देशको भविष्य धेरैहदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ ।

देश दुई महिनाभन्दा लामो समयदेखि लकडाउन (बन्दाबन्दी) छ । बन्दाबन्दीका कारण सबै आफ्नै घरमा थुनिएका छन् । कोरोना संक्रमणको अवस्था झन् झन् विकराल बन्दै गइरहेकै छ । तर यो विषम परिस्थितिमा पनि नेपाली साहित्य तथा कलाको क्षेत्र निदाइहालेको भने छैन । बरु कारोनाबाट कसरी बाहिर आउने र आफूलाई कसरी सुसंस्कृत र परिष्कृत बनाउने भन्ने कुराको साधनामा छ ।

यस्तो बेला नवपुस्तका उदीयमान साहित्यकार तथा कलाकारहरू के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । आज हामी यस स्तम्भमा साहित्य तथा कलामा संलग्न नवपुस्तालाई सुन्ने छौँ:

सेबिता अधिकारी (अनुजा):

सेबिताअधिकारी (अनुजा)

“मान्छेले मान्छेलाई मान्छेको रूपमा स्वीकार कहिले गर्छ होला ?”

काठमाडौँमै छु । लकडाउन हुनुभन्दा अगाडि सुटिङका लागि कास्की पुगेकी थिएँ । लकडाउन हुने भएपछि सुटिङ क्यान्सिल भयो र फर्कियौँ ।
अहिले घरमै परिवारका सबै सदस्यसँग बसिरहेकी छु । बुबाआमा हाँसेको देखेर पनि मन हल्का हुन्छ । बुबासँग संस्कृतका श्लोक सिक्छु । कण्ठ गर्छु । खानेकुरा पकाउने खाने, बुबाआमासँग ठट्टा गर्ने, किताब पढ्ने, कफी खाने, यसरी नै बित्दै छ मेरो लकडाउन ।
समाचारहरुले मलाई गाह्रो बनाउँछ । रुकुमको काहालीलाग्दो नरसंहार, मोरङको घटना, अमेरिकामा घटेको र भड्किएको रंगभेदसम्बन्धी घटना, यी कुराहरु बारम्बार आउँछन् मनमा । त्यसमाथि, “आत्महत्या गर्नेहरुको संख्या बढ्दै”, भन्ने समाचारहरु, अनि सीमामा अलपत्र परेका नागरिक ! यी कुराहरु, “ह्या बिर्सिदिऊँ”, भन्न पनि सक्दिनँ । मतलब नै नगरी, नदेखेजस्तो-नसुनेजस्तो गरी बस्न पनि सक्दिनँ । आफू केही गर्न सक्दिनँ, अनि सरकार र व्यवस्थासँग रिसाउँछु ।
रुकुमको घटनाले मलाई अत्यन्तै अस्थिर बनाएको छ । “मान्छेले मान्छेलाई मान्छे भनेर कहिले स्वीकार छ होला ?” बारम्बार मनमा यही प्रश्न आइरहन्छ ।
यो समय सरकार र व्यवस्था प्रतिको मेरो आक्रोश बढेको छ । लामो समयदेखि देश लकडाउनमा छ, हामीले पालना गरिरहेका छौँ । क्वारेन्टिन भनेर सीमामा एकै कोठामा १५ जनासम्म राखिएको छ । रोगको पहिचान नै बिना मान्छे मारिरहेका छन् । शासक गतिलो भएन भने नागरिकले सधैंभरि भोग्नु पर्ने रहेछ ।
थोरै अध्ययनको कुरा पनि गरिहालौँ, पछिल्लोपटक आहुतिको नेपालमा वर्ण व्यवस्था र वर्ग सङ्घर्ष पढेँ । म, कुनै जात धर्मको मान्छे हुँ है भन्ने कुरालाई साइडमा राखेर म मान्छे हुँ भन्ने सोचेर सुर गर्नेुपर्ने रैछ भन्छु । र, अझै पनि हुर्किन बाँकी छ । समाजमा हरेकले मान्छे भएर बाँच्न पाऊन् । मेरो साथीले भन्थिन्, “ठूलो मान्छे हुन ठूलै मन चाहिन्छ,” मन फराकिलो बनाऊँ प्रेम बाडौँ ।
यो समयमा मैले श्याम शाहको अब्बा पढेँ । सशस्त्र द्वन्द्वको तराई र वर्ग सङ्घर्ष छर्लंग पाएँ । सरस्वती प्रतीक्षाको नथिया दोहोर्याएँ, वादीप्रथा र वादी महिलाको कथा । उनीहरुले वर्षाैदेखि यौन पेशा गर्नुपर्ने बाध्यता । शासक वर्गको वस्तुको रुपमा प्रयोग भएका वादीको कथा ।
भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे, यो कविता सङ्ग्रह मलाई सधैँ मन पर्ने किताब हो । खगेन्द्र लामिछानेको पानी फोटो, त्यसमा नाटक छन् । पानीफोटोमा बेपत्ता नागरिकको कथा छ । कतिपय बेपत्ता नागरिकका परिवार अझै पनि फर्केर आउलान् भन्ने आशा छ।
मन्टोको, मन्टो कि सर्वश्रेष्ठ काहानियाँ, भन्ने किताब पनि पढेँ । मन्टोको किताब जब तनाव सुरु हुन्छ तब पढ्न थाल्छु । पढेपछि झन् तनाव हुन्छ, फेरि बन्द गर्छु । अहिले दुलारी पढ्न शुरु गरेकी छु ।
अब अहिले थिएटर खुल्ने आशा नै छैन । लकडाउन खुले पनि थिएटर खुल्दैनन् किनभने नाटक हेर्न त दर्शक आउनपर्याे, सबै जनालाई डर छ । तर पनि जुमबाट प्राक्टिसलाई निरन्तरता दिइरहेका छौँ । हरेक बुधबार प्ले ब्याक “चौतारी नाटक” गर्न थालेका छौँ । भर्चुअल माध्यमबाटै भए पनि रंगमञ्चलाई सास फेर्ने माहोल भने बनाइरहेका छौ ।
यो लकडाउनको मेरो समय यसैगरी बितिरहेको छ । म सबैभन्दा धेरै थिएटरलाई सम्झिरहेको छु । उसले मलाई कति सम्झिन्छ होला । फेरि त्यो समय फर्किने छ, हामी उसैगरी रमाउने छौँ ।

कृष्ण कञ्चन:

कृष्ण कञ्चन

“कताकता मनमा नरमाइलो लाग्छ; विवेकशील मान्छे, विवेकहीन भएको देखेर”

लकडाउनका कारण घर जान नसकेपछि काठमाडौँको साँघुरो कोठामा बस्नुसिवाय अर्को कुनै विकल्प रहेन मसँग । मेरो साँघुरो कोठाको खासियत, संसारका हरेक कुनामा घटेका घट्ना मेरो साँघुरो कोठाबाट पनि सजिलै सुन्न र हेर्न सकिन्छ । साथीहरूसँग कुराकानी गर्न, हालखबर बुझ्न गाह्रो छैन । साँघुरो कोठालाई सामाजिक सञ्जालले फराकिलो बनाएको छ ।

विगतमा मैले के के काम गरेको रहेछु ? मेरा रूचिहरू के के रहेछन् ? भन्ने कुराको समीक्षासँगै आँफूले आफैँलाई चिन्ने र बुझ्ने फुर्सद पनि लकडाउनको अवधि दिएको जस्तो लागेको छ ।

पहिले लाग्थ्यो, फुर्सद भए धेरै कुरा लेख्न सकिन्छ । त्यस्तो नहुँदो रहेछ । लेख्छुभन्दा पनि लेख्न नसकिने रहेछ । यो अवधिमा दुई चार कविताबाहेक केही लेख्न सकेको छैन । साहित्य सर्कलका साथीहरू धेरै भएकाले सामाजिक सञ्जालमा वहाँहरूका सिर्जनाहरू पढ्ने गरेको छु, लेख्नेभन्दा पनि।
आजभोलि काठमाडौँको वातावरण शान्त छ । कहिले घाम लाग्छ, कहिले पानी पर्छ । चराहरू निस्फ्रिक्री उडिरहेका छन् । म सोच्ने गर्छु, मान्छेको अनुपस्थितले वातावरण शान्त हुँदोरहेछ, सफा हुँदोरहेछ ।

लकडाउन कहिलेसम्म लम्बिन्छ ? भन्न सकिने अवस्था छैन । दिनहुँ संक्रमितको संख्या बढिरहेकै छ । यही समयमा सिमानाको विवाद, जातीयताको कुरा, हत्या, हिंसा र बलात्कारसँगै चोरीका घटनाहरू पनि घटिरहेका छन् । कताकता मनमा नरमाइलो लाग्छ; विवेकशील मान्छे, विवेकहीन भएको देखेर ।

तर यो परिस्थिति अवश्य नै सामान्य हुनेछ र लकडाउन खुल्ने छ एकदिन । अफसोच, हामी सुरक्षित हुन् नसकेनौँ भने, सुरक्षित रहेनौं भने जीवनको गति सदाको लागि बन्द हुनेछ । जीवन नै नरहे लकडाउन खुलेको के अर्थ ?
त्यसैले सुरक्षित रहौँ । घरमै बसौँ । सिर्जनात्मक कार्य गरौँ ।

प्रदीप लिम्बु योङ्हाङ:

“आफ्नै समुदायका पुस्तक पढिरहेको छु”

हामी स-परिवार मोरङको सिजुवा (हाल रतुवामाई न.पा.) मा बस्छौँ तर म पढाइको सिलसिलामा केही वर्षयता धरानतिर छु । शनिबारको मौका छोपेर महिनामा एकदुईचोटि घर पुगिरहन्थेँ तर यसपटक लकडाउनले धरानतिरै अड्किएको छु । करिबकरिब ७० दिनदेखि कोठाभित्रै कैदी जतिकै भएर बसिरहेको छु ।
यो समयमा घरको एकदम याद आइरहेको छ । उसो त यहाँ पनि म एक्लो छैन । तुम्बा (ठूलो बुबा) कोमा बस्ने भएकोले तुम्मा हुनुहुन्छ, भाइबहिनी छन् र यहाँ पनि एउटा परिवार छ ।

कोरोनाले निम्त्याएको यो अप्ठ्यारो परिस्थितिमा कोठाभित्रै बसिरहँदा एक हिसाबले समय कटाउन गाह्रो परिरहेको छ भने अर्कोतर्फ आफूलाई चिन्ने एउटा मौका मिलिरहेको महसुस गरेको छु । दैनिकी परिवर्तन भएको छ, साथीहरूको सम्झनाले सताइरहेको छ, परदेशीहरूको चिन्ताले पिरोलिरहेको छ ।

यो भयावह अवस्थामा आफूलाई मनपर्ने र कोठाभित्रै रहेर गर्न सकिने कार्यहरू गरेर बढी समय बिताइरहेको छु । पाठ्यक्रमभन्दा बाहिरका केही पुस्तकहरू पढिरहेको छु ।

घरमा एकदुई वटा आफ्नै समुदायका ऐतिहासिक पुस्तक रहेछन्, त्यो पढिरहेको छु । त्यसबाहेक कवितालाई प्रविधिसँग जोड्नुपर्छ भन्ने महसुस गरेर केही आफ्ना र केही अग्रज कविहरूको कवितालाई आफैँ वाचन गरेर लिरिकल भिडियो बनाएर युट्युबमा हालिरहेको छु ।

भर्चुअल साहित्यिक कार्यक्रमहरू हेरिरहेको छु । कोठामा कागजका दुई चारवटा सामग्री बनाएर सजाउने मौका र जाँगर यो समयमा चल्यो । केही राम्रा चलचित्रहरू पनि हेरेँ । मेरो लागि चुपचाप बस्नु जतिको ठूलो सजाय सायद केही होइन भन्ने यो समयले महसुस गराइरहेको छ।

दैनिकजसो अनलाइन पोर्टलमा आएका आर्टिकल र कविताहरू पढिरहेको छु तर आफू भने केही खास लेख्न सकिरहेको छैन।

यो समयमा मस्तिष्कमा एक प्रकारको तनाव छ । हत्या र आत्महत्याका घटनाहरू बढिरहेका छन्। जसले मस्तिष्कमा नकरात्मक असर पुर्याउँछ कि भन्ने डरले आजकाल नियमित समाचार सुन्न छाडेको छु भने, “के मान्छेलाई जीवनप्रतिको मोह घट्दै गएको हो त ?” भन्ने प्रश्नमा बेलाबेला घोत्लिने गर्छु । अपराधिक क्रियाकलाप बढिरहेको खबरले, मान्छेलाई मृत्यु साँच्चै समान्य लाग्न थालेकै हो त ? भन्ने प्रश्नले दिमागमा झटारो हानिरहेको छ, तर पनि सिर्जनात्मक तरिकाले समय बिताउने प्रयास गरिरहेको छु ।

खैर, जेहोस् यो विपत्तिको समय भए पनि नयाँ अनुभव बटुल्ने र आफूलाई नजिकबाट चिन्ने अवसरको रूपमा लिई चाँडै यो भयावह अवस्था समाप्त होस् भन्ने कामना गरिरहेको छु ।