सुरुवात के हो ? मकैका दाना रोपिएर बोट बन्नु कि बोटले मकैका दाना दिएर रोपिनु ? जे होस्, एकको अन्त्य अर्कोको सुरुवात हो, एकको सुरुवात केहीको अन्त्य हो । जिन्दगी यही नै होला ! आज चैत्रको घमाइलो दिनमा आँगनमा एक खात मकैका दाना छन् । हरेक दानाहरू एक बोट बन्ने आशमा रहेका छन्, तिनीहरूको लक्ष्यभन्दा पनि भयो । तिनीहरूका लागि भनी हलि र खेताला मरिहत्ते गर्दै बाँझो गरो जोतिरहेका छन् । हुन त त्यहाँ उनीहरूको स्वार्थ पनि छ जुन भविष्यमा देखिन्छ । आँगनदेखि बारीसम्म लैँजादा मात्रै कैयौं दानाहरू बाटोमा बेवारिसे भैसके । ती सँधै दाना नै रहेर कुइने भए, कुनै कुनै दुर्भाग्यमा नि भाग्यमानीहरू ढुङ्गाको अक्कारोमा परेर हुर्किन पनि सक्लान् । बाँकी उही बारीमा रोप्पिसके, हुर्किँदै छन् ।
एक हातको के हुन पाएको छैन, ऊ बेला आफैंले माया गरेका सलल बग्ने पानीका थोपाहरू कठोर भई असिना बनी चुट्न थाले। खडेरीको डरले घाम छेक्ने ती सेता बादलका अनुहारहरू आज काला मुस्ला भए, गर्जन थाले, मिल्कन थाले । असिनाले चुट्दा चुट्दै मरेनन् भने ती मकै सप्रिएर जाने कुरा तिनीहरूलाई के थाहा ? र यदि मरे भने ? तिनै मकै हुन् बाँकी मकैलाई आफ्नो सपना बँचाउने मल बनेर हुर्काउने। तिनै मकै हुन् संसारमा अपहेलनाका कहानी छोडेर जाने । चोटहरू असिनाले मात्र होइन, नछोई पनि पर्न सक्छन् भन्ने कुरा कुराको प्रतीक हो काला मुस्लाका गर्जनहरू। अल्लि बडी सप्रिएर हुर्किन के पर्छ, ती आफ्नो वृद्धि देख्न नसक्ने घाँसका त्यान्द्राहरू वरिपरि आउन थाल्छन् , बाधा बन्न पुग्छन्, दुस्मन हुन पुग्छन् जसलाई मकैले हटाउन सक्दैन ।
तर मनका कुरा मुखमा नपुगे पनि मनैले बुझ्ने कोदाला र बाउसाहरू पनि मकैको जीवनमा हुने गर्छन् । तिनीहरूले घाँसका त्यान्द्राहरू गोडेर उल्टै मकैका लागि मल बनाइदिन्छ्न्। त्यो कोदालोको गुण मकैले कहिल्यै बिर्सिँदैन। न ती घाँसका घात बिर्सिन्छ। मकै एक मान्छे भएपछि आफ्नै जिन्दगी सम्हाल्न हाबी लाग्न थाल्छ। त्यसैले फेदैमा नयाँ जरा ती अनेकौँ खुट्टा भई उसलाई ढल्न दिँदैनन् । ती खुट्टाभन्दा पनि मकैका हात हुन् । ती हात जुन काँडामा हिन्न पैतालामुनि राखिएका छन् । माथी हागा नउम्रिए पनि पातैहरूले वरिपरिका मकैलाई गर्लम्म अङ्गालो हाल्ने गर्छन् । कोहीले कोहीलाई अङ्गालो हाल्दा कोही छुट्छ । बिचको मकैलाई सबैको माया मिल्ला, तर कान्लाका मकैलाई थोरै मिल्ला। त्यही पनि कान्लाका मकै सप्रिने नै गर्छन्। किनकि मकैलाई थाहा छ, आफूले आफूलाई नअङ्गाली कसैको अङ्गालोले केही हुँदैन।
यति भाँती गरेर मकैमा अनेकौँ घोगा देखिएलान्, मकैको शिरमा जुरेली पनि देखिएला। ए साँच्चै ! जवानी पो लागेछ क्यार ! एक मकैका एक घोगालाई अनेकौं जुरेली मन पर्न सक्लान् , एक जुरेलीले अनेकौं घोगा मन पराउँला। एकोहोरो धोका, दोहोरो धोका पनि होलान् । एउटा मकैमा एउटै जुरेली मात्र हुन्छ। उसले अर्को मकैका दुईटा घोगा मन पराए, ती दुई बिच खट्पट पनि हुन सक्ला। पिरती न हो, कुनैकुनै बिच सारै गहिरो पनि बस्ला। जहाँ गहिरो सत्य तथ्य माया हुन्छ, ती सधैं सँगै होलान् भन्ने पनि छैन। त्यहाँ हातहरू हुन्छन् जसले घोगा भाँचेर लैजान्छ्न् । त्यहाँ हावाका बहावहरू हुन्छन् जसले जुरेली भाँचेर खसाल्देलान्। अनि घोगाले खुसीले आफ्ना जुँगा बटार्न नपाउँला । अनि जुरेलीको मन खुसी नभई मौरीले चुम्न पनि छोडिदेलान्।
हुन त, हात र हावालाई मात्र दोष दिन पनि मिलेन । कुनै घोगाहरू आफैं भाच्चिन चाहलान्, जुरेलीदेखि टाढा हुन। कुनै जुरेलीहरूले आफ्नो नजर फेर्न हावाको सहयोग चाहलान्। कुनै घोगा र जुरेलीको कहिल्यै माया नै नबसेको होला। तिनी हरूको जोडी कसले बनाउने ? तिनै हातले। पहिला पिरती नबसेकाको जोडा त झोली बनी घरको पालीमा झुन्डिरहलान् । तिनै मध्य पनि कुनै समयसँगै चुट्टिएलान्, कुनैलाई चुट्टाइएला, कुनै चुट्टिन चाहलान्। र पहिला पिरती बसेका घोगाहरू चुट्टाएर अन्त झोली बनाउन गाँठो पार्ने हातहरूलाई पाप लाग्ला । ती गाठाहरू अक्सर फुस्किन्छ्न्। तर कुनै जिन्दगीमा अगाडि बडेर दोहोरो गाँठो कस्लान् पनि।
यसै क्रममा कुनै घोगाहरू बाँच्ने आस मारी कुहिएर जालान्। घोगा फलाएको बोटले घोगा सम्झेर आँसु खसाल्छ। घोगाले अर्को बोट्को जुरेली सम्झेर कुहियो। जुरेलीहरू पनि घोगाका निम्ती झरी जान्छन् , अस्तित्व मारी जान्छन्। अनि आफ्नो शिरको ताज बनाएको बोट छोरी जुरेली सम्झेर रोला । यी सबै अवलोकन गर्दै गरेको मकैको आडैमा हुर्किएको बोडीको बुटोले ताना मार्छ, अमिला शब्द सुनाउँछ । तिनै सुन्दै, बोट सुकिजान पर्ला, मरिजान पर्ला। यहाँ यी सबै केही नभएर हाँसी खुसी बाँचेका बोटहरू पनि छन् । तर हाँसेरै मर्ने कम नै हुन्छन् ।
किनकि घोगा सबै भाचेर भ्याएपछि, बोट नै काटिदिने पनि हातहरू नै हुन् । यी हातहरूले मकैलाई छोडेकै छैनन् । आखिर को हुन् यी हात ? कहिले खुसी दिने कहिले आँसु दिने ? सायद मकैको भाग्य हुनुपर्छ। बोट काट्टिएर गए पनि बारीमा ढोडहरू अझै जिउँदै छन् तर सुक्दै छन्। पछि जलाइने छन् । मकैका ढोड जलाउने चिता पनि उही बारी नै हो जहाँ उसले जन्म लियो । काट्टिएको भाग कसैको आहार बन्छ । आहार नै भएर भए नि, उसले कसैलाई जीवन दिएर पनि, मरिसकेपछि पनि जीवित छ ।
नभन्दै ती झोलीहरूको अब के हुन्छ ? पहिला लगनगाँठो कसेकै हातहरूले समयसङ्गै ती झोली छुट्टाउछन् । एक एक गर्दै उनीहरूको लाज र इज्जत छोपेका भुत्लाहरू निकालिदिन्छ्न् । उहीँभित्रका मकैका दानाहरूको लागि । अनि पहिला बोरामा राखिन्छ्न्, लौरोले चुट्टिन्छ्न्, कराइमा भुट्टिन्छन्, खोतियामा उछिट्टिन्छन् । ती मकैका दानाहरू घोगाको भाग हुन्, मानौँ आत्माका टुक्राहरू। कुनै मकैका दानाहरू आशाका खातिर अब अति सुन्दर फुला बन्छु भनेर उफ्रिएका होलान् खोतियामा, तर कुनै मकैका दानाहरू निराशाका बिज बनी तातो खप्न नसकेर उफ्रिएका होलान्। कुनै अतीतमा अड्किएका मकैका दानाहरू आफ्नो घर खोइला सम्झिएर आँसु झार्लान्, त्यहीँ अड्किएर असफलताको बाटो रोज्लान् । हुन त, कुनै यादहरू सम्झिन लायकका पनि हुन्छन् जस्तै कि मकैको दाना र छोडाइसके पछाडि रहेका खोइलाका प्वालहरूको साथ । र कुनै भविष्य हेर्ने मकैका दानाहरू सफलता स्वरुप फुलामा परिणत होलान् । दुर्भाग्यमा पनि कर्मले भाग्य बनाउन खोज्ने मकैका दानाहरू सज्जिएर बस्ने होलान् । बाँकी आफ्नै पहिचान बिर्सेर डाइना भएर बस्लान्, साह्रा भएर बस्लान, नामका तिम्ती मात्र थालमा रहलान् । त्यसो भन्दैमा फुला मात्र मन पर्ने दाँतहरू हुदैनन् । कुनै बङ्गाराहरूलाई उही डाइना मकै पनि मन पर्छन् । र आखिरमै भाग्यमानीहरूको जीवन ?
उनीहरूलाई बोरामा राखेर चुटिँदैन । उनीहरूलाई हातले नै छोडाइन्छ । उनीहरू अर्को चैत्र बैशाखका मौसमका निम्ति रोप्पिनलाई सजाइन्छ, जोगाइन्छ। उनीहरूलाई नि छिमेकी मकैको याद आउँला। कुनै मकैहरूले अर्थ पूर्ण जीवन बाचेर मरिगए पनि एक छाप छोड्लान् । कुनै मकैहरूको अस्तित्व रहेको पनि कसैलाई सम्झना नहोला । ती आत्माका टुक्राहरू सिङ्गै हुन जरुरी पनि छैन यदि टुक्राहरू एकै ठाउँमा छन् भने । आज एउटा बारीमा रोप्पिएको मकैको बीउ अर्को वर्ष अर्को बारिमा रोप्पिन सक्छ। आखिर भाग्यमानी भन्दै गर्दा भाग्य साच्चैको हुन्छ र ? कुनै मकैलाई हातले मुसार्ने, कुनै मकैलाई हातले भुट्ने ? किन हुन्छ ? यो भाग्य होइन । जब आफ्नो जिन्दगी चलाउने यन्त्र कोही अरुको हातमा हुन्छ, त्यसलाई भाग्यबाहेक अरु के भन्नू ? कुनै तरिका नै छैन यी कुराको परिभाषा दिन ।
तिनै घोगा छोडाउँदै गर्दा कहिकेकाहीँ कुनै कुनै मकैका दाना काला काला पनि हुन्छन् । ती काला आत्माका टुक्राहरूसङ्ग कि विशेष बन्ने कि कालै बन्ने छनौट हुन्छन् । जब आफ्नै हातमा कुरा हुन्छन् ती कुनै मकैका दाना या पुरै मकैले आफ्नो स्वतन्त्रताका चाहनाहरू मार्न हुँदैन । पहिला नै भने जसरी कुनै मकैहरू सप्रिएलान् तर नसप्रिएका मकैको पनि महत्त्व नहुने हुँदैन। कुनै मकैहरूले संसारमा छाप छोड्लान् भने कुनै मकैहरू संसारमा छाप छोड्न नचाहलान् । कुनै मकैहरू फुला बन्लान्, पोल्लिएलान् आफ्नो भाउ बडाउन, बीउ बन्लान्, डाइना बन्लान्। कुनै घोगाहरूले बोट सम्झेलान, कुनै घोगाहरूले चोट सम्झेलान, कुनैले खोट सम्झेलान् । कुनै मकैको दानाले साहित्य रोजेर यो निबन्ध लेख्दै होला, कुनै मकैको दानाले यही निबन्ध घोरिएर पढ्दै होला । अब मुस्कुराउँदै होला । यो पढ्नेबित्तिकै अझै धेरै मुस्कुरायो होला । आखिर सुरुवात के हो ? मकैका दाना रोपिएर बोट बन्नु कि बोटले मकैका दाना दिएर रोपिनु ? जे होस्, एकको अन्त्य अर्कोको सुरुवात हो, एकको सुरुवात केहीको अन्त्य हो । जिन्दगी यही नै होला ! मकै !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।