आफूलाई प्रजननको निम्ति छानून् । प्रजनन भन्नाले केवल एउटा सम्भोग मात्रै नबुझौँ – सम्भोगदेखि लिएर सन्तान उत्पन्न गर्ने र उनीहरुलाई आफै ‘बालिग’ (अर्थात् प्रजनन को लागि तयार) नहुन्जेल हुर्काउन दुईको संयुक्त योगदान हुनु । अब नारीहरुको सवालमा यस किसिमको सुन्दरता केलाई मानिने भयो त ? निश्चय नै फुकेको हिप – ता कि सन्तान पाउन सजिलो होस्, पुष्ट स्तन, अनि सायद कामुक हाउभाउ – सँगसँगै अनुहारको सुन्दरता (जुन एकदम विषयगत हुन्छ) – जसले सायद शरीर निरोगी रहेको अप्रत्यक्ष भाव दिन्छ । सबै यी ‘सुन्दरता’ आफ्नो सर्भाइभल र सन्तान को बचाउमा केन्द्रित छ। त्यहाँसम्म सबै ठिक छ ।
जब कृषि क्रान्तिले समाजलाई गुफा वा जङ्गल युगबाट समुदायमा ल्यायो अनि महिलाहरु पुरुषबाट अतिरिक्त प्रताडित हुन थाले । आफ्नो वीर्यबाट सन्तान जन्माउन खोज्नु जैविक – जेनेटिक स्वभाव नै हो । तर जब मानव मस्तिष्क विकशित हुँदै गयो – यो ‘बुद्धि’ को यौटा पाटो अरुलाई कसरी आफ्नो दास बनाउने भन्नेतिर लाग्यो । श्रमको लागि दास बनाउन ठुला ठुला झगडा लडाँइ हुन्थे नै । मान्छेहरु समूहमा बस्ने भएपछि अब प्रजननको लागि पनि दास बनाउने सायद अप्राकृतिक चलनले जन्म लियो ।
कालन्तरमा आएको विवाह त्यसैको ‘विकसित’ रुप त हो । अब यो एउटा कुरा मान्नै पर्छ कि जैविक रुपले मांसपेसीय बलमा प्रायः जसो भालेहरु पोथीभन्दा अगाडि हुन्छन् । आदिम कालमा जब नैतिकता, माया, आत्मिक बल यस्ता कुराहरु अविकसित थिए – जुन आधुनिक समयमा मानवको केसमा महिलाहरु युगले अगाडि छन् । त्यतिबेला खाली पाखुराको बल हाबी थियो – फलस्वरूप पुरुषहरुको महिलालाई कज्याउने वा दास बनाउने विकृत आकांक्षा मूर्त हुन पुग्यो । पुरुषहरुलाई अब के कुराको चिन्ता भयो भने उनीहरुले ‘कमाएका’ वा जितेका महिलाहरुलाई कसरी अन्त जान नदिने ?
यौटा अमानवीय चलन नेपालमा देखेको थिएँ – पशुहरुलाई तातो औजारले डामेर छोडिदिने ता कि अरुलाई थाहा होस् कि यो त्यसरी छोडिएको । अनि आफ्नो पशुहरु चिनाउन त्यस्तै यौटा खत वा खोट लगाएर छोड्ने । ठिक यही मनोविज्ञान पुरुषहरुले प्रयोग गरे । स्त्रीहरुलाई ‘कसैको भैसकेको’ (आधुनिक समयमा विवाहित ) चिनाउन विभिन्न आभूषण, गहना र शृङ्गारको आविष्कार गरे । दुखपूर्ण कुरा – यो मनोविज्ञान र संस्कृति हाम्रो हिन्दु धर्मले पाश्चात्य संस्कृतिभन्दा झन् कडा रुपले अगाल्यो । जब कि हाम्रो हिन्दु धर्मको साहित्य र अन्वेषणको भोक अन्य सभ्यताभन्दा युगले अगाडि छ – त्यही सभ्यतामा नारीहरु चाहिँ शोषित छन् र यो शोषण भन्ने समेत थाहा छैन ।
विवाहकै क्षणमा यति मोटो सिन्दुर महिलाहरुलाई ‘रबर स्ट्याम्प’ लगाको जसरी लगाइन्छ । गलामा पोते भिडाइन्छ – नेम ट्यागजस्तो । टिका लगाउन पर्छ हेडलाइटजस्तो । विवाहित महिलाको सुन्दरतामा निखार आउँछ रे यसो गर्दा । सताब्दीयौँको मनोविज्ञानले हामीलाई पनि साँच्चै नै त्यस्तो लाग्छ । गाईको सुन्दरताको लागि दाम्लो चाहिएजस्तै हो ।
अब यही साउनको महिनामा महिलाहरुले आफ्नो त्यसै पनि सुन्दर भैरहेको हातलाइ मेहन्दीको खैरोपनले सिगार्न खोज्छन् । त्यो पातमय कला निश्चय नै सुन्दर छ – तर त्यसको कारक उति नै असुन्दर छ । हजुरको पति वा प्रेमीलाई घरिघरि यो ग्यारेन्टी चाहिन्छ कि हजुरको मन अन्त गएको छैन । प्रत्येक साउन – प्रत्येक तीज – करवा चौथ । हजुरलाई ‘डामेर’ छोडेपछि अरुले आँखा नलगाउलान् भन्ने झिनो आशा छ हिरोहरुलाई। यसरी पोतिएको हातलाई सुन्दर देख्नु यौटा प्रायोजित मनोविज्ञान हो । सुनेको छु कि आधुनिक ‘ब्वाइफ्रेन्ड’ हरु समेत उनीहरुको गर्लफ्रेन्डको हातमा आफ्नो नाम देख्न आतुर हुन्छन् । खस्केको आत्माविस्वास हो यो । यसै गरी चुरा पोते सिन्दुरको सुन्दरतामा पनि यही दासत्व झल्किन्छ । यसलाई क्रिस्तानी धारणा भनेर गाली आउँछ पक्कै – तर अरु धर्ममा पनि महिला पीडनको उत्तिकै विकृतिहरु छन्।
महिलाहरुले कहिले पनि यो विचार गरेनन् कि ‘उत्तिकै विवाहित’ वा उस्तै समर्पित केटाहरुलाई चाहिँ यो अपनत्वको प्रमाण झल्काउन नपर्ने रहेछ ? विवाहअघि र पछि पुरुषहरु त उस्तै देखिन्छन् । अनि पटक पटक मेहेन्दी र तीज को ‘कमिटमेन्ट’ उनीहरुलाई नचाहिने ? खासै दिमाग चाहिँदैन यो षड्यन्त्र बुझ्नलाई । महिलालाई ‘नितान्त व्यक्तिगत आफ्नो’ बनाउने यो भोक अघिल्ला समयमा अझ विकराल थियो नै । आफू मरेर गएपछि पनि आफ्नो श्रीमती (हरु) अरुले नहेरुन् भन्ने कुत्सित संस्कृतिले सदियौंसम्म नारीहरु जिउँदै जलाइए । थाहा छ के भन्थे ? नारीहरु यसरी पोलिएर मर्न पाउनु भाग्य हो अरे अनि त्यसरी पोल्दा दुख्दैन समेत अरे । अर्थात् त्यो घटना ‘सुन्दर’ हो — नारी सुन्दरताको सिमान्त उदाहरण ! अहिले पनि जब माथमा सिन्दुर लाग्छ, चुरा पोते झुन्डिन्छन् गलामा, हातमा मेहेन्दी पोतिन्छ – हजुर पनि अलिकति – यित्ति – सति जानु भएको छ। यो कुनै ‘अति नारीवाद’ क्रिस्तानी हल्ला, वा हावा गफ समेत हैन । यो एकदम महत्त्वपूर्ण छ । नारी पुरुषबीचको असमान (asymmetrical ) स्वामित्व (ownership) को प्रखर उदाहरण हो जुन पुरुषवादले तपाईंलाई पल पल याद दिलाउन चाहन्छ ।
सुन्दरताको जरुरत कसलाई ?
एकपटक म फेरि प्रकृतिमा फर्कन्छु । जब कुनै विवादास्पद इस्यु आउँछ – हजुर प्रकृतिको, जैविक विकाशको अनि जेनेटिक गुणको अवलोकन गर्नुहोस् । मैलेमाथि एकपटक भनिसकें कि सुन्दरता प्रजननसँग एकदम गाँसिएको छ । प्रकृतिमा हेर्नुभयो भने यो देख्नु हुन्छ कि ‘सुन्दर’ हुने जरुरत पोथीलाई भन्दा भालेलाई छ । प्रायः जसो जनावरहरुको रङ्ग रुप र हाउ भाउको विविधता भालेहरुमा पो कैयन् गुणा बढी छ । किन त ? पोथीहरु त्यसै पनि सुन्दर हुन्छन् र सधैँ उनीहरुको बढी माग छ । प्रजननको लागि उनीहरु भालेजस्तो हरदम तयार हुँदैनन् (मान्छेको केसमा महिनामा एक पल्ट)। भालेहरु सधैं तम्तयार हुन्छन् र निश्चय नै पोथीहरुले छानी छानी प्रयोग गर्न सक्छन् । अब पोथीहरुको नजरमा आउनको लागि कति पापड पेल्न पर्ने हो ! सर डेभिड एट्टेनबरोको डकुमेन्ट्री हेर्नुस् न । तपाईं आकर्षक हुनुहुन्न, मिठो गीत गाउनुहुन्न, रङ्गविरङ्गले सजिएको हुनुहुन्न, मिलनसार हुनुहुन्न भने कुन पोथीले छान्ने तपाईंलाई ? जबकि तपाईंभन्दा लायक भालेहरु आफ्नो पुरुष अङ्ग प्रदर्शित गरेर – प्रजनन नलीभरि उत्तेजित शुक्रकीट साँचेर तयार छन् । तर तपाईं प्रजननको लागि तयार पोथीहरु हत्त पत्त पाउनु नै हुन्न । वास्तवमा त्यस्तो पोथी भेटिनु त ‘भाग्य’मै लेखिनु पर्छ । अब बल्ल बल्ल भेटिइन् भने के तपाईं उनको ओठ कस्तो, चुल्ठो कता कस्तो, भनेर तिरस्कार गर्न सक्नुहुन्छ ?
बस, प्रकृतिको नियम हो – पोथीहरू हुनुमात्र पनि सुन्दरता हो । उनीहरूको सुन्दरता र बल – भित्र हुन्छ – भालेले जस्तो प्रदर्शन गरिरहनुपर्ने हुँदैन । उनीहरूको पाठेघर नै सुन्दर हो । पछि नानीलाई पोषण दिने स्तनहरू हुनु नै सुन्दर हो । अनि विकशित मस्तिष्कका प्राणीहरूमा मांसपेशीय बलको अतिरिक्त पोथीहरूको सहनशीलता, माफी दिन सक्ने गुण, बुद्धि, दूरदर्शिता, समस्या समाधान गर्न सक्ने गुण, कलात्मकता यी सबै सुन्दरताका पक्ष हुन् । आधुनिक समयमा महिलामाथि थोपरिएका सुन्दर हुनपर्ने जिम्मेवारी पुरुषवाद र व्यवसायिक नाफावादको संयुक्त परिणाम हो । प्रकृतिको मौलिक सुन्दरतामाथि लाली पाउडर लिपस्टिकको अतिरिक्त भार थपेर पुरुषहरुले ‘कू’ गर्न खोजेका छन् ।
कसैले मलाई व्यक्तिगत रुपले ‘मेक अप’ गरेको महिलाको सुन्दरताबारे सोधे भने साँच्ची नै भनेको छु – छिल्लिएको नसम्झिनुस् – मलाई महिलाहरुको प्राकृतिक रङ्गको ओठ, अनुहार अनि हात, नङलगायत अङ्ग अवयवहरू कति गुणा राम्रो लाग्छ । यद्यपि हजुरहरूले खुसी राख्न पर्ने हजुरहरुकै दिलको साथीलाई हो । तर यो आधारभूत कुराहरु याद गर्नुहोला – लैंगिक समानताको परोक्ष मनोविज्ञान हो यो । अनि पुरुष साथीहरुले पनि आफ्नो अपेक्षालाई समान र प्रजातान्त्रिक बनाउनु जरुरी होला ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

