“मैले रक्सी खाएँ, अनि रक्सीले मलाई खायो” भन्दै हुनुहुन्थ्यो एउटा बुवा । अर्को बुवा भने ‘बाबु रक्सीले यस्तो भएँ भन्ने थाहा छ, तैपनि छोड्नै सक्दिनँ, तल्तल भइराख्छ’ भन्दै गुनासो पोख्दै हुनुहुन्थ्यो । अर्को दाजु भने पुरै ज्यान कमाउँदै, होसहवास हराएको अवस्थामा इमर्जेन्सी वार्डमा आउनुभो, ‘श्रीमतीले रक्सी खान नदेको ३ दिन भाको थियो; यस्तो भयो डाक्टरसाप’ भन्दै हुनुहुन्थ्यो ।
कोही बिरामी जन्डिस भयो, खुट्टा सुनिए, कालो दिशा आयो, कलेजो खराब भाको छ रे , पेट फुलेको छ पानी निकालिदिनु भन्दै आउने त कोही प्यानक्रियाज भन्ने ग्रन्थी सुन्निएको छ रे, सुगर ( Diabetes) पनि भएछ भन्दै आउनेको भिड पनि धेरै थियो । ग्यास्ट्रो वार्ड भनेको रक्सी खाएर पछुताउनेहरुको भिड हो भन्दै हुनुहुन्थ्यो नर्सहरू पनि । दाइहरू भने ‘भाइ Social drink लिने गरेको छौ ?’ भन्दै जिस्काउँदै हुनुहुन्थ्यो । म पनि के कम ? ‘अहिलेसम्म पिउने गरेको भए पनि अब त पिउँदिनँ’ भन्दै जिस्किदिएँ ।
जिस्किएर नै भने पनि रक्सी खाएर कलेजो नै बिग्रिएको र कलेजो प्रत्यारोपण बाहेक अरु उपाय नै नभएको अवस्था देख्दा देख्दै पनि रक्सी खाने कुलतमा फस्नु सराहनीय भने लागेको थिएन । कोही भने रक्सी, चुरोट केहीको अम्मल छैन तैपनि कलेजो बिग्रेको छ रे डा. साप भन्दै आउनेको भिड रक्सी खानेको तुलनामा भने निकै नै कम थियो। यी त भए कोहीका कुरा, अब सुरु गरेँ है त हाम्रा कुरा । १५ दिन ग्यास्ट्रो वार्डमा देखेका, भोगेका र सिकेका कुरा केही संक्षिप्त रूपमा प्रस्तुत गर्ने जमर्को गर्ने क्रममा आएको विषय हो यो रक्सी । आखिर के हो त यो रक्सी ?
गाउँघरमा रक्सीको आमा जाँडलाई भन्छन्, किनभने सुरुमा जाँडलाई बफाएर त्यसको वास्प(पसिना) निकालेर नै रक्सी तयार पारिन्छ । पुरापूर्व कालदेखि नै यसको प्रयोग हुँदै आइरहेको छ, चाहे त्यो धार्मिक, सांस्कृतिक रुपमा होस् वा जमघटको एउटा माध्यम नै किन नहोस् । आजकल खुसी बाँड्न मात्र नभएर दुःख भुलाउने भन्दै रक्सीको प्रयोग गरेको पाइन्छ । खानेहरुको बहानालाई कसले रोक्न सकोस् र खै ?
आज अलिकति भोली पनि त्यस्तै गर्दै मानिस रक्सीको दुर्व्यसनमा परेका छन् । दुर्व्यसन भनेको रक्सी नभई नहुने, नशा लाग्न मदिराको मात्रा थप्दै जानुपर्ने, खान बन्द गर्दा अप्रिय, पीडादायक नयाँ रोग (With-drawal) देखापर्नु हो । हुन त यो दुर्व्यसन पनि सुरू-सुरूमा हल्का र पछि गम्भीर हुँदै जाने हुनाले विभिन्न अवस्थामा बाँड्न सकिन्छ । सुरूको अवस्था (With-drawal) मा निद्रा नलाग्ने, टाउको दुख्ने, हात काँप्ने, पसिना आउने, चिड्चिडाहट मात्र हुनसक्छ । दुर्व्यसन गम्भीर भएको अवस्थामा हुने विथड्रल अवस्थामा पागलजस्तो हुने, नभएका कुरा देख्ने र सुन्ने, उत्तेजित र आक्रामक हुने, बरबराउने, छारे रोगजस्तै मुर्छा पर्ने हुन्छ । तर, यी विभिन्न अवस्थामा दुर्व्यसन र कुलतको गहिराइ मात्र फरक हुन्छ, गुणात्मक रुपले एउटै चरण मानिन्छ ।
जाँड रक्सी नखानेको भन्दा खाने मान्छेको औसत आयु १२ वर्ष छोटो हुन्छ भनेर विज्ञहरु बताउँछन् । तर हामी जानी–जानी त्यसैको साथ गर्छौ र अकालमा काल निम्ताइरहेका छौँ । जाँड रक्सी खाएपछि परको त जतासुकै जावस् आफ्नै जीवनसंगिनीको हेला भइन्छ, छोराबुहारी, छोरीज्वाइँ, नाति-नातिना, छरछिमेक, साहुमहाजन, सबैको अपमान सहनु पर्छ । जाँड रक्सी खाएर उसले जतिसुकै राम्रो काम गरोस्, तर कसैले विश्वास मान्दैनन्। ऊ नखाएर लडोस्, खाएर लडेको हो भन्छन्।
जाँड रक्सी पेट र आन्द्रामा केही नबदलीकन सोसित हुन्छ । सबैभन्दा पहिले यसले केन्द्रीय स्नायुप्रणालीमा असर गरी त्यसपछि मुटु र कलेजोमा असर गर्न पुग्छ । शरीरमा भिटामिन र प्रोटिनको मात्रालाई क्षति पुर्यादिन्छ । रक्ताल्पता, सुगर, यौनक्रियामा सिथिलता, बाथरोग, छालामा जटिलता, आँखामा असर, पेटमा गडबडीजस्ता अनेक रोगहरु निम्त्याउँछ ।
कलेजोको केही प्रतिशत भाग बिग्रिए नै पनि फेरि पलाउने (Regenerate) हुने हुँदा बेलैमा रक्सी सेवन छाड्न सके निकै फलदाय हुन्छ । त्यसो गर्न नसकेमा कलेजो प्रत्यारोपणभन्दा अरु विकल्प नहुन सक्छ। त्यसैले बेलैमा छाड्ने प्रयास गर्ने कि ? यो छोड्नको निम्ति सबैभन्दा आवश्यक कुरा भनेको गल्तिको बोध अनि राम्रो आत्मशक्ति हो । दोश्रो महत्त्वपूर्ण कुरो भनेको साथीभाइ तथा आफ्नो घर परिवारको साथ । यदि थोरै थोरै खाने बानी छ भने आजै र अहिलै छोड्नुहोस् तर कुलत नै छ भने बिस्तारै घटाउँदै लगेर छोड्नुपर्दछ । रक्सीको कुलत लागेका व्यक्तिहरुमा गाह्रो अवस्थाहरु पनि आउन सक्छन् तर यसका कुनै पनि समस्या विशेषज्ञको सल्लाह, औषधि तथा उपचारबाट ठिक हुन सक्छ ।
स्वभाविक रूपमा हामी मानिस मिठो जिब्रे छौँ । जिब्रोलाई मिठो लागेको कुरा, चाहे त्यसले शरीरलाई फाइदा गरोस् वा बेफाइदा, खाएरै छाड्छौँ । हामी सन्तुलित आहार पढाइमा मात्र सिमित राखेर व्यवहारमा उतार्ने प्रयास नै गर्देनौँ । आफ्नो डाक्टर आफैँ नै हो भन्ने कुरा भुल्दा हामी बिरामी परेर थलिएर धेरै डाक्टरकोमा जाँदा पनि रोग निको नभएको दुःख पोखिरहेका हुन्छौँ । बरु डाक्टरले गरेको उपचारमा हामी शङ्का गछौँ तर आफ्नो खानपिनमा हामी कहिल्यै पनि प्रश्न गर्दैनौँ । पहिल्यै बुद्धि नपुर्याउने र रोग लागिसकेपछि पछुताउने बानी परिसक्यो हामीलाई । आफ्नो क्षणिक सुखको खोजीमा अरुको खुसी र आफ्नो समाजप्रतिको कर्तव्य नै भुलिदिन्छौँ हामी । आफू त पक्कै सिदि्धन्छौँ नै ,आफ्नो परिवार साथै समाज र सिङ्गो राष्ट्रलाई पनि सिध्याउने प्रमुख कारण पनि बन्न पछि पर्दैनौँ ।
स्मरण रहोस्, जीवनकालमा केवल एउटा शरीर छ, र आफ्नो स्वास्थ्य जीवनसँग जोडिएको विषय भएको हुँदा यसको सुरक्षाको दायित्व पनि हाम्रै हो । त्यसैले कलेजो खराब हुने कारण धेरै हुन्छन् , त्यसमा पनि मदिरा सेवन , अत्यधिक चिल्लो सेवन साथै उचित व्यायामको कमी मुख्य कारण हुन् । यिनै मुख्य कारणलाई मध्यनजर गर्दै आफ्नो खानपिनमा ख्याल गर्दै सन्तुलित आहार ,उचित व्यायाम साथै नबुझेकालाई पनि बुझाउँदै जनचेतना फैलाउन सके आउँदा दिनमा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्न सकिन्छ ।
हामी र अगाडिका पिँढीले जानीनजानी जे गल्ती गरे, यी गल्तीहरुबाट पाठ सिक्दै सके यही पिँढीका ,नसके पनि आगामी पिँढीका युवाहरुलाई राम्रा पाठहरु सिकाउँदै जाँड रक्सीजस्तो समाज भडुवा चिजसँग संगत नगरेर आफ्नो घर, गाउँ, समाज, देश र जनताको निम्ति राम्रा विचार ,राम्रा सोचहरु लिएर यस्तो कुलतमा नफस्न प्रोत्साहन गरौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।